बीमा सर्भेयर संघका महासचिव भट्ट निलम्बित, ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा सर्भेयर संघ (निसा) का महासचिव नविन भट्टलाई निलम्बनमा परेका छन् । संघको निर्णयविपरीत गतिविधि गरेको भन्दै उनलाई निलम्बन गरेको संघले जनाएको छ । भट्टलाई ३ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । भट्टलाई पत्र पठाउँदै सभापतिलाई जानकारी नदिई संघको मूल्य, मान्यता र विधानविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका हुन् । संघको पछिल्लो कार्यसमिति बैठकमा भएका निर्णय तथा यसअघिको बैठकले महासचिवलाई दिएको जिम्मेवारीविपरीतका गतिविधि भएको पत्रमा उल्लेख छ । संघको विधानको दफा १२(क) उल्लङ्घन भएको उल्लेख गर्दै त्यस्तो गतिविधि कसको प्रभाव वा दबाबमा र कसरी भएको हो भन्ने विषयमा स्पष्ट पार्न पत्रमा भनिएको छ ।
‘विधानले नदिएको अधिकार प्रयोग गरेर निलम्बन गरियो’ : कोइराला
काठमाडौं । नेपाल बीमा सर्भेयर संघबाट निलम्बित भएपछि कोइरालाले आफूलाई संघको विधानविपरीत निलम्बन गरिएकोले त्यसको कुनै अर्थ नरहने बताएका छन् । उनका अनुसार बीमक संघलगायत केही व्यक्तिको मिलेमतोमा आफूलाई निलम्बन गरिएको हो । ‘विधानअनुसार त्यसरी निलम्बन गर्न पाइँदैन, बीमक संघलगायत दुई–चार जनाको मिलेमतोमा यस्तो भएको हो,’ उनले भने । बजारमा आफूविरुद्ध हल्ला फैलाउने काम भइरहेको बताउँदै कोइरालाले संघको हकहितका लागि आवाज उठाउँदा उल्टै निलम्बनमा परेको बताए । उनका अनुसार संघभित्र दुई-चार जनाबाहेक अधिकांश सदस्य आफूले उठाएका विषयमा सकारात्मक छन् । ‘मेरो धारणा सबै सर्भेयरलाई काम दिनुपर्छ र विदेशी सर्भेयरलाई ८० प्रतिशतसम्म लगानी गर्न दिनुहुँदैन भन्ने हो, यही विषयमा कसैलाई चित्त बुझेन,’ उनले भने । संघले विधान, २०५९ को दफा ७(क) र ७(ग) बमोजिम कोइरालाको साधारण सदस्यता तत्काल प्रभावकारी हुने गरी र सभापति पदबाट समेत अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको जनाएकाे छ । संघका अनुसार संघका सदस्य, सर्भेयर, बीमा कम्पनी तथा अन्य सरोकारवालाबाट प्राप्त लिखित तथा मौखिक गुनासामाथि छलफल गर्दै कोइरालाई सभापतिबाट निलम्बन गर्ने निर्णय गरेको हाे । संघले उठेका विषयहरू प्रारम्भिक रूपमा हेर्दा संस्थागत सुशासन, विधानको पालना तथा पेशागत प्रतिष्ठासँग प्रत्यक्ष सम्बन्धित देखिएकाले निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जनाएको छ । संघमा उठेका विषयमा निष्पक्ष छानबिनका लागि सचिव लोचन केन्द्र देवकोटाको संयोजकत्वमा तीन सदस्यीय स्वतन्त्र छानबिन समितिसमेत गठन गरिएको छ । समितिले सम्बन्धित पक्षसँग लिखित स्पष्टीकरण माग गर्ने, सफाइको पूर्ण अवसर दिने तथा आवश्यक प्रमाण संकलन गरी एक महिनाभित्र कार्यसमितिसमक्ष प्रतिवेदन पेस गर्ने जनाइएको छ । प्रतिवेदन प्राप्त भएपछि कार्यसमितिले विधानबमोजिम अन्तिम निर्णय गरिनेछ । आरोप पुष्टि नभएको ठहर भएमा निलम्बन स्वतः फुकुवा हुने व्यवस्था छ ।
विश्वमा बढ्दो तनावले आम मानिसको जीवन प्रभावित भइरहेको छ : मोदी
काठमाडौं । ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथका देशहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको बताएका छन् । ब्रिक्समा उनीहरूको आवाज सुनिने र अनुभवलाई महत्त्व दिइने भएकाले विश्वास बढेको उनको भनाइ छ । प्रधानमन्त्री मोदीले आइतबार भने, ‘म आफ्नै अनुभवका आधारमा भन्न सक्छु कि ब्रिक्समा ग्लोबल साउथका देशहरूको विश्वास बढेको छ। किनकि ब्रिक्समा उनीहरूको आवाज सुनिन्छ, उनीहरूको अनुभवको सम्मान गरिन्छ र समाधान उनीहरूका लागि मात्र नभई उनीहरूसँग मिलेर तयार गरिन्छ ।’ मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताए । महामारी, जलवायुजन्य विपद् र आपूर्ति शृंखलामा आएको अवरोधले विश्वका देशहरू एकअर्कासँग कति जोडिएका छन् भन्ने देखाएको उनको भनाइ थियो । उनका अनुसार कुनै एक स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित गर्न सक्छ । यही सोचका साथ संक्रामक रोग फैलिनबाट रोक्न र त्यसको सामना गर्न ‘ब्रिक्स एकीकृत प्रारम्भिक चेतावनी प्रणाली’ निर्माण गर्ने सहमति भएको उनले जानकारी दिए । साथै विपद् व्यवस्थापनका लागि प्रारम्भिक चेतावनी तथ्यांक एकीकरणसम्बन्धी मार्गनिर्देशन समेत तयार गरिएको उनले बताए । शिखर सम्मेलनको दोस्रो दिन नयाँदिल्लीस्थित भारत मण्डपमा सदस्य राष्ट्रका नेताहरूको सामूहिक तस्बिर खिचिएको थियो । सो क्रममा प्रधानमन्त्री मोदीको एकातर्फ चीनका राष्ट्रपति सी जिनपिङ र अर्कोतर्फ रुसका राष्ट्रपति भ्लादिमिर पुटिन देखिएका थिए ।
रिबाकिनाले जितिन् पहिलोपटक यूएस ओपन, बनिन् विश्व नम्बर–१
काठमाडौं । कजाकिस्तानकी एलेना रिबाकिनाले पहिलोपटक यूएस ओपन महिला एकलको उपाधि जितेकी छन् । न्युयोर्कमा भएको रोमाञ्चक फाइनलमा रिबाकिनाले बेलारुसकी आर्यना सबालेन्कालाई ६–४, ५–७, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरेकी हुन् । यससँगै रिबाकिनाको नाममा तीनवटा महिला एकल ग्रान्डस्लाम उपाधि पुगेको छ। उनी सोमबार आधिकारिक रूपमा विश्व नम्बर–१ महिला टेनिस खेलाडी बन्नेछिन् । रिबाकिनाले यसअघि २०२२ मा विम्बल्डन र २०२६ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। अस्ट्रेलियन ओपनको फाइनलमा पनि उनले सबालेन्कालाई नै पराजित गरेकी थिइन् । यूएस ओपनको उपाधि जितेसँगै रिबाकिनालाई अब करिअर ग्रान्डस्लाम पूरा गर्न फ्रेन्च ओपनको उपाधि जित्न मात्र बाँकी छ ।
किन निलम्बनमा परे बीमा सर्भेयर संघका सभापति कोइराला ?
काठमाडौं । नेपाल बीमा सर्भेयर संघले संघका सभापति ऋषि कोइरालालाई निलम्बन गरेको छ । संघका अनुसार संघका सदस्य, सर्भेयर, बीमा कम्पनी तथा अन्य सरोकारवालाबाट प्राप्त लिखित तथा मौखिक गुनासामाथि छलफल गर्दै कोइरालाई सभापतिबाट निलम्बन गर्ने निर्णय गरेको हो । संघले विधान, २०५९ को दफा ७(क) र ७(ग) बमोजिम कोइरालाको साधारण सदस्यता तत्काल प्रभावकारी हुने गरी र सभापति पदबाट समेत अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको जनाएको छ । संघले उठेका विषयहरू प्रारम्भिक रूपमा हेर्दा संस्थागत सुशासन, विधानको पालना तथा पेशागत प्रतिष्ठासँग प्रत्यक्ष सम्बन्धित देखिएकाले निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको जनाएको छ । संघका अनुसार निलम्बन अवधिभर कोइरालाले संघको सभापति वा सदस्यको हैसियतमा कुनै पनि निर्णय, पत्राचार, प्रतिनिधित्व वा सार्वजनिक अभिव्यक्ति गर्न पाउने छैनन् । संघबाट निलम्बित भएपछि कोइरालाले आफूलाई संघको विधानविपरीत निलम्बन गरिएको दाबी गर्दै त्यसको कुनै अर्थ नरहने बताएका छन् । उनका अनुसार बीमक संघलगायत केही व्यक्तिको मिलेमतोमा आफूलाई निलम्बन गरिएको हो । ‘विधानअनुसार त्यसरी निलम्बन गर्न पाइँदैन। बीमक संघलगायत दुई-चार जनाको मिलेमतोमा यस्तो भएको हो,’ उनले भने । बजारमा आफूविरुद्ध हल्ला फैलाउने काम भइरहेको बताउँदै कोइरालाले संघको हकहितका लागि आवाज उठाउँदा उल्टै निलम्बनमा परेको बताए । उनका अनुसार संघभित्र दुई-चार जनाबाहेक अधिकांश सदस्य आफूले उठाएका विषयमा सकारात्मक छन् । ‘मेरो धारणा सबै सर्भेयरलाई काम दिनुपर्छ र विदेशी सर्भेयरलाई ८० प्रतिशतसम्म लगानी गर्न दिनुहुँदैन भन्ने हो, यही विषयमा कसैलाई चित्त बुझेन,’ उनले भने । संघमा उठेका विषयमा निष्पक्ष छानबिनका लागि सचिव लोचन केन्द्र देवकोटाको संयोजकत्वमा तीन सदस्यीय स्वतन्त्र छानबिन समितिसमेत गठन गरिएको छ । समितिले सम्बन्धित पक्षसँग लिखित स्पष्टीकरण माग गर्ने, सफाइको पूर्ण अवसर दिने तथा आवश्यक प्रमाण संकलन गरी एक महिनाभित्र कार्यसमितिसमक्ष प्रतिवेदन पेस गर्ने जनाइएकाे छ । प्रतिवेदन प्राप्त भएपछि कार्यसमितिले विधानबमोजिम अन्तिम निर्णय गरिनेछ । आरोप पुष्टि नभएको ठहर भएमा निलम्बन स्वतः फुकुवा हुने व्यवस्था छ । संघले यो निलम्बनलाई कुनै पनि आरोप पूर्वनिर्णीत भएको अर्थमा नलिन स्पष्ट पारेको छ । निष्पक्ष र प्रभावकारी छानबिन सुनिश्चित गर्न गरिएको प्रक्रियागत व्यवस्था मात्रै भएको संघले जनाएको छ । सघले संघ-संस्थागत सुशासन, पारदर्शिता, सामूहिक निर्णय प्रणाली तथा सर्भेयर पेशाको मर्यादाप्रति प्रतिबद्ध रहेको जनाउँदै सम्पूर्ण सदस्य, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, बीमा कम्पनीहरू तथा सरोकारवाला निकायहरूलाई छानबिन प्रक्रियामा सहयोग गरिदिन र आधिकारिक सूचनाबाहेकका विषयमा भ्रमित नहुन आग्रहसमेत गरेको छ ।
महानगरले ‘रिचार्ज काठमाडौं’ अभियान चलाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । वर्षाको पानी सङ्कलन गरी जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् । आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औं वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् । उनका अनुसार सहरी बाढीको समस्या समाधानका लागि महानगरपालिकाले अध्ययनसमेत गरिरहेको छ । डंगोलले विगतमा सहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने बताइन् । करिब तीन दशकअघि सुरु भएका सहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उनको भनाइ छ । काठमाडौंमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिए । अहिले गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्नुपर्ने भन्दै उनले ‘रिचार्ज काठमाडौँ’ अभियान अघि बढाउन लागिएको बताइन् । ड्रगोलले मध्यरातमा समेत नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरू सम्भावित विपद्का बेला फिल्डमा जानुपर्ने भएकाले स्ट्यान्डबाइमा बस्नुपर्ने अवस्था रहेको बताइन् । अभियानमार्फत वर्षाको पानी सङ्कलन गर्ने, जमिनमा पुनर्भरण गर्ने र पानीको उचित व्यवस्थापन गर्ने कामलाई प्राथमिकता दिइने महानगरपालिकाले जनाएको छ । डंगोलले सहरी बाढीको समस्या समाधानका लागि दीर्घकालीन उपायबारे अध्ययन भइरहेको र अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने पनि बताइन् । पछिल्लो समय वर्षा भएपछि काठमाडौंमा बाढीको जोखिम बढ्दै गएको भन्दै उनले विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
लिङ्देनको दावी– देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेन–जी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताएका छन् । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै उनले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरेका हुन् । आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताए । उनले जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको दाबी गरे । उनले भने, ‘जुन विद्रोह भएको थियो, जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न सकेको देखिँदैन । बरु देशमा आशा जाग्नुको सट्टा अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको अवस्था छ । राजनीतिक तरलता र अनिश्चय झन् बढ्दै गएको छ ।’ उनका अनुसार जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा देश अघि बढ्न नसक्दा विद्रोहपछि पनि अपेक्षित परिवर्तनको अनुभूति हुन सकेको छैन ।
गुणस्तरहीन सेपोक्स एन्टिबायोटिक औषधि बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं–औषधी व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको पाइएपछि लोमस औषधी उद्योगले उत्पादन गरेको ‘सेपोक्स २००’ नामक एन्टिबायोटिक औषधि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त औषधीको नमुना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर मापदण्डभन्दा न्यून रहेको पाइएको हो । ‘सेपोक्स २००’ (सेफपोडोक्सिम प्रोक्सेटिल २०० मिलिग्राम) को ब्याच नम्बर सीईटी ३.०८२५ परीक्षणका क्रममा युएसपी–२०२६ मा उल्लेख गरिएको घुलन परीक्षण मापदण्ड पूरा गर्न नसकेको पाइएको छ । विभागले औषधी ऐन, २०३५ को दफा १४ बमोजिम उक्त खेप नम्बर को औषधिको बिक्री–वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको जनाएको छ । उक्त औषधीको उत्पादन मिति २०२५ डिसेम्बर र म्याद सकिने मिति २०२७ नोभेम्बर रहेको छ । विभागले स्वास्थ्य संस्था, औषधि व्यवसायी तथा सर्वसाधारणलाई उक्त खेप नम्बरको औषधि बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ । साथै बजारमा रहेको मौज्दात तत्काल फिर्ता गरी विभागमा विवरण पेस गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।