चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन माग
काठमाडौं । नेपाल चिकित्सक सङ्घले कोभिड–१९ को उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सरकारसँग माग गरेको छ । सङ्घका महासचिव डा बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ का सङ्क्रमितसँग जोखिम मौल्दै उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी तथा चिकित्सको जीवन बीमा, स्वास्थ्य बीमा र विशेष बीमाको व्यवस्था गरी मनोबल बढाउन माग गरेको छ । सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिलले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेबमोजिम अनिवार्य रुपमा उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षाका सामग्रीहरु पनि उपलब्ध गराउन सरकारसँग माग गरेको हो । कोरोना भाइरससँग जुध्न अथक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबै मिली यो रोगलाई नेपालमा फैलिनबाट रोक्न र आफ्नो जिम्मेवारी पूरा गरी असल एवम् जिम्मेवार नागरिकको परिचय दिने अभियानमा सरिक हुनसमेत महासचिव डा रिजालले अपिल गरेको छ । सरकारका तीनवटै तह सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्दै कोरोना भाइरससम्बन्धी अभियानलाई सहज बनाउन सरकारले अझ बढी ठोस कदम चाल्नुपर्ने आग्रह गरिएको छ । ‘तीनै तहसँग समन्वय गरी एम्बुलेन्स सेवाको सहज उपलब्धता लगायत क्वारेन्टाइनको उचित व्यवस्थापनसहित आ–आफ्नो जिम्मेवारीअनुसार काम गराउनु आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा सङ्घले स्वास्थ्य संस्थालाई चाहिने अत्यावश्यक सामग्रीको उपलब्धता, सेवाका सम्बन्धमा तत्काल सम्बोधन गर्नुपर्ने विषयलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्नका निमित्त सङ्घले अनुगमन गर्ने र सङ्घका शाखा कार्यालयले आफू मातहतका स्वास्थ्य संस्थामा सोही अनुरुप अनुगमन गर्नसमेत आग्रह गरेका हुन् । रासस
कोरोना परिक्षण गर्ने किट र अतिआवश्यक बस्तु आयात गर्न खुल्यो चीनतर्फका नाका
काठमाडौं । कोरोना परिक्षण गर्ने किट र अतिआवश्यक बस्तु आयात चीन तर्फमा रसुवागढी र तातोपानी नाका खुला भएको छ । दुई महिनापछि नेपाल–चीन व्यापारिक नाका खुला गरेको हो । सरकारले केही दिन अघि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला गर्ने निर्णय गरेको थियो । भन्सार विभागमा महानिर्देशक सुमन दाहालले सुरुमा रसुवागढी र तातोपानी नाकाबाट कोरोना भाइरस परिक्षण गर्ने किट, औषधि र अतिआवश्क बस्तु आयात हुने बताए । दाहालका अनुसार गत माघको १५ गतेबाट औपचारिक रुपमा यी नाकामार्फत् हुने आवात जावत रोकिएको थियो । ‘विस्तारै अन्य व्यापारीक सामन पनि सो नाकाबाट आयात हुन्छ, अहिले पनि अतिआवश्यक उपभोगिय बस्तु भारतबाट पनि सहज तरिकाले आयात भइरहेको छ,’ दाहालले भने | ढुवानीका लागि जाने चालक, सीमामा रहने सुरक्षाकर्मी, अध्यागमन तथा भन्सारका कर्मचारी, श्रमिकहरु र आयातीत वस्तुमा कोरोना संक्रमणको जोखिम हटाउन डिस्इन्फेक्सन गरिनेछ । पहिलो हेल्थ असिस्टेन्टका भरमा रहेका नाकामा अहिले मेडिकल अफिसरको नेतृत्वमा टोली खटाइएको छ । नेपालीहरुले लैजाने कन्टेनर चिनियाँले लोड गर्नेछन् र उक्त कन्टेनर चालकले नेपाल ल्याउनेछन् । दुबै देशतर्फ हुनसक्ने संक्रमणलाई मध्यनजर गर्दै नेपाली चालकहरुले चिनियाँ नागरिकलाई छुने छैनन् ।
बेलायतमा कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाली समुदायमा त्रास
लन्डन । चीन, इटाली, स्पेन र अमेरिकाको तुलनामा बेलायतमा शुरुमा कोरोना भाइरसको प्रभाव नपरेजस्तो देखिए पनि पछिल्लो एक हप्तामा यहाँ पनि सङ्क्रमण दर ह्वात्तै बढेको छ । यसबाट यहाँको जनजीवन प्रभावित भएसँगै नेपाली समुदायमा पनि त्रास फैलिएको छ । यो हप्ता सङ्क्रमण हुनेहरूको सङ्ख्या एक्कासी आकासिएर ११ हजार पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५ सय नाघेको छ । पछिल्ला पाँच दिनमा मात्र यहाँ प्रत्येक दिन क्रमशः ५७, ४८, ५६ र ८७ र ४३ जनाको मृत्यु भएको छ । यसरी एकाक्सी बढेको कोरोनाको प्रभाव शुन्यमा झार्न कम्तीमा पनि १२ हप्ता लाग्नसक्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताए । कोरोनाको प्रभाव बढे पनि यहाँ पूरा देशभर ‘लकडाउन’ गर्ने सोच भने सरकारले राखेको थिएन । त्यसैले गत हप्ताको शुक्रबारबाट केवल स्कुल, कलेज र विश्वविद्यालय मात्र बन्द गर्ने घोषणा गरेको थियो । नागरिकले अपनाउनु पर्ने सामान्य सावधानी समेत अवलम्बन नगरी पार्क एवं समुद्री किनारमा सयौँको सङ्ख्यामा भेला भएको र कोरानाका कारण बजारमा खाद्यान्नको कृत्रिम अभाव समेत देखिए पछि सरकारले यहि २३ मार्च देखि लकडानको धोषणा गरेकोछ । अब घरायसी सामान तथा औषधी किन्न बढीमा एकाघरका दुई जना मात्र घर बाहिर जान पाइने र दिनको एक पटक शारीरिक व्यायमका लागी बाहिर निस्कन पाइने भनिएको छ । त्यसैगरी काममा जान सार्वजनिक यातायात मात्रै सवारी साधनको विकल्प रहेको अवस्थामा बाहेक अन्य अवस्थामा सार्वजनिक यातायात नचढ्न अनुरोध गरिएको छ । त्यस्तै यहाँका सुपरमार्केटहरुमा पनि एक पटकमा पाँचजना मात्र भित्र छिर्न दिइएको छ । उनीहरुले बजारमा आफूले चाहेजति सामान किन्न पाएका छैनन् । एक परिवारलाई निश्चित परिमाणमा मात्र सामग्री किन्न पाउने नियम बनाइएको छ । बेलायतमा कति नेपाली छन् भन्ने खासै यकिन तथ्याङ्क त छैन, तर विभिन्न संस्थाहरूले आँकलन गरेअनुसार यहाँ करिब दुई लाखको सङ्ख्यामा नेपाली छन् । यीमध्ये बढी त भुतपूर्व गोर्खाका परिवारहरू अधिक छन् । भने त्यसपछि दक्ष सीपयुक्त नेपाली आएका छन् । त्यसपछिका धेरै विद्यार्थीहरू पर्दछन् । बासस्थानका हिसाबले अध्ययन गर्दा अधिकतम नेपालीहरु लण्डनभन्दा बाहिर बसोबास गर्ने गरेका छन् । भुपु गोर्खाहरूको बाक्लो बस्ती रहेका ठाउँहरू फानब्रो, क्यन्ट, अल्टरसट हुन् । यसबाहेक हन्सो, वयम्ली, ह्यारो लगायतका ठाउँमा पनि नेपालीहरुको बसोबास रहेको छ । बेलायतमा भुपु गोर्खा सैनिकहरूको हकहितका लागि भनेर खोलेका करीब आधा दर्जन संघसंस्थाहरु छन् । तर उनीहरूको प्रमुख एजेण्डा भने आँफूहरूको असमान पेन्सनमा मात्र केन्द्रित रहेको देखिन्छ । यतिखेर बृटिश नागरिकजस्तै बेलायतमा बस्ने नेपाली समुदायका मानिस पनि कोरोनाको त्रासमा रहेका छन् । गत हप्ता मात्र लण्डनको ह्यारो बरोमा रहँदै आएका एक पूर्व गोर्खा लीलाबहादुर राईको कोरानाका कारण मृत्यु भएको आशङ्का गरिएपछि नेपाली समुदायमाा झनै त्रास फैलिएको हो । कतिपय समाचारले उनको मृत्यु कोरोनाका कारण नै भनेर लेखे पनि खासमा उनी लामो समय देखी निमोनियाबाट ग्रसित रहेको अस्पतालको रिपोर्टमा उल्लेख छ । यस्तै सोही बरोमा बस्दै आएकी श्रीमती भगवती रानाभाट कोरोनाबाट सङ्क्रमित भई उपचार पछि चौध दिनमा नर्थवीक पार्क अस्पतालबाट डिस्चार्ज भए। यस्तै बिहीबारसम्मको समाचारअनुसार लण्डनको साउथईष्टमा एक जना नेपाली कोरोनाको कारण सघन उपचार कक्षमा भर्ना भएका बताइएको छ । बेलायतमा कोरोनाको कारण नेपाली समुदायमा खास गरी सबैभन्दा बढी असर भुपु गोर्खा परिवारका ज्येष्ठ नागरिकमा परेको यहाँका नेपाली समुदायका नागरिकको अनुभव छ । त्यस्तै गत वर्षमात्र डिसेम्बर र यो वर्षको जनवरीमा भर्ना भएर पढ्न आएका विद्यार्थीहरूलाई यस महामारीको बढी प्रभाव परेको देखिन्छ । त्यसमा पनि भुपु गोर्खाहरू जसका आफ्ना सन्तान बेलायतमा छैनन् र एकल पुरुष र महिला छन् उनीहरु बढी मर्कामा परेको देखिएको छ । कोरोनाका कारण बाहिर जान कठिनाई हुने, कसैगरी बजारसम्म पुगे पनि खाद्यान्न आभाव हुने गरेको छ । कोरोनाको कारण लकडाउन नहुँदै चाहिने भन्दा बढी सामान थुपारिएको कारण सामान समेत पाइएको छैन । यहाँका व्यापारी र सरकारले पनि खाद्य सामग्री बजारमा प्रशस्त मात्रामा रहेको भनिए पनि ठूला सुपरमार्केटमा सामानको अभाव देखिएको छ । जसको उदाहरण ट्वाइलेट पेपरका लागि बजारमा नागरिकले लुछाचुँडी गरिरहेका ‘भिडियो क्लिप’ हरू सामाजिक सञ्जालमा हेर्न पाइन्छ । बेलायतमा कोरोनाको प्रकोप बढ्दै जाँदा पछिल्लो सयममा नेपाली विद्यार्थीहरूलाई यसको समस्या बढी देखिन थालेको छ । केही विद्यार्थीले त आँफुले पढ्ने विश्वविद्यालय बन्द भएको र काम पनि नगरेको हुँदा बस्न खानलाई पैसा नभएको भनिरहेका छन् । खासगरी गत डिसेम्बरमा पढ्न आएका विद्यार्थीहरूले अझै काम पाएका छैनन् भने कतिपयले भर्खर काम शुरु गर्न लागेको बताएका थिए । यसबीचमा प्रकोप बढ्न थालेपछि काम छोड्नु परेकोले झनै अफ्ठारोमा परेको बताउँछन् । यहाँको सरकारले पनि अत्यावश्यक सामग्री बाहेक कपडा स्टेशनरी लगायतका पसलहरू बन्द गर्न भनेपछि यस्तै ठाउँमा काम भएकाले पनि छाड्नु परेको छ । सरकारले पप रेष्टुरेन्टमा काम गर्ने कामदारलाई तलबको ८० प्रतिशत रकम दिने नीति केही दिनअघि घोषणा गरेको छ । तर तिनमा काम गर्नेमा नेपाली विद्यार्थी भने निकै कम छन् । एक त यहाँ कामै पाउन गाह्रो छ । अर्को कुरा कामै पाए पनि हप्तामा २० घण्टामात्र कामगर्ने अनुमति भएका कारण विद्यार्थीहरू निकै अफ्ठारोमा छन् । लण्डनभन्दा बाहिर रहेको हडलफिल्ड विश्वविद्यालयमा मात्र यो जनवरीमा एकसय भन्दा बढी विद्यार्थी आएका छन् । तुलनात्मक रुपमा लण्डन भन्दा बाहिर बस्न डेरा भाडा सस्तो हुने गर्दछ । तर ती स्थानमा सुपरमार्केट थोरै हुने हुँदा सामान महङ्गो र पाउने सम्भावना समेत कम हुन्छ । सुनसरी घर भई हाल हडलफिल्ड विश्वविद्यालयमा ईन्जिनियरिङ पढ्ने एकजना विद्यार्थीले आफ्नो नाम नबताउने शर्तमा अब दोस्रो हप्तादेखि खान पनि समस्या हुने बताएका थिए । उनले ती क्षेत्रमा आफ्नोजस्तै अवस्थामा अरु कम्तीमा पनि ३० जना विद्यार्थी रहेको बताएका छन् । सरकारले पप रेष्टुरेन्ट, जीम, पार्क एवं स्कुलहरू बन्द गर्न भनेपनि पूर्ण रुपमा लकडाउन गरेको थिएन । दुई दिनअघिमात्र एकै दिनमा ५६ जनाको मृत्य भएपछि यहाँ सन्त्रास बढेको हो । बेलायतमा रहेका कतिपय नेपालीले दुख परेका नेपालीलाई हामी खाना र बास दिन्छौं भने पनि यसको समन्वयको अभाव छ । भुकम्पका बेला लण्डनमा रहेको नेपाली दुताबासले समन्वयात्मक भूमिका खेलेका कारण बेलायतका नेपाली संघसंस्थाहरूले साधारण मात्रामा भए पनि सहयोगमा जुटेका थिए । त्यो बेला पनि एनआरएनएले राज्यलाई नदिएर हामीलाई रकम दिनुस् भनेर समेत छुट्टै अभियान चलाएका थिए । यो पटक लन्डनस्थित नेपाली दुताबासले कोरोना प्रकोपसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति गठन गरेको छ । यसमा एक मूल समिति र थप पाँच वटा उपसमिति बनाई संयोजक र अन्य सदस्यहरू राखिएको छ । यो समिति र दूताबासको भुमिकाबारे दूताबासका प्रवक्ता एव नियोग उपप्रमुख सरदराज आरनले नेपाली समुदायका कसैले सहयोग गर्न चाहेमा ती व्यक्तिहरूलाई पीडितसँग समन्वय गराई सहयोग गर्न आग्रह गर्नेगरी मध्यस्थकर्ताको रुपमा काम गर्ने बताए। दूताबासले छुट्टै आर्थिक वा अन्य खाद्यान्न सहयोग गराउने कुनै योजना नरहेको पनि उनले जानकारी दिए । सरकारका अधिकारीहरूले राज्यको ‘फुड ब्याङक’मा आवश्यक खाद्यान्न छ भनेपनि बजारमा खाद्यान्यको अभाव भएपछि दुःख पाउने स्थिति झनै बढेको देखिन्छ । विशेषगरी लन्डनका सुपरमार्केटहरुमा वृद्धवृद्धाहरू खाली बास्केट हातमा लिएर घुमिरहेको देखिन्छ । व्यापारीहरूले कामदारहरू समेत अभाव रहेकोले पनि सामान आपूर्ति गर्न कठिनाई भइरहेको बताएका छन् । उनीहरुले अस्थाई कामदारको माग गरिरहेको देखिन्छ तर काम गर्न मानिसहरु त्यति तयार पनि देखिँदैनन् । आस्डा, लिडल, टेस्को, कोपलगायतका ठूला सुपरस्टोरहरूले कम्तीमा पनि ४ हजार जना अस्थाई कामदारका लागि विज्ञापन गरेका छन् । बजारमा औषधीको पनि अभाव हुँदैछ । औषधी बेच्ने सबै भन्दा ठूलो पसल बुड्सले आफ्ना नियमित ग्राहकलाई समेत औषधी पुर्याउन कठिन भएको बताएको छ । बुड्स जस्ता औषधी पसलहरूले निःशुल्क रुपमै घरमा औषधी पुर्याउन सहयोग गर्र्छौं भनेर बाचा गरे पनि त्यो काम पूर्ण रुपमा भएको छैन । औषधीको अभावका कारण पनि भुपु गोर्खाका बृद्धाबृद्धहरुलाई असर पर्ने सो समुदायका नागरिकले बताएका छन् । एकातर्फ अहिले कोरानाको दुरी कायम गर्न प्राथमिक स्वास्थ चौकीहरूले प्रत्यक्ष भटेर परामर्श दिन छोडेका छन् । फोनबाट चिकित्सक र नर्सले परामर्श दिँदा पनि अङ्ग्रेजी भाषाको समस्या छ । राज्यले दोभाषेको व्यवस्था गरे पनि अधिकांश दोभाषेहरू घरमै एकान्तवास (सेल्फ आइसोलेशन) मा छन् । सरकारले घरमा सेल्फ आइसोलेसमा बसेका र परिवारमा अरु कोही सदस्य नरहेकालाई सरकारका स्थानीय प्रतिनिधिहरु र काउन्सिलहरूलाई परिचालन गरी घरमै खाद्यान्य पुर्याउने योजना सुनाएको छ । तर त्यसले पनि नेपाली समुदायलाई सहयोग पुगेजस्तो देखिँदैन । प्रत्येक दिनको बढ्दो मृत्युका कारण अस्पतालमा शैयाको खाँचो बढ्दै गएको छ । त्यसैले यहाँका निजी अस्पतालले आफ्ना उपकरणसहित प्रयोगका लागि अस्पताल भवन दिएका छन् । सैनिकहरूले पनि आफ्नो अस्पताल दिने घोषणा गरेका छन् । पछिल्लो २४ घन्टामा लण्डनमा रहेका कतिपय खाली भवनहरुलाई अस्थाई अस्पतालका रुपमा परिणत गरिएको छ । अस्पतालमा कामदारको अभाव भए पछि यहाँका करिब ४ लाख पूर्व कर्मचारीहरूले स्वयंसेवकका रुपमा काम गर्न तयार रहेको भन्दै फारम भरेका छन् । यसकारण उपचारमा अब अलि बढी सुविधा हुने देखिन्छ । यस्तै सरकारले अब एक दुई दिन भित्रै प्रत्येक नागरिकका घरमा कोरोना भाइरस जाँचको लागि कीट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । जुन कीटको प्रयोगले पन्ध्र मिनेट भित्र कोरोनाको सङ्क्रमण भए नभएको थाहा हुने बताइएको छ । यो कीट प्रयोगका लागि दिइने परामर्शमा यहाँका नेपाली समुदायले व्यापक रुपमा स्वयंसेवक परिचालन नगरे पुनः नेपालीहरू यसको उपयोगमा पनि ढिला हुनेछन् । सन् २०१२ मा गरिएको एक अध्यायनले बेलायतमा रहेका नेपाली समुदाय दक्षिण एशियाका अन्य देशहरू भन्दा निकै कम मात्र अस्पताल जाने देखाएको थियो । यसरी कमैमात्र अस्पताल जानुको प्रमुख कारण अङ्ग्रेजी भाषा बाधक रहेको सो अध्ययनले देखाएको थियो । रासस
आजदेखि धरानको बीपी कोइराला अस्पतालमा कोरोना परीक्षण
काठमाडौं । आजदेखि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजदेखि धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा कोरोना जाँच सुरु भएको बताएका हुन् । उनले काेराेना परीक्षणका लागि किटजन्य सामाग्री पठाइसकेकाे बताए । हालसम्म काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण भइरहेको थियाे ।
‘आइएमई पे’ले ल्यायाे विभिन्न चार सुविधासहितकाे नयाँ योजना, के के छन् ?
काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्रधित ‘आइएमई पे’ ले मोबाइल वालेट एप- ‘आइएमई पे’ मार्फत् ‘चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ । कम्पनीले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि उक्त योजना प्रस्तुत गरेको हो । हालका लागि ‘आइएमई पे’ मोबाइल वालेट खातामा निम्न सुविधाहरू हाल प्रस्तुत गरिएको छः– वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा: आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरि ४ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि सेवाग्राहीहरुले वालेटमा रु. १००० को न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ । अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिटान्स थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ । साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ । यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ । बैंक बाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन । आइएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् । टप-अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्या सब्याकको सुविधा: यो योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यसब्यक प्रदान गर्ने छ्र हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् । ५०० रिवार्ड पोइन्टस्को सुविधा: यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने छन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ । सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा: हाल विश्वव्यापी महामारी फैलिएको अवस्थामा आइएमई पे सबैलाई डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी आफ्नो अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न अनुरोध गर्न चाहन्छ । सेवाग्रहिहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरि सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ । देशको स्थिति सामान्य हुदै गएपछि नगदको आवश्यकता परेमा देसभारिका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम निशुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पुरा गर्न सहयोग पग्ने विश्वास छ ।
होण्डा नेपाल र नेपाल मेडिकल एसोसियसनको सहकार्यमा कोरोना हेल्प लाईन सेन्टर
काठमाडौं । होण्डा नेपाल र नेपाल मेडिकल एसोसियसनको संयुक्त सहकार्यमा कोरोना हेल्प लाईन सेन्टरको स्थापना भएको छ । कोरोना भाईरस(कोभिड-१९) ले गर्दा उत्पन्न भएको माहाभारीको समयमा आवश्य सहयोग एवम् जानकारी दिने उद्देश्यले उक्त हेप्प लाईनको स्थापना गरिएको हो । यदि तपाईं वा तपाईंको कोहि कसैमा कोरोना सम्बन्धि कुनै लक्षण देखिएमा वा शंका लागेमा वा जानकारी चाहिएमा हेप लाइन नम्बरमा सम्पर्क गर्न सक्ने होण्डा नेपालले जनाएको छ । जसका लागि हेल्प लाईन नम्बर ०१–५९७०००९ मा कल गरी डाक्टरको सल्लाह लिन सकिने छ ।
WHO महानिर्देशकका ७ हेल्थ टिप्सः जसले कोरोना लाग्नै दिँदैन
काठमाडौं । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै विश्व स्वास्थ्य संगठनका महानिरर्देशक टेड्रो एडेनम ग्रेबिएसले सबैलाई स्वस्थ रहन आव्शान गरेका छन् । उनले विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढिरहेको बेला सबैले घरमै बसेर सजगता पाउनु पर्ने बताएका हुन् । उनले यो समयमा सबैलाई घरभित्रै बस्न आग्रह गरेका छन् । उनले आफ्नो छोरी पनि अहिले घरबाटै अनलाइन मार्फत कक्षा लिइरहेकी बताएका छन् । उनले विश्व शान्तीका लागि सबैले घरमै बस्नु पर्नेको अन्य विकल्प नभएको उनले बताएका छन् । यस्ता छन् उनमा ७ हेल्थ टिप्स –स्वस्थकर खानेकूरा खानेगर्नुस् । जसले तपाईको इम्युनीटिले राम्रोसँग काम गर्न सहयोग गर्छ । –मादक पदार्थ धुम्रपान नगर्नुहोस् । धुम्रपानले धेरै रोग निम्त्याउने सम्भावना बढ्छ जसले गर्दा कोरोना भाइरस लाग्ने प्रवल सम्भावना हुन्छ । –सुगर हुने खानुकूरा सकेसम्म नखानुस् । – शाररिक व्यायाम गर्नुस् । हरेक ३० मिनेटमा ३ मिनेट आराम गर्नुस् । दिनमा वयस्कले ३० मिनेट र बालबालिकाले १ घण्टा हिड्ने गर्नुपर्छ । – अरुबाट टाढा रहनुस् । यदि तपाई घर छोड्न चाहनु हुन्न भने अनलाइनबाट फिटनेस्का भिडियो डान्स, म्युजीक सुन्नुस् । योगा गर्नुस् । घरको सिडिमा तलमाथि गर्नुस् । धेरै बेर एकै ठाउँमा नबस्नुस् । – तपाईको मानिसक स्वास्थ्य चेक गर्नुस् । संकटका समयमा तनाव लिनु स्वभाविक हो तर धेरै तनाव नलिनुहोस् । तपाइलाई विश्वास लाग्ने मान्छेसँग कूरा गर्नुस् । समुदायका मानिसहरुलाई सहयोग गर्नुस् । – किताव पढ्ने, गेम खेल्ने गर्नुस् । धेरै समाचार नपढ्ने जसले तपाईलाई रिसालु र दिक्दारपन ल्याउने छ । दिनको दुई पटक तपाईलाई विश्वास लाग्ने सञ्चार माध्यमको समाचार पढ्नुस् । यसाे गर्दा काेराेना भाइरस लाग्ने सम्भावना कम हुन्छ ।
झापाकाे बि एण्ड सि हस्पिटलले पुरा भवन कोराेना उपचारकाे लागि सरकारलाई दिने घोषणा
काठमाडौं । झापास्थित बि एण्ड सि टिचिङ हस्पिटलले कोरोना संभावित र संक्रमित बिरामीको उपचारको लागि आफ्नो अस्पताल र जनशक्ति प्रदान गर्न दिने बताएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले विज्ञप्ती जारी गर्दै सरकारले चाहेको अवस्थामा कोरोना संभावित र संक्रमित बिरामीको उपचारको लागि आफ्नो अस्पताल र जनशक्ति प्रदान गर्न दिने बताएका हुन् । अस्पताल १ सय आईसीयु, २५ भेन्टिलेटर, ८ सय नर्मल बेड र ५ सय शैया सहित उपचारको लागि तयारी अवस्थामा रहेको प्रसाईले बताएका छन् । सरकारले आवश्यक उपकरण पर्सनल प्रोटेक्टीभ इक्वीपमेन्ट( पीपीई), एन नाइन्टी फाइभ माक्स, र परिक्षण किट उपलब्ध गराइदिए अस्पताल र जनशक्ति सरकारले प्रयोग गर्नसक्ने उल्लेख गरेका छन् ।