अपराध अनुसन्धान कार्यालयको भवन साढे २० करोडमा एटीबी-आरएमएसलाई ठेक्का

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भवन निर्माणको बाँकी काम २० करोड ६५ लाख ३८ हजार रुपैयाँमा सम्पन्न गर्ने भएको छ । कार्यालयका अनुसार रीतपूर्वक दर्ता भएका बोलपत्रहरूको मूल्याङ्कन गर्दा एटीबी–आरएमएस ज्वाइन्ट भेन्चरले पेस गरेको प्रस्ताव छनोट गरिएको हो । 

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (१) बमोजिम प्रक्रिया अघि बढाउँदै उपदफा (२) को प्रयोजनका लागि मङ्सिर १ गतेसम्मको म्याद राखेर बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जारी गरेको छ ।

निर्धारित अवधिभित्र सम्बन्धित पक्षले कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउन सक्नेछन् । यद्यपि, कार्यालयले जारी गरेको सूचना बोलपत्र स्वीकृत गर्ने आशयको मात्र भएकाले अन्तिम स्वीकृति भइसकेको भने होइन ।

यसअघि कार्यालयले गत भदौ ३० गते सूचना प्रकाशित गर्दै भवन निर्माणका बाँकी काम सम्पन्न गर्न योग्य तथा इच्छुक निर्माण व्यवसायीबाट बोलपत्र आह्वान गरेको थियो ।

बोलपत्रमा सहभागी हुन निर्माण व्यवसायीको पछिल्लो आर्थिक वर्षको औसत निर्माण कारोबार कम्तीमा २३ करोड ९० लाख रुपैयाँ हुनुपर्ने सर्त राखिएको थियो । त्यस्तै, समान प्रकृति र आकारको निर्माण कार्यमा कम्तीमा १२ करोड रुपैयाँ बराबरको अनुभव अनिवार्य गरिएको थियो ।

बोलपत्रसम्बन्धी कागजात खरिदका लागि १० हजार रुपैयाँ दस्तुर तोकिएको थियो भने बोलपत्र पेस गर्दा ४८ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको थियो । 

टेकुस्थित कार्यालयको भवन निर्माणका बाँकी काम सम्पन्न गर्न छनोट गरिएको निर्माण कम्पनीसँगको सम्झौतापछि निर्माण प्रक्रिया अघि बढ्नेछ । 

Share News