विकासन्युज

अपडेट: कोरोना भाइरसबाट विश्वभर ११ हजार ४ सय १७ जनाको मृत्यु, इटालीमा सबैभन्दा बढी

जेनेभा । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९ सय ५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २ सय ५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ । हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ३७ हजार ८ सय ६० जना सङक्रमित रहेको इटालीमा ५ हजार १ सय २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४ सय ३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४ सय ६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७ सय ४५ जना उपचारपछि घर फर्किएका बताइएको छ । स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८ सय ९० जना सङक्रमित रहेका छन् । शनिबार प्राप्त समाचार अनुसार एक हजार ५ सय ८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङक्रमित रहेका छन् । उपचारपछि १ सय ८० जना घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ३ सय ५२ जना सङक्रमित रहेका छन् भने १ सय ४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४ सय ५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५ सय ७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १ सय २ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ । कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १ सय ७७ जना, नेदरल्याण्ड्समा १ सय ६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा २ सय ७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ । दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् । रासस/एएफपी

एनआईसी एशियाका डिजिटल बैंकिङ्गका सेवा निःशुल्क

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गका तथा अन्य विभिन्न सेवाहरू निःशुल्क प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड -१९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले एनआईसी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने सबै सेवाहरू निःशुल्क गरेको छ । विश्वभरि नै तिब्र रुपमा फैलिरहेको यस भाइरसको जोखिम कम गर्न अहिले विभिन्न देशहरुले युद्धस्तरमा अनेक सावधानीका उपायहरु अपनाएका छन् । एक व्यक्तिबाट अर्काेमा सजिलै सर्न सक्ने हुनाले भीडभाडमा नजान तथा सबैलाई सजग रहन सरकारले सुझाव दिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोबारको माध्यम प्रयोग गर्न वान्छनिय हुन्छ । डिजिटल बैंकिङ्गको समयमा नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेका उक्त बैंकले स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै आफ्ना ग्राहकलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्न बैंकले आग्रह गरेको छ । बैंकले ७ प्रकारका सेवालाई ध्यानमा राख्दै निशुल्क सबै ग्राहकलाई सेवा दिने निर्णय गरेको हो । मोबाईल बैंकिङ्ग सेवा, डेबिट कार्ड, इन्टरनेट बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, च्याटबट, आईभीआर सर्भिसभित्रका सम्पूर्ण सेवा बैंकले प्रदान गर्ने जानकारी दिएको छ । हाल देशभरी बैंकको ३ सय १९ शाखा कार्यालय, ४ सय ५९ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बैंकको मुलुकभरी नै २१ लाखभन्दा बढी ग्राहक रहेका छन् । त्यस्तै बैंकले गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आएको छ ।

पानी वितरण प्रणाली र चुहावटमा विशेष ध्यान दिन खानेपानी मन्त्रीको निर्देशन

काठमाडौं । मेलम्चीको पानी काठमाडौं ल्याईसकेपछि उपत्यकामा कसरी वितरण गर्ने भन्ने सम्बन्धमा कार्ययोजना बन्ने भएको छ । खानेपानी मन्त्रालयको सभाहल सिंहदरबारमा शुक्रबार खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा भएको छलफलमा मेलम्चीको पानी वितरण गर्न कार्य योजना बन्ने भएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले कार्य योजना बनाएर पानी वितरण गर्ने तयारी गरिरहेको छ । छलफलमा मन्त्री मगरले पानी वितरण प्रणाली र चुहावटमा बढी ध्यान दिन केयुकेएललाई निर्देशन दिएको हो । पाईप फुटेर कहीँ कतै लिकेज (चुहावट) भएको छ भने तुरुन्त फिल्डमा गएर मर्मत गरिहाल्न मन्त्री मगरले निर्देशन दिइन् । मेलम्चीको पानी काठमाडौं आउनुपूर्व अहिले भईरहेको चुहावटमा ध्यान दिन उनले केयुकेएलको ध्यानाकर्षण गराइन् । मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भईसकेपछि अहिले वितरण भईरहेको पुरानै प्रणालीबाट उपत्यकाका विभिन्न ठाउँहरुमा वितरण गर्ने र नयाँ वितरण प्रणालीबाट पछि वितरण गर्दै जाने केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले बताए । सुन्दरीजलमा बनेको प्रशोधन केन्द्रमा मेलम्चीको १७ करोड लिटर पानी प्रशोधन भईसकेपछि त्यही पानी सुरुवाती चरणमा पुरानै पाईपलाईन प्रणालीबाट वितरण गर्ने योजना रहेको शाक्यले जानकारी दिए । ‘उपत्यकाका घर घरमा पुरानै प्रणालीबाट पानी वितरण गर्दै लगिनेछ ।’ शाक्यले भने, ‘नयाँ पाईप लाईन प्रणालीलाई पनि हरेक दिन सँगसँगै परीक्षण गरिनेछ । एकै चोटी पानी नयाँ प्रणालीबाट वितरण गर्दा समस्या आउला भनेर यसो गर्न लागिएको हो ।’ मेलम्चीको पानी पहिलो चरणमा अनामनगरस्थित नयाँ पाइपलाईन वितरण प्रणालीबाट वितरण गर्ने तयारी रहेको छ । सुरुवातमा ५ सय १० वटा धाराहरुमा पानी वितरण हुनेछ । अहिले काठमाडौं उपत्यकामा २ लाख २१ हजार ६ सय धाराहरु बनिसकेका छन् । पानी वितरण गर्दै जाने र द्रुत तरिकाले चुहावट ९लिकेज० पनि मर्मत गर्ने योजना अनुसार नै शाक्यको संयोजकत्वमा मेलम्चीको पानी वितरण तयारी समिति पनि बनाईएको छ । उक्त समितिले द्रुत गतिमा लिकेज मर्मत गर्न फिल्डमा प्राविधिक टोली खटाउने छ । मेलम्चीको पानी संकलनका लागि राजधानीमा ९ वटा पानी पोखरी (ठूला पानी ट्यांकी) को निर्माण सम्पन्न भईसकेको छ । अब ती पोखरीबाट उपत्यकाका विभिन्न स्थानमा पाइपद्वारा पानी वितरण गरिने छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले आरुबारी, बाँसबारी, महांकाल, खुमलटार, बालाजु, भक्तपुरको टिगनी, महाराजगन्ज, कीर्तिपुर, र धोबीघाटमा पोखरीको निर्माण गरिसकेको छ । यसैबीच बैठकमा मन्त्री मगरले कोरोनाको सम्भावित संक्रमणबाट सावधानी अपनाउनु पर्ने भन्दै खानेपानीको महसुल तिर्नुपर्ने समयावधि एक महिना थप गर्न निर्देशन साथै जरिवाना तिर्न नपर्ने गरी महसुल तिर्ने समयावधि बढाउन उनले केयुकेएललाई निर्देशन दिए ।

नर्भिक अस्पतालमा काेराेना संक्रमित बिरामीकाे मृत्यु भएकाे भन्ने अडियाे भ्रामक

काठमाडाैं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा काेराेना भाइरसबाट संक्रमित बिरामीकाे मृत्यु भएकाे भन्ने सन्देशकाे अडियाे गलत भएकाे अस्पतालका अध्यक्ष बसन्त चौधरीले बताएका छन्। सामाजिक सञ्जालमा हल्ला भएजस्ताे अस्पतालमा कुनै काेराेना भाइरस संक्रमितकाे मृत्यु नभएकाे चौधरीले बताएका छन् । हालसम्म नर्भिकमा जाँच भएका कुनै पनि विरामीमा कोभिड १९ का पत्ता नलागेका उनले बताएका छन् । अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई काेराेना लागेकाे र एक जनाकाे मृत्यु भएकाे भन्ने सामाजिक सञ्जालमा फैलिएकाे सूचना हल्ला मात्र रहेको बताउँदै चौधरीले हल्लाकाे पछि नलाग्न आग्रह गरे। उनले ट्विटमार्फत् नियतबस गराइएको हल्ला भएकाले यस विषयमा साइबर क्राइम ब्यूरोमा जानकारी गराइएको उल्लेख गरेका छन्। ‘शनिवार बिहानैदेखि नै फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड १९का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएको पाउँदा नर्भिक इन्टरनेशनल हस्पिटल परिवार आश्चर्यचकित भएको छ’ नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले भने ‘राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नु पर्ने आजको चूनौतीपूर्ण अवस्थामा यस्ता खाले भ्रामक समाचारप्रति हामी घोर खेद प्रकट गर्दछौं ।’ अडियोमा नर्भिक अस्पतालमा ९ जनालाई चेक गर्दा ६ जनालाई कोरोना भाइरस देखाएको र नेपालमा एकदमै फैलिसकेको भन्दै आतंक मच्चाउन खोजिएको छ। नर्भिक अस्पतालमा काम गर्ने घर नजिकै बस्ने स्टाफले भनेको भनिएको छ। उसले पुल्चोकमा रहेको नर्भिक अस्पताल भनेको छ। नर्भिक पुल्चोकमा हैन थापाथलीमा छ। अडियोमा हिमाललाई फोन गरेर कुरा सुनाउन खोजेको जस्तो बनाइएको छ। तर यो फोन वार्ता भने हैन। किनभने फोनमा एकतर्फी कुरा मात्र छ। उक्त अडियाे शनिबार विहानै देखि भाइरल बनेकाे थियाे । साेही अडियाेलाइ आधार मानेर केही अनलाइनले समाचार बनाएका छन् । अडियाेमा आधारित समाचारमा कुनै पनि सत्यता नभएको जनाउँदै भ्रम फैलाउने कार्य पूर्णतया सामाजिक अपराध भएकाे र निन्दनीय भएकाेले दाेषी व्यक्तिकाे पहिचाहन गरी कारवाही गर्न अस्पतालले माग गरेकाे छ । सरकारले कोरोनाको परीक्षण हुने अस्पतालको सूचीमा नर्भिक पर्दैन। भाइरसकाे परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुन्छ।  नेपालमा हालसम्म भएको परिक्षणमा एक जनामा मात्र कोरोना संक्रमण देखिएकोमा उनी उपचारपछि निको भइसकेका छन्। पछिल्लो समय भएका परीक्षणमा संक्रमण देखिएको छैन।

श्री एयरलाइन्सले भाडा घटायो, कहाँ जान कति ?

काठमाडौं । श्री एयरलाइन्सले शनिबारदेखि नयाँ भाडा ताेकेकाे छ । शनिबार नयाँ भाडादर सार्वजनिक गर्दै सरकारले तोकेको भन्दा कम भाडा दिएर यात्रुलाई सेवा दिने बताएको छ । विश्वभर काेराेना भाइरसकाे त्रासपछि काठमाडाैं छाड्नेकाे भिड छ । यसकाेबीचमै श्रीले नयाँ भाडादर ताेकेकाे हाे । श्री एयरलाइन्सले सरकारले केही दिनको लागि तोकेको दरभन्दा कम भाडा लिएर सेवा दिने दाबी गरेको हो । एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले कम्पनीले काठमाडौं आउने यात्रुको सख्या अति कम भएका कारण काठमाडौं आउने भन्दा बहिर जाने भाडा केही बढी भए पनि नेपाल सरकारले स्वीकृत गरेका भाडा दरको सीमा भित्रै बसी सेवा सुचारु गरिरहेको जानकारी दिए। ‘अहिले काठमाडौं छाड्ने यात्रुको सङ्ख्या बढेको छ, यस्तो बेला आन्तरिक एयरपोर्टमा यात्रुको चाप छ, जति टिकट विक्री हुँदै गयो, उत्ति टिकटको मूल्य अटोमेटिक बढ्ने गर्छ ,तर, श्रीले मेनुअल रुपमा टिकटको मूल्य घटाएको हो,’ उनले भने । अब काट्ने टिकटमा आगामी दुई दिन उल्लेखित भाडादर लागु हुने कम्पनीले जनाएको छ । शनिबार सार्वजनिक गरेकाे भाडादरमा भद्रपुरको भाडादर अधिकतम ७ हजार ४ सय रुपैयाँ छ । जबकि नयाँ भाडादर अनुसार यात्रुले भद्रपर उड्न ८ हजार ९६५ रुपौयाँ तिर्नुपर्छ । त्यसैगरी, सरकारले तोकेको काठमाडौंदेखि बिराटनगरसम्मको भाडा ७ हजार ४ सय ४० रुपैयाँ छ । तर, श्रीले अधिकतम ६ हजार १ सय रुपैयाँ लैजाने दाबी गरेको छ । जनकपुरको भाडा ४ हपार २ सय ४० रुपैयाँ छ । श्रीले अधिकतम ३ हजार ३ सय रुपैयाँमा लैजाने बताएको छ ।  सकारले सिमराको भाडा ३ हजार ८० रुपैयाँ तोकेकोमा श्रीले ३ हजारमा लैजाने बताएको छ । यसैगरी सरकारले काठमाडौं पोखराको भाडा ४ हजार ९ सय ७५ तोकेको भएपनि श्रीले अधिकतम ३ हजार ७ रुपैयाँमा पोखरा उडाउने भएको हो । त्यसैगरी भैरहवाको भाडा ६ हजार १०५ रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी, सरकारले नेपालगन्ज र धनगढीको भाडा क्रमशः ९ हजार ८ सय ५० र १२ हजार ४ सय ५० रुपैयाँ तोकेकोमा श्रीले अधिकतम ६ हजार २ सय र ७ हजार ९ सयमा यात्रुलाई लैजान लागेको उनकाे भनाइ छ ।

कोरोनाको प्रभाव: अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स ९ सय अंकले घट्यो

न्यूयोर्क । अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोना भाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुत गतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा भारी कमी भयो । कोरोनाको महामारी फैलिन नदिने उपायस्वरुप अमेरिकी संघीय र राज्य सरकारहरुले देशको अर्थतन्त्रभन्दा मानिसको स्वास्थ्यलाई प्राथमिकता दिएपछि शेयर बजारमा मन्दी छाउनु स्वाभाविक थियो । एसियाली शेयर बजारमा केही सुधार देखिए पनि अमेरिकाकै प्रतिष्ठित शेयर सूचक डाउजोन्स औद्योगिक समूह एकै दिन ९ सय अङ्कले घट्यो । सातामा डाउजोन्स १७.३ प्रतिशत घटेको छ । पछिल्ला पाँच हप्तामध्ये चार हप्तामा शेयर सूचकांकमा लगातार गिरावट आएको छ । ट्रम्प प्रशासनले गरेको आर्थिक सहयोग सम्बन्धी घोषणाबाट एक दिन थामिएको शेयर बजारमा अरु दिन भुइँचालो नै गएको थियो । सन् २००८ को वित्तीय सङ्कटका कारण शेयर बजारमा देखिएको मन्दीपछि यो नै सर्वाधिक खराब हप्ता रह्यो । लगानीकर्ताहरु कोरोनाभाइरसले अमेरिका र अन्य प्रमुख अर्थतन्त्रहरुलाई गहिरो मन्दीमा धकेल्ने त होइन भनेर चिन्तित भएका छन् । प्रकोप फैलिन नदिन सरकारहरुले अबलम्बन गरेका नीतिहरुले अर्थव्यवस्थामा कठिनाई आउनुका साथै कर्मचारी कटौतीको सम्भावना बढाएका छन् । केन्द्रीय बैंकहरू र सरकारहरूले आर्थिक क्षतिलाई कम गर्न आपतकालीन कार्यक्रमहरू घोषणा गरिरहेका छन् तर यो अपर्याप्त कदम रहेको भन्दै आलोचना हुन थालेको छ । मानिसहरु विश्व अर्थतन्त्रको पहिलो नम्बरमा रहेको अमेरिकामा नोक्सान सहनु परेका घरपरिवार र उद्योगहरुलाई ट्रम्प प्रशासनले अर्बौं डलरको राहत उपलब्ध गराउने अपेक्षा गरिरहेका छन् । “कोरोनाभाइरसले अर्थव्यवस्थालाई शिथिल बनाउँदैछ,” एल्ली इन्भेस्टकी प्रमुख लगानी रणनीतिकार लिन्ड्से बेलले बताए । यहीबीच, तेलको माग घटेपनि उत्पादन बढाइएका कारण तेलको मूल्यमा कमी आएको छ । “यो अर्थतन्त्रको लागि दोहोरो धक्का हो ।” न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले अधिकांश कामदारहरूलाई घरमै बस्न आदेश दिएपछि शुक्रबार शेयरको बिक्री एकाएक बढेको थियो । क्यालिफोर्नियाले यस्तै उपाय घोषणा गरेको एक दिन पछि न्यूयोर्कले यो घोषणा गरेको थियो । न्यूयोर्क र क्यालिफोर्नियामा अब रेष्टुरेन्टहरू, खुद्रा बिक्रेताहरू र अन्य व्यवसायहरु बन्द गरिएका छन् । यी उपायहरूले पनि खनिज तेलको माग घटाउने छ । अमेरिकी कच्चा तेलको मूल्यमा करिब २१ प्रतिशत गिरावट आएको छ र यो सन् २००२ को फेब्रुअरीपछि पहिलो पटक प्रति ब्यारेल २० डलर भन्दा तल पुगेको छ । लगानीकर्ताहरू बजारको वर्तमान अस्थिरतालाई रोक्न कोरोनाभाइरसको नयाँ संक्रमण रोकिनुको विकल्प नरहेको बताउँछन् । वेल्स फार्गो इन्भेस्टमेन्ट इन्स्टिच्युटका ग्लोबल मार्केट रणनीतिकार, पल क्रिस्टोफरले भने “हामीलाई थाहा छैन, अर्को दुई हप्तामा के हुने हो । अन्य देशहरूमा जस्तै संक्रमणको चक्रमा अमेरिका फस्यो भने त्यसबेला आँधी आउनेछ ।” विश्वभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ११ हजार ४०० भन्दा बढी पुगिसकेको छ । विश्वव्यापी रूपमा २ लाख ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यीमध्ये करिब ९२ हजार मानिस निको भएका छन् । अधिकांश व्यक्तिहरूमा कोरोनाभाइरसको हल्का वा मध्यम लक्षणहरू निम्त्याएको पाइन्छ, जस्तै ज्वरो र खोकी लाग्नु । तर हल्का बिरामी भएकाहरू करिब दुई हप्तामा निको भएको पाइएको छ । विशेषगरी वृद्धहरू र पहिल्यैदेखि स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा निमोनिया लगायतका गम्भीर अवस्था देखिन सक्छ र यस्तो परिस्थितिमा स्वास्थ्यलाभका लागि कम्तीमा छ हप्ता लाग्नेछ । रासस/एपी

सुनसान बने होटल, बेतलवी घर फर्किए कर्मचारी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै नेपाली होटहहरु पनि सुनसान बनेका छन् । होटलमा ग्राहक नआएपछि धेरै होटलले व्यवसाय बन्द गरिसकेका छन् । यतिखेर काठमाडौं उपत्यकालगायत देशभरका होटलहरु बन्द हुने क्रम बढेको छ । कतिपय होटलहरुले व्यवसाय बन्द गरिसकेका छन् भने कतिपय बन्द हुने क्रममा छन् । होटलहरु बन्द भएसँगै त्यहाँ काम गर्ने कर्मचारीहरु पनि बेतलवी घर फर्किरहेका छन् । उनीहरु अनिश्चित समयको लागि घर फर्फिएको जनाइएको छ । काठमाडौंका अधिकांश पाँच तारे होटलहरु पनि बन्द भइसकेका छन् भने कतिपय बन्द हुने अवस्थामा छन् । काठमाडौंको पाँच तारे होटल हायात बन्द भएको छ। हायात ब्यवस्थापनले आगामी ६ साताका लागि होटल बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि सावधानी अपनाउन होटल बन्द गरिएको जनाइएको छ । अर्को पाँच तारे होटल सोल्टीले दुई वटा विङ्मध्ये एउटा बन्द गरिसकेको छ। बत्तीसपुतलीस्थित होटल द्वारिकाज्ले पनि आफ्नो सेवा बन्द गरेको जनाएको छ। अहिले कोरोनाका कारण पर्यटक आवगमन ठप्प छ। नेपाल सरकारले पनि पर्यटक भिसा दिन बन्द गरेको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले भिडभाड हुने ठाउँमा नजान सर्वसाधारणलाई अपिल गरेको छ। यस्तै, मेरियट ग्लोबलले नेपालको मेरियटलाई बन्द गर्न सुझाब दिइसकेको छ। होटलका अुसार मेरियट पनि अब बन्द हुने अवस्थामा छ । होटलले अहिले बिजुली र पानीकै खर्च पनि धेरै भएको भन्दै अन्य खर्च पनि उस्तै हुने भएकाले बन्द गर्नुको बिकल्प नरहेको जानकारी दिएको छ । बन्द गरेपछि कर्मचारीलाई के गर्ने भन्ने बिषय टुङ्ग्याउन भने बाँकी रहेको बताइएको छ । अर्को होटल र्याडिसन पनि बन्द गर्ने पक्षमा छ। त्यहाँ पनि कर्मचारीसँग कुराकानी मिलाएर बन्द गर्ने तयारी भइरहेको छ। र्याडिसनमा अहिले ३ वटा कोठामा मात्र पाहुना छन्। अन्नपुर्ण र याक एण्ड यति होटलले पनि अहिले कर्मचारीसँग कुराकानी गरिरहेका छन्। बन्द गर्ने भएपछि उनीहरुलाई के कति हर्जाना दिने भनेर छलफल भइरहेको छ। अहिले अधिकांश होटलहरुले फागुन महिनासम्मको तलब दिएर अनिश्चितकालको लागि कर्मचारीहरुलाई घर पठाएका छन् । सुरक्षा गार्ड र केही सीमित कर्मचारीहरु बाहेक बाँकी सबै कर्मचारीहरुलाई एउटै निर्णयबाट बिदाई गरिएको पर्यटन व्यवसायी एवं होटल सञ्चालकहरुले जनाएका छन् । तर, कतिपयले भने बेतलवी घर फर्काएको बताइएको छ । काठमाडौंको प्रमुख पर्यटकको गन्तव्य ठमेलका होटलहरु पनि क्रमिक रुपमा बन्द भइरहेका छन् । सरकारले लगभग सबै देशबाट नेपाल आउन बन्द गरेपछि होटलहरुले कर्मचारीलाई बेतलवी बिदामा घर पठाउन थालेका हुन् । होटल संघ नेपालका महासचिव साजन शाक्यले सरकारसँग ती कर्मचारीहरुलाई तलबको २५ प्रतिशतसम्म खर्च दिनेबारे पहल भइरहेको भए पनि त्यसबारे निर्णय भइनसकेकाले अहिलेसम्मका लागि सबै कर्मचारीहरुलाई बिना तलब अनिश्चितकालको लागि बिदाई गरेको बताए । तर, उनीहरुको पुनरागमन हुन्छ भन्ने यकीन नरहेको सञ्चालकहरु बताउँछन् । होटलले ८५ प्रतिशतभन्दा धेरै कर्मचारीहरुलाई अनिश्चितकालको लागि बिना तलब बिदा गरिएको जनाएको छ ।  साक्यले अहिले होटलहरुको व्यवसाय ठप्प भएकोले बन्द गर्नुको विकल्प नरहेको बताए । सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो। अत्यावश्यक कामका बाहेक आवतजावत र हिँडडुल नगर्न सरकारले आग्रह गरेको छ। सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ।

गण्डकी प्रदेशमा १ सय ११ आइसोलेसन बेड तयार

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १ सय ११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी तथा निजी अस्पतालमा गरी हालसम्म सो सङ्ख्यामा विशेष सुविधासहितको आइसोलेसन कक्ष तयार गरिएको हो । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दश श्ययाको आइसोलेसन कक्ष तयार गरिएको छ । मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँमा ३० श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशका ५० श्ययाभन्दा बढीका सबै सरकारी तथा निजी अस्पताललाई आफ्नै बजेट÷स्रोतमा कम्तीमा पाँच श्ययाको आइसोलेसन कक्ष स्थापनाका लागि कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गरिएको प्रदेशको उच्चस्तरीय निर्देशक समितिले गत हप्ता निर्देशन दिएको थियो । स्याङ्जा जिल्ला अस्पतालमा चार तथा पर्वत जिल्ला अस्पतालमा तीन, धौलागिरि अञ्चल अस्पताल बागलुङमा चार श्ययाको आइसोलेन कक्ष तयार गरिएको उहाँले जानकारी दिनुभयो । लमजुङ, नवलपुर, जोमसोम, बागलुङका केही निजी अस्पतालमा समेत एक÷दुई वटाका दरले श्यया तयार गरिएको बताइन्छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले कोरोना सङ्क्रमित भएको प्रमाणित भएका बिरामीलाई उपचारका लागि विशेष व्यवस्थासहितको कक्ष र चिकित्सक तयारी अवस्थामा राखिएको बताए । “कोरोनाविरुद्ध पूर्वसावधानी अपनाउँदै सङ्क्रमितलाई विशेष प्रकारले उपचारका लागि छुट्टै कक्षको व्यवस्था गरेका छौं । गण्डकी प्रदेशका कोही पनि सङ्क्रमित भएको पाइएको छैन । आवश्यक परेमा श्यया थप्न सकिन्छ”, आचार्यले भने । पछिल्लो समय सामान्य रुघाखोकी लागेका बिरामीसमेत कोरोनाको त्रासले परीक्षणका लागि अस्पताल पुग्ने गरेकाले अस्पतालमा भीडभाड बढेको उहाँको भनाइ थियो । स्वास्थ्य सहायता कक्ष स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । पोखरा विमानस्थलको प्रस्थान र आगमन, लेकसाइडको बाराहीचोक, बागलुङको बुर्तिबाङ, तनहुँको आँबुखैरेनी, स्याङ्जाको गल्याङस्थित राम्दी पुल, मुस्ताङको जोमसोम विमानस्थल, मुक्तिनाथ र घाँसा, नवलपरासीको गण्डक ब्यारेज र नवलपुरको गैँडाकोट नगरपालिका अगाडि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको बताइन्छ । त्यसैगरी विभिन्न सार्वजनिक तथा निजी सङ्घ संस्थाले आआफ्नो पायकको स्थानमा स्वास्थ्य सजगताका लागि सहायता कक्ष स्थापना गरी सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । रासस