विकासन्युज

सुकुम्बासी हटाउने अभियान सुरु, थापाथलीमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । सरकारले राजधानीका विभिन्न तीन स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान आजबाट सुरु गरेको छ । शनिबार बिहानदेखि बस्ती खाली गराउने काम अघि बढाइएको हो । अभियानको पहिलो चरणअन्तर्गत थापाथली क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने तयारी गरिएको छ । सम्भावित अवरोधलाई ध्यानमा राख्दै बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त क्षेत्रमा करिब १४५ घरधुरी बसोबास गर्दै आएका छन् ।  सरकारले सार्वजनिक स्थान अतिक्रमण हटाउने तथा व्यवस्थित बसोबास सुनिश्चित गर्ने उद्देश्यले अभियान अघि बढाएको जनाएको छ ।

लागूऔषधसहित ५ जना पक्राउ, जरायोका सिङ र गैँडाको छालासमेत बरामद

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट ५ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट खैरो हेरोइनसहित बर्दिया गुलरिया नगरपालिका-१ का २४ वर्षीय निकलेश गोडियालाई शुक्रबार पक्राउ गरिएको हो ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तनहुँको देवघाट गाउँपालिका-५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय रोहित भन्ने कृष्ण तामाङलाई गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित पक्राउ गरिएको छ । उनको घर खानतलासी गर्दा जरायोका सिङ र गैँडाको छालासमेत बरामद भएको छ । यसैगरी, झापाको हल्दीबारी गाउँपालिका-३ बाङ्गे बजारबाट खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरिएको छ । उनीहरू शुक्रबार पक्राउ परेका हुन् ।

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै, माटोबाट उत्पत्ति भएर माटोमै लुप्त

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।  भगवान विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपकम श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपकम उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् तोयराज नेपालले बताए ।  सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपकम सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै गएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख छ । रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज  नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भएपनि वनवास हिँडेकाले आदर्श नारीका रूपकम सम्झना गरिन्छ । अयोध्या त्याग गरेपनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् नेपाल बताउँछन् । अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो । दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरेपनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप भएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागेपनि उनी धर्तीको कोखमा लुप्त हुनुभएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति भएकी सीता माटोमै लुप्त भएका थिए ।  सीता उत्पत्ति भएको भएपनि आजको दिनलाई सीता जयन्तीका रूपकम देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ ।   सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूतिका रूपकम सम्मान दिएको छ । यसै अवसरमा आज बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधना गरिँदै छ । श्रीरामचन्द्र मन्दिर व्यवस्थापन समिति यो वर्षको सीता जयन्ती मनाउन सबै तयारी भएको छ । यस अवसरमा नागार्जुन नगरपालिका–५ स्थित सीतापाइला मन्दिरमा बिहान ९ बजेदेखि विशेष पूजा आराधनाको कार्यक्रम राखिएको महेश रिमालले जानकारी दिए । 

सडक विस्तार गर्दा भूमिहीन भएकालाई राहत, ३० दिनभित्र सम्पर्क गर्नुपर्ने

काठमाडौं । वीरगञ्ज महानगरले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भू-भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । डिभिजन सडक हेटौंडाले गत वैशाख ६ गते वीरगन्जको गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा भत्काउन थालेको हो । वीरगञ्ज महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्णले शुक्रबार सार्वजनिक सूचना जारी गरेर सडक विस्तारबाट भूमिहीन बन्नेले ३० दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउनको लागि आह्वान गरे ।  प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बिहीवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावितलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत सङ्कलन प्रक्रिया सुरु गर्न लागिएको महानगरले जनाएको छ ।  महानगरमा प्राप्त विवरणको यथार्थ छानबिन गरी पूर्णरूपमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सङ्घीय सरकार समक्ष सिफारिस गरिने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।  त्यसैगरी जिल्ला प्रशासन कार्यालयले भत्किएका घर टहरामा व्यापार नगर्न प्रशासनको अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले केही घरधनीले भत्किएको जोखिमपूर्ण घर टहरामा केही व्यक्तिलाई व्यापार,व्यवसाय सञ्चालन गर्न दिँदा घरधनी, व्यवसायी र सर्वसाधारण जोखिममा पर्न सक्ने हुँदा त्यस्तो जोखिमपूर्ण संरचनामा व्यापार तथा व्यवसाय नगर्न अनुरोध गरे । 

अब हुलाकले घरमै पुर्‍याइउनेछ राहदानी

काठमाडौं । काभ्रेपलाञ्चोकका नागरिकलाई घरमै राहदानीलगायत प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला हुलाक कार्यालय काभ्रे बीच शुक्रबार सम्झौता भएको छ । सम्झौतापछि प्रशासन कार्यालयबाट तयार हुने राहदानी तथा अन्य भौतिक सामग्री अब हुलाकमार्फत सेवाग्राहीको घरमै पुर्‍याइने भएको हो । यसले कार्यालयसम्म धाउनुपर्ने झन्झट घटाउने र विशेषगरी वृद्धवृद्धा, अशक्त, व्यस्त तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ । सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी घरमै सेवा लिन चाहेको अनुरोध गरेमा राहदानीलगायतका सामग्री सुरक्षित रूपमा घरसम्म पठाइने व्यवस्था गरिएको छ । सम्झौतामा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँ र हुलाक कार्यालय प्रमुख दीपककुमार नेपालीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रशासन कार्यालयले सेवाग्राहीको स्पष्ट ठेगाना उपलब्ध गराउनेछ भने हुलाक कार्यालयले सामग्री सुरक्षित र छिटो ढुवानी गर्ने जिम्मेवारी लिनेछ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार यो व्यवस्था लागू भएपछि लामो लाइन बस्नुपर्ने र पटक-पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। उनले घरमै सेवा लिन चाहने सेवाग्राहीले सोहीअनुसार आवेदनमा उल्लेख गर्न आग्रह गरे ।

मूल्य वृद्धिको बाबजुद पनि मङ्गला कन्ट्रक्सनले लक्ष्यअघि नै सक्यो सडक स्तरोन्नति

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका-२ कुहुँमा सञ्चालित चन्निका घुम्तीदेखि उपल्लो तुसारेपानी-कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघि नै सम्पन्न भएको छ । आगामी जेठ १५ गतेसम्मको ठेक्काको म्याद रहेको योजनाको निर्माण कम्पनी मङ्गला कन्ट्रक्सनले इन्धन र निर्माणजन्य सामग्रीको मूल्य वृद्धिको बाबजुद पनि लक्ष्यभन्दा डेढ महिनाअघि नै काम सम्पन्न गरेको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको उक्त योजना निर्माणका लागि पूर्वाधार विकास कार्यालय, म्याग्दी र कम्पनीबीच २०८२ माघ ६ गते ४६ लाख २९ हजार १२४ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता लगत्तै मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर गत चैत महिनामै निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक चक्रलाल पाण्डे (राजु)ले बताए । कार्यालयका अनुसार उक्त योजनाको ९६.२२ प्रतिशत भौतिक प्रगति भएको छ । कार्यालयका अनुसार उक्त योजनामार्फत कुहँ गाउँभित्र ५१ मिटर दुरीमा सडक फराकिलो पारेर मेसिनरी पर्खाल र नाली निर्माण भएको छ । उपल्लो तुसारेपानीदेखि कुहुँतर्फ जाने सडकको २५० मिटर दुरीमा फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार भएको छ । उपल्लो तुसारेपानी र कुहुँकोबीचमा रहेको डाडाँको घुम्तीमा १२८ घनमिटर ग्याबिन पर्खाल लगाएर सडक फराकिलो पारिएको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर रविन चोखालले बताए । कुहुँका बासिन्दा रविन पुनले सडक सुधार भएपछि सवारी साधन आवत जावत सहज र सुरक्षित भएको बताए । मार्ग खुलेपछि सामान्य मर्मतको भरमा जिप, मोटरसाइकल र ट्याक्टर सञ्चालन हुँदै आएको साँघुरो सडकमा गाडी फर्काउने ठाउँ नभएर ३०० मिटर टाढा लैजानुपर्ने समस्याको अन्त्य भएको पुनकाे भनाइ छ । सडकको शुक्रबार अनुगमन गर्न जानुभएका म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनयर डिभिजनल ईञ्जिनियर डा. महेन्द्र बानियाले मूल्यवृद्धिको असहज अवस्थामा पनि लक्ष्य अघिनै योजना निर्माण सम्पन्न गरेर व्यवसायीले सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिए । कार्यालय प्रमुख बानियाँका अनुसार यस वर्ष सञ्चालन भएका अन्य दुई वटा योजना पनि लक्ष्य अघिनै सम्पन्न भएका छन् । निर्माण कम्पनीले ४६ लाख ७९ हजार ९८१ रुपैयाँमा ठेक्का सम्झौता गरेको घारखोला-नेपाने सडक र रुप्से बिल्डर्सले ३५ लाख १७ हजार ३३७ रुपैयाँमा ठेक्का लिएको ज्ञानप्रकाश माविदेखि कोट-खलङ्गा हुँदै ठारा जाने सडक पनि निर्माण सम्पन्न भएको कार्यालय प्रमुख बानियाँले बताए । 

राजमार्गमा सवारी कर नउठाउन आदेश

काठमाडौं । उच्च अदालत जनकपुर को वीरगञ्ज अस्थायी इजलासले पर्साका विभिन्न राजमार्गमा चल्ने सवारीसाधनबाट कर नउठाउन आदेश जारी गरेको छ। न्यायाधीश अर्जुन अधिकारी र दुर्गाप्रसाद ढुङ्गेल को संयुक्त इजलासले शुक्रबार उक्त आदेश दिएको हो ।  आदेशअनुसार पर्साको राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा हुलाकी राजमार्गमा चल्ने सवारीसाधनबाट कर उठाउन पाइने छैन । तर वीरगञ्ज महानगरपालिका अन्तर्गतका भित्री सडकमा भने कर उठाउन सकिनेछ । अदालतले यसअघि २०८२ फागुन २८ मा जारी गरेको अन्तरिम आदेशलाई आंशिक संशोधन गर्दै निरन्तरता दिएको जनाएको छ । साथै २०८२ साउन ३० गते भएको ठेक्का सम्झौताका सर्तअनुसार कर सङ्कलनमा अवरोध नगर्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । यसअघि प्रभु कन्स्ट्रक्सनले वीरगञ्ज महानगरसँग ठेक्का सम्झौता गरेर राजमार्ग क्षेत्रमा सवारी व्यवस्थापन कर उठाउँदै आएको थियो । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद बुद्धि प्रसाद पन्त (हरि)ले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको निषेधाज्ञा आदेशले राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा स्थानीय तहले बोलपत्र आव्हान गरेर सवारी कर तथा कवाडी कर सङ्कलन गर्न नपाउने आदेश जारी गरेकोमा खुसी व्यक्त गरे । उनले भने, 'मालवाहक सवारीसाधनसँग अवैध ढङ्गले ढाँट राखेर कर उठाइँदै आइरहेको थियो । अदालतको आदेशसँगै सो रोकिने आशा गरेका छौँ ।’

पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराई भेगमा भने मौसम मुख्यतया सफा रहेको छ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने तथा तराई भेगमा आंशिक बदली रहनेछ । कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना  छ । त्यसैगरी, आज राति देशका हिमाली भागमा सामान्यतया बदली रहने तथा पहाडी र तराई भागमा आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना  छ ।  साथै देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचमा तापक्रम बढ्ने महाशाखाको पूर्वानुमान छ । ती भेगका सर्वसाधारणलाई महाशाखाले  सतर्कता अपनाउन अनुरोध गरेको छ ।