काठमाडौं । अनशनरत डा. गोविन्द केसी र नेपाल सरकारबीच ६ बुँदे सहमति भएको छ ।
सहमतिसँगै डा. केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् ।
पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्दै डा. केसीको अनशन तोडाएका हुन् ।
अनशन अन्त्य भएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम अनशन हुने विश्वास व्यक्त गरे । उनले सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढाइने बताए ।
’यो डा. केसीको अन्तिम अनशन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ,’ मन्त्री पोखरेलले भने ।
डा. केसी र सरकारबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन् ।
