सेयर बजारमा ४ अर्ब १९ करोडको कारोबार

काठमाडौं । लगातार चार दिन बढेको सेयर बजार बुधबार भने घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४३ अंक घटेर २,५४५.४० विन्दुमा पुगेको हो ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १९ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बुधबार ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार कित्ता सेयर ५० हजार ८०४ पटक किनबेच भएका छन् ।

यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लाग्दै ३९ रुपैयाँ बढेर २९९ रुपैयाँ पुगेको छ । शुभम् पावरको सेयर मूल्य पनि करिब ६.५ प्रतिशत बढेको छ ।

यता इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै घाटा बेहोरे । यी तीन कम्पनीको सेयर मूल्य १५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा अगाडि रह्यो । कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यसपछि सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बुधबार कारोबार भएका १३ वटै उपसमूह राताम्मे बने । सबैभन्दा धेरै विकास बैंक समूह २.३७ प्रतिशतले घट्यो । वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार समूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।

Share News