काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित काष्ठमण्डप संवादको तेस्रो शृङ्खलामा बोल्दै खनालले यस्तो बताएका हुन् । यस्ता विपद् विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएको भन्दै हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।
नेपाल र चीनबीचको सम्बन्धमा चीनलाई समृद्धि र सङ्कट दुवै अवस्थामा विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै खनालले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले देखाउँदै आएको समर्थनको प्रशंसा गरे । उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने र नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारे ।
भोटेकोशीको आकस्मिक बाढीका सम्बन्धमा चीनले पूर्वसूचना नदिएको भन्ने सार्वजनिक टिप्पणीप्रति खनालले असहमति जनाए । उनले यस्ता आरोप तथ्यमा आधारित नभएको बताए ।
हिमाली क्षेत्रमा हुने विपद्लाई नेपालभित्रको मात्र विषयका रूपमा हेर्न नहुने भन्दै उनले जलवायु परिवर्तन र सीमापार पारिस्थितिक जोखिमको व्यापक सन्दर्भमा यस्ता घटनाको अध्ययन गर्नुपर्ने बताए ।
खनालका अनुसार विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको गम्भीर असर नेपालले भोगिरहेको छ । त्यसैले नेपालले जल तथा मौसमसम्बन्धी सूचना आदानप्रदान, विपद् पूर्वतयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए ।
हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमको सामना गर्न नेपाल, चीनसहित क्षेत्रीय तथा विश्व समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री खनालले नेपाल–चीन सम्बन्धलाई थप व्यावहारिक बनाउन सीमापार पूर्वाधार र कनेक्टिभिटीका आयोजना अघि बढाउनुपर्नेमा जोड दिए । रेलमार्ग, सडक, सञ्चार तथा अन्य भौतिक पूर्वाधारले नेपालको व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहमति भएका आयोजनाको कार्यान्वयनमा ढिलाइप्रति चिन्ता व्यक्त गर्दै खनालले विशेषगरी ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कसँग सम्बन्धित परियोजनालाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए ।
उनले बदलिँदो विश्व व्यवस्था, चीनको बढ्दो प्रभाव, सांघाई सहयोग सङ्गठनको भूमिका, डलरको निर्भरता घटाउने प्रवृत्ति र ग्लोबल साउथको बढ्दो प्रभावलाई नेपालले रणनीतिक रूपमा मूल्याङ्कन गर्नुपर्ने बताए ।
खनालले नेपाल–चीन सम्बन्धको नयाँ आधारका रूपमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा सहकार्य विस्तार गर्नुपर्ने बताए । नेपाली युवाले प्रविधि, उद्यमशीलता र डिजिटल नवप्रवर्तनमा आफ्नो क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल र चीनबीच प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनमा सहकार्य बढाउन सके त्यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने उनको भनाइ छ ।
स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति, बलियो सीमापार कनेक्टिभिटी तथा नेपाल–चीनबीच सहमति भएका विकास आयोजनाको समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै खनालले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गरे ।