विद्यालय निर्माणमा भ्रष्टाचार आरोप : सफाइविरुद्ध अख्तियारको पुनरावेदन

काठमाडौं । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट सफाइ पाएका अन्नपूर्ण माध्यमिक विद्यालय, डोल्पाका प्रधानाध्यापक नरदेव रोकायासहितका प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारका अनुसार डोल्पाको मुड्केचुला गाउँपालिका–७, सर्मीस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मेशिनरी तथा आरसिसी वाल निर्माणका लागि भएको बोलपत्र मूल्यांकनमा कानुनविपरीत काम गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याइएको थियो ।

उक्त घटनामा अख्तियारले २९ लाख ६० हजार ६९२ रुपैयाँ ५५ पैसा बिगो कायम गरी नरदेव रोकायासहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । आयोगले बिगो बराबर जरिवाना, कैद तथा बिगो असुलउपरको मागदाबी गरेको थियो ।

तर, विशेष अदालतले २०८२ फागुन २७ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो । उक्त फैसलाप्रति चित्त नबुझेपछि अख्तियारले २०८३ भदौ २६ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो ।

आयोगले विशेष अदालतको फैसला बदर गरी आरोप दाबीअनुसार कारबाही हुनुपर्ने माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको जनाएको छ ।

Share News