आज हरितालिका तीज आज मनाइँदै, देशभरका शिवालयमा भीड
काठमाडौं । आज (भदौ २९ गते सोमबार) नेपाली हिन्दू महिलाले महत्त्वपूर्ण पर्व हरितालिका तीज मनाउँदैछन् । यस अवसरमा महिलाहरूले महादेवको पूजाआराधना गरी व्रत बस्ने तथा शिव-पार्वतीको पूजा गर्ने परम्परा छ । हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाइन्छ । विशेषगरी भगवान् शिवलाई प्रसन्न पार्ने उद्देश्यले व्रत बस्ने र पार्वतीसहित शिवको पूजाआराधना गर्ने धार्मिक परम्परा रहेको छ । शिवपुराणमा उल्लेख भएअनुसार अनादिकालमा हिमालय पर्वतकी पुत्री पार्वती (आदिशक्ति) ले महादेवलाई पति रूपमा प्राप्त गर्न व्रत र तपस्या गरेकी थिइन् । उनका पिता हिमालयले पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने तयारी गरेपछि उनले आफूले मन पराएको वर प्राप्त गर्न शिवजीको तपस्या गरेकी थिइन् । पार्वतीले शिवलिङ्ग स्थापना गरी व्रत बसेर पूजाआराधना गरेपछि उनको मनोकामना पूरा भएको र सोही व्रतको प्रभावले शिव-पार्वतीको विवाह भएको धार्मिक ग्रन्थमा उल्लेख छ । यही धार्मिक मान्यताका आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ । तीजका दिन महिलाहरूले आफ्नो स्वास्थ्य अवस्थाअनुसार निराहार, जलाहार, फलाहार वा एकछाक खाएर व्रत बस्ने चलन छ । अत्यन्त अशक्त अवस्थामा भने भोजन गरेरै पनि व्रत बस्ने गरिन्छ । अविवाहित महिलाले सुयोग्य वर प्राप्त होस्, विवाहितले पार्वतीले जस्तै पतिबाट माया र दाम्पत्य सुख प्राप्त होस् तथा विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति प्राप्त गरून् भन्ने कामनासहित व्रत बस्ने धार्मिक विश्वास छ । व्रतको अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका दिन राति ११ बजेसम्म दर खाने परम्परा छ । यस अवसरमा माइतीले चेलीलाई, दिदीले बहिनीलाई तथा मावलीले चेलीभान्जीलाई बोलाएर दर खुवाउने चलन छ । भोलिपल्ट व्रत बस्न आवश्यक शक्ति प्राप्त होस् भन्ने उद्देश्यले पौष्टिक तथा स्वादिष्ट परिकार खाने गरिन्छ । तीजका अवसरमा महिलाहरू माइत जाने, साथीसँगी तथा आफन्तसँग भेटघाट गर्ने, नाचगान, भजनकीर्तन तथा जमघट गर्ने गर्छन् । यस क्रममा वर्षभर आफूले भोगेका दुःख, पीर र मर्का आपसमा साटासाट गर्ने भएकाले तीजलाई महिलामैत्री पर्वका रूपमा पनि लिइन्छ । पछिल्लो समय हिन्दू धर्मावलम्बीबाहेक अन्य धर्म तथा जातजातिका महिलाले समेत तीज हर्षोल्लासका साथ मनाउन थालेका छन् । तीजका दिन महिलाहरू दिनभर शिवालय पुगेर शिवजीको दर्शन तथा पूजाआराधना गर्ने, भजनकीर्तन गर्ने तथा नाचगानमा सहभागी हुने गर्छन् । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा तीजका अवसरमा ठूलो संख्यामा व्रतालु तथा श्रद्धालुको भीड लाग्ने गरेको छ ।
मुख्य राजमार्ग अवरुद्ध भए पनि ग्यास आपूर्ति सहज, २८ दिनमा ५२ हजार टनभन्दा बढी आयात
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोका कारण मुख्य सडक अवरुद्ध भए तापनि नेपाल आयल निगमले वैकल्पिक मार्गमार्फत काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाएको छ । निगमका अनुसार पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन (३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर) एलपी ग्यास नेपाल भित्रिएको छ । साथै, इण्डियन आयल कर्पोरेशन (आइओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० सम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिए । नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ । मुख्य राजमार्ग ठप्प भएपछि निगमले भदौ १४ गतेदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका उद्योगका सिलिन्डर तराईका विभिन्न जिल्ला (बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी) मा भरेर त्रिभुवन राजपथ र बिपी राजमार्गमार्फत काठमाडौं भित्र्याउने व्यवस्था मिलाएको छ । यसैक्रममा भदौ १८ देखि २७ गतेसम्ममा करिब ३ लाख ९९ हजार ५२९ सिलिन्डर वितरण गरिसकिएको छ भने पछिल्लो १० दिनमा दैनिक औसत ४० हजार सिलिन्डर उपत्यकामा बिक्री भइरहेको छ । मुख्य सडक सुचारु भएपछि आपूर्ति झनै सहज हुने निगमले जनाएको छ । आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको छ भने बिक्री वितरणलाई पारदर्शी बनाउन अनलाइन ट्रयाकिङ प्रणाली विकासको पहल भइरहेको छ । बजारमा ग्यास लुकाउने तथा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध अनुगमन तीव्र पारिएको छ, जसअन्तर्गत लुकाइएका १२ सय सिलिन्डर कब्जा गरी उपभोक्तालाई वितरण गरिएको र दोषी विक्रेतालाई जरिवाना गराइएको छ । गत वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ग्यासको आयात र बिक्रीमा करिब १२ लाख सिलिन्डरले वृद्धि भएको पनि निगमले स्पष्ट पारेको छ ।
कांग्रेसको १५ औं महाधिवेशन असोज १६ गतेदेखि
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सभापति गगन कुमार थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी असोज ३ र ४ गते वडा अधिवेशन गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । असोज १६ गते दिउँसो १ बजे काठमाडौंको खुल्ला मञ्चमा महाधिवेशनको उदघाटन सत्र प्रारम्भ हुनेछ । बैठकले महाधिवेशनलाई पार्टीको राजनीतिक महाउत्सवका रूपमा लिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकहरूलाई तहगत अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन आह्वान गरेको छ । यसका साथै विधान बमोजिम जिम्मेवारी पूरा नगर्ने निकायका हकमा वैकल्पिक व्यवस्था गरिने चेतावनी दिँदै निर्वाचन समितिसँग समन्वय गरी अधिवेशन सफल पार्न सबै तहका कार्यसमितिलाई निर्देशनसमेत दिएको छ । पार्टीभित्र व्यापक सहभागिता, संवाद र सहमति कायम गर्न अद्यावधिक हुन छुटेका सदस्यहरू (कारबाहीमा परेका र पार्टी परित्याग गरेका बाहेक) लाई पनि महाधिवेशन प्रक्रियामा समावेश गराइने निर्णय गरिएको छ । महाधिवेशनलाई सर्वस्वीकार्य र समावेशी बनाउन विशेष केन्द्रीय महाधिवेशनपूर्वका तत्कालीन केन्द्रीय सदस्यहरूलाई विधान बमोजिम केन्द्रीय सदस्यकै हैसियतमा सहभागी गराउने प्रबन्ध मिलाइएको छ । यसैबीच, महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिले तयार पारेको क्रियाशील सदस्यहरूको नामावलीलाई सभापति थापाले स्वीकृत गरे । बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले दिएको राजीनामाबारे जानकारी गराइनुका साथै विभिन्न सहमहामन्त्री तथा सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए ।
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको संरक्षण र प्रवद्र्धन अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् । लोककल्याणकारी विज्ञापनको रकम कटौती, विज्ञापनसम्बन्धी नीतिगत व्यवस्था तथा छापा सञ्चारमाध्यमको अस्तित्वमा देखिएका चुनौतीलगायतका विषयमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ सुझाव कार्यदलले हालै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभापति थापाले सो धारणा व्यक्त गरेका हुन् । पार्टी मुख्यालय सानेपा पुगेको कार्यदल संयोजक दामोदर प्रसाद दवाडी नेतृत्वको टोलीलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले स्वतन्त्र प्रेस माथि संकुचन पत्रकारको पेशागत समस्या भए पनि आफ्नो पार्टीका लागि सो विषय लोकतन्त्रकै महत्वपूर्ण सवाल भएको धारणा व्यक्त गरेका थिए । पत्रकार र सञ्चारमाध्यमले उठाएका विषयलाई आफूले गम्भीर रूपमा लिएको बताउँदै उनले भने, ‘यो तपाईंहरुको पेशागत समस्याको कुरा होला, तर कांग्रेसका लागि लोकतान्त्रिक प्रतिष्ठासंग जोडिएको बिषय हो ।’ प्रेस लोकतन्त्रको आधार स्तम्भ भएकाले त्यसको संरक्षण लोकतान्त्रिक दलको प्रमुख जिम्मेवारी भएको उनको भनाई थियो । छापा माध्यमको समस्या केवल पत्रकारको पेशासँग जोडिएको विषयका रूपमा नहेरी लोकतन्त्रको आधारभूत पक्षसँग जोडेर हेर्नुपर्ने थापाले बताए । ‘प्रजातन्त्र पुनः स्थापनामा छापा माध्यमले पुर्याएको योगदान अति महत्त्वपूर्ण छ,’ उनले भने , ‘ प्रेसमाथि समस्या आउँदा त्यसको असर समग्र लोकतान्त्रिक प्रणालीमै पर्छ भन्ने कुरा बिर्सिनु हुदैन ।’ त्यसैक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयलाई पार्टीको महत्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सञ्चारमाध्यमलाई कमजोर बनाउने वा पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि अवस्थाले लोकतान्त्रिक अभ्यासलाई समेत कमजोर बनाउने भएकाले यस विषयमा पार्टी गम्भीर भएर प्रस्तुत हुने उनको भनाइ थियो । नेपाली कांग्रेस संसदीय दलका सचेतक निस्कल राईसहित विभिन्न छापा तथा अनलाइन मिडियाका सम्पादक प्रकाशकहरुको समेत समेत उपस्थिति रहेको सो छलफलमा संयोजक दवाडीसहित, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदी, काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, सचिव रमेश कुमार बोहोरा, कार्यदलका सदस्यत्रय मुक्ति बास्तोला, हेम सिलवाल र टंक कार्कीले पछिल्लो समय राज्यबाट सञ्चारमाध्यमलाई उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती तथा विज्ञापनसम्बन्धी नयाँ नीतिगत व्यवस्थाले विशेषगरी साना लगानीका तथा स्वरोजगारमुखी छापा माध्यम थप संकटमा परेको उल्लेख गर्दै यस्ता नीतिगत व्यवस्थाले आर्थिक रूपमा कमजोर सञ्चारमाध्यमको निरन्तरतामै प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताएका थिए । सरकारले पछिल्लो समय लोककल्याणकारी बिज्ञापनको रकम कटौती गर्ने गरी संशोधन गरिएको कार्यबिधि खारेज गर्नुपर्ने र निजी सञ्चारमाध्यमलाई सरकारी बिज्ञापन नदिने सरकारी निर्णय सर्बोच्च अदालतले खारेज गरिसकेको अवस्थामा समेत कार्यान्वयन नगरिएकोले त्यसलाई तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्ने लगायतका माग कार्यदलले राख्दै आएको छ । यसैबीच,नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रेस तथा सञ्चार क्षेत्र लोकतन्त्रको आधारस्तम्भ र राज्यलाई नागरिकप्रति उत्तरदायी बनाउने महत्वपूर्ण माध्यम भएकाले सञ्चार माध्यमलाई निरुत्साहित वा कमजोर पार्ने कुनै पनि नीति लोकतन्त्र र प्रेस स्वतन्त्रताको हितमा नहुने निष्कर्ष समेत निकालेको छ । बैठकले सरकारले निजी क्षेत्रका सञ्चार माध्यमलाई असर पर्ने गरी गरिएका निर्णय तथा लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यविधिमा भएका परिवर्तन तत्काल पुनरावलोकन गर्न आग्रह गरेको छ । कांग्रेसले सञ्चार क्षेत्रका जायज माग सम्बोधन गर्दै सरकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी,निष्पक्ष र सबै सञ्चार माध्यमप्रति समान व्यवहार हुने गरी व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । सरकारी विज्ञापनको वितरणमा कुनै पनि प्रकारको विभेद वा निश्चित सञ्चार माध्यमलाई वञ्चित गर्ने नीति अवलम्बन भए त्यसले स्वतन्त्र प्रेसको विकास र लोकतान्त्रिक अभ्यासमा नकारात्मक असर पार्न सक्ने कांग्रेसको धारणा छ ।
मोरङ उद्योग व्यापार संघको ३५औं कार्यसमिति निर्विरोध निर्वाचित, अनिल कुमार साह बने अध्यक्ष
काठमाडौं । मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमितिको निर्वाचन निर्विरोध रूपमा सम्पन्न भएको छ । संघको विधान तथा नियमावलीअनुसार वाणिज्यतर्फ ८ जना र उद्योगतर्फ ८ जना सदस्यका लागि माग भएबमोजिम नै उम्मेदवारी दर्ता भएपछि सबै सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचनपश्चात् बसेको नवगठित कार्यसमितिको पहिलो बैठकले पदाधिकारीहरूसमेत सर्वसम्मत चयन गरेको छ । संघको अध्यक्षमा अनिल कुमार साह चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्य उपाध्यक्षमा विकास कुमार बेगवानी र उद्योग उपाध्यक्षमा संजय कुमार श्रेष्ठ चयन भएका छन् । त्यसैगरी, महासचिवमा अमित कुमार सारदा, सचिवद्वयमा अमित राठी र दिपेश सुवेदी, कोषाध्यक्षमा विनित सिंघानिया, सह–कोषाध्यक्षमा मनिष कुमार मारु तथा प्रवक्तामा सुशील सुराना चयन भएका हुन् । कार्यसमितिका अन्य सदस्यहरूमा राजेश कुमार अग्रवाल (आर्थिक समिति संयोजक), विवेक कुमार अग्रवाल, अन्वित घिमिरे, पवन राठी, देवाशिष गोल्छा र वेदान्त जाजु रहेका छन् । यस्तै डा. बन्दना जैन, लोकेश टिवडेवाला, धिरज मोहता र ओम प्रकाश शर्मा कार्यसमिति सदस्यमा मनोनित भएका छन् भने निवर्तमान अध्यक्ष अनुपम राठी पदेन सल्लाहकार रहेका छन् । बैठकले डा. दिपेन्द्र नौलखा, अमित अग्रवाल, स्तुति शर्मा, पंकज दुगड र विकास अग्रवाललाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरेको छ । साथै, महिला उद्यम समितिको संयोजकमा साधना झा र सह-संयोजकमा जीना श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको छ ।
बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि सञ्चालनमा, प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनःस्थापना
काठमाडौं । बाढीका कारण डुबानमा परी क्षतिग्रस्त भएको धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ । गत भदौ १० गते आएको बाढीले जहरेखेतस्थित सबस्टेसन करिब ६ देखि १० फिटसम्म डुबानमा पारेको थियो, जसका कारण उपकरण तथा अन्य संरचनामा क्षति पुगेर विद्युत आपूर्ति अवरुद्ध भएको थियो । बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको शीघ्र मर्मत तथा सेवा पुनःस्थापनाका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तत्काल परिचालन गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको निर्देशन तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालको प्रत्यक्ष समन्वयमा मर्मत तथा पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अगाडि बढाइएको थियो । प्रतिकूल अवस्था र विभिन्न प्राविधिक चुनौतीका बीच धादिङ वितरण केन्द्रका कार्यालय प्रमुख, इन्जिनियर, सबस्टेसनमा कार्यरत कर्मचारी तथा प्राविधिक टोली निरन्तर खटिएका थिए । मर्मत सम्पन्न भएपछि भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी फिडरबाट गजुरी बजारसम्म, आदमघाट फिडरबाट २२ किलोसम्म र पीडा फिडरबाट किरान्चोक-मिलनटार-किरान्चोक सामुदायिक क्षेत्रसमेत विद्युत सेवा पुनःस्थापना गरिएको छ । नेपाल विद्युत प्राधिकरणले बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा सेवा पुनःस्थापनामा सहयोग, सहजीकरण र समन्वय गरेकोप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयप्रति आभार व्यक्त गरेको छ । साथै धादिङ वितरण केन्द्रका कार्यालय प्रमुख, इन्जिनियर, कर्मचारी तथा प्राविधिक टोली, गजुरीस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल तथा अन्य सहयोगी निकाय र स्थानीय सहयोगीहरूप्रति प्राधिकरणले आभार व्यक्त गरेको छ । जहरे सबस्टेसन पुनः सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ र उपभोक्तालाई नियमित र भरपर्दो सेवा उपलब्ध गराउन आवश्यक कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको प्राधिकरणले जनाएको छ ।
टीभीएस नेपालद्वारा दशैं लक्षित “टिभीएस गोल्डेन कि” योजना सार्वजनिक
काठमाडौं । नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले दशैं तथा चाडपर्वलाई लक्षित गर्दै विशेष उपभोक्ता योजना “टिभीएस गोल्डेन कि” सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले १० लाख रुपैयाँसम्मको नगद छुट, गोल्डेन कि, वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछन् । निश्चित पुरस्कारका अतिरिक्त, दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकहरूले ५ वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर पाउनेछन् । सवारीसाधन खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले नियम तथा सर्तहरूको अधीनमा रहने गरी सहज फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । योजनाको शुभारम्भमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टिभीएस गोल्डेन किमार्फत ग्राहकहरूलाई अतिरिक्त मूल्य र दीर्घकालीन सेवा प्रदान गरी चाडपर्वलाई थप रोमाञ्चक बनाउने लक्ष्य राखिएको बताए । त्यसैगरी, कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहक केन्द्रित यस अभियानले नेपालभरका उपभोक्ताहरूका लागि टीभीएस सवारीसाधनको स्वामित्वलाई अझ सहज, आकर्षक र लाभदायी बनाउने विश्वास व्यक्त गरे । नेपालभर विस्तृत नेटवर्क र उत्कृष्ट ’आफ्टर-सेल्स सपोर्ट’का साथ सेवा दिँदै आएको जगदम्बा मोटर्सले अटोमोबाइल क्षेत्रको वृद्धिमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।
कृष्णभीरमा २० सवारी पास
काठमाडौं । गत भदौ १० र १४ गते त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्रयाक निर्माण गरी सवारी आवागमनको सफल परीक्षण गरिएको छ । नदी कटानले करिब १०० मिटर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सडक विभागले जनशक्ति र उपकरणहरूको अधिकतम प्रयोग गरी पुनस्र्थापना कार्य अघि बढाएको थियो । सोही क्रममा भदौ २८ गते काठमाडौंबाट चितवनतर्फ एउटा ग्यास बुलेटसहित करिब २० वटा र चितवनबाट काठमाडौंतर्फ एउटा भारी सवारीसहित केही हलुका सवारी साधन सफलतापूर्वक सञ्चालन गरेर परीक्षण गरिएको छ । परीक्षण सफल भए तापनि बाँकी रहेको सडक स्तरोन्नति तथा सुरक्षाका कामहरू अझै जारी रहेकाले हालका लागि उक्त सडक खुला गरिएको छैन । आगामी असोज १ गतेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएकाले त्यतिन्जेलसम्मका लागि कृष्णभीर खण्डबाट सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहने सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिए । विभागले यस अवधिमा सम्बन्धित निकायले जारी गरेका वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना गरी सहयोग गरिदिन सम्पूर्ण यात्रु तथा सरोकारवालाहरूसँग अनुरोध गरेको छ ।