विकासन्युज

पुर्नबीमा कम्पनीकाे सेयर बाँडफाँड चैत १४ गते हुने, साढे तीन गुणा बढी माग

काठमाडौं । चरम आर्थिक संकटकाे बेलामा पनि राम्रा कम्पनीले सेयर निष्काशन गरेमा माग उच्च हुने देखिएकाे छ । काेराेना महामारीकाे बेलामा नेपाल पुनर्बीमा कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्दा करिव साढे ३ गुणा बढी आवेदन परेको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीका अनुसार कम्पनीको आईपीओमा  सर्ब साधारणकाे उत्साहजनक सहभागिता रहेकाे बताए । निष्काशन गरिएकाे भन्दा बढी सेयरकाे माग भएकाेले शुक्रबार ५ बजेपछि आवेदन लिन बन्द गरिएकाे उनले बताए ।  सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलका अनुसार ५ अर्ब ५७ कराेड ४७ लाख ३५ हजार रूपैयाँ बराबरकाे सेयर माग भएकाे छ ।उक्त रकम मागकाे ३.४८ गुणा बढी हाे ।  सेयर माग गर्नेकाे संख्या ४ लाख ९ हजार ७२२ व्यक्ति तथा कम्पनी रहेका छन् । कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । कम्पनीले जारी गरेको कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएको थियो । यस्तै, कूल आठ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँकी ७३ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । नियम अनुसार थाेरै माग गर्नेलाई प्राथमिकतामा राखेर सेयर बाँडफाँड हुने  रायमाझीले बताए । चैत १४ गते सेयर बाँडफाँड गर्ने तयारी भएकाे उनले बताए । कम्पनीको अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी आठ अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयर बिक्रीपश्चात् कम्पनीको कुल चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।  

सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अन्तर्राष्ट्रिय सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द  गर्ने बताएका छन् । शुक्रबार देशवासीका लागि सम्बोधन गर्दै उनले चैत ९ गतेदेखि १८ गतेसम्मका लागि सबै उडान रोक्ने बताएका हुन् । विश्वभर फैलिरहेको कोराना भाइरसकाे संक्रमण रोक्न सरकारले यस्तो निर्णय गरेको हो । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ वटा विदेशी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले उडान गर्दै आएका छन् । यो विमानस्थल बिहान ६ बजेदेखि मध्यराति ३ बजेसम्म सञ्चालन हुँदै आएको छ । सरकारले  १५ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान शुक्रबार मध्यरातिदेखि रोकिने जनाएकाे थियाे । याे सबै  हवाई उडान बन्द हुने भएका छन् । सरकारले यसअघि पश्चिम एसियाअन्तर्गत खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियाे । आवागमनमा सरकारले दोस्रोपटक गरेको कडाइसँगै मध्यपूर्वका एयर अरेबिया, फ्लाई दुबई, यूएईको इत्तिहाद एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ । युरोप जोड्ने टर्किस एयरलायन्स तथा पूर्वी एसियाबाट काठमाडौं आउने हङकङको क्याथे ड्र्यागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयरको पनि शनिबार बिहानदेखि उडान रोकिने भएको छ । त्यस्तै मध्यपूर्वमा उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान पनि रोकिने छन् । सरकारले भारत, थाइल्यान्ड, बंगलादेश, सिंगापुर र भुटानबाट नेपाल आउने तथा नेपालबाट यी मुलुक जाने एयरलाइन्सलाई रोकेको थिएन । अब ती पनि राेकिने छन् ।

चैत १० गतेदेखि देशभरका लामो दुरीको सवारीसाधन बन्द

काठमाडौं । सरकारले चैत १० गते देखि देशभरका लामो यात्रामा जाने गाडीहरु सबै बन्द गर्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साझ राष्ट्रको लागि सम्बोधन गर्दै चैत १० गतेदेखि देशभरका लामो यात्रामा जाने गाडीहरु सबै बन्द गर्न भएको बताएका हुन् । विश्वभर काेराेनाकाे त्रास बढेसँगै उनले अनिश्चितकालिनकाे लागि उक्त सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

मेगा बैंकले दृष्टिविहीन विद्यार्थीलाई दियाे शैक्षिक सामाग्री र कम्प्युटर

काठमाडौं। मेगा बैंक नेपालले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो । मेगा बैंकका बनेपा शाखा प्रमुख राजेश्वर श्रेष्ठले दृष्टिविहीन विद्यार्थीहरुलाई कम्प्युटर, दृष्टिविहीन विद्यार्थीहरुले प्रयोग गर्ने विशेष कापी, कलम, झोला तथा बोर्ड हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले विभिन्न जिल्लाका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।

निगमले करारमा रहेका एकतिहाई कर्मचारीलाई बेतलवी बिदाई गर्ने

काठमाडाैं । नेपाल वायुसेवा निगमले करारमा रहेका एकतिहाइ कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । निगमले करार सेवामा रहेका एक तिहाइलाई बेतलबी बिदा दिने निर्णय गरेको हो। करार सेवामा रहेका १ सय ५० एयर होस्टेस, १० विदेशी पाइलट र ५ नेपाली पाइलटलाई बेतलबी बिदा दिएको निगमले जानकारी दिएको छ । निगमकाअनुसार केहीलाई १० दिनको, केहीलाई २ साताको र केहीलाई अर्को सूचना जारी नभएसम्मका लागि बिदा दिइएको हो । यसैगरी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको व्यवस्थापन कार्यमा संलग्न करारका कर्मचारीलाई पनि निगमले बिदा दिएको छ । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निगमले लिएको छ ।

इटहरीमा ज्योति विकास बैंकको क्षेत्रीय र शाखा कार्यालय

काठमाडाैं । ज्योति विकास बैंकले इटहरी उपमहानगरपालिकामा बैंकको क्षेत्रीय कार्यालय र शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ​। बैंकले शुक्रबार चैत ७ गतेका दिन इटहरी उपमहानगरपालिकामा आफ्नै भवनमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको हाे। बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ ज्योति विकास बैंकले  उक्त क्षेत्रमा क्षेत्रीय कार्यालय र शाखा कार्यालय सञ्चालन गरेको हो। इटहरी उपमहानगरपालिका वडा नं ५, सुनसरीस्थित क्षेत्रीय कार्यालयको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक लाल चौधरी तथा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए। समारोहमा बोल्दै मेयर चौधरीले ज्योति विकास बैंकले पूर्व क्षेत्रमा सञ्चालनमा ल्याएका कार्यालयहरुले सेवाग्राहीलाई थप सेवा मिल्ने तथा विभिन्न कर्जा सेवाले गर्दा उद्यमशीलतामा थप टेवा पुग्ने बताए । साथै,  इटहरी उपमहानगरपालिका वडा नं ६, सुनसरीस्थित ज्योति विकास बैंकको शाखा कार्यालयको उद्घाटन उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले गरेका थिए । उद्घाटन समारोहमा बैंकका  प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो। हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३४ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब २९ अर्ब रूपैयाँ लगानी गर्न सफल भएको छ ।

कोरोना संक्रमणको अनुभवन साट्न चीनले नेपालसहित २२ देशसँग भिडियो कन्फरेन्स गर्यो

काठमाडौं । चीनले नेपालसहित २२ देशसँग कोरोना भाइरस जोखिम न्यूनिकरणको लागि अनुभव आदान प्रदान गरेको छ । चीनले भिडियो कन्फरेन्समार्फत अनुभव आदान प्रदान गरेको हो । भिडियो कन्फ्रेन्समा नेपाल, भारत, पाकिस्तान भुटानलगायत विभिन्न २२ देश सहमागी थिए । कन्फ्रेन्सबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले चालेको कदम र पाएको सफलताका विषयमा अन्य मुलुकहरुलाई जानकारी दिइएको थियो । भिडियो कन्फ्रेन्समा सहभागी देशहरुले कोरोनाले आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरलाई कसरी सामना गर्ने भन्ने विषयमा चीनसँग जानकारी लिएका थिए । कोरोनाको उद्गमस्थल चीन भएपनि आफू कोरोना संक्रमणबाट मुक्त भएको चीनले घोषणा गरिसकेको छ । चीनले पाएको कोरोनाविरुद्धको सफलता र कोरोना नियन्त्रणका लागि अरु देशलाई गर्न सक्ने सहयोग विषयमा समेत छलफल भएको थियो ।

दैनिक उपभोग्य सामानमा कालोबजारी गर्नेलाई ५ वर्ष कैद

काठमाडौँ । दैनिक उपभोग्य सामानमा कालोबजारी गर्नेलाई ५ वर्ष कैद हुने भएको छ । नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेमा पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेकाे हो । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा ५ वर्षसम्म कैद गर्ने निर्णय गरेको हो । विश्वभर कोरोना भाइरसले त्रास उत्पन्न भइरहेको बेला नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेका पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार बैठकले ग्यास उद्योगले असहयोग गरे अनुमति खारेज गर्ने निर्णय पनि गरेको छ । कोरोना भाइरसको त्रासले मास्कदेखि ग्याससम्म कालोबजारी हुने गरेको सर्वसाधारणको गुनासो छ । यतिखेर बजारमा विभिन्न दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव देखाउँदै सामानमा कालोबजारी बढेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि सरकारले यस्तो निर्णय गरेको हो ।