विकासन्युज

कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने

काठमाडौं । त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडकखण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ । अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ । अधिकारीले सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । उनका अनुसार कामको आवश्यकताअनुसार दैनिक उपकरणको सङ्ख्या घटबढ हुने गरेको छ । केही दिन १२ वटासम्म उपकरण परिचालन गरिएको थियो । शनिबार कटिङको काम लगभग सकिएपछि ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेको उनले बताए । ग्रेडको काम सम्पन्न भएपछि रोलर थप गरी रोलिङको काम सुरु गरिनेछ । उनले भने, ‘कृष्णभीरमा सडक भासिएपछि भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम भइरहेको छ । ट्रयाक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ । कामका लागि आवश्यकताअनुसार उपकरण परिचालन गरिएको छ । आज दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेका छन् । ग्रेड मिलाइसकेपछि रोलर थपेर रोलिङको काम सुरु गरिनेछ ।’ नयाँ ट्रयाकको सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउने काम गर्न थप दुई–तीन दिन लाग्ने अधिकारीले बताए । त्यसपछि कृष्णभीर सडकखण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ । त्रिशूली बाढीपछि गएको पहिरो तथा सडक भासिएपछि कृष्णभीर क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरी यातायात सुचारु गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम अघि बढाइरहेको छ ।

नापजाँच भएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं । धनुषाको सबैला नगरपालिका–८ (साबिक ठिल्ला गाउँ विकास समिति) का ३८५ परिवारले नापजाँच भएको करिब पाँच वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् । नापी कार्यालय धनुषाले लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । पुर्जा पाएसँगै उनीहरूले आफूले बसोबास गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक प्रक्रियामा स्थानीयको सहभागिता कम हुँदा पुर्जा वितरणमा ढिलाइ भएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालयले जनाएको छ । यसअघि सबैला नगरपालिकाका वडा नम्बर ४, ५, ६ र १० का ३ हजार २२६ परिवारलाई पनि जग्गाधनी पुर्जा वितरण गरिएको थियो ।

हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम हो : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित काष्ठमण्डप संवादको तेस्रो शृङ्खलामा बोल्दै खनालले यस्तो बताएका हुन् । यस्ता विपद् विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएको भन्दै हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए । नेपाल र चीनबीचको सम्बन्धमा चीनलाई समृद्धि र सङ्कट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै खनालले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गरे । उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारे । भोटेकोशीको आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्वसूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाए । उनले यस्ता आरोप तथ्यमा आधारित नभएको बताए । हिमाली क्षेत्रमा हुने विपद्लाई नेपालभित्रको मात्र विषयका रूपमा हेर्न नहुने भन्दै उनले जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा यस्ता घटनाको अध्ययन गर्नुपर्ने बताए । खनालका अनुसार विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको छ । त्यसैले नेपालले जल तथा मौसमसम्बन्धी सूचना आदानप्रदान, विपद् पूर्वतयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए । हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमको सामना गर्न नेपाल, चीनसहित क्षेत्रीय तथा विश्व समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री खनालले नेपाल–चीन सम्बन्धलाई थप व्यावहारिक बनाउन सीमापार पूर्वाधार र कनेक्टिभिटीका आयोजना अघि बढाउनुपर्नेमा जोड दिए । रेलमार्ग, सडक, सञ्चार तथा अन्य भौतिक पूर्वाधारले नेपालको व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहमति भएका आयोजनाको कार्यान्वयनमा ढिलाइप्रति चिन्ता व्यक्त गर्दै खनालले विशेषगरी ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कसँग सम्बन्धित परियोजनालाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए । उनले बदलिँदो विश्व व्यवस्था, चीनको बढ्दो प्रभाव, सांघाई सहयोग सङ्गठनको भूमिका, डलरको निर्भरता घटाउने प्रवृत्ति र ग्लोबल साउथको बढ्दो प्रभावलाई नेपालले रणनीतिक रूपमा मूल्याङ्कन गर्नुपर्ने बताए । खनालले नेपाल–चीन सम्बन्धको नयाँ आधारका रूपमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा सहकार्य विस्तार गर्नुपर्ने बताए । नेपाली युवाले प्रविधि, उद्यमशीलता र डिजिटल नवप्रवर्तनमा आफ्नो क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए । नेपाल र चीनबीच प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य बढाउन सके त्यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उनको भनाइ छ । स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति, बलियो सीमापार कनेक्टिभिटी तथा नेपाल–चीनबीच सहमति भएका विकास आयोजनाको समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै खनालले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गरे ।

हिमाली विपद् साझा चुनौती हो, सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित काष्ठमण्डप संवादमा सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले हालैको भोटेकोशी विपद्प्रति दुःख व्यक्त गर्दै मानवीय सहयोग र ऐक्यबद्धताका लागि चीन सरकार तथा चिनियाँ जनतालाई धन्यवाद दिए । उनले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको बताए । त्यसैले वातावरणीय झट्का तथा प्राकृतिक विपद्को सामना गर्न साझा जिम्मेवारी, समन्वित पूर्वतयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेको उनको भनाइ छ । नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्रमन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने बताए । नेपाल र चीनबीच सदियौँदेखि सीमापार समुदाय, व्यापार, संस्कृति तथा जनस्तरको आदानप्रदानमार्फत सभ्यतागत सम्बन्ध कायम रहेको उनले उल्लेख गरे । मन्त्री खनालले नेपालले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीनको वैध सुरक्षा हितविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे । उनले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । सन् २०१९ मा स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार, प्रविधि सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उनले बताए । चीनको प्रविधि र नवप्रवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताए । यस्तो सहकार्यले नेपालको जनसांख्यिक लाभांशलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्न सहयोग पुग्ने उनको भनाइ छ । परराष्ट्रमन्त्री खनालले नेपाल–चीन सीमा व्यवस्थापनमा वातावरणीय पक्षलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । परम्परागत सीमा व्यवस्थापनको अवधारणासँगै ‘इकोलोजिकल बोर्डर म्यानेजमेन्ट’लाई अघि बढाउनुपर्ने उनको भनाइ छ । हिमाली क्षेत्रमा देखिने साझा जोखिम व्यवस्थापन, सीमापार कनेक्टिभिटी विस्तार तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा नेपाल र चीनबीच थप सहकार्य आवश्यक रहेको उनले बताए ।

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, किष्ट एट होम सञ्चालनमा आउँदै

काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ‘किष्ट एट होम’ सेवा सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले हेल्थ एट होम नेपालसँगको सहकार्यमा सुरु गर्न लागेको यो सेवामार्फत अस्पतालमा उपलब्ध विशेषज्ञ स्वास्थ्य सेवा, दक्ष जनशक्ति, प्रयोगशाला तथा स्वास्थ्य परीक्षणसम्बन्धी सुविधा आवश्यकताअनुसार बिरामीको घरसम्म पुर्‍याइनेछ । ‘किष्ट एट होम’ किष्ट शिक्षण अस्पतालकै एकीकृत स्वास्थ्य सेवा इकाइका रूपमा सञ्चालन हुनेछ । उपचारअघि, उपचारका क्रममा र उपचारपछि पनि बिरामीलाई निरन्तर स्वास्थ्य सेवासँग जोडिराख्ने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ । सेवाअन्तर्गत घरमै नर्सिङ सेवा, चिकित्सकको घरमै भेट, फिजियोथेरापी, ज्येष्ठ नागरिकको हेरचाह, शल्यक्रियापछि आवश्यक हेरचाह, घरमै रगत तथा अन्य नमुना संकलन, दीर्घरोग व्यवस्थापन, जीवनको अन्तिम चरणका बिरामीको हेरचाह, खोप, हेरचाहकर्तासम्बन्धी सेवा, दूरचिकित्सा तथा स्वास्थ्य परीक्षणपछिको परामर्श उपलब्ध हुनेछ । त्यस्तै, आवश्यकताअनुसार चिकित्सकीय उपकरण भाडामा उपलब्ध गराउने, घरमै सघन उपचार तथा गम्भीर बिरामीको हेरचाह र बिरामी ओसारपसारको सेवासमेत सञ्चालन गरिनेछ । ‘किष्ट एट होम’ अन्तर्गत अस्पताल पुग्नुअघिको स्वास्थ्य सेवा पनि उपलब्ध हुनेछ । आकस्मिक अवस्थामा बिरामीको अवस्थाअनुसार एम्बुलेन्स तथा बिरामी ओसारपसार सेवामार्फत अस्पतालसम्म ल्याउने व्यवस्था गरिनेछ । घरमै उपचाररत बिरामीलाई थप उपचार आवश्यक परे अस्पतालको सेवासँग सहज रूपमा जोडिने व्यवस्था पनि हुनेछ । अस्पतालका अनुसार घरमै स्वास्थ्य सेवा लिए पनि बिरामी किष्ट शिक्षण अस्पतालको स्वास्थ्य सेवा सञ्जालबाट अलग हुने छैनन् । आवश्यकताअनुसार अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मी परिचालन गर्न सकिनेछ । घरमै संकलन गरिएका रगत तथा अन्य नमुना किष्ट शिक्षण अस्पतालको प्रयोगशालामा परीक्षण गरी त्यसको प्रतिवेदन उपलब्ध गराइनेछ । बिरामीको स्वास्थ्यसम्बन्धी विवरण अस्पतालको स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमार्फत व्यवस्थित गरिने र स्वास्थ्य विवरणको गोपनीयता कायम गरिने अस्पतालले जनाएको छ । किष्ट शिक्षण अस्पताल र हेल्थ एट होम नेपालको सहकार्यमा सञ्चालन हुन लागेको यो सेवाले अस्पतालमा आधारित उपचारलाई घरमै उपलब्ध हुने स्वास्थ्य सेवासँग जोड्ने अपेक्षा गरिएको छ । विशेषगरी शल्यक्रियापछि घरमै स्वास्थ्य निगरानी आवश्यक पर्ने, ज्येष्ठ नागरिक, दीर्घरोगी, फिजियोथेरापी आवश्यक पर्ने तथा जीवनको अन्तिम चरणमा रहेका बिरामीलाई यस सेवाबाट सहज हुने अपेक्षा गरिएको छ । ‘किष्ट एट होम’को मूल उद्देश्य अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको घरसम्म पुर्‍याउनु रहेको अस्पतालले जनाएको छ ।

विद्यालय निर्माणमा भ्रष्टाचार आरोप : सफाइविरुद्ध अख्तियारको पुनरावेदन

काठमाडौं । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट सफाइ पाएका अन्नपूर्ण माध्यमिक विद्यालय, डोल्पाका प्रधानाध्यापक नरदेव रोकायासहितका प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारका अनुसार डोल्पाको मुड्केचुला गाउँपालिका–७, सर्मीस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मेशिनरी तथा आरसिसी वाल निर्माणका लागि भएको बोलपत्र मूल्यांकनमा कानुनविपरीत काम गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याइएको थियो । उक्त घटनामा अख्तियारले २९ लाख ६० हजार ६९२ रुपैयाँ ५५ पैसा बिगो कायम गरी नरदेव रोकायासहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । आयोगले बिगो बराबर जरिवाना, कैद तथा बिगो असुलउपरको मागदाबी गरेको थियो । तर, विशेष अदालतले २०८२ फागुन २७ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो । उक्त फैसलाप्रति चित्त नबुझेपछि अख्तियारले २०८३ भदौ २६ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो । आयोगले विशेष अदालतको फैसला बदर गरी आरोप दाबीअनुसार कारबाही हुनुपर्ने माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको जनाएको छ ।

एक सातामा सुनको मूल्य तोलामा ६ हजार ४०० रुपैयाँ घट्यो

काठमाडौं । तीज नजिकिँदै गर्दा नेपाली सुन बजारमा मूल्यमा ठूलो उतारचढाव देखिएको छ। पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ६ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ २० गते शनिबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँ थियो । तर साताको अन्तिम कारोबार दिन भदौ २६ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य घटेर ३ लाख १ हजार रुपैयाँमा झरेको छ । साताको सुरुआतदेखि नै सुनको मूल्य ओरालो लागेको थियो । भदौ २१ गते आइतबार सुन प्रतितोला ३ हजार १०० रुपैयाँ घटेर ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भयो । त्यसको भोलिपल्ट सोमबार पनि २ हजार ४०० रुपैयाँ घट्दै मूल्य ३ लाख १ हजार ९०० रुपैयाँमा पुगेको थियो । मंगलबार भने सुनको मूल्यमा केही सुधार देखियो । उक्त दिन प्रतितोला ३ हजार ५०० रुपैयाँ बढेर ३ लाख ५ हजार ४०० रुपैयाँ कायम भयो । तर बुधबार फेरि ३ हजार रुपैयाँ घटेर मूल्य ३ लाख २ हजार ४०० रुपैयाँमा झर्‍यो । बिहीबार सुनको मूल्य पुनः ३ हजार ४०० रुपैयाँ बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगे पनि शुक्रबार एकैदिन ४ हजार ८०० रुपैयाँले घट्दा साताकै सबैभन्दा ठूलो गिरावट देखियो । यससँगै सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । तीजको मुखमै सुनको मूल्य लगातार घटबढ हुँदा बजारमा अस्थिरता देखिएको व्यवसायीहरू बताउँछन् ।

पुरुषमा पनि हुन सक्छ रगतको कमी, लगातार थकानलाई बेवास्ता नगर्न चिकित्सकको सुझाव

काठमाडौं । रगतको कमी अर्थात् एनेमिया महिलामा मात्र हुने समस्या भन्ने धारणा धेरैमा रहे पनि यो पुरुषमा पनि देखिन सक्ने स्वास्थ्य समस्या हो । स्वास्थ्य विज्ञका अनुसार पुरुषमा एनेमिया देखिए त्यसलाई सामान्य थकान वा कामको तनाव भनेर बेवास्ता गर्नु हुँदैन, किनकि यसको पछाडि गम्भीर स्वास्थ्य समस्या पनि हुन सक्छ । एनेमिया भनेको शरीरमा पर्याप्त हेमोग्लोबिन वा रातो रक्तकोषको कमी हुनु हो । यसका कारण शरीरका विभिन्न अंगमा पर्याप्त अक्सिजन पुग्न नसक्दा लगातार थकान, कमजोरी, रिंगटा लाग्ने, टाउको दुख्ने, छाला फिक्का देखिने, हातखुट्टा चिसो हुने, थोरै मेहनतमै सास फुल्ने, मुटुको धड्कन छिटो हुने र ध्यान केन्द्रित गर्न गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन् । एनेमिया बिस्तारै विकास हुने भएकाले सुरुआती संकेत धेरैले सामान्य समस्या ठानेर बेवास्ता गर्ने गर्छन् । चिकित्सकहरूका अनुसार पुरुषमा एनेमिया हुनुको मुख्य कारण खानपानमा आइरनको कमी मात्र होइन । शरीरले आइरन राम्रोसँग अवशोषण गर्न नसक्ने अवस्था, पाचन प्रणालीबाट बिस्तारै हुने आन्तरिक रक्तस्राव, मिर्गौला रोग, भिटामिन बी–१२ को कमी तथा दीर्घकालीन सूजनजस्ता स्वास्थ्य समस्याले पनि रगतको कमी हुन सक्छ। धेरै पटक रक्तदान गर्ने व्यक्तिमा पनि आइरनको मात्रा घट्ने सम्भावना रहन्छ । स्वास्थ्य सम्बन्धी विभिन्न अध्ययनले विश्वभर करिब १२.७ प्रतिशत पुरुष एनेमियाबाट प्रभावित रहेको देखाएका छन् । भारतमा पनि पुरुषमा एनेमियाको समस्या उल्लेख्य रूपमा देखिएको छ र पछिल्ला वर्षहरूमा किशोर तथा वयस्क पुरुषमा यसको दर बढ्दो क्रममा रहेको अध्ययनहरूले देखाएका छन् । स्वास्थ्य विज्ञहरूको सुझाव अनुसार कुनै स्पष्ट कारणबिना लामो समयसम्म थकान, कमजोरी, रिंगटा वा सास फुल्ने समस्या देखिए त्यसलाई उमेर, कम निद्रा वा कामको चापको असर भनेर बेवास्ता गर्नु हुँदैन । यस्ता लक्षण देखिए समयमै चिकित्सकको सल्लाह लिएर सीबीसी (कम्प्लिट ब्लड काउन्ट) लगायत आवश्यक परीक्षण गराउँदा एनेमियाको कारण पत्ता लगाएर उपचार गर्न सकिने उनीहरूको भनाइ छ । एजेन्सीको सहयोगमा