विकासन्युज

ब्रिक्सलाई नयाँ दिशा दिन सी जिनपिङको पाँचसूत्रीय प्रस्ताव

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले आगामी वर्ष ब्रिक्सको अध्यक्षता सम्हाल्नुअघि संगठनको आर्थिक तथा प्राविधिक सहकार्यलाई नयाँ दिशा दिने रोडम्याप प्रस्तुत गरेका छन् । नयाँ दिल्लीस्थित भारत मण्डपमा आयोजित १८औं ब्रिक्स शिखर सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति जिनपिङले ब्रिक्स विशेष आर्थिक क्षेत्र साझेदारीको प्रस्ताव गरेका हुन् । यससम्बन्धी जानकारी चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले एक्समार्फत दिएकी हुन् । पोस्टका अनुसार प्रस्तावमा ब्रिक्स सदस्य राष्ट्रबीच व्यापार, लगानी तथा औद्योगिक सहकार्यलाई प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ । उनले चीनले आगामी वर्ष ब्रिक्स सेवा व्यापार मञ्च आयोजना गर्ने घोषणा पनि गरेका छन् । उक्त मञ्चमार्फत आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ क्षेत्रलाई अघि बढाउने लक्ष्य राखिएको छ । चिनियाँ राष्ट्रपति जिनपिङले आफ्नो सम्बोधनमा कुल पाँचवटा पहलको उल्लेख गरेका छन् । त्यसमध्ये खुला स्रोत र समावेशी कृत्रिम बाैद्धिकता (एआई) पहल पनि रहेको छ । यसअन्तर्गत चीनले ब्रिक्स एआई खुला स्रोत समुदाय स्थापना गर्न अग्रणी भूमिका खेल्नेछ । डिजिटल क्षेत्रमा चीनले ब्रिक्स डिजिटल इकोसिस्टम क्लाउड प्लेटफर्म स्थापना गर्ने प्रस्ताव अघि सारेको छ । त्यस्तै, विनिर्माण क्षेत्रमा चीनले स्मार्ट उत्पादन सहकार्यको प्रस्ताव गरेको छ । यसअन्तर्गत ब्रिक्स सदस्य राष्ट्रलाई स्मार्ट कारखाना निर्माण गर्न तथा यस क्षेत्रका मापदण्ड निर्धारण गर्न चीनले सहयोग गर्नेछ । विज्ञान तथा प्रविधिको क्षेत्रमा चीनले ब्रिक्स इन्जिनियर गठबन्धन स्थापना गर्नुका साथै युवाका लागि नवप्रवर्तन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यसको उद्देश्य दक्ष तथा प्रतिभाशाली जनशक्ति तयार गर्नु रहेको बताइएको छ ।

भवन पुनःस्थापना तथा पुनःनिर्माण गर्न ९५ अर्ब ८२ करोड आवश्यक पर्ने

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त निजी भवनको पुनःस्थापना तथा पुनःनिर्माणका लागि ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन’ (आरडीएनए) ले बाढीबाट पाँच जिल्लाका ७ हजार ५७० निजी भवनमा क्षति पुगेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुगेको थियो । रसुवागढीनजिक लेहन्दे खोला जलाधार क्षेत्रमा बरफ र चट्टानसहितको हिमपहिरोबाट सिर्जित ‘डेब्रिस फ्लो’ भोटेकोसी नदीमा मिसिएपछि आएको बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको थियो । प्रतिवेदनअनुसार बाढीबाट ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ मानिस विस्थापित भएका छन् । निजी भवनतर्फ सबैभन्दा बढी क्षति नुवाकोटमा भएको छ । त्यहाँ ३ हजार ९७७ निजी भवनमा क्षति पुगेको छ । त्यस्तै, रसुवामा १ हजार ७७९, धादिङमा १ हजार ४५१, गोरखामा २६३ र चितवनमा १०० निजी भवनमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहमध्ये सबैभन्दा बढी क्षति नुवाकोटको विदुर नगरपालिकामा भएको छ । विदुरमा मात्रै ३ हजार २६ भवनमा क्षति पुगेको छ । त्यसपछि रसुवाको गोसाईंकुण्डमा १ हजार ४३ र धादिङको बेनिघाट रोराङ गाउँपालिकामा १ हजार ३७ भवन क्षतिग्रस्त भएका छन् । वडागत रूपमा भने नुवाकोटको किस्पाङ गाउँपालिकाका पाँचवटै वडा बढी प्रभावित भएका छन् । ती वडामा ६९६ भवनमा क्षति पुगेको छ । त्यसपछि रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा ५७१ र धादिङको बेनिघाट रोराङ–३ मा ५५३ भवनमा क्षति भएको प्रतिवेदनले जनाएको छ । तर, क्षतिग्रस्तमध्ये कुन भवन मर्मत गर्न मिल्ने, कुन पुनर्निर्माण गर्नुपर्ने र कुन जोखिमका कारण स्थानान्तरण गर्नुपर्ने हो भन्ने यकिन हुन थप निरीक्षण तथा घरधुरी प्रमाणीकरण आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार निजी भवन तथा घरायसी सम्पत्तिमा मात्रै ६३ अर्ब ८ करोड ४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । यसमध्ये भवन संरचनातर्फ ३८ अर्ब ९३ करोड ३८ लाख र घरायसी सम्पत्तितर्फ २४ अर्ब ९५ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ । क्षतिग्रस्त निजी भवनको पुनःस्थापना तथा पुनःनिर्माणका लागि प्रारम्भिक र दीर्घकालीन दुवै काम समेटेर ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।  यसअन्तर्गत भग्नावशेष हटाउने, अस्थायी आवास तथा खानेपानी र सरसफाइको व्यवस्था गर्ने, भवनको विस्तृत मूल्यांकन गर्ने, घर मर्मत तथा पुनःनिर्माण गर्ने र आवश्यक घरायसी सम्पत्ति पुनःस्थापना गर्ने काम समेटिएका छन् । यद्यपि भवनको वास्तविक क्षेत्रफल, संरचनाको अवस्था र घरायसी सम्पत्तिमा भएको वास्तविक क्षतिको थप विस्तृत अध्ययनपछि पुनर्निर्माण लागतमा परिवर्तन हुन सक्ने प्रतिवेदनले जनाएको छ । समग्रमा भोटेकोसी–त्रिशूली–नारायणी बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको भौतिक क्षति तथा आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।  उक्त क्षेत्रमा पुनःस्थापना, पुन:निर्माण तथा जोखिम न्यूनीकरणका लागि भने ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ ।

तीजमा बिहान ३ बजेदेखि पशुपतिका चारै ढोका खुल्ने

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ ।  सोमबार (भदौ २९) गते परेको तीजका दिन ठूलो संख्यामा दर्शनार्थी आउने अपेक्षासहित पशुपति क्षेत्र विकास कोषले विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाएको हो । कोषका अनुसार दर्शनार्थीको सहज व्यवस्थापनका लागि मन्दिर बाहिर पाँचवटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि आठवटा लाइन सञ्चालन गरिनेछ । भीड व्यवस्थापन र दर्शनार्थीलाई व्यवस्थित रूपमा मन्दिर प्रवेश गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । तीजमा पशुपतिनाथको दर्शनका लागि महिला भक्तजनको संख्या उल्लेख्य हुने भएकाले महिला सुरक्षाकर्मीको समेत पर्याप्त परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षाकर्मीको संख्या बढाउन आग्रह गरिएको कोषले जनाएको छ । दर्शनार्थीको भीडसँगै सवारी साधनको चापसमेत बढ्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि छुट्टै योजना बनाइएको छ ।  विशिष्ट व्यक्तिका सवारी साधन पार्किङका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । अन्य निजी तथा सार्वजनिक सवारी साधनका लागि भने भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा तथा उमाकुण्ड पार्किङस्थल तोकिएको छ । तीजका दिन पशुपति क्षेत्रमा आउने भक्तजनको चापलाई ध्यानमा राख्दै कोषले दर्शनार्थीलाई निर्धारित मार्ग तथा पार्किङस्थल प्रयोग गर्न आग्रह गरेको छ ।  भीड व्यवस्थापन, सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई समन्वयात्मक रूपमा अघि बढाइने कोषले जनाएको छ ।

साउदीको सैन्य अखडामाथि ठूलो हमला गरेको हूतीको दाबी

काठमाडौं । यमनका हूती विद्रोहीहरूले दक्षिणी साउदी अरबमा रहेको एक सैन्य अखडालाई ब्यालिस्टिक मिसाइल र ड्रोनबाट निशाना बनाएको दाबी गरेका छन् । बीबीसी फारसीका अनुसार हूतीका सैन्य प्रवक्ता याह्या सरीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।  याह्या सरीका अनुसार दक्षिणी साउदी अरबस्थित शरूरा सैन्य अखडालाई लक्षित गरी हमला गरिएको हो ।  उनका अनुसार हमलामा साउदी अरबका हतियार भण्डार तथा कमान्ड एन्ड कन्ट्रोल केन्द्रहरूलाई निशाना बनाइएको थियो । यद्यपि, हूती प्रवक्ताले हमला कहिले गरिएको हो भन्नेबारे स्पष्ट जानकारी दिएका छैनन् । उनले साउदी अरबलाई चेतावनी दिँदै यमनविरुद्ध सैन्य कारबाही जारी राखिए हूतीले साउदी भूभागभित्रै ठूला हमला गर्न सक्ने बताएका छन् । यसैबीच, एक्सियोसको एक रिपोर्टमा साउदी युवराजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हूती विद्रोहीविरुद्ध सैन्य कारबाही गर्न आग्रह गरेको दाबी गरिएको छ । तर, रिपोर्टका अनुसार ट्रम्पले उक्त आग्रह अस्वीकार गरेका थिए ।

बीमा सर्भेयर संघका महासचिव भट्ट निलम्बित, ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा सर्भेयर संघ (निसा) का महासचिव नविन भट्टलाई निलम्बनमा परेका छन् । संघको निर्णयविपरीत गतिविधि गरेको भन्दै उनलाई निलम्बन गरेको संघले जनाएको छ । भट्टलाई ३ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । भट्टलाई पत्र पठाउँदै सभापतिलाई जानकारी नदिई संघको मूल्य, मान्यता र विधानविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका हुन् ।  संघको पछिल्लो कार्यसमिति बैठकमा भएका निर्णय तथा यसअघिको बैठकले महासचिवलाई दिएको जिम्मेवारीविपरीतका गतिविधि भएको पत्रमा उल्लेख छ । संघको विधानको दफा १२(क) उल्लङ्घन भएको उल्लेख गर्दै त्यस्तो गतिविधि कसको प्रभाव वा दबाबमा र कसरी भएको हो भन्ने विषयमा स्पष्ट पार्न पत्रमा भनिएको छ ।

‘विधानले नदिएको अधिकार प्रयोग गरेर निलम्बन गरियो’ : कोइराला

काठमाडौं । नेपाल बीमा सर्भेयर संघबाट निलम्बित भएपछि कोइरालाले आफूलाई संघको विधानविपरीत निलम्बन गरिएकोले त्यसको कुनै अर्थ नरहने बताएका छन् ।  उनका अनुसार बीमक संघलगायत केही व्यक्तिको मिलेमतोमा आफूलाई निलम्बन गरिएको हो ।  ‘विधानअनुसार त्यसरी निलम्बन गर्न पाइँदैन, बीमक संघलगायत दुई–चार जनाको मिलेमतोमा यस्तो भएको हो,’ उनले भने ।  बजारमा आफूविरुद्ध हल्ला फैलाउने काम भइरहेको बताउँदै कोइरालाले संघको हकहितका लागि आवाज उठाउँदा उल्टै निलम्बनमा परेको बताए ।  उनका अनुसार संघभित्र दुई-चार जनाबाहेक अधिकांश सदस्य आफूले उठाएका विषयमा सकारात्मक छन् । ‘मेरो धारणा सबै सर्भेयरलाई काम दिनुपर्छ र विदेशी सर्भेयरलाई ८० प्रतिशतसम्म लगानी गर्न दिनुहुँदैन भन्ने हो, यही विषयमा कसैलाई चित्त बुझेन,’ उनले भने । संघले विधान, २०५९ को दफा ७(क) र ७(ग) बमोजिम कोइरालाको साधारण सदस्यता तत्काल प्रभावकारी हुने गरी र सभापति पदबाट समेत अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको जनाएकाे छ । संघका अनुसार संघका सदस्य, सर्भेयर, बीमा कम्पनी तथा अन्य सरोकारवालाबाट प्राप्त लिखित तथा मौखिक गुनासामाथि छलफल गर्दै कोइरालाई सभापतिबाट निलम्बन गर्ने निर्णय गरेको हाे ।  संघले उठेका विषयहरू प्रारम्भिक रूपमा हेर्दा संस्थागत सुशासन, विधानको पालना तथा पेशागत प्रतिष्ठासँग प्रत्यक्ष सम्बन्धित देखिएकाले निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जनाएको छ । संघमा उठेका विषयमा निष्पक्ष छानबिनका लागि सचिव लोचन केन्द्र देवकोटाको संयोजकत्वमा तीन सदस्यीय स्वतन्त्र छानबिन समितिसमेत गठन गरिएको छ । समितिले सम्बन्धित पक्षसँग लिखित स्पष्टीकरण माग गर्ने, सफाइको पूर्ण अवसर दिने तथा आवश्यक प्रमाण संकलन गरी एक महिनाभित्र कार्यसमितिसमक्ष प्रतिवेदन पेस गर्ने जनाइएको छ ।  प्रतिवेदन प्राप्त भएपछि कार्यसमितिले विधानबमोजिम अन्तिम निर्णय गरिनेछ ।  आरोप पुष्टि नभएको ठहर भएमा निलम्बन स्वतः फुकुवा हुने व्यवस्था छ ।

विश्वमा बढ्दो तनावले आम मानिसको जीवन प्रभावित भइरहेको छ : मोदी

काठमाडौं । ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथका देशहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको बताएका छन् ।  ब्रिक्समा उनीहरूको आवाज सुनिने र अनुभवलाई महत्त्व दिइने भएकाले विश्वास बढेको उनको भनाइ छ । प्रधानमन्त्री मोदीले आइतबार भने, ‘म आफ्नै अनुभवका आधारमा भन्न सक्छु कि ब्रिक्समा ग्लोबल साउथका देशहरूको विश्वास बढेको छ। किनकि ब्रिक्समा उनीहरूको आवाज सुनिन्छ, उनीहरूको अनुभवको सम्मान गरिन्छ र समाधान उनीहरूका लागि मात्र नभई उनीहरूसँग मिलेर तयार गरिन्छ ।’ मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताए । महामारी, जलवायुजन्य विपद् र आपूर्ति शृंखलामा आएको अवरोधले विश्वका देशहरू एकअर्कासँग कति जोडिएका छन् भन्ने देखाएको उनको भनाइ थियो ।  उनका अनुसार कुनै एक स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित गर्न सक्छ । यही सोचका साथ संक्रामक रोग फैलिनबाट रोक्न र त्यसको सामना गर्न ‘ब्रिक्स एकीकृत प्रारम्भिक चेतावनी प्रणाली’ निर्माण गर्ने सहमति भएको उनले जानकारी दिए ।  साथै विपद् व्यवस्थापनका लागि प्रारम्भिक चेतावनी तथ्यांक एकीकरणसम्बन्धी मार्गनिर्देशन समेत तयार गरिएको उनले बताए । शिखर सम्मेलनको दोस्रो दिन नयाँदिल्लीस्थित भारत मण्डपमा सदस्य राष्ट्रका नेताहरूको सामूहिक तस्बिर खिचिएको थियो । सो क्रममा प्रधानमन्त्री मोदीको एकातर्फ चीनका राष्ट्रपति सी जिनपिङ र अर्कोतर्फ रुसका राष्ट्रपति भ्लादिमिर पुटिन देखिएका थिए ।

रिबाकिनाले जितिन् पहिलोपटक यूएस ओपन, बनिन् विश्व नम्बर–१

काठमाडौं । कजाकिस्तानकी एलेना रिबाकिनाले पहिलोपटक यूएस ओपन महिला एकलको उपाधि जितेकी छन् । न्युयोर्कमा भएको रोमाञ्चक फाइनलमा रिबाकिनाले बेलारुसकी आर्यना सबालेन्कालाई ६–४, ५–७, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरेकी हुन् । यससँगै रिबाकिनाको नाममा तीनवटा महिला एकल ग्रान्डस्लाम उपाधि पुगेको छ। उनी सोमबार आधिकारिक रूपमा विश्व नम्बर–१ महिला टेनिस खेलाडी बन्नेछिन् । रिबाकिनाले यसअघि २०२२ मा विम्बल्डन र २०२६ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। अस्ट्रेलियन ओपनको फाइनलमा पनि उनले सबालेन्कालाई नै पराजित गरेकी थिइन् । यूएस ओपनको उपाधि जितेसँगै रिबाकिनालाई अब करिअर ग्रान्डस्लाम पूरा गर्न फ्रेन्च ओपनको उपाधि जित्न मात्र बाँकी छ ।