विकासन्युज

नाैं देशका राजदूतले एक महिनाको तलब राहत कोष दिने

काठमाडौं । मध्यपूर्व तथा खाडी नाैं देशमा रहेका नेपाली राजदूतहरुले एक महिना बापतको तलब राहत सरकारी कोषमा दिने भएका छन् । कोरोनाको संक्रमण फैलिएसँगै सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नौं राजदूतहरुले एक महिनाको तलब दिने घोषणा गरेका हुन् । काेराेना नियन्त्रणमा लागि कतारका लागि नारदनाथ भारद्धज, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि पदम सुन्दास, यूएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुत, इजरायलका लागि नेपाली राजूत डा. अन्जान शाक्य, इजिप्ट लागि झविन्द्रप्रसाद अर्याल, ओमान लागि शर्मिला पराजुली ढकालले एक महिनाको तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दिने निर्णय गरेको हुन् ।

चैत ४ यता देखिएन संक्रमण, काठमाडौं उपत्यका कोरोनामुक्त हो ?

काठमाडौं । कोरोनाको संत्रासबाट अहिलेको विश्वनै त्रस्त छ । नेपालले पनि बिगत ३ सातादेखि सरकारले देशभर लकडाउन गरेर सर्वसाधारणलाई हिडडुल गर्न रोकेको छ । नेपालमा माघ १० कोरोनाको पहिलो संक्रमण देखापरेपछि नै उच्च सतर्कता अपनाइएको थियो । तर, चैत्र ४ गते कतार एयरवेजबाट नेपाल नेपाल आयकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण देखापरेपछि चैत्र ११ बाट लकडाउन गरियो । कोरोना भाइरसको इन्क्युभेसन पिरियड (संक्रमण शरीरमा फैलिएर लक्षण देखा पर्नको लागि लाग्ने समय) १ देखि १४ दिनको हुने गरेको छ । तर कसैकसैमा भने २०औँ दिनमा समेत लक्षण देखापरेको फेला परेको छ । नेपाल सरकारको रेकर्ड अनुसार काठमाडौंमा अन्तिम पटक कोरोनाको संक्रमण फेलापरेको चैत ४ मा कतार एयरवेजबाट काठमाडौं आएकी युवती नै हुन् । ४ चैतमा काठमाडौं आएकी ती युवतीमा ७ चैतदेखि साधारण खोकीको लक्षण देखापर्यो र सेल्फ क्वरेन्टाइनमा बस्न थालिन । ८ गते परीक्षणको लागि अस्पताल गइन् । नमुना संकलनपछि उनलाई आइसोलेसनमा राखेर लक्षणको आधारमा उपचार गर्न सुरु गरियो । परीक्षणको नतिजा पोजेटिभ आएपछि उनको परिवारका सदस्यहरुको समेत परीक्षण गरियो तर नतिजा नेगेटिभ आयो । अब यता हेरौ, संक्रमित काठमाडौं आइपुगेको ४ गतेदेखि आजसम्म २६ दिनभइसकेको छ भने लक्षण देखिएको ७ चैतदेखि पनि २३ दिन भएको छ । र, आइसोलेसनमा राखेर लक्षणको आधारमा उपचार गर्न सुरु गरियको ८ गतेदेखिको हिसाब गर्दा पनि २२ दिन भएको छ । सरकारको रेकर्डलाई नै आधार मान्दा पनि विगत २० दिनदेखि काठमाडौंमा नयाँ संक्रमण नदेखिएको तथा संक्रमित समेत अन्यको सम्पर्कमा नरहेको प्रस्ट हुन आउँछ । कोरोना भाइरसको इन्क्युभेसन पिरियडको अधिकतम समय २० दिनलाई नै हेर्दापनि विगत २० दिनदेखि काठमाडौंमा नयाँ संक्रमण देखापरेको छैन । सरकारले गरेको लकडाउनको कारण उपत्यका भित्रको आगमन ठप्प प्रायः छ । अब प्रस्न उठ्न सक्छ के काठमाडौं कोरोना मुक्त भएको हो त ? शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारी काठमाडौं उपत्यका अहिले कोरोनामुक्त छ भनेर दाबीका साथ भन्न नसकिने बताउँछन् । किन त ? भन्ने प्रश्नको जवाफ उनले यसरी दिए । ‘सर्वप्रथम संक्रमित युवतीमा नेगेटिभ कन्भर्सन भइसकेको छैन, ४ गते आएको एउटा फ्लाइटलाई मात्र आधार मानेर कोरोना मुक्त भएको भन्न मिल्दैन, ४ गते पछिपनि थुप्रै अन्तर्राष्ट्रिय फ्लाइटहरु आए, विदेशबाट आएकाहरुको शतप्रतिशत सर्बिलेन्स हुन सकेको अबस्था होइन, एयरपोर्टमा शरीरको तापक्रम मात्र जाँच गरेर पठाइएको हो, संक्रमण पुस्टि भएर हाल उपचार भैरहेका व्यक्तिमा समेत साधारण लक्षण तथा कुनै पनि लक्षण नदेखिएको (इसिन्ड्रोमेटिक) अवस्था रहेको तथा हालसम्म अत्यन्त न्युन मात्रामा परीक्षण भएको कारण इसिन्ड्रोमेटिक संक्रमण फैलिरहेको हुनसक्ने सम्भावना पनि छ,’ डा. राजभण्डारीले भने । भाइरस संक्रमणको लक्षण तथा असरमा विबिध कारणले फरक पार्ने तथा नेपालमा हालसम्म देखिएको सम्पूर्ण संक्रमण इसिन्ड्रोमेटिक प्रकृतिको रहेकाले भित्रभित्रै इसिन्ड्रोमेटिक संक्रमण फैलिरहेको हुनसक्ने सम्भावना उच्च रहेको उनको भनाइ छ । यसरी संक्रमण फैलिरहेको रहेछ भने कुनै पनि समयमा भयाभह अवस्था उत्पन्न हुनसक्ने विज्ञले बताएका छन् । त्यसैले, लकडाउन यथावत् राखी व्यापक परीक्षण, पहिचान तथा आइसोलेसन उपचारको रणनीतिमा जानुपर्ने डा. राजभण्डारीेको तर्क छ ।

सुदूरपश्चिमका मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न मुस्किल

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ । सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न निकै मुस्किल भएको छ । दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई लकडाउनका कारण काम नपाइँदा समस्या भएको छ । मुक्त हलिया हरि दमाईले ज्याला मजदुरी गरेर ल्याएको रकमले खरिद गरिएको खाद्यान्न सकिएपछि छिमेकीसँग मागेर गुजारा चलाएको बताए । “छिमेकीको घरमा समेत भण्डारण गरिएको अन्न सकिन थालेपछि उनीहरुले समेत दिन छाडेका छन् । खाद्यान्न नपाइने अवस्था आएकाले भोकै बस्नुपर्ने भएको छ”, उनले भने । स्थानीय तह र विभिन्न दातृ निकायले राहत सामग्री बाँड्दै आए पनि मुक्त हलिया परिवारले राहत सामग्री पाउन सकेका छैनन् । “कोरोना भाइरसको सङ्क्रमण हुनबाट जोगिन घरबाट बाहिर ननिस्कन भनिएको छ”, मानध्वज लुहारले भने, “घरभित्र खानका लागि केही छैन, भोकै बस्न सकिँदैन । गाउँमा गएर मागेर ल्याउनुपरेको छ । गाउँमा समेत स्थानीय बासिन्दाले दिन नमान्दा भोकभोकै परिवारसँग बस्नुपर्ने भएको छ ।” राष्ट्रिय मुक्त हलिया महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर सुनार देश लकडाउन भएको १९ दिन बितिसक्दा मुक्त हलिया परिवार राहतको पर्खाइमा रहेको बताए । सरकारले राहत वितरणसम्बन्धी कार्यविधि निर्माण गरी निश्चित मापदण्डका आधारमा अतिविपन्न परिवारलाई स्थानीय तहमार्फत एकद्वार प्रणालीबाट राहत वितरणको कार्य भइरहेको छ । “राहत पाउनेमा थोरै नगण्य मात्रामा मुक्त हलिया परिवार समेटिएका छन्”, उनले भने, “अधिकांश परिवार राहत पाउनबाट वञ्चित छन् । कठिन अवस्थामा लकडाउनको प्रत्यक्ष मारमा परेका मुक्त हलिया परिवारलाई प्राथमिकतामा राखी राहत वितरण गरिनु पर्दछ ।” धेरै मुक्त हलिया परिवार भोकभोकै बसेको खबर र गुनासो आएकाले तत्काल राहतको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । मुक्त हलिया परिवारलाई तीनै तहका सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सबैलाई दैनिक उपभोग्य वस्तु र सरसफाइका सामग्री उपलब्ध गराइदिनसमेत उनले आग्रह गरे । लकडाउनको पालनासँगै राहतका लागि समन्वय गर्न जिल्लास्थित मुक्त हलिया सङ्गठन, मुक्त हलिया अगुवाहरुलाई अध्यक्ष सुनारले भने । सुदूरपश्चिम क्षेत्रमा झण्डै १६ हजार बढी मुक्त हलिया परिवारको बसोबास छ । महाकाली अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर सहयोग कञ्चनपुरको भीमदत्त नगरमा रहेको महाकाली अस्पताललाई कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी अक्सिजन ग्यास सिलिण्डर सहयोग गरिएको छ । लायन्स क्लब अफ कञ्चनपुरले अस्पताललाई २५ ग्यास सिलिण्डर सहयोग गरेको हो । लायन्स क्बलले केही दिनअघि नगरपालिकाको छलफल कार्यक्रममा कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी अस्पतालमा अक्सिजन अभाव हुन नदिन १०० थान सिलिण्डर सहयोग गर्ने प्रतिबद्धता गरेअनुरुप पहिलो चरणमा अस्पताललाई क्लबले २५ ग्यास सिलिण्डर सहयोग गरेको हो । अन्य ७५ सिलिण्डर केही दिनमै सहयोग गरिने क्लबका अध्यक्ष माधवप्रसाद जोशीले बताए । अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले क्लबको सहयोगपछि अस्पतालमा अक्सिजन ग्यासको अभाव नहुने बताए । “कोरोना महामारीमा ग्यास अभाव हुने चिन्ता थियो । अब त्यस्तो हुँदैन । शनिबार २५ सिलिण्डर सहयोग गरिएको छ, अर्को दिन बाँकी सहयोग हुनेछ”, अध्यक्ष जोशीले भने । नगरपालिकाले समेत केही महिनाअघि अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको थियो । डेरामा बसेका विद्यार्थीलाई विद्यालयको खाद्यान्न डेरा गरी बस्दै आएका विद्यार्थीलाई कञ्चनपुरको भीमदत्तनगरमा रहेको महेन्द्र माध्यमिक विद्यालयले खाद्यान्न वितरण गरेको छ । विद्यालयले राहत कोष स्थापना गरी डेरामा बस्दै आएका विद्यार्थीलाई खाद्यान्न वितरण गर्न शुरु गरेको हो । शनिबार नौ डेरामा बस्दै आएका विद्यार्थीलाई राहत सामग्रीका रूपमा खाद्यान्न वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले बताए । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुरुप खाद्यान्न सामग्री वितरण गरिएको उनको भनाइ छ । अध्यक्ष विष्टले सरकारी राहतको मुख ताक्नुभन्दा पनि विद्यालयले आफ्नै कोषबाट राहत वितरण गरेको बताए । उनका अनुसार जनप्रतिनिधि एवं सरकारी निकायको रहोबरमा चामल, दाल, तेललगायतका खाद्यान्नका साथै सुरक्षा सामग्री वितरण गरिएको छ । रासस

सीमानाकामा सशस्त्रको पैदल गस्ती शुरु

काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी)हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ६ गणले जनाएको छ । नेपाल–भारत आवतजावत ठप्प गर्न सशस्त्र प्रहरी बलले ठूलो सङ्ख्यामा पोस्ट खडा गरी पैदल गस्तीसमेत थालेको गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले जानकारी दिए । भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि सात वटा मात्र बिओपी थियो । “सात बिओपीको जिम्मेवारी क्षेत्र औसत दूरी ११÷१२ किलोमिटर रहेकाले सीमानाका पूर्णरूपमा नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो”, सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले भने, “नियमितबाहेक थप १६ स्थानमा अस्थायी चौकी खडा गरी ५५ स्थानमा परिचालन गरिएपछि सीमामा आवतजावत पूर्णरूपमा ठप्प भएको छ ।” सशस्त्र प्रहरीले खाली रहेको विद्यालय, टहरा र पालमा समेत शिविर खडा गरी सीमाको ५५ स्थानमा परिचालन गरिएको जनाएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सीमानाका बन्द गरिए पनि खुला सीमाका कारण सर्वसाधारणको आवतजावत भइरहेको विषयलाई मध्यनजर गर्दै सीमामा थप जनशक्ति परिचालित गरी पैदल गस्ती थालिएको सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले बताए । लकडाउनका समयमा नाकाबाट लुकीछिपी स्वदेश फर्किने क्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजीकार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ । गणपति न्यौपानेले सीमामा गस्तीका साथै ग्रामीण क्षेत्रका सर्वसाधारणमा जनचेतनासमेत फैलाउने कार्य भइरहेको बताए। “सीमामा गस्ती पनि भइरहेको छ, उता ग्रामीण भेगहरूमा सर्वसाधारणलाई सङ्क्रमणबाट जोगिनका लागि जनचेतनासमेत फैलाइरहेका छौँ”, उनले भने । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा पाँच, छिन्नमस्ता गाउँपालिकामा सात, राजगढ गाउँपालिकामा १०, तिलाठी कोइलाडी गाउँपालिकमा चार, डाकनेश्वरी नगरपालिकामा नौ, बोदे बर्साइन नगरपालिकामा १२ र बलान बिहुल गाउँपालिकामा आठ स्थानमा सशस्त्र प्रहरी परिचालित भएका छन् । जिल्लाको भारतीय सीमामा ५५ वटा केन्द्र राखी २४सै घण्टा निगरानी शुरु गरिएको र मातहतका सबै चौकीले आ–आफ्नो क्षेत्र निगरानी गर्ने गरी गस्ती गरिरहेको जानकारी दिँदै गणपति न्यौपानेले भने, “भारतसँग जोडिएको खेत, खोलादेखि गल्लीसम्मबाट आवतजावत हुने सबै स्थानमा निगरानी गरिरहेका छौँ ।” यसका लागि सप्तरीमा २ सय प्रहरी थप गरिएको छ । रासस

कोरोनाबाट बेलायतमा थप एक नेपालीको निधन

लन्डन । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो । मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले जानकारी दिए । रासस

कोरोना अपडेट : १७ लाख २४ हजार बढी संक्रमित, मृत्यु हुनेको संख्या एक लाख ४ हजारमाथि

काठमाडौं । विश्वमा कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या १७ लाख २४ हजार ३ सय १३ पुगेको छ । त्यस्तै एक लाख ४ हजार २ सय ११ जनाका मृत्यु भईसकेको छ । पछिल्लो समय अमेरिका तथा युरोपेली मुलुकमा कोरोनाको संक्रमण उच्च रहेको छ भने एसियाली मुलुकमा पनि भाईरसबाट संक्रमितको संख्या क्रमिक रुपमा बढ्दै गएको छ । हालसम्म विश्वमा ४ लाख ३ हजार ३ सय ७ जना नागरिक यो रोगबाट निको भएर घर फर्किएका छन् । अमेरिकामा पछिल्लो समय ५ लाख ३ हजार १ सय ७७ जना नागरिक संक्रमित छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ६१ पुगेको छ । त्यस्तै २८ हजारबढी निको भई घर फर्किएका छन् । पछिल्ला दिनमा कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकामा बढ्दै गएको छ । स्पेनमा हालसम्म १६ हजार ३ सय ५३ जनाको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या १ लाख ६१ हजार ८ सय ३२ पुगेको छ । हालसम्म ५९ हजारभन्दा बढी नागरिकलाई निको भएको छ । इटाली कोरोना संक्रमितको संख्या १ लाख ४८ हजारभन्दा बढी रहेको छ भने मृत्यु हुनेको संख्या १८ हजार ९ सय ३९ पुगिसकेको छ । फ्रान्समा पछिल्लो दिन नयाँ कोरोना संक्रमित देखिएको छैनन् । हालसम्म १ लाख २४ हजार ८ सय ६९ जना कोरोना संक्रमित रहेको फ्रान्समा १३ हजार १ सय ९७ जनाको मृत्यु भइसकेको छ । जर्मनीमा हालसम्म २ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ भने १ लाख २२ हजार ७ सय ८० नागरिक संक्रमित छन् । जर्मनीमा ६१ हजारभन्दा बढी नागरिकलाई निको भएको छ । त्यस्तै कोभिड १९ को उद्गम स्थलको रुपमा परिचित चीनमा हालसम्म ३ हजार ३ सय ३९ जनाको मृत्यु भईसकेको छ भने ८४ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै चीनमा उपचार पछि निको हुनेको संख्या ७८ हजार पुगेको छ । पछिल्लो दिनमा बेलायत, इरान, टर्की, बेल्जियम, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, क्यानडा, ब्राजिल, पोर्चुगल, अस्ट्रिया, रसिया, इजराइल, दक्षिण कोरिया, स्वीडेन, आइरल्याण्ड, भारतमा लगायतका देशमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छन् । यस्ताे छ काेराेना संक्रमणकाे अवस्था :

एनसेलको डेटा र एसएमएस सेवा अब लोनमा पाइने

काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभएपनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेटले आफनाग्राहकलार्ई सम्पर्कमा रहिरहनथप मद्दत पुर्याउँदै शनिबार (चैत्र २९) बाट नयाँ योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले अब डेटा र एसएमएस् सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्कतिर्ने गरी खरिद गर्न सक्छन् । कोरोना भाइरसले फैलिएसँगै लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमा आफ्ना परिवारका सदस्य र साथीभाइसँग सम्पर्कमा रहन तथा नववर्षको शुभकामना आदानप्रदान गर्न व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना ‘न्यु इयर अफर’ ल्याएको हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहितमात्र २० रुपैयाँमा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँगशुन्यब्यालेन्स रहेको अवस्थामापनि यो प्याकलोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदालिन सक्छन् । यो प्याकअन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागिमान्य रहन्छ । लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहितमात्र १० रुपैयाँ सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागिमान्य रहनेछ । ग्राहकले एस्ट्रिक्स ९९८८ एस्ट्रिक्स ७७ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसार डेटा र एसएमएस बन्डल प्याकवाएसएमएस प्याकलोनमा सुचारु गर्न सक्छन् । विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स ५ रुपैयाँ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवालिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नुभन्दा पहिला पुरानो लोनको रकमचुक्ता गरेको हुनु पर्ने जनाएकाे छ ।

दैनिक ज्याला मजदुर तथा वृद्धाश्रममा सहयोग गर्दै शाओमी

काठमाडौं । नेपालमा शाओमीले देशभर दैनिक ज्याला मजदुर, अनाथ र वृद्धाश्रमलाई खाद्य समाग्री वितरण गरेको छ । शाओमीले कोरोनाको महामारी फैलिएसँगै योगदान गर्ने प्रतिज्ञा सहित लाखौं बराबरका खाद्यान्न र आवश्यक सामग्रीहरु वितरण गरेको जानकारी दिएको छ । दैनिक ज्याला गर्ने तथा अनाथ आश्रममा सहयोग गरिको भन्दै आगामी दिनमा पनि यो कार्यमा निरन्तर रहने शाओमीले बताएको छ । शाओमी परिवारमा मी फ्यानहरु, पार्टनर र कर्मचारीलाई आफूले गर्न सम्भव हरेक तरिकाले सहयोग गर्न आग्रह गरेको छ । सबैलाई सरकारले निर्देशन गरेको लकडाउन पाउन गर्न अनुरोध गर्दै कर्मठतापूर्वक अवलोकन गर्न निकै जरुरी रहेको जनाएको छ ।