विकासन्युज

‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’

काठमाडाैं । सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा उक्त निर्देशिका हालै जारी गरेको हो । निर्देशिकाअनुसार कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ, सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन । सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्बन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिकसमेत गर्नु हुँदैन । यसैगरी पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी सत्य-तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्रीमात्र सम्प्रेषण गर्नुपर्छ । पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने कोरोना सङ्क्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारी मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ । साथै सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार, जानकारी वा लेख र प्रतिक्रियालाई शेयर, लाइक वा रिट्विट गरी पुनः प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकता समेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्नु हुँदैन । निर्देशिकाअनुसार कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण हुनु हुँदैन । जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक अवस्था जस्ता कुनै पनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन । पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लालाई स्थान दिनु हुँदैन । पाठक, श्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्ने निर्देशिकामा जनाइएको छ । त्यस्तै पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजीकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्ने गरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नु हुँदैन । सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरूसमेत सम्प्रेषण गर्नु हुँदैन । पत्रकार तथा सञ्चारमाध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्रीमा कुनै पनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चारमाध्यमबाट सार्वजनिक जानकारी गराउनुपर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्याउन दिएको निर्देशनको तत्काल पालना गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ । निर्देशकाको पालना गरे/नगरेको प्रेस काउन्सिलले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधित–२०७६) अनुसार आवश्यक कारवाही गर्न सक्नेछ । नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिलले सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लागू हुनेगरी महामारीलगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका २०७६, यही चैत १० गते जारी गरेको हो । महासङ्का केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले महामारी र विपद्का बेलामा फैलन सक्ने हल्ला र भ्रमप्रति सचेत रहेर सञ्चारमाध्यम र पत्रकारले यस्तो बेलामा विश्वनीय समाचार सम्प्रेषण गर्नका लागि यो निर्देशीका सहयोगी हुने बताए। प्रेस काउन्सिलले हालै मात्र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा आचारसंहिता र निर्देशिका विपरीत कोरोना भाइरस सङ्क्रमणसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गर्ने दर्ता नै नभएका करीब दुई दर्जन वेबसाइटहरु बन्द गरिसकेको छ । यसबाहेक विभिन्न ३२ सञ्चारमाध्यमलाई आचारसंहिता विपरीतका समाचार सामग्री हटाउन लगाई २४ घण्टे स्पष्टीकरण सोधिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । बेलायती सञ्चारमाध्यम बीबीसीले प्रधानमन्त्री जोन्सनलाई कोरोना भएकोबारे खबर छापेको छ । तर यसबारे विस्तृत जानकारी भने दिइएको छैन । बेलायतमा ११ हजार ६ सय ५८ जना सङ्क्रमित छन् । यस्तै ५७८ जनाको कोरोनाका कारण ज्यान गएको छ भने १३५ जना उपचार पछि निको भएका छन् ।  

३८ लाख ग्राहकलाई २० प्रतिशत विद्युत महसुल छुट, जतिसक्यो धेरै बिजुली प्रयोग गर्न आग्रह

काठमाडाैं । सरकारले ३८ लाख घरायसी ग्राहकलाई एक सय ५० युनिटसम्म विद्युत् प्रयोगमा २० प्रतिशत छुट दिने भएको छ । उनीहरुले चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषद् समक्ष महसुल छुटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनुको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बताए । लकडाउनका कारण खाना पकाउने ग्यासको अभाव देखिएकाले त्यसको विकल्पमा इलेक्ट्रिक कुकिङलाई प्रोत्साहन गर्न तथा सरकारले जनतालाई राहत दिनुपर्ने भएकाले विद्युत् महसुलमा छुट गर्न लागिएको मन्त्री पुनको भनाइ छ । उनले ग्यासबाट इलेक्ट्रिक कुकिङमा शिफ्ट गर्ने अवसरका रुपमा महामारीलाई उपयोग गर्न सकिने बताए । ‘एकातिर विद्युतको माग घटेर गएको छ भने अर्कातिर ग्यासको अभाव देखिएको छ, यो ग्यासबाट इलेक्ट्रिक कुकिङमा शिफ्ट गर्ने उपयुक्त अवसर हो,’ उनले भने । सबै उपभोक्ता एकैपटक ग्यासको विकल्पमा इलेक्ट्रिक कुकिङमा जान असम्भव भए पनि काठमाण्डौ सहित शहरी क्षेत्रबाट त्यसको सुरुवात गर्न सकिने उनको विश्वास छ । ३८ लाख ग्राहकलाई एक सय ५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा ५० करोड नोक्सान हुन्छ । गएको आर्थिक वर्षमा प्राधिकरणको महसुलबाट ३० अर्ब रुपैयाँ उठेको थियो ।

ट्राफिक महाशाखाले फिल्डमा खट्टिएका प्रहरीलाई दियाे मास्क र सेनिटाइजर

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डिउटीमा खट्टिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख ढकाल आफैँ फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गरेका हुन् । विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड-१९ संक्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । ‘कोरोनाको उच्च जोखिम मोलेर फ्रन्टलाइनमा दैनिक खट्टिनुपर्ने ट्राफिक प्रहरीको सुरक्षाको लागि महाशाखाले प्राविधिकहरूको सहयोग लिई आफैँ सेनिटाइजर उत्पादन गरेको हो ।’ महाशाखाका प्रमुख ढकालले भने- ‘अहिले ३० लिटर उत्पादन गरेका छौं, आवश्यकताअनुसार थप उत्पादन गर्छौ र वितरण गर्छाैं।’ महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरेको छ । यस्तो विषम परिस्थितिमा लकडाउन ट्राफिक प्रहरी र देशका लागि नौलो प्रयोग भएकाले चाहिने आवश्यक सबै सुरक्षा सामग्रीको पर्याप्त जोहो गर्न महाशाखाले विभिन्न क्षेत्रसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारद्धारा कोरोना रोकथामका लागि गरिएको लकडाउनलाई कार्यान्वयन गराउन ट्राफिक प्रहरी फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ ।

सनराइज बैंकले नेपाल पुलिस हस्पिटललाई दियो ६५ थान पीपीई

काठमाडाैं । सनराइज बैंकले नेपाल पुलिस हस्पिटल महाराजगंजमा काम गर्ने डाक्टर तथा अन्य कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) ६५ थान सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्घत पुग्ने उद्देश्यले उक्त उपकरण वितरण गरेको हो । नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आ.जि.पि ठाकुर प्रसाद ज्ञावालीलाई व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) हस्तान्तरण गरेका छन् । बैंकले आगामी दिनमा पनि देशका विभिन्न समाजिक कार्यमा हातेमालो गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी दिए ।

कोरोना रोकथाम कोषमा जम्मा भयो १५ करोड ३१ लाख रुपैयाँ

काठमाडौं । नेपाल सरकारले गठन गरेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा शुक्रबार दिउँसोसम्म १५ करोड ३१ लाख ३ हजार २ सय २२ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहलिे सम्म सो रकम जम्मा भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा एनसेल प्रा.लि.ले १० करोड रुपैयाँ, एल.आर.आई. स्कुल काठमाडौंले १ लाख रुपैयाँ, कृषि विकास बैंकले १ करोड २५ लाख रुपैयाँ राखेका छन्। यस्तै, हेटौडा स्कुल अफ म्यानेजमेन्टले १० लाख रुपैयाँ, राधामाधव समिति नेपालले १५ लाख रुपैयाँ सहयाेग गरेका छन् । भाटभटेनी सुपर मार्केटले १ करोड रुपैयाँ, निर्माण व्यवसायी कोषले १ करोड रुपैयाँ, एनइबिएलले १ करोड रुपैयाँ, नेपाली कांग्रेस पार्टीले ५० लाख रुपैयाँ, नेपाल स्वास्थ्य व्यवसायी महासंघले ५ लाख १० हजार रुपैयाँ र अन्य विभिन्न संस्थाले २४ लाख ९३ हजार २ सय २२ रुपैयाँ कोषमा जम्मा गरेका छन्। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो। सोही अनुसार सरकारले कोषको राष्ट्रिय बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा रकम जम्मा गर्न सबैलाई आग्रह गरेको थियो। नेपालमा हालसम्म ३ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ। तीनमध्ये एकजनालाई उपचारपश्चात निको भई डेढ महिना अघि नै घर फर्किसकेका छन् भने बाँकी दुई जनाको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचार भइरहेको छ। कोरोना भाइरस संक्रमितको उपचार, रोकथाम र नियन्त्रण कार्यमा सहयोग मिलोस भनेर समितिले कोष स्थापना गरेको हो। पछिल्लो समय कोषमा सहयोग गर्नेको संख्या बढ्दै गएको छ ।

एक मिटर टाढा बस्नु कोरोनाबाट बच्नु सबैभन्दा राम्रो उपाय- स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना (काेभिड १९) बाट बच्नु सबैभन्दा उत्तम उपाय एक मिटर टाढा बस्नु रहेको सरकारले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले कोरोनाभाईरस सम्बन्धि नियमित ब्रिफिङमा एक मिटर टाढा बस्नु सबैभन्दा उत्तम उपाय भएको बताएका हुन् । कुनै पनि व्यक्ति बजारमा खाद्यन्य किन्न जाँदा अथवा बिरामी जाँच्दा एक मिटरको दुरी कायम गर्न कोरोनाभाईरसबाट बच्नु सबैभन्दा उत्तम उपाय रहेको कार्कीले बताए । साथै शंकास्पद बिरामीहरुलाई जाँच्दा पिपिईको आवश्यक नरहने कार्कीले बताएका । उनी भन्छन्, अहिले हामीले जथाभावी पिपिईको प्रयोग गर्यौ भो महामारी आउँदा हामी उल्टै समस्यामा पर्छै । हालसम्म ८ सय २ जनाको कोरोना परिक्षण भइसकेकाे छ जसमा ३ व्यक्तिको नमुना पोजेटिभ देखिएको छ । यसमध्ये एक व्यक्ति निको भएर घर फर्किसकेका छन् । उनीहरु सबै विदेशबाट नेपाल आएका थिए ।

गोकर्णेश्वर नगरपालिकाले नगरवासीका घर घरमा ग्यास तथा खाद्य सामग्री पुर्याउने

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पुर्याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य सामग्री, ग्यासलगायत अत्यावश्यक चीजबीज नपाउँदा भान्सा नै बन्द गर्नुपर्ने भयो भन्दै फोनबाट गुनासो गरेपछि शनिबारदेखि नै नगरपालिकाले यो सेवा दिन लागेको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिए । ‘पाँच सातजनाको समूह बनाएर अभाव हुनेका घरमा आवश्यक सामान ढुवानीको व्यवस्था मिलाउन लागेका छौँ, उपभोक्ताले बजारकै भाउमा घरमै सामान पाउँछन्, ढुवानी खर्च नगरपालिकाले व्यहोर्छ, यसरी सामान ढुवानी गर्नेको फोन नं समेत सार्वजनिक गछौँ’, उनले भने । यसरी आउने सामानमा उपभोक्ताले अधिकतम् मूल्यभन्दा बढी तिर्नुनपर्ने जानकारी पनि नगरप्रमुख चालिसेले दिए । साता दिनका लागि घोषणा गरिएको लक डाउनको चौथो दिनसम्म राजधानीकै काठ क्षेत्रका अधिकांश पसल खुलेका छैनन् । लक डाउनको पहिलो दिन मङ्गलबार केही पसल खुले पनि प्रहरीले नै बन्द गर्न लगाएको कागेश्वरी मनोहरा नगरपालिकाका ज्ञानप्रसाद सिम्खडाले बताए । सरकारले अत्यावश्यक सेवाका खाद्य सामग्रीका पसलमा भीडभाड नगरी सेवा दिने भनी सूचना जारी गरे पनि प्रहरीले सही रुपमा नबुझेजस्तो देखिएको उनको दुःखेसो छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले ग्यास, पानीलगायत सामग्री राखिएका पसल बन्द गराउने नीति सरकारको नरहेकाले कतै त्यस्तो भएको भए खुलाउन लगाउने बताए । कोरोनाको सङ्क्रमणबाट बच्न शुरु गरिएको लक डाउनको मौका छोपी रु २० पर्ने नुनको प्याकेटको रु २५ लिएको, ग्यासको कालोबजारी भएको, अत्यावश्यक चिनी, तेल, जारको पानी जस्ता सामग्रीको भाउ बढाइएको, ग्यास राखेर नदिने गरिएको उपभोक्ता रजनी पुडासैनीको गुनासो छ । कृत्रिम अभाव, कालोबजारी र दोब्बरसम्म मूल्यवृद्धि हुँदा स्थानीय तहका अनुगमन समिति मुकदर्शकमात्र बनेको आम उपभोक्ताको भनाइ छ । स्थानीय तह सञ्चालन ऐनअनुसार नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन हुने व्यवस्था छ । सङ्कटका बेला पनि यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरलगायत नगरपालिकाका अनुगमन समिति निष्क्रिय रहेको स्थानीयवासीको गुनासो छ । रासस