अनुशासनहीन चालक, कमिसनको चक्करमा ट्राफिक

सडकले अराजक होइन, नम्र र मिठास खोज्दै

फाइल तस्विर

काठमाडौं । सडकमा नियम पालना गराउने जिम्मेवारी पाएको ट्राफिक प्रहरी र नियम पालना गर्नुपर्ने चालकबीचको टकराव कतिसम्म गम्भीर बन्दै गएको छ भन्ने पछिल्ला दुई घटनाले देखाएका छन् । दुई महिनाको अन्तरमा काठमाडौंमा दुईजना चालकले ट्राफिक तथा सुरक्षाकर्मीसँग विवाद गरेपछि आफ्नै शरीर र सवारीसाधनमा आगो लगाउने अवस्था निम्तिएको छ । दुवै घटनाले सडक अनुशासनसँगै ट्राफिक प्रहरीको व्यवहार, कारबाहीको शैली र सार्वजनिक यातायात व्यवस्थापनमाथि पनि गम्भीर प्रश्न उठाएको छ ।

दुई महिनाअघि मुगुका पठाओ चालक गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मोटरसाइकल पार्किङ गरेका थिए । नगर प्रहरीले ह्विल लक लगाएपछि उनी र नगर प्रहरीबीच विवाद भयो । विवाद चर्किएपछि नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए । गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

त्यसको दुई महिनापछि सोमबार (असोज ५ गते) फेरि त्रिपुरेश्वरमै अर्को घटना दोहोरिएको छ । ऋद्धिसिद्धि यातायातको बस चालक अर्जुन दोङले मिनीबसभित्रै आगो लगाए । बसमा आगो लगाउनुअघि ट्राफिक प्रहरीसँग उनको विवाद भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । आगजनीबाट गम्भीर घाइते भएका दोङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

घटनाका यी दुई उदाहरणले एउटा गम्भीर प्रश्न उठाएका छन् कि सडकमा नियम कार्यान्वयन गराउने क्रममा प्रहरी र चालकबीचको सम्बन्ध किन यति तनावपूर्ण बन्दै गएको छ ? र, नियम उल्लंघनको कारबाही किन कहिलेकाहीँ मानिसलाई नियन्त्रण गुमाउने अवस्थासम्म पुर्याइरहेको छ ?

सोमबारको घटनाअघि दोङ र ट्राफिक प्रहरीबीच विवाद भएको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ । भिडियोमा दोङले आफूले गल्ती नगरेको जिकिर गरिरहेका छन् । ट्राफिक प्रहरीले कागजपत्र मागेपछि उनी आक्रोशित भएको देखिन्छ ।

प्रहरीका अनुसार उनले अर्कै व्यक्तिको नाममा रहेको सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्स प्रयोग गरेर बस चलाइरहेका थिए । उनीसँग नागरिकता पनि नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

ट्राफिक प्रहरीसँगको विवादका क्रममा दोङले आफूलाई सम्झाउने प्रहरी र सर्वसाधारणसँग चर्को स्वरमा कुरा गरेको भिडियोमा देखिन्छ । उनले गल्ती भए आफू मरिदिने किसिमका अभिव्यक्तिसमेत दिएको देखिन्छ ।

केहीबेरमै उनले बसमा रहेका यात्रुलाई बाहिर निकालेर आफू बसभित्रै बसे र आगजनी गरे । मूलपानीदेखि कीर्तिपुरसम्म चल्ने उक्त बसमा आगो लगाएपछि उनी गम्भीर घाइते भएका थिए ।

घटनापछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिको प्रतिवेदनपछि विवादको वास्तविक कारण, प्रहरीको भूमिका र चालकले गरेको भनिएको नियम उल्लंघनबारे थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ ।

सडकमा अनुशासन कसले सिकाउने ?

सार्वजनिक यातायातको क्षेत्रमा लामो समयदेखि चालकको व्यवहार, तीव्र गति, ट्राफिक नियम उल्लंघन र यात्रुमाथिको व्यवहारबारे प्रश्न उठ्दै आएका छन् । तर नियम पालना गराउने निकायको व्यवहार पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ ।

लेखक शंकर दाहालका अनुसार सार्वजनिक यातायातका चालकलाई सडकमा मर्यादित, भद्र र जिम्मेवार भएर काम गर्ने संस्कार सिकाउने काम पर्याप्त हुन सकेको छैन ।

‘सवारी चलाउनेलाई मर्यादित बनाउन प्रहरीले मात्र अब नसक्ने देख्यो,’ दाहालले भने, ‘वास्तवमा यो जिम्मेवारी प्रहरीको मात्रै होइन । अनुशासित, मर्यादित र जवाफदेही पेशा हो भनी सिकाउन जरुरी छ ।’

उनका अनुसार सार्वजनिक यातायातका चालकको ट्राफिक अभिलेख हेर्दा पटक-पटक नियम उल्लंघन गरेको रेकर्ड भेटिने अवस्था छ । सडकमा केही सार्वजनिक यातायातका चालकको व्यवहार निकै आक्रामक हुने गरेको उनको टिप्पणी छ ।

‘ऋद्धिसिद्धि यातायातलाई कसले सक्छ । मध्यपुर यातायात त झन् डन । सडकमा त ड्राइभरकै राज चल्छ । केही भनिहाले आफैलाई आगो झोस्ने रहेछन् । अझ माइक्रो बसको रफ्तार उस्तै छ,’ उनले भनेका छन् ।

‘कमिसन असुल्ने’ आरोपमाथि पनि प्रश्न

मनोविद् पद्मप्रसाद घिमिरेले ट्राफिक कारबाहीको शैलीमाथि पुनर्विचार आवश्यक रहेको बताएका छन् । उनका अनुसार ट्राफिक नियम उल्लंघनमा आर्थिक जरिवानालाई मात्रै केन्द्रमा राख्दा कम आय भएका चालकमा थप तनाव उत्पन्न हुन सक्ने जोखिम हुन्छ ।

‘जबर्जस्ती पैसा असुल्ने नीति ल्याउन खोजिएको छ, यसले चाहिँ कम आयस्रोत भएको मान्छेको मनस्थिति झन् विचलित बनाउन थालेको देखिएको छ,’ उनले भने, ‘यसैको प्रतिक्रियास्वरूप यस्ता आगजनीका घटना घट्न थालेका छन् ।’

यद्यपि, ट्राफिक प्रहरीको आर्थिक जरिवाना प्रणालीलाई ‘कमिसन असुल्ने’ अभ्यासका रूपमा चित्रित गर्ने आरोपको पुष्टि हुन बाँकी छ । त्यसैले घटनाको अनुसन्धानसँगै ट्राफिक कारबाहीबाट उठेको राजस्व कहाँ र कसरी व्यवस्थापन हुन्छ भन्ने विषयमा पनि पारदर्शिता आवश्यक देखिन्छ ।

घिमिरेका अनुसार ट्राफिक प्रहरीले कारबाहीसँगै सम्झाइबुझाइ र परिस्थिति नियन्त्रणमा लिने सीपमा पनि ध्यान दिनुपर्छ ।

‘चालकको गम्भीर प्रकृतिको अपराध पनि देखिएन । प्रहरीले कुन किसिमको कारबाही गर्ने, सिर्जनशील तरिकाले सम्झाइबुझाइ गर्ने ठाउँमा आक्रामक हुने कि नहुने भन्ने कुरामा ट्राफिकहरूले पुनर्विचार गर्नुपर्ने देखियो,’ उनले भने ।

उनले ट्राफिक नियमावलीमा रहेको आर्थिक दण्डको प्रणालीबारे समेत पुनर्विचार गर्नुपर्ने बताए ।

चालकको मानसिक अवस्था पनि महत्त्वपूर्ण

घिमिरेले चालकको जिम्मेवारी केवल लाइसेन्स बोकेर गाडी चलाउनेमा सीमित नहुने बताए । चालकले आफू कुन अवस्थामा सवारी चलाउँदै छु भन्ने कुराको समेत ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

सवारीधनीले चालक नियुक्त गर्दा उसको दक्षता, अनुभव र कागजातसँगै व्यवहारिक पक्षको समेत परीक्षण गर्नुपर्ने उनले बताए ।

‘गाडी दिनुभन्दा अगाडि भेटघाट गरेर सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘तनावमा वा जस्तोसुकै अवस्थामा भएको अवस्थामा पनि गाडी चलाउँदा दुर्घटना निम्त्याउने जोखिम रहन्छ ।’

उनका अनुसार सार्वजनिक यातायात चालकको पेशा अन्य धेरै पेशाभन्दा संवेदनशील भएकाले चालक छनोट र निगरानीमा यातायात कम्पनीले थप जिम्मेवारी लिनुपर्छ ।

‘आगो लगाइदिए सबै चेकिङ रोक्ने ?’

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले भने घटनालाई केवल ट्राफिक प्रहरी र चालकबीचको विवादका रूपमा मात्र हेर्न नहुने बताएका छन् । उनका अनुसार समाजमा बढ्दै गएको आक्रोश र तत्काल प्रतिक्रिया दिने प्रवृत्तिले पनि यस्ता घटना जन्माउन सक्छ ।

‘ट्राफिक चेकिङ गरेको भरमा जिउमा आगो लगाइदिएमा भोलिको दिनमा ट्राफिकले रेगुलेट गर्ने कुराहरूमा पुलिसले पुलिसिङ गर्ने कुराहरू के होला? त्यो सबै डराउनुपर्ने अवस्था आउँछ,’ मल्लले भने ।

उनका अनुसार प्रहरी र नागरिक दुवैले आफ्नो व्यवहार र जिम्मेवारीको सीमालाई बुझ्नुपर्छ । सडकमा नियम कार्यान्वयन गराउने क्रममा प्रहरीले पनि परिस्थिति, व्यक्तिको अवस्था र सम्भावित जोखिमलाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘कसैको व्यवहार चित्त नबुझेमा शरीरमा आगो लगाइहाल्नुपर्ने समाज कस्तो बन्दैछ ?’ उनले प्रश्न गरे ।

मल्लले कुनै व्यक्तिको आक्रोशलाई उसको पेशागत भूमिकासँग जोडेर हेर्न नहुने बताउँदै सबै पक्षले संयम अपनाउनुपर्नेमा जोड दिए ।

छानबिन समितिको प्रतिवेदन निर्णायक

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले सोमबारको घटनाबारे छानबिन समिति गठन भइसकेको जानकारी दिए ।

उनका अनुसार चालकसँग विवाद हुनुअघि घटनास्थलमा एक जना मात्र ट्राफिक प्रहरी थिए । त्यसपछि भएको आगजनी र चालकको मृत्युबारे समितिले अध्ययन गरिरहेको छ ।

‘समितिको प्रतिवेदन आएपछि घटनाको वास्तविकता, को दोषी र घटना कसरी भयो भन्ने कुरा खुल्छ,’ सुवेदीले भने ।

त्यसैले सामाजिक सञ्जालमा सार्वजनिक भएको सीमित भिडियोका आधारमा मात्रै घटनाको पूर्ण निष्कर्ष निकाल्नुभन्दा छानबिन प्रतिवेदन पर्खनुपर्ने देखिन्छ ।

कम्पनी भन्छ– कागजात हेरेरै चालक नियुक्त गरेका हौं 

ऋद्धिसिद्धि बसका सञ्चालक लव केसीका अनुसार अर्जुन दोङले जेठ १८ गतेदेखि कम्पनीमा काम सुरु गरेका थिए । तर, ट्राफिकले उनको साथबाट दावा लामा नामको लाइसेन्स पाएको छ । कम्पनीले करिब एक महिनाअघि गाडी खरिद गरेपछि दोङले उक्त बस चलाउँदै आएका थिए ।

दोङको चालक अनुमतिपत्र र अन्य कागजातका विषयमा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेको केसीको दाबी छ । उनका अनुसार कम्पनीमा चालक नियुक्त गर्दा नागरिकता, नागरिक एप, लाइसेन्सलगायतका कागजात माग्ने गरिएको थियो ।

‘कम्पनीले आवश्यक प्रमाणबिना कसैलाई गाडी चलाउन दिँदैन । ती व्यक्ति आफूहरूका लागि दावा लामा नै थिए र उनको नाममा लाइसेन्सलगायतका कागजात थिए,’ केसीले भने ।

अनुसन्धानका लागि कम्पनीले आफूहरूसँग रहेका सबै कागजात प्रहरीलाई बुझाइसकेको उनले बताए ।

केसीका अनुसार कम्पनीमा काम सुरु गर्दा दोङमा असामान्य रूपमा रिसाउने वा आक्रोशित हुने व्यवहार आफूहरूले देखेका थिएनन् । आफूले उनलाई करिब एक महिनादेखि मात्रै चिनेको उनले बताए ।

कम्पनीले चालक नियुक्त गर्दा अन्य यातायात कम्पनीले अपनाउने प्रक्रियाअनुसार कागजात लिएर काममा लगाउने गरेको उनको भनाइ छ । तर पेस गरिएका कागजातको मौलिकता वा नक्कली–सक्कली परीक्षण गर्ने छुट्टै प्रणाली कम्पनीसँग नभएको उनले बताए ।

घटना दुई, प्रश्न अनेक

त्रिपुरेश्वरका यी दुई घटनाले सडक सुरक्षाको बहसलाई केवल ‘चालक अनुशासनहीन’ वा ‘ट्राफिक प्रहरी कठोर’ भन्ने दुई कोणमा सीमित गर्न नहुने देखाएको छ ।

चालकले नियम पालना गर्नुपर्छ । अर्काको लाइसेन्स प्रयोग गरेर सवारी चलाउने, कागजातबिना सडकमा निस्कने वा ट्राफिकसँग विवाद गर्ने कार्यले सार्वजनिक सुरक्षा जोखिममा पार्छ । त्यस्तै, नियम कार्यान्वयन गर्ने प्रहरी पनि संयमित, पारदर्शी र व्यावसायिक हुनुपर्छ ।

सार्वजनिक यातायातमा चालक छनोटदेखि तालिम, मनोवैज्ञानिक तयारी, नियमित अभिलेख परीक्षण र व्यवहारसम्बन्धी प्रशिक्षणसम्मको व्यवस्था बलियो बनाउनुपर्ने देखिन्छ । ट्राफिक कारबाहीमा आर्थिक दण्डसँगै सचेतना, पारदर्शिता र जवाफदेहितालाई पनि समान महत्त्व दिनुपर्ने बहस उठेको छ ।

Share News