नर्भिकले ४२ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । शुक्रबार आयोजित छैटौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर तथा २२ दशमलव १०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने निर्णय गरेको हो । उक्त साधारणसभाले २० प्रतिशत बोनस सेयर वितरणपश्चात कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि सेयर निष्काषन गर्ने तथा उक्त प्रक्रियाका लागि संस्थागत लगानीकर्ताहरूलाई वितरण गरिने विवरण पत्र स्वीकृत गर्ने लगायत काम कारबाहीको अख्तियारी संचालक समितिलाई प्रदान गर्ने निर्णय पनि गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा अस्पतालको कुल आम्दानी फार्मेसी बाहेक रु.२ अर्ब ८३ करोड, कुल खर्च रु.२ अर्ब ३६ करोड तथा खुद नाफा रु.४७ करोड भन्दा माथि रहेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, फार्मेसीसहित कुल आम्दानी रु ३ अर्ब ४७ करोड, कुल खर्च रु २ अर्ब ९९ करोड तथा खुद नाफा रु ४७ करोड ८५ लाख भन्दा माथि रहेको जनाएको छ । हस्पिटलको वार्षिक प्रतिवेदनअनुसार नर्भिकले २०८२/८३ मा ओपिडि तर्फ एकलाख ७९ हजार, आइपीडीतर्फ ९ हजार र आकस्मिक तर्फ ६ हजारजना बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । त्यस्तै, ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, युके, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनियाका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको छ ।
हरिवंशको टिप्पणी–करिब ५० वर्षदेखि बिग्रिँदै आएको काठमाडौं बल्ल सुधारिँदै छ
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं महानगरपालिका करिब ५० वर्षदेखि क्रमशः बिग्रिँदै आए पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही सकारात्मक काम भएको बताएका छन् । आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । फल्चा बाहिरबाट हेर्दा बस्ने वा ओत लाग्ने सामान्य ठाउँजस्तो देखिए पनि त्यसको संरचनाभित्र काठमाडौंको मौलिक सम्पदा, संस्कृति र सांस्कृतिक पहिचान लुकेको उनको भनाइ थियो । आचार्यले काठमाडौंलाई देवताहरूको सहरका रूपमा चित्रण गर्दै यहाँका बासिन्दाले पनि आफ्नो सम्पदा र सहरलाई देवताकै रूपमा मानेर संरक्षण गर्नुपर्ने बताए । उनले केही महिनाअघि भारतीय युट्युबरहरूले काठमाडौंको सरसफाइ र सौन्दर्यका विषयमा तयार पारेको कार्यक्रम आफूले हेरेको पनि बताए । भारतीय सञ्चारमाध्यम तथा युट्युबरहरूले काठमाडौंको प्रशंसा गरेको देख्दा नेपाली हुनुका नाताले आफूलाई गर्व लागेको उनको भनाइ थियो । ‘करिब ५० वर्षअघिदेखि नै महानगर बिग्रिन सुरु भएको हो । अब जति बिग्रिनु थियो, धेरै बिग्रिसकेको छ । तर पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने केही राम्रा काम भएका छन्,’ उनले भने । उनले काठमाडौंका विभिन्न स्थानमा निर्माण भएका फल्चालाई केवल बस्ने वा ओत लाग्ने ठाउँका रूपमा मात्र हेर्न नहुने बताए । ‘हेर्दा फल्चा बस्ने र ओत लाग्ने ठाउँजस्तो देखिए पनि त्यसको भित्र हाम्रो सम्पदा र संस्कृति लुकेको हुन्छ,’ उनले भने । आचार्यले महानगरमा पछिल्लो समय भएका सकारात्मक कामलाई निरन्तरता दिँदै सम्पदा संरक्षण, सरसफाइ र सहरको सौन्दर्यमा थप ध्यान दिनुपर्नेमा जोड दिए । महानगरको विकास र संरक्षणमा महानगरवासीको समेत महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले सबै नागरिकलाई आफ्नो सहरप्रति जिम्मेवार बन्न आग्रहसमेत गरे ।
अमेरिकालाई ब्रिक्सको कडा सन्देश : एकतर्फी कर र व्यापारिक अवरोध स्वीकार्य छैन
काठमाडौं । दिल्लीमा आयोजित दुईदिने ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन सदस्य राष्ट्रहरूले अमेरिकाको नाम नलिई एकतर्फी रूपमा लगाइने भन्सार कर र व्यापारिक अवरोधप्रति कडा असन्तुष्टि जनाएका छन् । ब्रिक्स राष्ट्रहरूले कुनै पनि देशले भन्सार करका विषयमा मनपरी गर्न नहुने सन्देश दिएका छन् । विश्वभर बढिरहेको भन्सार कर युद्ध र व्यापारिक तनावबीच ब्रिक्स राष्ट्रहरूले एकतर्फी भन्सार कर तथा गैरभन्सार व्यापारिक अवरोधप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले ‘नयाँ दिल्ली घोषणा–२०२६’ लाई सर्वसम्मतिले अनुमोदन गरेका छन् । घोषणामा एकतर्फी रूपमा चालिने यस्ता कदमले विश्व व्यापारलाई प्रभावित पार्ने र विश्व व्यापार संगठन (डब्लूटीओ)का नियमसँग मेल नखाने उल्लेख गरिएको छ । भारतको अध्यक्षतामा भएको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणालाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए । कुनै पनि सदस्य राष्ट्रले आपत्ति नजनाएपछि घोषणा सर्वसम्मतिले पारित भएको हो । ब्रिक्स घोषणामा एकतर्फी भन्सार कर तथा गैरभन्सार उपायमा भइरहेको वृद्धिप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । समूहले यस्ता व्यापारिक कदमले विभिन्न देशबीच समान प्रतिस्पर्धाको वातावरण प्रभावित पार्ने र विश्व व्यापार व्यवस्थामा अनिश्चितता बढाउने जनाएको छ । घोषणामा डब्लूटीओका नियमअनुसार व्यापार व्यवस्था कायम राख्नुपर्नेमा जोड दिइएको छ । विश्वका प्रमुख अर्थतन्त्रबीच आयातमा लाग्ने भन्सार करलाई लिएर तनाव बढिरहेका बेला ब्रिक्स राष्ट्रहरूले यस्तो धारणा सार्वजनिक गरेका हुन् । अमेरिकासहित विभिन्न देशले आफ्नो घरेलु उद्योग संरक्षणका लागि भन्सार कर तथा अन्य व्यापारिक प्रतिबन्ध प्रयोग गरिरहेका बेला ब्रिक्सको यो धारणा सार्वजनिक भएको हो । ब्रिक्स राष्ट्रहरूले भन्सार कर मात्रै नभई गैरभन्सार व्यापारिक अवरोधप्रति पनि चिन्ता व्यक्त गरेका छन् । यस्ता अवरोधमा आयातका लागि लगाइने विभिन्न प्रकारका सर्त, प्राविधिक नियम तथा अन्य त्यस्ता उपाय पर्छन्, जसले विदेशी वस्तुलाई सम्बन्धित देशको बजारमा प्रवेश गर्न कठिन बनाउन सक्छन् । विश्व व्यापारमा स्थिरता र निष्पक्ष प्रतिस्पर्धाका लागि नियममा आधारित बहुपक्षीय व्यापार व्यवस्थालाई थप बलियो बनाउन आवश्यक रहेको ब्रिक्सको धारणा छ । घोषणामा अन्तर्राष्ट्रिय कानुनविपरीत लगाइने एकतर्फी आर्थिक दबाब र उपायको पनि निन्दा गरिएको छ । ब्रिक्स राष्ट्रहरूले लामो समयदेखि कुनै एक देश वा समूहले लगाउने आर्थिक प्रतिबन्ध तथा दबाबको असर विश्व व्यापार र विकासशील अर्थतन्त्रमा पर्न नहुने धारणा राख्दै आएका छन् । ब्रिक्सको पछिल्लो अडान विश्व आर्थिक व्यवस्थामा आफ्नो भूमिका थप विस्तार गर्ने र बाह्य आर्थिक दबाबप्रतिको निर्भरता कम गर्ने सदस्य राष्ट्रहरूको व्यापक प्रयासकै हिस्सा भएको देखिन्छ । ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान र संयुक्त अरब इमिरेट्स सदस्य छन् । ब्रिक्सको सुरुवात चार राष्ट्रबाट भएको हो । सन् २००९ मा पहिलो ब्रिक शिखर सम्मेलन आयोजना हुँदा ब्राजिल, रुस, भारत र चीन गरी चार राष्ट्र यसको सदस्य थिए । सुरुमा यी चार राष्ट्रको नामको पहिलो अक्षरबाट समूहको नाम ब्रिक राखिएको थियो । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा थपिएपछि यसको नाम ब्रिक्स राखिएको हो । यसको मुख्य उद्देश्य उदीयमान अर्थतन्त्र भएका देशबीच आर्थिक तथा राजनीतिक सहकार्य विस्तार गर्नु र विश्वका अन्तर्राष्ट्रिय संस्थामा विकासशील देशको आवाजलाई थप बलियो बनाउनु हो ।
रसियन हाउसमा २८ नेपाली कलाकारका चित्रकला प्रदर्शनी
काठमाडौं । नेपाली कलाकारका विविध सिर्जना समेटिएको सामूहिक चित्रकला प्रदर्शनी काठमाडौंस्थित रसियन हाउसमा सुरु भएको छ । रसियन हाउस, काठमाडौंको प्रस्तुतिमा नेपाल–रसिया आर्ट क्लब र सुषमा आर्ट ग्यालरीको संयुक्त आयोजनामा भएको प्रदर्शनीको उद्घाटन सांसद तथा पूर्वमन्त्री पद्मा अर्यालले गरिन् । उद्घाटन कार्यक्रममा रसियन हाउसकी निर्देशक अनासातासिया खोख्लोभा, नेपाल–रसिया आर्ट क्लबकी अध्यक्ष सुषमा राजभण्डारी, नेपाल–रसिया फ्रेन्डसिप तथा कल्चरलका महासचिव स्वराज शाक्य, कलाकार शिवजी यादव, दिवस अमात्यलगायत वरिष्ठ कलाकार, कलाकार, पत्रकार तथा व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रम प्राज्ञ, गायक तथा संगीतकार माधव प्रधानले सञ्चालन गरेका थिए । कार्यक्रममा रसियन हाउसकी निर्देशक खोख्लोभाले उपस्थित अतिथिलाई खादा लगाएर स्वागत गरेकी थिइन् भने नेपाल–रसिया आर्ट क्लबका सचिव मदन श्रेष्ठले अतिथि तथा कलाकारहरूलाई स्वागत गरेका थिए । प्राज्ञ धर्मराज शाक्यले प्रदर्शनीमा राखिएका कलाकृतिबारे समीक्षा गरेका थिए । निर्देशक खोख्लोभाले नेपाली कलाकारहरूको सामूहिक चित्रकला प्रदर्शनी आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल–रसिया आर्ट क्लबसँग सहकार्य गरेर नेपाल र रसियाका कलाकारहरूको संयुक्त चित्रकला प्रदर्शनी आयोजना गर्ने जानकारी दिइन् । प्रमुख अतिथि पद्मा अर्यालले नेपाली कलाकारहरूको सामूहिक चित्रकला प्रदर्शनी उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउँदै प्रदर्शनीमा राखिएका चित्रहरू हेर्दा आफूले नौलो अनुभव प्राप्त गरेको बताइन् । नेपाल–रसिया आर्ट क्लबकी अध्यक्ष सुषमा राजभण्डारीले प्रदर्शनीमा सहभागी कलाकार तथा उपस्थित सबैलाई धन्यवाद दिँदै क्लबले आगामी दिनमा पनि नियमित रूपमा कला प्रदर्शनी आयोजना गर्दै जाने बताइन् । उनले प्रदर्शनीमा धेरैभन्दा धेरै महिला कलाकारका कलाकृति समेट्न पाएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रमका क्रममा नेपाल–रसिया आर्ट क्लबका नयाँ सल्लाहकार तथा पदाधिकारीहरूको समेत घोषणा गरिएको थियो । प्रदर्शनीमा प्राज्ञ विजय थापा, प्राज्ञ चन्दा श्रेष्ठ, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, गजेन्द्रमान श्रेष्ठ, प्राज्ञ सुषमा राजभण्डारी, विजयराज शाक्य, राजाबाबु शाक्य, प्राज्ञ धर्मराज शाक्य, प्राज्ञ धनु याक्खा, प्राज्ञ उमेश श्रेष्ठ, पुरुषोत्तम मानन्धर, दीपाञ्जली प्रधान, रेनुका महर्जन, ज्योति खड्का, सजनी श्रेष्ठ, उमा श्रेष्ठ, सुनेना ठाकुर, सरुनादेवी महर्जन, प्रविण श्रेष्ठ, मदन श्रेष्ठ, राखी कर्न, हेमा दास, जेम्स महर्जन, विनोद गिरी, सुमित्रा थुस, कृपा जोशी र हरिराम चौधरी गरी २८ जना कलाकारका चित्रहरू राखिएका छन् ।
इरानी राष्ट्रपति पेजेशकियानले भने– सर्वोच्च नेता मोजतबा खामेनेई जीवित छन्
काठमाडौं । इरानका राष्ट्रपति मसुद पेजेशकियानले सर्वोच्च नेता मोजतबा खामेनेई जीवित रहेको र आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताएका छन् । ब्रिक्समा सहभागी हुन भारत आएका पेजेशकियानले ‘इन्डिया टुडे’लाई दिएको अन्तर्वार्तामा खामेनेईबारे धारणा राखेका हुन् । अन्तर्वार्ताका क्रममा पेजेशकियानलाई इरानका सर्वोच्च नेता मोजतबा खामेनेई कहाँ छन् र उनको अवस्था कस्तो छ भनेर सोधिएको थियो । जवाफमा पेजेशकियानले भने, ‘हाम्रा सर्वोच्च नेता जीवित हुनुहुन्छ र उहाँ पहिलेझैँ त्यही प्रणालीअन्तर्गत आफ्नो काम गरिरहनुभएको छ ।’ उनले शत्रुहरूले खामेनेईको वास्तविक स्थान पत्ता लगाउन नसकेका कारण विभिन्न अड्कलबाजी फैलाइएको दाबी गरे । उनका अनुसार शत्रुहरूले इरानका नयाँ सर्वोच्च नेतासँग पनि अघिल्ला सर्वोच्च नेतासँग गरेजस्तै व्यवहार गर्न खोजिरहेका छन् । पेजेशकियानले अमेरिका र इजरायलले एक व्यक्तिलाई लक्षित गर्दै उसको सम्पूर्ण परिवारको हत्या गर्ने र भवनसमेत ध्वस्त पार्ने गरेको आरोप लगाए । त्यसपछि उक्त व्यक्तिलाई आतंकवादी भएको दाबी गर्ने गरिएको उनको भनाइ थियो । उनले भने, ‘हामी जुन संसारमा बाँचिरहेका छौं, त्यसमा यो अपराध गर्ने नयाँ तरिका बनेको छ ।’ इरानका वर्तमान सर्वोच्च नेता मोजतबा खामेनेईले पद सम्हालेको करिब छ महिना भइसक्दा पनि सार्वजनिक रूपमा उपस्थिति जनाएका छैनन् । यद्यपि, उनका लिखित सन्देशहरू सार्वजनिक हुँदै आएका छन्। साथै, इरानी अधिकारीहरूले पनि खामेनेई जीवित रहेको दाबी निरन्तर गर्दै आएका छन्।
बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले बढेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मधेसमा खुल्दैछ आईओईको नयाँ क्याम्पस, तीन वर्षमै पढाइ सुरु गर्ने
काठमाडौं । सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)को नयाँ आङ्गिक क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थी अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न नयाँ क्याम्पस स्थापना गर्न लागिएको बताएका छन् । मधेस प्रदेशबाट हरेक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौंलगायत अन्य प्रदेश जाने गरेका छन् । यसका कारण विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्नुका साथै बसाइँ र अन्य व्यावहारिक समस्या समेत सिर्जना हुँदै आएको छ । मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ । स्थान छनोटका लागि विशेष अध्ययन समिति गठन गरिने र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ । क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा तय भइनसके पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने लक्ष्यसहित आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए । सरकारले नयाँ क्याम्पसलाई परम्परागत शिक्षामा मात्र सीमित नराखी अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ । आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार तथा त्यसको व्यावहारिक प्रयोगलाई प्राथमिकता दिइनेछ । मधेसमा आईओईको क्याम्पस स्थापना भएपछि यस क्षेत्रका विद्यार्थीले आफ्नै प्रदेशमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर पाउने सरकारको अपेक्षा छ । साथै स्थानीयस्तरमै अनुसन्धान र प्राविधिक नवप्रवर्तनको वातावरण निर्माण हुने विश्वास गरिएको छ । हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पस पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन् ।
असोज १ मा खुल्नेछ भदौको करदाता उपहार, दुई जनालाई १०/१० लाखको बम्पर
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ । करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो । साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो । अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले असोज १ गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ । असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी गरिएको विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एक जनाका दरले १५ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले विजेता छनोट गरिनेछ । यस्तै, भदौ १ देखि १५ सम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट गरिनेछ । त्यसपछि दोस्रो चरणमा, भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कारका लागि छनोट गरिने विभागले जनाएको छ । यस्तै, भदौ महिनाको दोस्रो १६ दिनका उपभोक्तामध्येबाट एक जना १० लाख रुपैयाँ राशिको बम्पर विजेता छनोट हुनेछन् । असोज १ गते भदौ महिनाका एक लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता र १०/१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी जम्मा ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । पुरस्कारका लागि योग्य हुन उपभोक्ताले अनिवार्य रूपमा एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्छ । कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्नुपर्छ। विभागका अनुसार अनलाइनमार्फत गरिएको कारोबार स्वतः सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ । नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई आफूले प्राप्त गरेको बिल अपलोड गरेर पुरस्कारका लागि योग्य बन्न कुपन लिनुपर्छ । भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले पुरस्कारमा सहभागी हुन १५ गतेसम्म आफ्नो बिल प्रणालीमा दर्ता गरेर उपहार कुपन लिइसकेको हुनुपर्छ । भदौ १६ देखि ३१ गतेसम्म कारोबार गरेर बिल लिएका उपभोक्ताले भदौ मसान्तको राति १२ बजेसम्ममा आफ्नो बिल प्रणालीमा दर्ता गरेर उपहार कुपन प्राप्त गरिसकेको हुनुपर्छ । दुवै पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । हरेक दिनका एक लाख ३३ हजार ३३४ रुपैयाँका विजेताले कर कटाएर एक लाख र १० लाखका विजेताले सात लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुहुने कार्यविधि छ । साउन महिनामा ३३ जनाले पुरस्कार जित्नुभएको थियो । उनीहरुको विजेता छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए ।