रसियन हाउसमा २८ नेपाली कलाकारका चित्रकला प्रदर्शनी

काठमाडौं । नेपाली कलाकारका विविध सिर्जना समेटिएको सामूहिक चित्रकला प्रदर्शनी काठमाडौंस्थित रसियन हाउसमा सुरु भएको छ ।

रसियन हाउस, काठमाडौंको प्रस्तुतिमा नेपाल–रसिया आर्ट क्लब र सुषमा आर्ट ग्यालरीको संयुक्त आयोजनामा भएको प्रदर्शनीको उद्घाटन सांसद तथा पूर्वमन्त्री पद्मा अर्यालले गरिन् ।

उद्घाटन कार्यक्रममा रसियन हाउसकी निर्देशक अनासातासिया खोख्लोभा, नेपाल–रसिया आर्ट क्लबकी अध्यक्ष सुषमा राजभण्डारी, नेपाल–रसिया फ्रेन्डसिप तथा कल्चरलका महासचिव स्वराज शाक्य, कलाकार शिवजी यादव, दिवस अमात्यलगायत वरिष्ठ कलाकार, कलाकार, पत्रकार तथा व्यक्तिहरूको उपस्थिति थियो । 
कार्यक्रम प्राज्ञ, गायक तथा संगीतकार माधव प्रधानले सञ्चालन गरेका थिए ।

कार्यक्रममा रसियन हाउसकी निर्देशक खोख्लोभाले उपस्थित अतिथिलाई खादा लगाएर स्वागत गरेकी थिइन् भने नेपाल–रसिया आर्ट क्लबका सचिव मदन श्रेष्ठले अतिथि तथा कलाकारहरूलाई स्वागत गरेका थिए । प्राज्ञ धर्मराज शाक्यले प्रदर्शनीमा राखिएका कलाकृतिबारे समीक्षा गरेका थिए ।

निर्देशक खोख्लोभाले नेपाली कलाकारहरूको सामूहिक चित्रकला प्रदर्शनी आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल–रसिया आर्ट क्लबसँग सहकार्य गरेर नेपाल र रसियाका कलाकारहरूको संयुक्त चित्रकला प्रदर्शनी आयोजना गर्ने जानकारी दिइन् ।

प्रमुख अतिथि पद्मा अर्यालले नेपाली कलाकारहरूको सामूहिक चित्रकला प्रदर्शनी उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउँदै प्रदर्शनीमा राखिएका चित्रहरू हेर्दा आफूले नौलो अनुभव प्राप्त गरेको बताइन् ।

नेपाल–रसिया आर्ट क्लबकी अध्यक्ष सुषमा राजभण्डारीले प्रदर्शनीमा सहभागी कलाकार तथा उपस्थित सबैलाई धन्यवाद दिँदै क्लबले आगामी दिनमा पनि नियमित रूपमा कला प्रदर्शनी आयोजना गर्दै जाने बताइन् । उनले प्रदर्शनीमा धेरैभन्दा धेरै महिला कलाकारका कलाकृति समेट्न पाएकोमा खुसी व्यक्त गरिन् ।

कार्यक्रमका क्रममा नेपाल–रसिया आर्ट क्लबका नयाँ सल्लाहकार तथा पदाधिकारीहरूको समेत घोषणा गरिएको थियो ।

प्रदर्शनीमा प्राज्ञ विजय थापा, प्राज्ञ चन्दा श्रेष्ठ, जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, गजेन्द्रमान श्रेष्ठ, प्राज्ञ सुषमा राजभण्डारी, विजयराज शाक्य, राजाबाबु शाक्य, प्राज्ञ धर्मराज शाक्य, प्राज्ञ धनु याक्खा, प्राज्ञ उमेश श्रेष्ठ, पुरुषोत्तम मानन्धर, दीपाञ्जली प्रधान, रेनुका महर्जन, ज्योति खड्का, सजनी श्रेष्ठ, उमा श्रेष्ठ, सुनेना ठाकुर, सरुनादेवी महर्जन, प्रविण श्रेष्ठ, मदन श्रेष्ठ, राखी कर्न, हेमा दास, जेम्स महर्जन, विनोद गिरी, सुमित्रा थुस, कृपा जोशी र हरिराम चौधरी गरी २८ जना कलाकारका चित्रहरू राखिएका छन् ।

Share News