सीईओ भट्टराईको दुई महिनाको तलबसहित महालक्ष्मी लाईफ इन्स्योरेन्सले काेषमा दियाे १३ लाख ३४ हजार रूपैयाँ
काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा कूल १३ लाख ३४ हजार रूपैयाँ जम्मा गरेकाे छ । जसमा इन्स्याेरेन्सकाे तर्फबाट ७ लाख ५० हजार रूपैयाँ र प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईकाे २ महिनाको तलब बराबर ५ लाख ८४ हजार रूपैयाँ गरी साे मात्राकाे रकम उक्त काेषमा जम्मा गरेकाे कम्पनीले जनाएकाे छ । सरकारको सो प्रयासमा सहयोग गर्ने उद्देश्यले जीवन वीमक संघ नेपालको पहल तथा निर्णय अनुसार कम्पनीले राहत स्वरूप काेषमा उक्त रकम याेगदान गरेकाे हाे । कम्पनीले राष्ट्रिय बाणिज्य बैंकको कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमा सिद्धार्थ बैंक मार्फत जम्मा गरेको इन्स्याेरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी गराएका छन् । विश्वपव्यापी महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड-१९) को बिरामी नेपालमा पनि देखा परिसकेको छ। विश्वका सम्पन्न र विकसित राष्ट्र यो महामारीबाट आफ्ना नागरीकहरूलाई बचाउन संघर्ष गरिरहेका छन् र ठूलो धनराशी रोग नियन्त्रणको लागि खर्च गरिरहेका छन्। नेपालमा साधन श्रोतको अभावमा नेपाली नागरिक रोगले आक्रान्त हुन र मृत्युको मुखमा नपुग्न भनि सरकारले भरमुग्दुर (कोशिश गरिरहेको छ। तर सरकार मात्रको प्रयासले यो महामारी नियन्त्रण तथा उपचार संभव नभएकोले सरकारले संघ संस्था र नागरिक संग सक्दो सहयोगको लागि आह्वान गरेको छ।
स्वास्थ्य सावधानीसँगै सडक र पुल निर्माण अघि बढाइँदै
काठमाडौं । ‘लकडाउन’ जारी रहेसँगै आवश्यक स्वास्थ्य सावधानी अपनाएर विभिन्न स्थानका सडक आयोजनालाई निरन्तरता दिइने भएको छ । सडक विभागले सरकारले घोषणा गरेको ‘लकडाउन’को केही दिन पछिबाटै रोकिएका बिभिन्न आयोजनाको निर्माण अघि बढाउने भएको हो । हालमा लागि झण्डै ६० देखि ६५ पुल आयोजना निर्माण अघि बढाउन लागिएको सडक विभागले जनाएको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा निर्माणाधीन सडकमा सामाजिक दूरी कायम गरी निर्माण अघि बढाउन लागिएको हो । काठमाडौं उपत्यकामा सामान्य अवस्थामा सवारी चापले गर्दा कठीन हुने स्थानमा अहिले मर्मत गरिने विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनले भने, “धेरै स्थानमा भीडभाड नहुने र आवश्यक स्वास्थ्य सावधानी अपनाएर निर्माण गर्न सकिन्छ ।” विभिन्न स्थानमा सडक र पुल निर्माण अघि बढाउन अनुमति माग्न विभागले कोरोना सङ्क्रमण रोकथाम समितिलाई पत्र समेत लेखिसकेको छ । समितिले सम्बन्धित जिल्लाका प्रशासन कार्यालयलाई पत्र लेखेपछि काम गर्ने वातावरण बन्ने महानिर्देशक शर्माले बताए । थोरै आयोजनामा अहिले पनि सामाजिक दूरी कायम गरेर निर्माण अघि बढिरहेको त्यहाँस्थित डिभिजन सडक कार्यालयले जानकारी दिएका छन् । ती स्थानमा एक मिटरको दूरी कायम राखेर माक्स र सेनेटाइजर प्रयोग गरेर मजदुर निर्माणमा खटिएको महानिर्देशक शर्माले बताए । उनले भने, “कुनै साइटमा स्वास्थ्यकर्मीसमेत राखेर काम भइरहेको जानकारी आएको छ ।” आमनागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले ‘लकडाउन’को अवधि थप गर्दा भौतिक पूर्वाधारको भने अलपत्र केही योजना सम्पन्न गराउन निर्माण अघि बढाउन लागिएको हो । त्रिभुवन राजमार्ग र कोशी राजमार्गमा सडक निर्माण अघि बढाइने भएको छ । त्यससँगै, झापा, सङ्खुवासभा, कैलाली, मकवानपुर, मुगु, जुम्लालगायत जिल्लामा पनि निर्माण शुरु हुने उनले जानकारी दिए । उनले भने, “निर्माण त्यसै छाड्दा नोक्सान हुने स्थानलाई छनोट गरिएर काम अघि बढाउन लागिएको हो ।” देशभरमा हाल सङ्घीय सरकारले निर्माण गरिरहेकै एक हजारभन्दा बढी पुल भएपनि त्यसमा अहिले ६०÷६५ पुल मात्रै छनोट गरिएको छ । तीमध्ये अधिकांशमा थोरै मात्रै काम बाँकी छ । ती योजनामा दुईचार दिन काम हुँदा सम्पन्न हुने महानिर्देशक शर्माले बताए । त्यस्तै, निर्माण व्यवसायीले पनि ती योजनामा काम गर्न सकिने बताएका छन् । उनले भने, “समितिबाट अनुमति आएपछि नै काम अघि बढाइनेछ ।” ‘लकडाउन’ घोषणा पहिलेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मर्मत भइरहेको थियो । त्यस्तो मर्मतका लागि कम जनशक्ति भए पुग्ने हुँदा अहिले पनि निरन्तरता दिन सकिने महानिर्देशक शर्माले बताए । एउटा गाडि र एक जना चालक र थोरै सङ्ख्यामा अरु कामदार भएपछि मर्मत कार्य गर्न सकिने उनले जानकारी दिए । उपत्यका बाहिरिने मुख्य नाका नौबिसेमा काठमाडौं जिल्लापट्टिको काम सम्पन्न भइसकेको छ । खानेपाइपका कारण निर्माणमा कठीनाई आइरहेको गौशाला–चावहिल सडकसमेतमा निर्माण ‘लकडाउन’का कारण ठप्प छ । यी सडकमा चाँडै निर्माण अघि बढाउन सकिने महानिर्देशक शर्माले बताए । उनले भने, “सवारी चाप नभएको समयमा निर्माण गर्न सहज पनि छ ।” नेपाल निर्माण व्यवसायी महासङ्घले गत साता नै प्रेस विज्ञप्तीमार्फत सरकारलाई निर्माण अघि बढाउन वातावरण बनाउन अनुरोध गरेको थियो । महासङ्घका महासचिव रोशन दाहालले कुनै स्थानमा फर्मा ठोकेको त कतै खाल्डा खनेको गरी निर्माण अलपत्र अवस्थामा रहेको बताए। वर्षा शुरु हुनु पहिले ती काम सम्पन्न नगर्दा त्यो क्षति हुने उनले भने । महासङ्घले वर्षामा क्षति पुग्ने पुल र नदी नियन्त्रणका काम अघि बढाउन सहजीकरण गर्न सरकारलाई अनुरोध गरेको हो । अधिकांश आयोजना मजदुर निर्माणस्थल मै रहेकाले काम गर्न सकिने उनले बताए । निर्माणस्थलमा रहेका मजदुरलाई निर्माण व्यवसायीले खाने बस्ने प्रवन्ध गरिरहेको उनको दाबी छ । उनले भने, “काम गर्न एक दुई जना प्राविधिक जनशक्ति चाहिएपनि ठूलो सङ्ख्यामा मजदुर निर्माणस्थलमै छन् ।” रासस
एभरेष्ट बैंकले सार्वजनिक गर्यो २०७७ सालको ई-क्यालेन्डर
काठमाडौं । एभरेष्ट बैंकले वि.सं २०७७ को आफ्नो ई-क्यालेन्डर सार्वजनिक गरेको छ । हाल विश्वभरि फैलिएको कोभिड-१९ को विशम परिस्थितीलाई ध्यानमा राखी एभरेष्ट बैंकले आफ्नो ई-क्यालेन्डर सार्वजनिक गरेको हाे । हालको कठिन परिस्थितीमा बैंकले सबैलाई ई-क्यालेन्डर प्रयोग गरी नेपाल सरकारलाई यस कोभिड-१९ को रोक्थाममा सहयोग पुर्याउनको लागि मद्दत गर्न अनुरोध गरेको छ । यस कोभिड-१९ को माहामारीको रोक्थाम भए पश्चात मात्र बैंकले आफ्नो प्रिन्ट गरेको क्यालेन्डर वितरण गर्ने छ । यस नयाँ वर्षको ई-क्यालेन्डर “मन्दिरको शहर: हाम्रो सम्पदा, हाम्रो धरोहर, हाम्रो पहिचान” को मुख्य विषय अन्तर्गत सार्वजनिक गरीएको हो । (बैंककाे क्यालेन्डर हेर्न यसमा क्लिक गर्नुहाेस्) हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाखभन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्गन गरिएको बैंकको रुपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राजस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटीएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा
काठमाडौं । गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । सङ्घको काठमाडौंस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका नेपाली, वैदेशिक रोजगारी रहेका नेपाली, नेपाली विद्यार्थीलगायतले फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन् । भाइवर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने सङ्घले जनाएको छ । बिहान ०८ देखि अपराह्न ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजे सम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ०८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने सङ्घका महासचिव हेमराज शर्माले जानकारी दिए । सङ्घले यसअघि नै २४ सै घण्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याइसकेको छ । रासस
भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु
काठमाडौं । भक्तपुर अस्पतानलले कोरोना भाइरसको परीक्षण शुरु गरेको छ । विदेशबाट आएर घरमा एकान्तबास बसेका र उनीहरुसँगको सम्पर्कमा रहेकाको र्यापिड किट (र्यापिड डाइग्नोष्टिक टेष्ट) शुरु गरेको हो । भक्तपुर अस्पतालमा र्यापिड किट आएकाले कोरोना भाइरसको परीक्षण आजदेखि शुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिए। यसका लागि वागमति प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरमार्फत ३ सय र्यापिड किट अस्पतालका लागि पठाएपछि यहिँबाट परीक्षण शुरु गरिएको हो । विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेर घरमा एकान्तबास बसेका, निर्धारित क्वारेन्टाइनमा बसेकाको १४ र आवश्यकता पर्नेको २१ दिनसम्म रहेकाको र्यापिड किटमार्फत परीक्षण गरिने भएको हो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौंको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेसु डा गौतमले जानकारी दिए । अस्पतालले अहिलेसम्म १५४ जनाको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउनै बाँकी रहेको बताए । रुघाखोकी लागेर दैनिक २५ देखि ५० जनासम्म स्वास्थ्य परीक्षणका लागि आएको जानकारी दिँदै अस्पतालले चार शैयाको आइसोलेसनलाई बढाएर १० शैय्यामा पुर्याएको जानकारी दिए । आज आठ जनाको आइसोलेसनमा उपचार भइरहेको जानकारी दिँदै उनले आइसोलेसनमा दैनिक बिरामी बढिरहेको बताए । जिल्लाका निजी अस्पतालसमेत बहिरङ्ग सेवालगायत अन्य उपचारसमेत बन्द गरिरहेको अवस्थामा भक्तपुर अस्पतालले भने बहिरङ्ग सेवा र अन्य उपचार सेवासमेत सञ्चालन गरिरहेको छ । जिल्लाका चार नगरपालिकामध्ये मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्किएका ६२ जनाको पहिचान गरी उनीहरुको नमूनासङ्कलन गरेर नियमितरुपमा परीक्षण गरिरहेका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । चाँगुनारायण नगरपालिकाले जनप्रतिनिधीमार्फत वडावडामा विदेशबाट फर्किएकोको खोजी र पहिचान नगरपालिका कै एम्बुलेसन्स उपलब्ध गराई भक्तपुर अस्पताल लगेर नमूना परीक्षण गराइरहेको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए । यता सूर्यविनायक नगरपालिकाले पनि विदेशबाट फर्किएकाको पहिचान गर्दै नमूना सङ्कलन गर्न भक्तपुर अस्पताल पठाउँदै उनीहरुको एकान्तबासको अनुगमन गरिरहेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । भक्तपुर अस्पतालले भने मोवाइल एप्समार्फत फाराम भराएर विदेशबाट फर्किएकालाई भक्तपुर अस्पताल जान सूचना जारी गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले आजदेखि जिल्लाका अस्पतालको अनुगमनसमेत शुरु गरेको छ । कार्यालयका प्रमुख कृष्ण मिजारले आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य, सिद्धिस्मृति अस्पताल र डा इवामुरा अस्पतालको अनुगमन गर्ने जानकारी दिए । जिल्लाको सबै अस्पतालको अनुगमन गरिने उनको भनाइ छ । जिल्लामा सञ्चालित निजी अस्पतालले बिरामी गेटबाटै फर्काउने गरेको र कुनै पनि रोगको उपचार नगरेको गुनासो व्यापक आएको छ । सरकारले उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरी उपचारको व्यबस्था मिलाउन स्थानीयवासीले माग गरेका छन् । रासस
एनसेलको सबै लाभकर चुक्ता, ठूला करदाता कार्यालयमा गएर तिर्यो २४ अर्ब ४३ करोड रुपैयाँ
काठमाडौं । एनसेलको सबै लाभकर चुक्ता गरेको छ । सर्वोच्च अदालतले फैसला गरे बमोजिम नै कम्पनीले ठूला करदाता कार्यायमा गएर सो रकम तिरेको हो । कम्पनीले अदालतले तोकेको सयमयमा गएर कार्यालयमा लाभकर तिरेको हो । कम्पनीले अन्तिम किस्ता आज तिरेको बताइएको छ । कम्पनीले आज ठूलाकरदाता कार्यालयमा गएर १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको हो । यो उसको अन्तिम किस्ता हो । सर्वोच्च अदालतले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको थियो । र, ठूलाकरदाता कार्यालयले उसलाई जरिवानासमेत गरी २२ अर्ब ४४ करोड रुपैयाँ बुझाउन पत्र पठाएको थियो । कम्पनीले आइतबारसम्मको जरिवानासमेत गरी निर्धारण गरेको भन्दा बढी अर्थात निर्धारण गरेको भन्दा बढी २४ अर्ब ४३ करोड रुपैयाँ आइतबारसम्ममा चुक्ता गरेको बताइएको छ ।
सीजी डिजिटलको एपबाट सामान किन्दा थप ५ प्रतिशत छुट पाइने
काठमाडौं । चौधरी ग्रूप अन्तर्गत, सीजी इलेक्ट्रोनिक्सको अनलाइन एप सीजी डिजिटलबाट सामान किन्दा थप ५ प्रतिशत छुट पाइने भएको छ । कम्पनीले सीमित अवधिको लागि मात्र लागू हुने गरी यो योजना ल्याएको हो । जसअन्तर्गत ग्राहकले हरेक घरायसी सामाग्रीको पहिलो खरीदमा थप ५ प्रतिशत छुट पाउनेछन् । जसका लागि उनीहरुले आफ्नो मोबाइलमा एप प्लेस्टोर तथा एप स्टोरमा डाउनलोड गर्नुपर्ने हुन्छ । घरायसी सामाग्रीको खरीद पछि फ्री डेलिभरी सहित, क्यास अन डेलिभरी अथवा घरमै बसेर आफ्ना बैंक खाताबाट पनि भूक्तानी गर्न सकिनेछ । अब घरमै बसेर एपको माध्यमबाट घरायसी समाग्री खरीद गर्न सकिनेछ र घरमै डेलिभरीको पनि व्यवस्था रहेको छ । तर हाललाई डेलिभरीको सुबिधा केही समयको लागि स्थगित गरिएको छ, तैपनी ग्राहकहरुले सामाग्री किनेमा उक्त सामाग्री अहिलेको परिस्थिती अनुकुल भएपछी डेलिभरी गर्ने कम्पनीले जनाएको छ ।
मजदुरकाे सहयाेगका लागि बागलुङ नगरले शुरु गर्यो ‘फुड बैंक’
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्कटका कारण रोजीरोटी गुमाएका बिपन्न तथा मजदुरलाई सहयोग गर्न बागलुङ नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेकोे छ । नेपालमा चैत ११ गतेदेखि जारी लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोग गर्न नगरपालिकाले बागलुङ जेसीजको सहयोगमा फुड बैंक स्थापना गरेको बागलुङ नगरपालिकाले जनाएको छ । जेसीजले पहिलो चरणमा ६० हजार रूपैयाँ बराबरको खाद्य सामग्री प्रदान गरेर फुड बैंकको स्थापना गरिएको बागलुङ जेसीजका अध्यक्ष सुरेन्द्र शाक्यले जानकारी दिए । शाक्यका अनुसार, पहिलो चरणमा ५ सय केजी चामल, ७५ केजी दाल, ५० केजी नुन, ५० केजी तेल, २ सय केजी आटा सहयोग गरिएको छ । जिल्ला सदरमुकाम र मुख्य बजार क्षेत्रमा बाहिरबाट आएका श्रमिक मजदुरले राहत नपाएको गुनासो आएपछि जेसीजको सहकार्यमा फुड बैंक स्थापना गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । कसैलाई पनि भोकै बस्ने अवस्था नआओस् भन्ने अभिप्रायले फुड बैंक स्थापनाका लागि जेसीजले पहल र सहकार्य गरेको हो । कतै राहतको अभाव भएमा तत्कालै फुड बैंकमार्फत खाद्यन्न सहयोग गरिनेछ । नगरपालिकाको फुड बैंक स्थापनाकै दिन अधिकारकर्मी राम शर्माले.३० हजार रुपैयाँ बराबरको २० बोरा चामल र पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले २० बोरा चामल, दाल र नुन सहयोग गरे । फुड बैंकबाट खासगरी बाहिरबाट श्रम गर्नका लागि आएका श्रमिक मजदुर र तीनका परिवारलाई सहयोग गरिने बागलुङ नगरपालिकाका प्रमुख पौडेलले जानकारी दिए । “हामीले नगरपालिकाका सबै वडाका गरिब, विपन्न, मजदुरको पहिचान गरेर पहिलो चरणमा राहत बाँडिसकेका छौ”, प्रमुख पौडेलले भने, “फुड बैंकबाट थप समस्यामा परेका र बिशेषगरी बाहिरबाट आएर लकडाउनका कारण अलपत्र श्रमिक मजदुरलाई तत्काल सहयोग गर्नेछौँ ।” रासस