काठमाडौं । तीज नजिकिँदै गर्दा नेपाली सुन बजारमा मूल्यमा ठूलो उतारचढाव देखिएको छ। पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ६ हजार ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ २० गते शनिबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँ थियो । तर साताको अन्तिम कारोबार दिन भदौ २६ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य घटेर ३ लाख १ हजार रुपैयाँमा झरेको छ ।
साताको सुरुआतदेखि नै सुनको मूल्य ओरालो लागेको थियो । भदौ २१ गते आइतबार सुन प्रतितोला ३ हजार १०० रुपैयाँ घटेर ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भयो । त्यसको भोलिपल्ट सोमबार पनि २ हजार ४०० रुपैयाँ घट्दै मूल्य ३ लाख १ हजार ९०० रुपैयाँमा पुगेको थियो ।
मंगलबार भने सुनको मूल्यमा केही सुधार देखियो । उक्त दिन प्रतितोला ३ हजार ५०० रुपैयाँ बढेर ३ लाख ५ हजार ४०० रुपैयाँ कायम भयो । तर बुधबार फेरि ३ हजार रुपैयाँ घटेर मूल्य ३ लाख २ हजार ४०० रुपैयाँमा झर्यो ।
बिहीबार सुनको मूल्य पुनः ३ हजार ४०० रुपैयाँ बढेर ३ लाख ५ हजार ८०० रुपैयाँ पुगे पनि शुक्रबार एकैदिन ४ हजार ८०० रुपैयाँले घट्दा साताकै सबैभन्दा ठूलो गिरावट देखियो । यससँगै सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
तीजको मुखमै सुनको मूल्य लगातार घटबढ हुँदा बजारमा अस्थिरता देखिएको व्यवसायीहरू बताउँछन् ।