अतिन आचार्य

अभिभावक गुमाएका बालबालिकाको संरक्षणमा चुनौती, कसरी हुँदैछ व्यवस्थापन ?

काठमाडौं । रसुवामा आएको बाढीका कारण १ सय २ जना बालबालिका अभिभावक विहीन भएका छन् । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका बालबालिकाले अभिभावकसँगै बालसखा, विद्यालय र बसोबास गर्ने स्थलसमेत गुमाएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बाढी प्रभावित बालबालिकालाई रसुवा, नुवाकोट र धादिङका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । अभिभावक गुमाएका १ सय २ बालबालिकामध्ये ४९ जना बालिका र ५३ जना बालक छन् । राष्ट्रिय बालबालिका परिषदका सदस्य सचिव दुर्गा चालिसेका अनुसार शुक्रबारसम्म विभिन्न होल्डिङ सेन्टरमा १ हजार २ सय ३३ बालबालिका रहेका छन् । तीमध्ये ६ सय ३२ बालिका र ६ सय १ बालक छन् । अपाङ्गता भएका बालबालिका २१ जना छन् । होल्डिङ सेन्टरमा बाबुआमासँगै बसिरहेका ६ सय ९२ बालबालिका छन् । त्यसमध्ये ३ सय ६१ बालिका र ३ सय ३१ बालक छन् । यसैगरी, बाबुआमाबाट छुट्टिएर वा बिछोडिएर बसेका ४ सय ३९ बालबालिका छन् । तीमध्ये २ सय २२ बालिका र २ सय १७ बालक रहेका छन् । चालिसेले शुक्रबारसम्म विभिन्न होल्डिङ सेन्टरमा राखिएका बालबालिकाको यो वास्तविक तथ्याङ्क भएपनि स्थानीय तहको पहल, पारिवारिक पुनर्मिलन वा स्थानान्तरणका कारण संख्यामा केही परिवर्तन हुन सक्ने बताए । बाढी प्रभावित बालबालिकाको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गरिरहेको उनले जानकारी दिए । आवश्यक मनोपरामर्श, खानपानलगायतका आवश्यक सामग्रीको व्यवस्थापन पनि स्थानीय तहबाटै भइरहेको उनको भनाइ छ । तर बाढी प्रभावित बालबालिकालाई बालगृहमा नराखिने उनले स्पष्ट पारे । अभिभावक गुमाएका बालबालिकालाई संरक्षण दिन गोदावरीमा छुट्टै स्थान तयार भइरहेको उनले जानकारी दिए । ‘अभिभावक गुमाएका बालबालिकालाई गोदावरीमा राख्ने गरेर भवन तयारी भइरहेको छ,’ चालिसेले भने, ‘बालबालिकाको पहिचान तथा स्क्रिनिङ गरेर प्रभावित बालबालिकालाई राखिन्छ । अभिभावक नभएका बालबालिकालाई संरक्षण गर्नु हाम्रो दायित्व हो ।’ उनका अनुसार होल्डिङ सेन्टरबाट बालबालिकालाई स्थानान्तरण गर्दा उनीहरूको हेरचाहमा निरन्तरता नहुने समस्या देखिएको छ ।  बालबालिकाको पारिवारिक सम्बन्ध र उनीहरूलाई परिवारसँग कसरी जोडिराख्ने भन्ने विषयमा समेत पर्याप्त ध्यान पुग्न नसकेको उनले बताए । अस्थायी आश्रयस्थलमा बसोबास गर्ने सबै व्यक्तिलाई एउटै हलमा राखिँदा आमाबाबु नभएका, कम उमेरका बालबालिका तथा किशोरकिशोरीका विशेष आवश्यकता सम्बोधन गर्न कठिनाइ भइरहेको छ । ‘बालबालिकालाई नियमित रूपमा खाना, सरसफाइ, भावनात्मक साथ तथा दैनिक हेरचाह उपलब्ध गराउन कठिनाइ रहेको छ,’ उनले भने, ‘विशेषगरी साना बालबालिका, अपाङ्गता भएका बालबालिका तथा निरन्तर हेरचाह आवश्यक पर्ने बालबालिकाको दैनिक आवश्यकता अन्य बालबालिकाभन्दा भिन्न हुन्छ ।’ भीडभाडयुक्त आवास, सीमित व्यक्तिगत स्थान, अभिभावकको मानसिक तनाव तथा विपद्का कारण उत्पन्न पारिवारिक दबाबले बालबालिकाको निगरानी र हेरचाह प्रभावित भइरहेको चालिसेले बताए ।  रसुवा र नुवाकोटका अस्थायी आश्रयस्थलमा रहेका बालबालिका बेवास्ता तथा अपर्याप्त हेरचाहको जोखिममा रहेको उनको भनाइ छ । ‘अभिभावक गुमाएका, अभिभावकसँग अलग्गिएका वा विछोडिएका बालबालिकाहरू रुने, चिच्याउने गरिरहँदा पनि सम्झाउने, बुझाउने, फुल्याउने व्यक्तिको अभाव रहेको छ,’ उनले भने । पारिवारिक तनाव र कमजोर निगरानीका कारण बालबालिका हिंसा तथा दुव्र्यवहारमा पर्न सक्ने जोखिमसमेत रहेको उनले बताए । अपाङ्गता भएका बालबालिका थप जोखिममा बाढीपछि अपाङ्गता भएका बालबालिकाले आश्रय, खाद्यान्न, सेवा, यातायात तथा मानवीय सहायता प्राप्त गर्न थप कठिनाइ भोगिरहेको चालिसेले बताए । ‘अपाङ्गता भएका बालबालिकासँग ह्वीलचेयर तथा अन्य अत्यावश्यक सहायक सामग्रीको अभाव रहेको छ,’ उनले भने, ‘अस्थायी आश्रयस्थलमा आवतजावत गर्ने बाटो, शौचालय तथा अन्य संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नरहेको पाइएको छ ।’ राहत वितरण तथा सूचना प्रवाहमा समेत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको आवश्यकताअनुसार पहुँच सुनिश्चित हुन नसकेको उनले बताए । ‘अपाङ्गता भएका बालबालिकाका लागि सामान्य बालबालिकाभन्दा अतिरिक्त हेरचाह, आवतजावत सहयोग तथा सहायक सामग्री आवश्यक पर्ने अवस्था रहेको छ,’ उनले भने । आश्रयस्थलमा गर्भवती र नवजात शिशु पनि जोखिममा बाढी प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुको अवस्था पनि विशेष जोखिमपूर्ण देखिएको छ । विदुर नगरपालिकाको विवरणअनुसार भदौ १९ गतेसम्म २ हजार ८१ जना होल्डिङ सेन्टरमा बसोबास गरिरहेका छन् । तीमध्ये १४ जना गर्भवती, ५३ जना स्तनपान गराइरहेका महिला, दुई वर्षमुनिका ४६ जना बालबालिका र ३ देखि ५ वर्ष उमेर समूहका १ सय ३ जना बालबालिका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) का अनुसार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित १५ स्थानीय तहमा करिब ४ हजार ४ सय ३० जना गर्भवती महिला रहेको अनुमान गरिएको छ । एक महिनामा करिब ४ सय ९२ प्रसूति हुने र ७४ महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने अनुमान छ । चालिसेका अनुसार बाढीपछि त्रिशूली अस्पतालको प्रसूति विभागमा ९ जना महिलाको प्रसूति भएको छ भने थप ४ जना प्रसूति बिरामीलाई उपचारका लागि अन्यत्र रेफर गरिएको छ । विपद्को समयमा गर्भवती, सुत्केरी महिला र नवजात शिशुलाई सामान्य राहत वितरणको एउटै समूहमा राख्न नहुने चालिसेको भनाइ छ । ‘सुरक्षित तथा गोप्य स्थान, पर्याप्त पोषण, मातृ तथा नवजात स्वास्थ्य सेवा, आवश्यक औषधि, प्रसूति सेवामा शीघ्र पहुँच र मनोसामाजिक सहयोगलाई लक्षित गरी व्यवस्थापन गर्नुपर्छ,’ उनले भने ।

मेहनत र सपना खरानी हुँदा पनि हार नमानेका थापा

काठमाडौं । ‘बगैंचा रिसोर्ट सञ्चालनमा आएको एक महिनामात्र भएको थियो । हामीले रिसोर्टको अनुभव र मज्जासमेत लिन पाएका थिएनौं,’ अंशुभरा ग्रुपका निर्देशक सौगात थापाले भने ।  गत वर्षको जेनजी आन्दोलनले भोगेको क्षतिका कुरा गर्नुभन्दा अगाडि उनी मौन बसे ।  पोहोरको जस्तो दिन उनी भोग्न र देख्न चाहँदैनन् । थापाले आफ्नै आँखा अगाडि बगैँचाको धुरीबाट धुँवा निस्केको देख्न बाध्य भए । उनी केही गर्न सक्दैन थिए । कसको इशारामा र किन यस्तो भइरहेको छ त्यो सोच्न पनि सकेनन् उनले । गत वर्ष अर्थात आजको दिन भदौ २३ गते जेनजी आन्दोलन भएको थियो । मुलुकभर एकै नारा गुञ्जिएको थियो । सुशासन, समृद्धि र भ्रष्टाचार शून्यसहितको आवाज लिएर युवाहरू सडकमा ओर्लिएको दिन ।  यहीँ सुशासनको नारा लिएर सडकमा आएका युवाहरूको आवाज भने केही व्यवसायीहरूका लागि अभिशाप भयो । भदौ २४ गते धेरै व्यवसायीहरूको घर, उद्योग, होटल तथा रिसोर्ट जले । बास उठे, व्यवसाय गरिरहेका भवन खरानी बने । बोलिएका आवाज दबिए र नियमित गइरहनु पर्ने ठाउँको अवस्था बदलिए । जेनजी आन्दोलनमा क्षति भएको पोखराको बगैंचा रिसोर्ट तथा स्पा पुनः सञ्चालनमा आइसकेको छ । क्षति भएको दश महिनामै बगैंचा पुनः बगैंचा जस्तै भएर उभिएको छ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते बगैंचा रिसोर्टमा तोडफोड र आगजनी भयो । केही घण्टामै करोडौंको लगानी खरानीमा परिणत भयो । व्यवस्थापनले केवल महिनाभित्रै रिसोर्टलाई पुन : सञ्चालनमा ल्याइसकेको छ । पोखराको पर्यटनलाई पुनः ताजगी गराउनुपर्ने भएकाले आफ्नै बलबुताले भए पनि उठ्नुपर्ने अवस्था रहेको थापा बताउँछन् ।  ‘हामीले विभिन्न खालका मानसिक तनाव झेल्यौं । हामीले गरेको व्यवसाय मुलुक र समाजको लागि थियो,’ उनले भने, ‘हामीले भोगेको क्षतिअनुसार समाजभित्र फरक पहिचान बोकेर बसेका थियौं भन्ने महसुस भयो । हाम्रो कारण धेरै मानिसले रोजगार पाएका थिए । काम गरेर खानु भनेको अपराध जस्तो ठान्यो ।’ गत वर्षको घटनालाई सम्झँदा उनलाई यो समाज र मुलुकमा बस्दा अपराध गरेको जस्तो महसुस हुँदोरहेछ । मुलुक र समाजलाई समृद्ध बनाउन व्यवसाय गरिरहेको थापाको भनाइ छ । ‘हामीले भदौ २४ को विनाशपछि हार मानेनौं । केही महिनाअघि मात्र रिसोर्टलाई पुनः सञ्चालनमा ल्याइसकेका छौं । क्षति भएको केही महिनामै हामीले पुनः निर्माण थाल्यौं,’ गत वर्ष भदौको घटना सुनाउँदै उनी आत्मविश्वासी सुनिए । एक वर्षअघि आजकै समय सम्झिँदा अझै पनि मन भारी हुने थापा बताउँछन् । ‘आगोले मेरो व्यवसाय मात्र जलाएन, वर्षौंको मेहनत, सपना र बाल्यकालसँग जोडिएका धेरै सम्झनाहरू पनि खरानी बनायो,’ उनी सुनाउँछन्, ‘त्यो पीडा सहजै बिर्सन सकिने थिएन ।’ ‘तर जीवनले एउटा कुरा सिकाउँदो रहेछ, ढलेपछि उठ्नु नै वास्तविक जित हो । त्यो कठिन समयपछि मैले हार मानिनँ । आफैलाई सम्हालें, फेरि व्यवसाय उठाएँ र अझ बलियो भएर अघि बढ्ने संकल्प गरें । किनकि मसँग जोडिएका कर्मचारी, परिवार र धेरै मानिसको विश्वासलाई बीचमै छोडेर बस्न सक्दैनथेँ,’ उनले थपे । एक वर्षअघि खरानीबीच उभिएको उनी त्यही खरानीबाट उठेर व्यवसायीहरूको नेतृत्व गर्ने ठाउँमा पुगेको थापाले बताए ।  ‘मलाई यही सिकाउन खोजेको थियो । परिस्थितिले हामीलाई तोड्न सक्छ, तर फेरि उठ्ने साहस हामी आफैंमा हुन्छ,’ उनले अगाडि थपे, ‘विगतको पीडालाई शक्तिमा बदल्दै, व्यवसायीको हित, रोजगारी सिर्जना र पोखराको आर्थिक समृद्धिका लागि इमानदारीका साथ काम गर्ने मेरो संकल्प रहेको छ ।’ थापाको व्यावसायिक संस्था मात्र जलेनन् । बास बस्ने स्थानसमेत जलेको थियो । ‘गत वर्षको समय सम्झँदा आज पनि कहाली लाग्छ,’ उनले भने,  ‘हार मान्नलाई व्यवसाय नगरेको तर जितसँगै समाज र मुलुकका लागि केही योगदान गर्न व्यवसायमा लागेका हौं ।’ थापा पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशनबाट उद्योग उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले यसलाई समाज र मुलुकलाई समृद्ध बनाउने अवसर पनि ठानेका छन् । ‘यो मेरो लागि केवल एउटा पद होइन, कठिन यात्रापछि प्राप्त भएको विश्वास, जिम्मेवारी र नयाँ सुरुवात हो,’ उनी अगाडि थप्छन् । वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम उद्देश्यसहित लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक सम्मिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा आइसकेको छ । बगैंचाले प्रकृति प्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने गरेर सञ्चालनमा आइसकेको थापाले बताउँछन् । पोखराको पर्यटनमा नयाँ ऊर्जा लिएर पुनः सञ्चालनमा ल्याइएको उनको भनाइ छ । मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान पुरानो शैलीको हस्पिटालिटी केही परिवर्तन नगरी पुनः व्यवसाय सुरू गरिएको उनले बताए । यहाँ आउने पाहुनाले व्यावसायीक रूपमा चाहेको सबै कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। ‘वातावरणमैत्री बनाएर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्व हो भनेर सन्देश दिएका छौं,’ थापा भन्छन्, ‘यहाँको सामग्रीहरू सबै वातावरणमैत्री रहेको छ । जसले गर्दा हाम्रो यहाँ आउनु हुने पाहुना र हामीले वातावरणलाई असर गर्दैनौ भनेर सन्देश पुर्याउनेछौं ।’ थापाले रिसोर्टकै नामअनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । उनले भने, ‘नेपाली पारम्परिक उपचार पद्धतिबाट मसाज सेवा, ध्वनि उपचार (साउन्ड हिलिङ् र सिङ्गिङ बाउल थेरापी) बगैंचाभित्र शान्त वातावरणमा हुने योग अभ्यासहरू र मानसिक पुनःस्थापनाका लागि समर्पित डिजाइन बगैंचाका विशेषता रहेका छन् ।’ बगैंचामा दुई रेष्टुरेण्ट रहेका छन् । नयाँ मरिच इन्डो–चाइनीज र कन्टिनेन्टल खाना पाइन्छ । उमामी रेष्टुरेण्ट जसले परिष्कृत प्यान–एशियनको स्वाद लिन पस्कने उनले जानकारी दिए । बगैंचामा ‘टारो’ पूलसाइड बार रहेकाले बगैंचाको थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । मौसम अनुसारका उपलब्ध हुने तरकारी अन्य खाद्य सामग्री पाइने उनले प्रस्ट पारे । ‘रिसोर्टमा आउने पाहुनाका लागि स्टयान्डर्ड रूम, एक्जिक्युटिभ रूम, आर्बर सुइट, बगैंचा सुइट गरी अतिथिका लागि चार प्रकारका आकर्षक कोठाको प्रबन्ध गरिएको छ,’ उनले उत्साहित हुँदै भने, ‘३२ वटा कोठामै निजी बाल्कोनी रहेकाले रिसोर्टबाट हरियाली वातावरण दृश्यको अवलोकन गर्न सकिन्छ ।’ एक वर्षअघि मात्र ७० करोडको लगानी बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको थियो । ‘आँखै अगाडि करोडौंको लगानी खरानी बनेको थियो,’ उनी विगत सम्झिँदै भावुक हुन्छन्, ‘हामी फेरि उठिसकेका छौं । पर्यटन क्षेत्रलाई माथि उकास्दै हाम्रो पाइला निरन्तर अगाडि बढिरहन्छ ।’ रिसोर्टमा नयाँ जिम सेट पनि थपिएको छ । रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार रिसोर्ट साढे चार रोपनी क्षेत्रफलमा रहेको छ ।

खल्तीमा ५० रुपैयाँ बोकेर शवगृहमा आमाको खोजी गर्दै सोनम

काठमाडौं । ‘आमालाई भेट्न सकूँ’ ५३ वर्षीय सोनम गुरुङको अहिलेको सबैभन्दा ठूलो चाहना यहीँ हो । त्रिवि शिक्षण अस्पतालको गेटमा उभिएर उनी बोलिरहेका थिए । मुस्ताङबाट काठमाडौं आएका सोनम अस्पतालको शवगृहमा पुगे । एकपछि अर्को गर्दै शव हेरे ।  हरेक अनुहारमा आफ्नी आमाको अनुहार खोजे । तर उनले आमा भेटेनन् भेटे त क्षतविक्षत भएका शवहरू । कतै आमा भेटिन्छिन् कि भन्ने आशाले उनका आँखा शवगृहभित्र डुलिरहे । तर आमा भेटिएकी छैनन् । सोनम तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल परिसरमा छन् । हिजोदेखि मुखमा अन्न परेको छैन । तर थकानभन्दा ठूलो बेचैनी छ । उनी भन्छन्, ‘आमा कहाँ छिन् ? आमाको लाश भेटे चित्त बुझाउँथेँ,’ सोनमको आवाजमा आशाभन्दा बढी पीडा सुनिन्थ्यो । उनकी आमा  ६० वर्षकी थिइन् । घाँटीको पछाडिपट्टि एउटा कोठी थियो । आमालाई पहिचान गर्नुपरे त्यही कोठी आफ्नो सबैभन्दा ठूलो चिनो हुने सोनम बताउँछन् । अहिले उनीसँग आमाको फोटो पनि छैन । मोबाइल हराइसकेको छ । फोन नम्बरहरू छैनन् । सम्पर्क गर्ने भरपर्दो माध्यम छैन ।  सोनम आमाको खोजीमा काठमाडौं आएका उनी आफै हराएको मान्छेजस्तै भएका छन् । सोनमको परिवार ठूलो थिएन । आमा, बहिनी र उनी । सोनमको बहिनीको विवाह टिम्मुरेमा भयो । ज्वाइँ, भान्जा र भान्जीसहितको परिवार थियो । गत बुधबार भोटेकोसीमा आएको बाढी आएपछि आमा, बहिनी, ज्वाइँ, भान्जाभान्जी हराए । बहिनीले आमालाई कैलाश घुमाउन टिमुरे ल्याएकी थिइन् । बहिनीको घरमा बसेको बेला आमालाई बाढीले बगाएको सोनम बताउँछन् ।  सोनम मुस्ताङकै एउटा गुम्बामा करिब १५ वर्षदेखि बस्दै आएका छन् ।  उनको आफ्नै घर–परिवार छैन । त्यसैले आमा नै उनको सबैभन्दा नजिकको मान्छे थिइन् । पहिले आमा कतै भेटिन्छिन् कि भन्ने आशा थियो । कसैले खबर गर्छ कि भन्ने प्रतीक्षा थियो । तर दिन बित्दै गए । आजसम्म उनले आशा मारेका छैनन् । त्रिवि शिक्षण अस्पतालको शवगृहमा पुग्दा उनको मनमा एउटा डर थियो । कतै आमाको शव यहीँ त छैन ? त्यहीँ डरले उनी शवगृहभित्र छिरे। एक–एक शव हेरे। तर आमाको अनुहार भेटिएन । सोनम आँखाभरि आँशु पारेर भन्छन्, ‘आमा बितिसकेकी छन् भने पनि आफ्नै आँखाले आमालाई हेर्न पाऊँ । अन्तिमपटक आमाको अनुहार हेर्न पाऊ । आफ्नो संस्कारअनुसार आमाको अन्तिम संस्कार गर्न पाऊँ ।’ आमाको अनुहार हेर्न पाएमा आफ्नो मनले शान्ति पाउने उनी बताउँछन् ।  आमा कहाँ हराइन् ? कसरी हराइन् ? अहिले कहाँ छिन् ? जीवित छिन् कि छैनन् ? यदि छैनन् भने कहाँ छिन् ? यी प्रश्नले सोनमलाई भित्रैदेखि सताइरहेका छन् ।  सोनम त्रिवि अस्पतालमा बसेको तीन दिन भयो । बाहिर बाहिर कतै गए पनि मन भने अस्पतालमै छ । उनी घरी शवगृह पुग्छन् त घरी कता । सोनमसँग अहिले जम्मा ५० रुपैयाँ छ । मोबाइल हराइसकेको छ । चितवनमा शवको पहिचान गर्न आमाजस्तै लागेर हामफाल्दा गोजीबाट मोबाइल झरेको थाहा नपाएको उनी बताउँछन् ।  आफन्तसँग सम्पर्क गर्ने साधन छैन । काठमाडौंजस्तो ठूलो सहरमा उनी एक्लै छन् । गुम्बामा बस्ने मान्छेका लागि काठमाडौंको भीडभाड आफैमा अनौठो संसार हो । त्यसमाथि आमा हराएको पीडा । आमाको अनुहार सम्झिँदा उनी आफूलाई सम्हाल्न सक्दैनन् । सोनमका लागि आमा हराउनु उनको लागि एउटा आफन्त हराउनु मात्र होइन, उनको संसार हराउनु हो । ‘म एक्लो भएँ, मेरो कोही छैन,’ आँसु पुछ्दै सोनम भन्छन् । आमाको खोजीमा काठमाडौं आएका सोनम आफै सहाराविहीन बनेका छन् । अहिले उनको अवस्था यस्तो बनेको छ—आमा खोज्दै आएका सोनम आफै सहाराको खोजीमा छन् ।

त्रिवि शिक्षण अस्पतालमा शवको चाप, एउटा शवको पोस्टमार्टम गर्न ३० मिनेट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको शव त्रिवि शिक्षण अस्पतालमा ल्याउने क्रम जारी छ । क्षतविक्षत अवस्थामा ल्याइएका शवको पोस्टमार्टम गर्न प्रतिशव करिब ३० मिनेट लाग्ने गरेको प्रहरीले जनाएको छ । अस्पतालमा खटिएका नेपाल प्रहरीका एसपी प्रदीप सिंहका अनुसार बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म शवको पोस्टमार्टम भइरहेको छ । उनले बिहीबार बिहानदेखि मात्रै २५ वटा शवको पोस्टमार्टम भइसकेको जानकारी दिए । शवको पोस्टमार्टमसँगै पहिचानका लागि डीएनएको नमुना पनि संकलन गर्ने गरिएको छ । हड्डी र दाँतबाट डीएनए नमुना लिइने प्रहरीले जनाएको छ । पोस्टमार्टमपछि शवलाई ब्याच नम्बर राखेर व्यवस्थापनका लागि गोकर्णेश्वर पठाउने गरिएको छ । गोकर्णेश्वरमा ठूलो खाल्डो बनाएर प्याक गरिएका शव राखेर व्यवस्थापन गर्ने गरिएको प्रहरीले जनाएको छ । एउटा खाल्डोमा करिब ९ देखि १० वटासम्म शव राख्ने गरिएको छ । प्रहरीका अनुसार शवको फोटो वा बाह्य स्वरूपबाट पहिचान भए पनि डीएनए परीक्षण नगरी आफन्तलाई शव जिम्मा लगाइने छैन । डीएनए परीक्षणबाट मृतक र आफन्तको नमुना मिलेपछि मात्रै ब्याच नम्बरका आधारमा शव सम्बन्धित परिवारलाई बुझाइनेछ । पोस्टमार्टम तथा शव व्यवस्थापनमा ८–९ जनाको समूह बनाएर प्रहरी तथा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।  शव गृहमा खटिएका प्रहरीका अनुसार हालसम्म ल्याइएका शवमध्ये पुरुषको संख्या बढी छ भने धेरै शवको अवस्था क्षतविक्षत भएकाले प्रत्यक्ष रूपमा पहिचान गर्न कठिन भइरहेको छ ।

फोटो बोकेर ज्वाइँ खोजिरहेका अशोक

काठमाडौं । उनीसँग ठूलो पहुँच छैन । चिनजानका मानिसहरूको लामो सूची छैन । खोजीका लागि दौडधूप गर्ने आफन्तहरूको भीड पनि छैन ।  उनी शारीरिक रूपमा पूर्ण सक्षम पनि छैनन् । मजाले हिँड्न सक्दैनन् । बोल्दा शब्दहरू पनि स्पष्ट बुझ्न कठिन हुन्छन् । तर ज्वाइँ खोज्ने कुरा आउँदा उनका पाइला भने रोकिन्‍न । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भीडतर्फ उनको पाइला लम्किरहेको छ । गह्रौं पाइला अस्पतालको गेटमा पुगेर अडिन्छ । त्यही फोटो देखाउँदै भन्छन्, ‘यो मानिस मेरो ज्वाइँ हो, फोटो हेरेर कतै खोजिदिनू न ।’  तिनै ज्वाइँ खोजी हिँड्ने ४७ वर्षीय अशोक शाह बालाजुबाट आएका हुन् ।  भारतको अन्धानगर घर भएका उनी दुई दशकदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै आएका छन् । रसुवामा गत बुधबार आएको बाढीले ज्वाइँलाई बगाएको आशंकामा उनी अस्पतालमा आइपुगेका हुन् । ३७ वर्षीय ज्वाइँ उमेश शाह बाढीमा परेको हुनसक्ने आशंकामा अस्पतालको शवगृहमा आइपुगेका हुन् । हातमा फोटो लिएर उनी प्रहरीलाई सोध्छन्, ‘यो मेरो ज्वाइँ हो, कतै देख्नुभएको छ ? फोटो हेरेर खोजिदिनू न ।’ आवाज अस्पष्ट सुनिन्छ, तर त्यो आवाजभित्रको पीडा भने स्पष्ट बताइरहेका थिए । अशोकको फोन पनि लगातार बजिरहन्छ । फोन गर्ने उनकी बहिनी हुन् । उताबाट एउटै प्रश्न आउँछ— ‘केही खबर आयो ?’ तर अशोकसँग जवाफ छैन । छेउमा उभिएका प्रहरी एसपी प्रदीप सिंहलाई फोटो देखाउँछन् । उनी फेरि फोटो  हेर्छन् । फेरि प्रहरीको अनुहार हेर्छन्। फेरि अस्पताल परिसरमा नजर दौडाउँछन् । ‘एक सातादेखि लुगा फेरेको छैन,’ उनी भन्छन् । उनले खाना पनि राम्ररी खान पाएका छैनन् । अशोकको पेटभन्दा मन भारी छ । निद्राभन्दा चिन्ता ठूलो छ । शरीर थाकेको छ, तर खोजी रोकिन सकेको छैन । माछापोखरीमा बस्ने अशोक सानो व्यापार गरेर जीवन चलाउँछन् । टिस्यु, झोला र गिलास बेच्ने उनको सामान्य दैनिकी थियो । सानो कमाइ, सानो संसार र सामान्य जीवन । उनले हिजोआज ज्वाइँको खोजीमा लागेकाले केही गर्न सकेका छैनन् । ‘म बालाजुमा एक्लै बस्छु,’ अशोक भन्छन्, ‘आफन्त कोही छैनन् ।’  बहिनीलाई के भन्ने उनलाई त्यहीँ चिन्ताले सताउन थालेको छ । उनलाई चार जना भान्जाभान्जीले मामा के भयो भनेर सोधिरहन्छन् । अशोकसँग सुन्नदेखि अर्को विकल्प छैन । जवाफबाट नाजवाफ छन् । उनका लागि आफन्तको अर्थ पनि सीमित थियो । त्यसमध्ये एक जना ज्वाइँ परिवारका लागि विशेष सहारा थिए । आज त्यही सहारा बेपत्ता भएका छन् । अशोक आफैं असहाय भएर खोजीमा भौंतारिरहेका छन् । बेपत्ता भएका उमेश शाह ३७ वर्षका थिए । उनको घर पनि भारत तर नेपालमा बस्न थालेको १४ वर्ष भइसकेको छ । उमेश टायल लगाउने कामका ठेकेदार थिए । उनका ज्वाई उमेश कामको खोजी र परिवारको भविष्यका लागि उनी जहाँ अवसर भेट्थ्यो, त्यहीँ पुग्थे। पछिल्लो चार महिनादेखि उनी केरुङ क्षेत्रमा काम गरिरहेका थिए। चीनको सीमावर्ती क्षेत्रमा काम गर्नु सजिलो थिएन । परिवारबाट टाढा बस्नुपथ्र्यो । जोखिम र कठिनाइ पनि थिए । उमेश केवल बुवा मात्र थिएनन्, परिवारको भविष्य थिए । घरको आशा थिए । कमाएर परिवार पाल्ने आधार थिए । नेपालमा पसिना बगाएर उनले भारतमा रहेका आफ्ना परिवारका सदस्यहरूको जीवनमा खुसी ल्याउने प्रयास गरिरहेका थिए । अशोक भन्छन्, ‘ मेरो ज्वाइँ परिवारको सहारा थिए ।’ बाढीले ज्वाइँलाई मात्र होइन, परिवारको भरोसा पनि बगाएको छ । अशोकका लागि उमेश हराउनु भनेको परिवारको एउटा सदस्य मात्र हराउनु होइन । उनी भन्छन्, ‘एक जना ज्वाइँ आफन्त थिए, उनी पनि हराए ।’ आफै राम्रोसँग हिँड्न नसक्ने अशोक अहिले अस्पताल, प्रहरी कार्यालय र खोजी हुने ठाउँहरूमा पुगिरहेका छन् । उनीसँग खोजीका लागि सुविधा छैन । शरीरले साथ दिइरहेको छैन । बोलाइ पनि प्रस्ट छैन । तर ज्वाइँको फोटो भने उनको हातबाट छुट्दैन । सायद उनीभित्र एउटा विश्वास अझै बाँकी छ कतै न कतै उमेश भेटिन्छन् कि ! ‘कतै देख्नुभएको छ भने खबर गरिदिनु न ।’ अस्पतालमा आउने मानिसहरूको भीड देख्दा अशोकको नजर प्रत्येक अनुहारमा पुग्छ । कतै उमेश जस्तै अनुहार देखिन्छ कि ? कतै घाइतेको सूचीमा नाम भेटिन्छ कि? कतै उद्धार गरिएका मानिसमध्ये उनी छन् कि ? यही प्रश्नको उत्तर खोज्दै उनी एक सातादेखि भौंतारिरहेका छन् ।  घरमा बस्दा फोन बज्छ । खोजीमा निस्किँदा बहिनीको फोन आउँछ । उताबाट फेरि सोधिन्छ, ‘केही पत्ता लाग्यो ?’ उनीसँग अहिले एउटा फोटो छ, एउटा नाम छ र एउटा आशा छ ।

भोटेकोशीले उजाडेको बनिया परिवार, बाउ-छोरा अझै खोज्दैछन् आफ्नो संसार

काठमाडौं । ‘हाम्रो परिवार उजाडियो, सपना हरायो । न लास भेट्यौं, न उनीहरू बाँचेको कुनै खबर नै पायौं । आखिर हामीले त्यस्तो के गरेका थियौं ?’ त्रिवि शिक्षण अस्पतालको गेट अगाडि भेटिएका ५१ वर्षीय बुधनचा बनिया एकसुरले बोलिरहेका थिए  । जहाँ हराएका मानिसहरूको फोटो भित्तामा टाँसिएका छन् । आफन्त भेटिने आशामा परिवारहरू खोजीमा फोटोमा आँखा डुलाइरहेका छन्। टिमुरे, त्रिसुली र स्याफ्रुबेँसीबाट हराएका छन् भन्दै आवाज कानमा गुन्जिरहेको थियो ।  बनिया बोल्दै गर्दा उनका शब्दभन्दा आँखा बढी बोलिरहेका थिए । उनी श्रीमती र छोरीहरूको फोटोमा हेर्दै टोलाइरहेका थिए । बनियाको परिवार बेत्रावतीमा बसोबास गर्दै आएका थियाे । उनको परिवारबाट एकैपटक पाँच जना सदस्यलाई भोटेकोशीले बगाएपछि उनी अहिले छोरा राजा कुमार बनियासँगै आफ्ना प्रियजन परिवारको खोजीमा भौंतारिरहेका छन् । हिजोआज उनले अस्पतालको गेट र प्रहरीलाई सोधपुछ गर्दा दिन बितेको पत्तो पाउँदैनन् ।  उनको आँखा- मनले छोरी, श्रीमती र नातिनी खोजिरहेको छ । बाढीले भारत घर भएका बनियाका माल्तीदेवी बनिया, सन्ध्यादेवी बनिया, दिप्शिका कुमारी बनिया, रुपा कुमारी बनिया र आशा कुमारी बनियालाई बगाएको हो । बाढी आएको दिनदेखि नै बुधनचा र उनका २३ वर्षीय छोरा राजा कुमार कहिले नदी किनार, कहिले शव सङ्कलन केन्द्र र कहिले बाढीले क्षति पुर्‍याएका बस्तीमा भौँतारिरहेका छन् । ‘खोज्दै हिँडेका छौं, तर भेटिएको छैन,’ बुधनचाले पीडाले भरिएको स्वरमा भने, ‘अब चितवनतिर पनि जान लागेका छौं । कतै केही चिनो पो भेटिन्छ कि ? ।’ नेपालमा बिस्तारै जीवनले लय समाउँदै गइरहेको उनलाई लागेको थियो । तर भोटेकोशीले नदीले जीवनको धार बदलिदियो । बास र परिवार बगाएपछि सबैथोक अन्धकार भएको जस्तो बनियालाई लागेको छ । जाने ठाउँ र बोलाउने मानिस हराएकाले केही सोच्न पनि नसकेको उनको भनाइ छ । हेलिकप्टरबाट बाँचेर फर्किए, परिवारलाई उतै छाडे बाढीको त्रासदीबाट बनियाका बुबा–छोरा भने ज्यान जोगाउन सफल भए । उद्धारपछि उनीहरू हेलिकप्टरमार्फत त्रिशूलीसम्म आइपुगे। त्रिशुलीलाई छाडेर काठमाडौं आएका उनीहरू फोटो हेर्दै बिलौना सुनाउँदै हिँडिरहेका छन्। राहत सामग्री पुर्‍याउन जाने गाडीमै फर्केका काठमाडौं फर्केका उनीहरू अहिले हराएका आफन्तको खोजीमा छन् । ज्यान बचे पनि उनीहरूलाई जीवन बाँचेको जस्तो अनुभूति छैन । ‘हाम्रो कमाइ राम्रो थियो । जीवन राम्रैसँग चलिरहेको थियो,’ बुधनचाले अनुहार मलिन बनाएर भने, ‘चटपटेको काम गर्थ्यौं, कवाडी सङ्कलन गरेर बेच्थ्यौं । दुःख थियो, तर आफ्नो परिवारसँग भएका हामीसँग सब थियो । अहिले त सबै कुरा सकियो जस्तो लाग्छ ।’ बनिया परिवारको नेपाल आएको १४ वर्ष बितिसकेको थियो । बेत्रावतीको किनार र बजारमा साइकल घुमाए । पसिना बगाए, यहीँ परिवारको भविष्य खोजे । सानो–सानो कमाइबाट जीवनका लागि ऊर्जा बटुलिरहेका थिए । भोलिको सपनालाई सजाएर वर्तमानमा बाँचिरहेका थिए उनीहरू । केही क्षणको बाढीले वर्षौंदेखि जोड्दै आएको संसार र सपना बगाएर लग्यो । बुधनचाका लागि अहिले सबैभन्दा ठूलो पीडा मृत्यु हो । परिवार भेटिएनन्,  आफ्ना मान्छे कहाँ छन् भन्ने खबर उनका लागि अनिश्चितता बनेको छ । उनले न मृत परिवारलाई देख्न सकेका छन्, न कतै जीवितै रहेको आश्वासन पाउन सकेका छन् । उनीहरू शव खोज्ने यात्रमा नभइ एउटा परिवारको सपना खोजिरहेका छन् । ‘हाम्रो दिमागले काम गर्न सकेको छैन,’ बुधनचा भन्छन्, ‘हामीले कसैको केही बिगारेका थिएनौं । हामीले त्यस्तो के गल्ती गरेका थियौं र यस्तो सजाय भोग्नुपर्‍यो ?’ उनको प्रश्नको जवाफ नदीसँग पनि छैन, बाढीले बगाएका ढुंगासँग पनि छैन । उनको मनसँग मात्र आशा छ । छेउमै रहेका २३ वर्षीय छोरा राजा पनि मौन छन् । उनी बाँच्न सफल भए ।  बाँकी पाँचजना हराएकाले उनीहरूको जीवनमा रित्तोपन मात्र छ । खालीपनले दुवै बाउछोरालाई छोएको छ । ‘अब कसलाई सम्झेर बाँच्ने होला ?’ बुबाको कुरा सुनेर छेउमा उभिएका राजाको आँखा आँसु टिल्पिलाउन थाल्यो। बुबा–छोरा अहिले पनि खोजीमा छन् । बुबा छोरा मात्र नभइ अहिले असल साथी बनेका छन् । उनीहरू शवको खोजीमा पाइला अघि बढाइरहेका छन् । चितवनतिर जाने तयारीमा रहेका उनीहरू परिवारको कुनै चिनो भेटिने आशा छन् । भोटेकोशीको उर्लंदो भेलले केवल घर र सम्पत्ति मात्र बगाएन । बुधनचाको एउटा पूरै संसार बगाएको छ। ‘हाम्रो परिवार उजाडियो, सपना हरायो,’ बुधनचा फेरि भन्छन्, ‘अब कसलाई सम्झेर बाँच्ने होला ?’

रसुवाको बाढी प्रभावित चार सय बालबालिकालाई काठमाडौंमा राख्ने तयारी

काठमाडौं । सरकारले रसुवाको बाढीबाट प्रभावित भएका ४ सय बालबालिकालाई काठमाडौंका बाल गृह तथा पुनःस्थापना केन्द्रमा राख्ने भएको छ ।  महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले रसुवा र नुवाकोटका बाढीले प्रभावित बनाएको बालबालिकालाई काठमाडौंका बाल गृहमा राख्ने तयारी गरेको हो । मन्त्रालयले १७ हजार बालबालिका बाढीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने अनुमान गरेको छ । पूर्ण रुपमा जिल्लबाट प्रभावित बालबालिकाको तथ्यांक आइनसकेको राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव दुर्गा प्रसाद चालिसेले बताए । उनका अनुसार कति बालबालिका प्रभावित भए त्यसको विवरण आएको छैन । धेरै बालबालिका हराएको अनुमान गरिएको छ । ‘हामीले चार सय बालबालिकालाई काठमाडौंका बाल सुधारगृहमा राख्ने गरेर तयारी गरेका छौ,’ उनले विकासन्युजसँग भने,’ ठूलो संख्यामा बालबालिका आएमा चितवनका बालसुधार गृहमा लान पनि सक्छौ। सबैभन्दा बढी बालबालिका रसुवा र नुवाकोटमा प्रभावित भएका छन् ।‘ बालबालिकाहरू शिक्षाबाट वञ्चित हुने र उनीहरुको जीवनमा प्रत्यक्ष असर पर्ने चालिसेले बताए । बालबालिका अभिभावकविहिन हुँदा आफ्नो शारीरिक बनावटदेखि सामाजिक संरचनामासमेत प्रभाव पर्ने सक्ने देखिएको उनले प्रस्ट पारे । बालबालिकाको भविष्यप्रति हामी गम्भीर रहेको उनको भनाइ छ । बालबालिकाको मनोविज्ञानदेखि चौतर्फी विकास हुने गरेर संरक्षण दिने उनले बताए । उनका अनुसार काठमाडौंका ठाउँ खोजी भइरहेका छ । बालबालिका मैत्री वातावरणको खोजी गरिने छ । भौतिक संरचनादेखि आवश्यक वातावरणलाई हेरेर व्यवस्थापन गरिनेछ । एक-दुई दिनमा प्रभावित बालबालिकाको संख्या आइसक्ने चालिसेले बताए । हामीले बाढी प्रभावित जिल्लामा बालबालिकाको तथ्यांक माग गरिरहेको उनले उल्लेख गरे । ठूलो संख्यामा बालबालिका प्रभावित भएको हुन सक्ने अनुमान गरेको भए पनि विवरण नआएसम्म यसै भन्न नसकिने उनले बताए । चालिसेले बाढीबाट प्रभावित बालबालिकालाई अनाथगृहमा पनि राख्न सकिने बताए । अभिभावक गुमाएका बालबालिकालाई राज्यले संरक्षण गर्ने उनको भनाइ छ । ‘परिवारसँग मिलान हुनेलाई अभिभावकलाई जिम्मा लगाउनेछौ,’ उनले विकासन्युजसँग भने  । धेरै बालबालिकाहरू बाढी प्रभावित जिल्लाको विद्यालय तथा छिमेकीको घरमा शरण लिइरहेका छन् । सामाजिक सञ्जालमा घरबारविहिन भएका बालबालिकाहरूको भिडियो सार्वजनिक भइरहेका छन् । सरोकारवाला निकायले पनि सबैभन्दा धेरै बालबालिका प्रभावित हुने बताएका छन् । त्यसैगरी, प्रियंका चोपडा र गायन जेन मलिकले नेपालका १० हजार बालबालिकालाई तत्काल मानवीय सहायता जरुरी रहेको बताएका छन् । केही दिनअघि यी दुई विश्वप्रसिद्ध स्टारले भोटेकोशी बाढीको तस्वीरसहितको सूचना पोस्ट गर्दै उक्त आह्वान गरेका थिए । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका स्थानमा क्षति पुर्याएको छ ।  ‘नेपालमा विनाशकारी बाढीबाट १० हजार बालबालिकालाई तत्काल मानवीयता सहायता जरुरी छ’ प्रियंका र जेनले राष्ट्रसंघीय बालकोष युनिसेफको सूचना सेयर गरेको सन्देशमा भनिएको छ । बुधबार रसुवा र नुवाकोटमा भएको जनधनको क्षति दर्शाउने फोटो पनि उनीहरू हालेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागका अनुसार हालसम्म ९ सय ३ जनाको शव फेला परेको छ । ४ हजार २४७ जना सम्पर्कविहिन भएका छन् ।

‘रसुवामा खाद्यान्न संकट नजिकिदैँ, केन्द्र सरकारले हामीलाई सुनेन’

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकामा बाढीपछि उद्धार तथा राहत वितरणको अवस्था अझै सहज बन्न सकेको छैन। शुक्रबारदेखि खाद्यान्नको आपूर्ति केही सहज भए पनि सडक सम्पर्क विच्छेद हुँदा दुर्गम तथा प्रभावित क्षेत्रमा पर्याप्त राहत सामग्री पुर्‍याउन समस्या भइरहेको स्थानीय जनप्रतिनिधिले बताउन थालेका छन्। उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले जिल्ला र गाउँपालिकामा खाद्य संकट हुन सक्ने बताएकी छन् । बाढी प्रभावित क्षेत्रमा मात्र नभई समग्र भूगोलमै खाद्यान्न संकट उत्पन्न हुन सक्ने अवस्था रहेको स्थानीय उनले बताएकी हुन् । सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध हुँदा नुन, तेल, दाल, चामललगायत अत्यावश्यक खाद्यान्नको मौज्दात सकिँदै गएको गुरुङको भनाइ छ। राज्यले हाम्रो आवाज सुन्न नसकेको उनले प्रतिक्रिया दिइन् । 'बाटो छैन, बगरमा परेका सडक तत्कालै बन्ने अवस्था पनि छैन,’ उपाध्यक्ष गुरुङले विकासन्युजसँगको टेलिफोन संवादमा भनिन्, ‘त्यसैले खाद्य संकट आउँछ र लामो समयसम्म रहन सक्छ।' उनका अनुसार गाउँपालिकाको वडा नम्बर ४ र ५ का विभिन्न स्थानमा करिब ७ सय जना आश्रयस्थलमा रहेका छन्। तीमध्ये वडा नम्बर ४ को एक विद्यालयमा राखिएका प्रभावितलाई सडक अवरुद्ध भएका कारण पर्याप्त राहत पुग्न सकेको छैन। उत्तरगयाका करिब १५० देखि २०० जना प्रभावित किस्पाङ गाउँपालिका–५ को शान्तिबजारमा आश्रय लिएर बसेका छन्। त्यहाँ पनि खाद्यान्न पुग्न नसकेको र हेलिकोप्टरमार्फत मात्र राहत पुर्‍याउन सकिने अवस्था रहेको उनले बताइन् । उत्तरगया–१ को तिरु क्षेत्रमा समेत प्रभावित नागरिक रहेको जानकारी आए पनि सञ्चार सम्पर्क हुन नसकेका कारण वास्तविक अवस्था यकिन गर्न नसकिएको गुरुङले उल्लेख गरिन् ।  सडकको विकल्प नभएकाले हेलिकोप्टरमार्फत खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री पुर्‍याउनुपर्ने अवस्था रहेको उनले बताइन् । त्यसैगरी, उत्तरगयाका केही नागरिक नुवाकोटको सूर्यगढी क्षेत्रमा समेत आश्रय लिएर बसेका छन्। त्यहाँ करिब १०० देखि १५० जनासम्म रहेको अनुमान भए पनि आधिकारिक संख्या यकिन हुन सकेको छैन। उत्तरगया गाउँपालिकाको जनगणनाअनुसार जनसंख्या ८ हजार ५५५ रहेको भए पनि गाउँपालिकाको स्थानीय प्रोफाइलअनुसार करिब १२ हजार जनसंख्या रहेको गुरुङले जानकारी दिइन् । उत्तरगयाका पाँचवटै वडा प्रभावित भएकाले वास्तविक प्रभावितको संख्या निकै ठूलो रहेको उनको भनाइ छ । एक हजारभन्दा बढी बेपत्ता वा सम्पर्कविहीन बाढीपछि गाउँपालिकामा एक हजारभन्दा बढी मानिस बेपत्ता वा सम्पर्कविहीन रहेको उपाध्यक्ष गुरुङले दाबी गरिन् । सञ्चार सम्पर्क नहुँदा कतिपय स्थानमा मानिसको अवस्था बुझ्नसमेत नसकिएको उनको भनाइ छ। 'विशेषगरी जलविद्युत् आयोजनाका सुरुङभित्र मानिसहरू फसेको र सुरुङ बन्द भएका कारण उद्धारमा थप जटिलता देखिएको छ,’ गुरुङ भन्छिन्,’ केही स्थानमा सुरुङ फोरेर मानिस निकाल्ने प्रयास भइरहे पनि अझै सुरुङ पूर्णरूपमा खुल्न सकेको छैन।' केन्द्र सरकार तथा राज्य संयन्त्रको उद्धार प्रयासबारे प्रश्न उठाउँदै उनले बाढी आएको पहिलो र दोस्रो दिन प्रभावकारी सरकारी उद्धार हुन नसकेको बताएका छन्। उनका अनुसार ‘सुरुको दिन र भोलिपल्ट केही पनि भएन’, तर त्यसपछि हिजोदेखि उद्धार गतिविधि केही तीव्र भएको छ। करिब २००–३०० जना मानिस फसेका स्थानबाट समेत उद्धार सुरु भएको उनले जानकारी दिइन् । यद्यपि, उद्धार अझै पर्याप्त नभएको र सुरुङभित्र फसेका मानिसको अवस्थाबारे चिन्ता कायमै रहेको उनको भनाइ छ। जनप्रतिनिधि काठमाडौंमा, प्रभावित क्षेत्रमा फोनसमेत नलाग्ने राहत तथा उद्धारका लागि स्थानीय तहले केन्द्र सरकारसँग समन्वय गरिरहेको भए पनि प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर काम गर्न कठिन भएको गुरुङले बताइन् ।  उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीएमए) को केन्द्रमा बैठक तथा समन्वय गरी औषधि सिधै उत्तरगया पुर्‍याउने व्यवस्था मिलाइएको छ। राहत सामग्री बोकेका गाडीलाई बाटोमा प्रहरीले रोक्ने गरेको गुनासोसमेत उनले गरेकी छन्। गुरुङले मन्त्रालयसँग समन्वय गर्न पत्राचार, आवश्यक कागजात तथा सिफारिस तयार पार्ने कामसमेत काठमाडौंमै बसेर गर्नुपरेको बताइन् । 'उता फोन नै सम्पर्क हुँदैन,' उनले भने, 'त्यसैले यहाँ बसेर मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौं।'