विकासन्युज

धमाधम सर्दै गैरिधाराका सुकुम्वासी, डोजर चल्यो (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ । त्यहाँ सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान सुरु गरिएको हो ।  आज दिउँसोदेखि त्यहाँ बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले हाल सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा बस्तीका अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य भइरहेको जानकारी दिए ।  उनले भने, ‘यहाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । बिहान थापाथली क्षेत्रमा रहेको बस्ती खाली गराएपछि हाल गैरीगाउँ क्षेत्रमा भत्काउने अभियान सञ्चालन भइरहेको छ ।’ अभियानका क्रममा सुरक्षाकर्मीहरूलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिए पनि हालसम्म बस्ती हटाउने क्रममा कुनै अवरोध वा झडपको अवस्था सिर्जना नभएको प्रहरीले जनाएको छ।

अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा चीनको बढ्दो प्रभाव

काठमाडौं । चीन विश्व शिक्षा बजारमा नयाँ प्रमुख विकास केन्द्रको रूपमा उदाउँदै गएको एक प्रतिवेदनले जनाएको छ । बेजिङमा सार्वजनिक गरिएको ‘मानवजातिको साझा भविष्य निर्माणमा योगदान गर्ने चीनमा अध्ययन’ शीर्षकको उक्त प्रतिवेदन चीनको सरकारी समाचार संस्था सिन्ह्वासम्बद्ध थिङ्क ट्याङ्क सिन्ह्वा इन्स्टिच्युटले तयार पारेको हो । प्रतिवेदमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा लामो समयदेखि प्रभुत्व जमाउँदै आएका केही परम्परागत शक्तिहरूको प्रभाव क्रमशः कमजोर हुँदै गएको भनिएको छ । यसको सट्टा दक्षिण कोरिया र जापानजस्ता देशहरू अध्ययन गन्तव्यका रूपमा झन् आकर्षक बन्दै गएका छन् । चीनले पछिल्ला वर्षहरूमा ‘शिक्षामा बलियो देश निर्माण’ भन्ने राष्ट्रिय रणनीति अघि सारेको छ । यस रणनीतिअन्तर्गत देशले आफ्नो शैक्षिक प्रणालीलाई निरन्तर सुधार गर्दै क्षमता विस्तार गरेको र शिक्षालाई आधुनिक बनाउने प्रक्रिया तीव्र पारेको प्रतिवेदनमा उल्लेख छ । शिक्षा, अर्थतन्त्र र सामाजिक विकासलाई एकअर्कासँग समन्वय गर्दै अघि बढाउने नीतिका कारण चीनले विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्ने बलियो आधार तयार पारेको बताइएको छ । विश्वविद्यालयहरूको स्तर सुधार, अनुसन्धान क्षमताको विस्तार र अन्तर्राष्ट्रिय सहकार्यका कारण चीन अध्ययनका लागि विश्वका विद्यार्थीहरूका लागि महत्त्वपूर्ण गन्तव्य बन्दै गएको छ । प्रतिवेदन अनुसार हालसम्म चीनले विश्वका एक सय त्रियासी देश तथा क्षेत्रसँग शैक्षिक सहकार्य स्थापना गरिसकेको छ । त्यस्तै, एकसाठी देशसँग शैक्षिक डिग्री आपसी मान्यताको सम्झौता भएको छ र पैँतालीस संयुक्त शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । यसका साथै चीनले अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूसँगको सहकार्यलाई निरन्तर विस्तार गरिरहेको छ । यसले चीनको शैक्षिक प्रणालीलाई विश्वव्यापी बनाउँदै यसको प्रभाव र पहुँचलाई उल्लेखनीय रूपमा बढाएको प्रतिवेदनले निष्कर्ष निकालेको छ । रासस  

झापामा ‘स्विप अपरेसन’: एक सय अट्ठाइस जना पक्राउ

झापा । लागुऔषध दुव्र्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’ क्रममा झापामा दुई दिनमा १२८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दमकसहित जिल्लाका विभिन्न स्थानमा विशेष जनशक्ति परिचालन गरी केही दिनयता ‘स्विप अपरेसन’ सञ्चालन गरिरहेको जनाएको छ ।      शुक्रबार ६२ र बिहीबार ६६ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार लागूपदार्थसहित पक्राउ परेका १२ जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम लागुऔषध कसुरमा अनुसन्धान भइरहेको छ । बाँकी लागुपदार्थ दुव्र्यसनमा लागेका ११६ जनालाई लागुऔषध तथा दुव्र्यसन कसुरमा अनुसन्धान भइरहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।      प्रहरी टोलीले बिहीबार महेन्द्र राजमार्गको दमकमा यात्रुवाहक सवारीसाधनको चालक तथा सहचालकको स्वास्थ्य परीक्षण तथा यान्त्रिक चेकजाँच गरेको थियो । त्यसरी चेकजाँच गरिएका ५४ चालक तथा सहचालकमध्ये तीन जना चालक र दुई जना सहचालकले लागुपदार्थ सेवन गरेर सवारीसाधन सञ्चालन गरिरहेको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताए । उनका अनुसार दुई जना चालकले मदिरा सेवन गरेरै सवारी हाँकिरहेका परीक्षणबाट पुष्टि भएको हो ।      लागुपदार्थ तथा मदिरा सेवन गरेका चालक तथा सहचालकलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गालीगलौज र दुव्र्यवहार गरेको आरोपमा पाँच जनालाई मुलुकी फौजदारीसंहिता, २०७४ अन्तर्गत सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।    

पूर्व गृहमन्त्री गुरुङको बैंक डिटेल दिएको छैन : सीआइबी

काठमाडौं । पूर्व गृहमन्त्री सुधन गुरुङको नबिल बैंकको डिटेल सीआइबीले नदिएको प्रस्ट पारेको छ । ‘गृह मन्त्रीको नबिल बैंक डिटेल सीआइबी तथा केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखले मिडियामा दिएको प्रमाण आयो’ भन्ने जस्ता भ्रामक सूचना विभिन्न सामाजिक सञ्जालमा पोष्ट गरी शेयर गरेको सम्बन्धमा ब्यूरोले आपत्ति जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट हालसम्म पुर्व गृहमन्त्री सुदन गुरुङको कुनै प्रकारको बैंक विवरण माग नगरिएको सीआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताएका छन । उनले सामाजिक संजालमा त्यस्ता भ्रामक तथा आधारहिन सूचना पोष्ट तथा शेयर गरी यस ब्यूरो तथा व्यूरो प्रमुख प्रति नकारात्मक सन्देश फैल्याउने कार्य नगर्न अनुरोध गरेका छन् । गैरकानूनी गतिविधि गरेको पाएमा विद्यतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने उनले बताएका छन्  ।

इजरायल–लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

काठमाडौं । युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध वा शुल्क बिना तत्काल पुनः खोलिनुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले यसलाई विश्वव्यापी अर्थतन्त्र र आपूर्ति प्रणालीका लागि अत्यन्त महत्वपूर्ण विषयका रूपमा उल्लेख गरे । यसैबीच, संयुक्त राज्य अमेरिका र इरानका अधिकारीहरू पाकिस्तानतर्फ प्रस्थान गरिरहेको अवस्थामा विश्व वित्तीय बजारमा सकारात्मक प्रभाव देखिएको छ । कम्पनीहरूको राम्रो नाफा विवरणपछि वॉल स्ट्रिटका प्रमुख शेयर सूचकांकहरू नयाँ रेकर्ड स्तरमा बन्द भएका छन् । सुरक्षा अवस्थाको सन्दर्भमा, संयुक्त राज्य अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ गर्दै तेस्रो विमानवाहक युद्धपोत पनि तैनाथ गरेको छ । कूटनीतिक प्रयासतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच दीर्घकालीन शान्तिको सम्भावनाबारे आशावादी विचार व्यक्त गरेका छन् । उनले हालैका भेटवार्तापछि त्रिपक्षीय संवादको सम्भावना रहेको संकेत गरे । यद्यपि, इजरायल र लेबनान दशकौँदेखि औपचारिक रूपमा द्वन्द्वको अवस्थामा रहेका छन् । तर हिजबुल्लाहका संसदीय समूह प्रमुख मोहम्मद रादले लेबनान सरकारलाई इजरायलसँग प्रत्यक्ष वार्ताबाट पछि हट्न आग्रह गर्दै प्रस्तावित शान्ति सम्झौताले राष्ट्रिय सहमति नपाउने टिप्पणी गरे । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिजबुल्लाहले शान्ति प्रक्रियामा अवरोध पुर्‍याउन खोजिरहेको आरोप लगाउँदै इजरायल लेबनानसँग ऐतिहासिक शान्ति स्थापना गर्ने दिशामा अघि बढिरहेको बताए । दक्षिण लेबनानको टायर शहरमा भने युद्धको प्रभाव अझै गहिरो देखिएको छ । इजरायली हवाई आक्रमणमा ज्यान गुमाएका आफ्ना परिवारका सदस्यहरूको सम्झनाका वस्तुहरू खोज्दै एक व्यक्तिले आफ्नो जीवन अत्यन्त कठिन बनेको र लामो समयदेखि निद्रा नपरेको भावुक रूपमा बताएका छन् । रासस  

थापाथलीको सुकुम्बासी बस्ती खाली, ६ परिवारलाई रंगशालामा लगियो

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ । शनिवार बिहानैदेखि नेपाल प्रहरीले थापाथलीस्थित बागमती किनाराको सुकुम्बासी बस्तीलाई उठाएको थियो ।  थापाथलीबाट हटाएको सुकुम्बासी तथा घरबारविहीन ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ । वस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुर्‍याउने काम गरिरहेको छ ।  काठमाडौंका नदी किनारामा बसोबास गर्दै आएका सुकुम्बासीलाई राख्न सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ । पहिलो चरणमा काठमाडौंका तीन वटा स्थानमा सुकुम्बासी बस्ती हटाइँदैछ । थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउन लागेको हो । सुकुम्बासीहरूलाई सरकारले राख्न केही स्थान छनौट गरेको प्रधानमन्त्री बालेन शाहका प्रेस सल्लाहकार एवं अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । उनका अनुसार ५ वटा स्थानमा होल्डिङ सेन्टर बनाइएको छ । नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ ।  त्यस्तै, काठमाडौंको महानगर अन्तर्गत रहेको कीर्तिपुरको सत्सङको ठूलो भवनमा पनि राखिने भएको छ ।भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ।  खरीपाटी र चाँदबागस्थित सरकारी भवन र खाली जग्गामा पनि राख्ने भएको छ। उनले नक्कली सुकुम्बासीको हकमा पनि विकल्प नदिइने र त्यसको विवरण सार्वजनिक गर्ने बताइन्  । त्यस्तै अब प्रत्येक व्यक्तिको लगतलाई डिजिटल प्रणालीमा राखेर विस्तृत विवरण तयार पार्ने पनि तयारी भइरहेको उनले जानकारी दिइन् । शनिबार बिहानदेखि हटाइएका सुकुम्बासी परिवारलाई सरकारले खानाको व्यवस्था गरेको छ । पुनःस्थापनाका लागि छानिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा सुनिश्चित गर्न सरसफाइ कार्य सम्पन्न भइसकेको पनि उनले बताइन् । पहिलाकै लगानीलाई सदुपयोग गरिने र यसअघि निर्माण भएकै संरचनामा सुकुम्बासीको व्यवस्थापन गर्ने सरकारले तयारी गरेको छ ।

कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका-१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको बताए ।      'प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौँ', कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्री खनालले भने । फरक प्रसङ्गमा सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा काम गरिरहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको उनले उल्लेख गरे । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको उनले बताए ।    

चितवनको मेघौलीमा वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को औपचारिक सुरुआत गरेको छ । नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा आयोजना गरिएको पहिलो ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ को उद्घाटन गरिएको हो ।       उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले यस कार्यक्रमलाई नेपालको वन्यजन्तु पर्यटनलाई विश्व मञ्चमा पुर्याउने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । उनले भने, 'नेपाल केवल हिमालका लागि मात्र होइन, यसको समृद्ध जैविक विविधता, जीवित संस्कृति र विश्वस्तरीय वन्यजन्तु पर्यटनका लागि चिनिन्छ ।' उनले यस मार्टमा हुने छलफलहरूले लगानी, सहकार्य र नेपालको विशिष्ट वन्यजन्तु पर्यटन उत्पादन प्रवद्र्धनका नयाँ अवसरहरू खोल्ने बताए ।      कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले चितवन र मेघौलीलाई विश्वस्तरीय वन्यजन्तु पर्यटन केन्द्रका रूपमा विकास गर्न तयार रहेको बताए । उनले स्थानीय सरकारको भूमिका दिगो पर्यटन पूर्वाधार र समुदाय सहभागितामा महत्वपूर्ण रहेको उल्लेख गरे ।      नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले यस कार्यक्रमलाई नेपालको पर्यटन यात्राको ऐतिहासिक कोसेढुङ्गाका रूपमा रहेको उल्लेख गर्दै यो विशिष्ट र जिम्मेवार पर्यटन अवधारणा भएको बताए ।      नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले मार्टलाई केवल व्यावसायिक कार्यक्रम नभई एक साझा ‘प्लेटफर्म’का रूपमा चित्रण गरे । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थापलियाले यो मार्ट रणनीतिक प्लेटफर्मका रूपमा भएको बताए ।      अन्तरराष्ट्रिय संरक्षणविद् तथा प्रमुख वक्ता मोहित अग्रवालले जिम्मेवार पर्यटन यात्राको विश्वव्यापी माग तीव्र रूपमा बढिरहेको बताए । उनले भने, 'विश्व अब त्यस्ता गन्तव्य खोजिरहेको छ, जहाँ पर्यटन र संरक्षणबीच सन्तुलन कायम हुन्छ र मानव तथा प्रकृतिबीच गहिरो सम्बन्ध स्थापित हुन्छ ।'          कार्यक्रममा चितवनको पर्यटन क्षेत्रका अवसर र चुनौतीबारे डा विश्वराज सुवेदीले प्रस्तुति दिएको थियो भने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले संरक्षण उपलब्धि र भविष्यका प्राथमिकताबारे जानकारी गराएका थिए । रासस