विकासन्युज

साताको शेयर : कोरोनाकाे प्रभाव परे पनि आठ अर्बको कारोवार, अर्काे सातादेखि बजार बन्द

काठमाडौं । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल दुई करोड २७ लाख १९ हजार १ सय २२ कित्ता शेयर रुपैयाँ ८ करोड २६ लाख ९५ लाख दुई हजार ७ सय ११ बराबरको कारोवार भएकाे थियाे । त्यस्तै अर्काे सातादेखि अर्थात आइतवारदेखि सेयर बजार बन्द हुने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै सो दिनदेखि चैत २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने बताएका हुन् । साताको पहिलो दिन नेप्से परिसूचकमा भारी गिरावट देखा पर्यो । शेयर कारोवारमा सहजता ल्याउन भन्दै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेञ्जले कारोवार समय थप गरेर ४ बजेसम्म पु¥याएको भए पनि बजारमा उत्साह देखिन सकेन । त्यस दिन नेप्से परिसूचक ६४.१४ अङ्कले घटेर एक हजार ३१३.०४ मा पुग्यो । कूल १७४ कम्पनीका ५५ लाख ७० हजार ३० कित्ता शेयर दुई अर्ब १० करोड १४ लाख १७ हजार २ सय ९२ रुपैयाँमा खरिद बिक्री भए । सोमबार नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भयो । त्यस दिन नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुग्यो । कूल १६० कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८ सय ७७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबार नेप्से परिसूचक भारी अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्से परिसूचक ४४।३३ अङ्कले घटेर एक हजार २७२।०६ मा पुग्यो । घटेको बजारमा कारोवार रकम भने झण्डै डेढ अर्ब बराबर भएको छ । कूल १७५ कम्पनीको ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता शेयर एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार ६५६ मूल्यमा खरिद बिक्री भए । बुधबार पनि नेप्से परिसूचक ओरालो लाग्नेक्रम रोकिएन । त्यसदिन नेप्सेमा १६.२६ अङ्कले गिरावट भयो । आज कूल १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता शेयर रु एक अर्ब १८ करोड ४४ लाख १६ हजार ८ सय ७८ मा खरिद बिक्री भए । साताको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार देखापर्यो । त्यस दिन नेप्सेमा १३.५० ले वृद्धि भई एक हजार २६९.३० मा पुग्यो । नेप्सेको उकालो यात्रासँगै कारोवार रकमसमेत बढेर झण्डै रु दुई अर्बको हाराहारीमा पुग्यो । कूल १७३ कम्पनीको ५१ लाख छ हजार ६ सय ८१ कित्ता शेयर एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ बराबरको कारोवार भयो । चार कम्पनीको शेयर सूचीकृत साताभर बजारमा विभिन्न चार कम्पनीका कूल ६९ लाख २४ हजार ३ सय १२ कित्ता शेयर सूचीकृत भए । त्यसमा कृषि विकास बैंकको कूल ५४ लाख नौ हजार ३ सय १७ कित्ता शेयर लाभांश, गणपति माइक्रोफाइनान्सको ७२ हजार ४ सय ५० कित्ता शेयर लाभांश, आइसिएफसी फाइनान्सको चार लाख ४३ हजार २ सय ९६ कित्ता शेयर लाभांश र आरएमडिसी लघुवित्तको कूल नौ लाख ९९ हजार २ सय ४८ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । रासस

सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने: अनिवार्य मास्क लगाउन आह्वान

काठमाडौं । कोरोना भाइरस (कोभिड १९ ) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकांक्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । कोषले भक्तजनसँग पूजाका लागि तोकिएको शुल्क लिएर विशेष रुद्राभिषेक गर्ने व्यस्था गरेको थियो । विशेष पूजाका लागि धेरै भक्तजनको रुचि पनि बढ्दै गएको थियो । कोषका लागि आम्दानीको स्रोत पनि बनेको विशेष पूजा सो भाइरसको सतर्कता लागि २५ जना भन्दा बढी उपस्थित हुन नपाउने नियमका कारण स्थगित गरिएको हो । यसले पशुपतिको नित्य पूजामा कुनै प्रभाव नपर्ने उनले बताए । पशुपतिमा दर्शनका लागि आउने भक्तजनका लागि तीन मिटर परैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति आउने सबै भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाएर आउन पनि कोषले आह्वान गरेको छ । पशुपति मूल मन्दिरभित्र दर्शनका लागि छिर्ने भक्तजनलाई पश्चिम ढोका अघि साबुन, पानी, स्यानिटाइजर लगायत सुरक्षाका उपाय पनि अललम्बन भएको छ । यसैगरी पशुपति क्षेत्रमा हुने ठूला यज्ञ पनि बन्द गरिएको छ । चैत ११ गतेदेखि हुन लागेको महारुद्रयाग पनि हाललाई स्थगित गरिएको छ । पशुपतिमा हुने गंगा आरतीमा शनिबारदेखि २५ जनाभन्दा कम मानिसमात्र सहभागी हुनेछन् । कोरनाको त्रास कम भएपछि हाल स्थगित गरिएका विशेष पूजा लगायत यज्ञ यागादि पनि गरिने जनाइएको छ । रासस

काेराेना भाइरस प्रभाव: कामदार चीनमा, आयोजना कम्पनी प्रभावित

काठमाडौं । कोरोना भाइरसका कारण विश्व नै त्राहीमान भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ । नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका छन् । निर्माण सम्पन्न हुने क्रममा पुगेका र राम्रो भौतिक प्रगति भएका जलविद्युत आयोजनासमेत त्यसबाट नराम्ररी प्रभावित भएका छन् । चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेका दुई आयोजनामध्ये एक आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको थियो । तर, कोरोना भाइरसका कारण चिनियाँ प्राविधिक आउन नसक्दा इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्न समस्या भएको छ । कम्पनीले माथिल्लो र तल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । त्यसमध्ये १८.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेनको काम करिब सम्पन्न हुने चरणमा पुगेको थियो । भौतिक निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको सो आयोजनाको विद्युत गृहमा उपकरण जडान गर्ने कार्यतालिका तय गरिएको थियो । तर गत डिसेम्बरको अन्तिमदेखि चीनमा फैलिएको कोरोनाका कारण चिनियाँ कामदार उतै रोकिँदा उपकरण जडानमा समस्या भएको साञ्जेन जलविद्युत कम्पनी लिमिटका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । चीनमा कोरोनाको सङ्क्रमण कम भएपछि चिनियाँ प्राविधिक आउने सूचना आए पनि सरकारले विदेशी नागरिकलाई तत्काल नेपाल आउन लगाएको प्रतिबन्धका कारण उनीहरु उतै रोकिएका छन् । कोरोनाको प्रभाव न्यून नहुँदासम्म आयोजनामा कुनै काम नहुने अवस्था देखिएको छ । “कोरोना भाइरसको असरले उपकरण जडानको काम प्रभावित भएको छ, चिनियाँ कामदार फर्किन नसक्दा उपकरण जडानमा ढिलाइ भएको हो”, उनले भने । रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेनबाट चालू आर्थिक वर्षको अन्त्यदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । कोरोनाका कारण थपर दुई महिना पर धकेलिने अवस्था आएको श्रेष्ठको भनाइ छ । “कोरोनाको असरले काम रोकिँदा उत्पादन तालिका पनि पछि सर्ने सम्भावना देखिएको छ, हेरौँ प्रभाव कस्तो पर्छ, सोही आधारमा थप निर्णय होला”, श्रेष्ठले भने । यस्तै आयोजना सकिएको भए पनि प्रसारण लाइनको अभावमा उत्पादित विद्युत पूर्ण क्षमतामा राष्ट्रिय प्रसारण लाइनमा जोड्न पनि समस्या रहेको थियो । निर्माणाधीन चिमिले–त्रिशूली थ्री बी हब प्रसारण लाइन र सवस्टेशनको कामसमेत पूरा भएको छैन । सो प्रसारण लाइन नबने पनि वैकल्पिक व्यवस्था गरेर नौ मेगावाट विद्युत् जोड्ने तयारी गरिएको थियो ।   तल्लो साञ्जेनको सुरुङ ‘ब्रेक थ्रु’ चिलिमको हालकै प्रसारण लाइनमार्फत नौ मेगावाट विद्युत् जोड्ने तयारी गरिएको थियो । यस्तै कूल ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेनको शुक्रबार मात्रै सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको कूल तीन हजार ६७३ मिटर लामो मुख्य सुरुङ शुक्रबार निर्माण सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए । आज शनिबार सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि साञ्जेन खोलाको पानी व्यवस्थापन गरेर शुक्रबार नै सुरङ ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ । आयोजनाको प्रमुख र महत्वपूर्ण मानिएको सुरुङ निर्माण कार्य सम्पन्न भए पनि अब सुरुङको ढलान तथा मर्मतको काम अगाडि बढाइनेछ । सो कार्यका लागि कम्तीमा आठ महिना समय लाग्नेछ । हाल आयोजनाको भौतिक निर्माण झण्डै ७८ प्रतिशतको हाराहारीमा पुगेको छ । यस्तै आयोजनाको बाँध क्षेत्रको भौतिक निर्माण यसअघि नै सम्पन्न भएको छ । हाल विद्युत् गृह निर्माण तथा टेलरेस सुरुङमा पाइप जडानलगायतका काम भने जारी छ । कोरोनाका कारण ठेकेदार कम्पनीका प्राविधिक, कर्मचारी र केही उपकरण चीनमा नै रहेका कारण आयोजनाको काम प्रभावित भएको छ । तल्लो साञ्जेनबाट आगामी कात्तिकदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । ती दुवै आयोजना सरकारले अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएका आयोजना हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शुरु गरेकाे सो कार्यक्रमले जलविद्युत्मा आन्तरिक लगानी प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । रासस

कोरोना संक्रमण बिरुद्ध आयुर्वेद चिकित्सा

विश्व कोरोनाको प्रकोपले आतङ्कित छ । नेपालमा कारोनाको संक्रमण हालसम्म नदेखिए पनि यो नेपाल भित्रिने प्रयाप्त सम्भावनाहरु छन् । भनिन्छ ‘प्रिभेन्सन इज बेटर देन क्योर’ । अतः यस्तो बेलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुनबाट बच्नु वा हुन नदिनु बुद्धिमानी हुन्छ । स्मरण राख्नुपर्ने पहिलो कुरा कुरा के हो भने, संक्रमण सम्भावितले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर भाइरससँग सजिलै लड्न सक्छ । जसका लागि आयुर्वेद चिकित्सा शास्त्रहरुमा विभिन्न विधिहरुको व्याख्या गरिएको पाइन्छ । कोरोना संक्रमणको हालसम्म कुनै उपचार भेट्टिएको छैन । कुनै खोपको पनि आविष्कार भएको छैन । यस परिस्थितिमा संक्रमणमबाट बच्ने उपाय नै गर्ने हो । भन्नुको अर्थ हरसम्भव आफ्नो रोगप्रतिरोधात्मक (इम्युनिटी) क्षमतालाई बढाउनु हो । शरीरलाई स्वस्थ कायम राख्नु हो । बेलायतको प्रसिद्ध मेडिकल पत्रिका ‘ल्यानसेट’का अनुसार संक्रमितमा देखिने सामान्य एवं साझा लक्षण भनेको ज्वरो, सुख्खा खोकी र साँस बढ्ने हुन्छ । केहीमा नाक बग्ने, नाक बन्द हुने, धाँटी सुक्ने वा दुख्ने, पखाला लाग्ने आदि हुन्छ । यी लक्षण सधैं देखिन्छ भन्ने पनि हुँदैन । र, यीमध्ये केही वा सबै लक्षण देखिदैमा कोरोना संक्रमण भएकै हो भनेर ग्यारेन्टी गर्न सकिँदैन । कोरोना संक्रमण भएका व्यक्तिमा देखिने लक्षण पनि यस्तै हुन् भन्ने मात्रै हो । आयुर्वेदानुसार ज्वरोबाट बच्न उपवास गर्नु उत्तम मानिन्छ । खोकीबाट बच्न दिनभरीमा पटक पटक बेसार पानी वा गुर्जोको काढा, असुरोको पातको रस बनाएर पिउन सकिन्छ । साँस लिन अप्ठयारो भए तत्काल अस्पताल भर्ना हुनुपर्छ । अक्सिजनको सहारा लिनुपर्ने हुनेहुन्छ । संक्रमित व्यक्ति दिउँसो सुत्नु हुन्न । दिउँसोको सुताईले वसन्त ऋतु (चैत–बैसाख) मा शरीरमा कफको बृद्धि भई इम्युनिट (रोग प्रतिरोधात्मक क्षमता) लाई असर पार्छ । घर बाहिर पकाईएको नास्ता, खाना वा खाजा खानुहुन्न । साथै माछा, मासु, अण्डा, दुध (मधुर रसयुक्त हुने भएकोले) वा दुधजन्य खाद्यपदार्थ र वेकरी (मैदायुक्त भएकोले) आईटमहरु सेवन गर्नु हुन्न । चिया कफीले यस मौसममा शरीरको कफ काट्ने भएकोले कालो चिया र कालो कफी प्रतिदिन ४ देखि ५ कपसम्म (विना चिनीको) खानु यस मौसममा राम्रै मानिन्छ । मह (मेदोहर) र ध्यू (क्रिदोष सामक) को प्रयोगले इम्युनिटी थप बलियो हुन्छ । कफ बर्धक हुने भएकोले सकेसम्म मासु प्रयोग नगर्ने र गर्नै पने अवस्थामा जंगली जनावरको मांस वा मांसरस यस ऋतुमा हितकर बताईएको छ । कोरोनाको यस माहोलमा सकेसम्म शाकाहार रहनु स्वस्थकर देखिएको छ । बजारमा अनेकथरी खानेतेल पाइन्छ । जसमध्ये धेरै थरी तेल स्वस्थको लागि अहितकर पाइएको छ । अतः यस मौसममा खाने तेलको प्रयोग सचेत रुपमा गर्नुपर्छ । सकेसम्म तेलमा तारे भुटेको खाना खान छोड्नुपर्छ । एक पटक तताएको तेल फेरि प्रयोग गर्नु हुन्न । सधैं एकै ब्रान्डको तोरीको तेल प्रयोग गर्नु नै बुद्धिमानी हुने देखिन्छ । किनकि बजारमा पाइएका सुर्यमुखी, भटमास, आलस आदिका तेल झनै अखाद्य पदार्थयुक्त पाइएको छ । अमेरिकी हार्डवर्ड मेडिकल स्कूलले कोरोना संक्रमणपछिको निराशा र मानसिक विक्षिप्तताबाट बच्न योग र ध्यान गर्न सिफारिस गरेको छ । योगाभ्यास एउटा सम्पूर्ण प्याकेज मानिएकोले योग आसनले शरीरलाई पुष्ट, प्राणायामले स्वाँसलाई स्थीर, ध्यानले मनलाई एकाग्र एवं शान्त बनाई सकरात्मक सोचको अभिबृद्धि गराउँछ । सकारात्मक सोच पनि रोगप्रतिरोधात्मक क्षमता बृद्धिको बलियो आधार हो । आयुर्वेदमा इम्युनिटी बृद्धिका लागि दिनचर्या, ऋतुचर्या, स्वस्थवृत्, सद्वृत, सदाचार (नमस्कार गर्ने संस्कार, पटक पटक हात धुने, जस्ता) आदिको विधान गरिएको छ । कोरोना विरुद्धको बिशेष दिनचर्याको रुपमा व्याधिक्षमत्वको वृद्धिको लागि – यस ऋतुमा शारीरिक पाचनशक्ति तुलनात्मक रुपमा कमजोर नै हुने भएकाले पुराना अन्नबाट वनेका हल्का सुपाच्य भोजन गर्दा फाइदा हुन्छ । भातभन्दा रोटी खानुपर्छ । छिट्टै पच्ने दाल खानुपर्छ । – नास्ता, खाना वा खाजामा मौसमीफलफूल एवं शब्जी सेवन गर्ने बानी गर्नुपर्छ । फलफूल खाली पेटमा खाने गर्नुपर्छ । खाना धरै पटक चपाएर मात्र निल्ने गर्नुपर्छ । – शारीरिक क्षमता अनुसारका व्यायाम तथा योगाभ्यास गरी शरीरमा आन्तरिक न्यानोपन उत्पन्न गराउनु स्वस्थकर हुन्छ । – गुर्जो, अदुवा र तुलसी पात मिश्रित काढा पटक पटक बनाएर पिउनुपर्छ । बेसार पानी पकाएर पटक पटक पिउँदा पनि शरीरको इम्युनिटी बढ्ने हुन्छ । – विहानीपख सबेरै उठ्ने गर्नुपर्छ र नित्यकर्म सकेर कम्तिमा ३० मिनेट सधैं सुर्यकिरणको स्नान गर्नुपर्छ । यसले व्याधिक्षमत्व बढाउँछ । – उत्तरायणमा पर्ने वसन्त ऋतुमा अमलालाई इम्युन बर्धक रसायनको रुपमा प्रयोग गर्न सकिन्छ । – वैज्ञानिक अनुसन्धानहरुका अनुसार उपवासले पनि इम्युनिटी बढाउने देखाएकोले सबैले कम्तिमा हप्ताको एक दिन उपवास गर्ने गर्नु हितकर हुन्छ । – घर बाहिर बनेको वा प्याक गरिएको पत्रु खाना खानुहुन्न, बासी वा फ्रिजको खाना सकेसम्म उपयोग गर्नुहुन्न । – यस मौसममा रख्सी मिश्रित औषधी आसव र अरिष्ट प्रयोग गर्नु हितकर मानिन्छ । यसर्थ वसन्त ऋतुमा कहिले काँही हल्का मात्रामा सेवन गरिएको गुणस्तरीय रख्सीले स्वस्थको रक्षा गर्ने देखिन्छ । तर घरेलु रख्सी र दैदिन सेवन गर्ने बानी सर्वथा हानीकार हुन्छ । – दिनभर पटक पटक सम्झी सम्झी हात, मुख धोई राख्नुपर्छ । सकरात्मक सोचका साथ सबैको मंगलको कामना गरी राख्नुपर्छ । (लेखक आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, धुलिखेलका चिकित्सक हुन्)

कोरोना संक्रमणको आशंकामा दुई जना अस्पतालमा भर्ना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा २ जना व्यक्ति कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा भर्ना भएका छन् । शनिबार भारतबाट नेपाल भित्रिएका २ जनालाई उच्च ज्वरो देखिएपछि महाकाली अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतका अनुसार गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका २ जनामा १०० डिग्री फरेनहाइटभन्दा बढी ज्वरो देखिएको थियो । परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अञ्चल अस्पताल पु¥याइएको हो । कोरोना संक्रमणको आशंका गरिएका दुवै जनालाई आइसोलसन वार्डमा भर्ना गरेर परीक्षणका लागि नमूना (स्याम्पल) लिने प्रक्रिया थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार शनिबार मात्रै १० हजार बढी नेपाली गड्डाचौकी नाका भएर भारतबाट नेपाल भित्रिएका छन् ।

५०% तलब दिएर कर्मचारीलाई छुट्टी दिने महालक्ष्मीको निर्णय, संकटमा मिलेर कम्पनी बचाउने संकल्प

  काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको बेलामा कसरी कम्पनी व्यवस्थापन गर्ने भन्ने बारेमा ११ बुँदे निर्णय गरेको छ । त्यसमा पालैपालो गरी आधा कर्मचारीलाई विदा दिने निर्णय भएको छ । कम्पनीको नियम अनुसार पाउने बिदाभन्दा बढी विदामा बस्नु पर्नेलाई ५० प्रतिशत तलब भुक्तानी गर्ने निर्णय भएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताएका छन् । ‘देश र जनता अहिले अन्तराष्ट्रिय संकटबाट गुज्रिरहेका छन् । उचित ब्यवस्थापन नगर्दा कम्पनी डुब्न सक्छन । तपाईं हाम्रो जागिर जान सक्छ । देश ठूलै संकटमा फस्न सक्छ’ भट्टराईले फेसबुक स्ट्याटसमा लेखेका छन्–यस्तोमा आफू पनि बाच्ने, अरुलाई पनि बचाउने, कम्पनी पनि बचाउने अनि देशलाई पनि सहज हुने गरि कार्य गर्नुमा नै हामी सबैको भलाई छ । कोरोना भाईरसबाट संसार नै पीडित छ । नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरि अत्यावश्यक बाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गतेसम्म बन्द गरेको छ । तर सरकारले बीमा कारोबारलाई अत्यावश्यक सेवामा राखेको छ । त्यसैले यो सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी भएकोले उपयुक्त निर्णयहरु लिएको उनले जानकारी दिए । ‘मानिसको जीवनमा भविष्यमा आईपर्ने जोखिम कै लागि बीमा गर्नु पर्ने भएकोले यो संकटको घडीमा भागेर हिड्नु पनि भएन । यस्तो बेलामा सुरक्षित पनि हुने र बीमा कारोबारको उचित व्यवस्थापन गर्नु बुद्धिमानि हुने ठानेका छौं’ भट्टराईले भने । उनका अनुसार शनिवार बसेको बैठकले ११ बुँदे निर्णय गरेको छ । उक्त निर्णयहरु भट्टराईले फेसबुकबाट सार्वजनिक गरेका छन् । कार्यलय सञ्चालन विधि र विदाका बारेमा कम्पनीले लिएको निर्णयहरु यस्ता छन् । १) कार्यालका कर्मचारि सबैको दैनिक ज्वरो मापन गर्ने, मास्क लगाउन लगाउने,सेनिटाईजर प्रयोग गराउने र १÷१ घण्टामा साबुन पानीले हात धुन लगाउने । २) कार्यालयका कर्मचारिलाई १/१ घण्टामा तातो पानी, चिया, कफि उपलब्ध गराउने । ३) कार्यालयमा भेटन सेवाग्राही र ग्राहक आउदा भेटने एउटा छुट्टै कोठाको ब्यवस्था गर्ने र ३ फिटको दुरिराखि भेट बार्ता गर्ने । अन्य कोठा कोठामा जान नदिने । ४) आउने ग्राहक र सेवाग्राहीलाई गेटमा नै ज्वरो नापीमास्क लगाई सेनिटाईजर लगाएर मात्र गेट भित्र आउन दिने । ५) बिमा कार्यालयमा एकै ठाउमा ५ जना भन्दा बढि ग्राहकसंग छलफल वा भेटघाट नगर्ने । ६) शाखा वा क्षेत्रिय कार्यालयमा दैनिक अत्यावश्यक कामको लागि आलोपालो गरि २ जना मात्र दैनिक उपस्थित हुने । सो भन्दा बढिलाई अनिवार्य बिदा बस्न लगाउने । ७) प्रधान कार्यालयमा प्रत्येक विभागमा अधिकृत एक जना र सहायक एक जना गरि दुई जना मात्र उपस्थित गराई दैनिक आई पर्ने सेवा दिने र बाँकी कर्मचारी लाई बिदा दिने । ८) प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृत पनि आलो पालो गरि आउने र बिदा बस्ने । ९) अनिवार्य दिदा लिँदा सार्बजनिक सवारीमा आउने र टाढा घर भएका कर्मचारिलाई प्राथमिकतामा राखि बिदा दिने । १०) बिदा दिदा सबैलाई पहिले संचित बिदाबाट कट्टि हुने गरि दिने, त्यो नहुने स्थायीलाई एडभान्स बिदा दिने र त्यो पनि नहुनेलाई बोर्डबाट पास गरि ५० प्रतिशत मात्र पाउने पेड लिभ दिने । ११) बिदा आलो पालो गर्दा कोरोना भाईरसको स्थिति हेरि १/१ दिन, ३/३ दिन वा ५/५ दिनको लगातार हुने गरि दिने ।

उत्तर कोरियाद्वारा छोटो दुरीका दुई क्षेप्यास्त्र प्रहार

सोल । उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो । विश्वभरी कोरोनाको सङ्क्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । कोरोनाको सङ्क्रमबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्न अति नै असान्दर्भिक भएको दक्षिण कोरियाका अधिकारीहरुले टिप्पणी गरेको छ । उनीहरुले यस्ता असान्दर्भिक र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् । उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको सङ्क्रमण नभएको दावी गरिएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई लाख ७६ हजार ४६८ जना सङ्क्रमित भएका छन् भने ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टी गरेको छ । रासस/एएफपी

आइतबारदेखि यी स्थानमा जाने यात्रुलाई निःशुल्क बस सेवा

काठमाडौं । विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिने भएको छ । ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले नुवाकोटको त्रिशूली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जानका लागि आइतबारदेखि चार बस सञ्चालन गर्न लागेको हो । तीमध्ये दुई काभ्रेपलाञ्चोक र दुई नुवाकोट जानेछन् । ट्रान्सपोर्टका प्रबन्ध निर्देशक रमेश गौतमले सवारी साधन नपाएर नुवाकोट र काभ्रेपलाञ्चोक जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गर्न लागेको जानकारी दिए । “आइतबारदेखि सञ्चालन हुने बससेवा यात्रुको सङ्ख्यामा वृद्धि भएर विस्तारै बढाउँदै लान्छौँ”, उनले भने । देशलाई दुःख परेका बेला आफूले सहयोग गर्न लागेको प्रबन्ध निर्देशक गौतमको भनाइ थियो । विश्वमा फैलिएको कोभिड–१९को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत १० गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णयसमेत गरिसकेको छ ।रासस