मुख्य राजमार्ग अवरुद्ध भए पनि ग्यास आपूर्ति सहज, २८ दिनमा ५२ हजार टनभन्दा बढी आयात

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा गएको पहिरोका कारण मुख्य सडक अवरुद्ध भए तापनि नेपाल आयल निगमले वैकल्पिक मार्गमार्फत काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाएको छ । 

निगमका अनुसार पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन (३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर) एलपी ग्यास नेपाल भित्रिएको छ । 

साथै, इण्डियन आयल कर्पोरेशन (आइओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० सम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिए ।

नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ । मुख्य राजमार्ग ठप्प भएपछि निगमले भदौ १४ गतेदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका उद्योगका सिलिन्डर तराईका विभिन्न जिल्ला (बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी) मा भरेर त्रिभुवन राजपथ र बिपी राजमार्गमार्फत काठमाडौं भित्र्याउने व्यवस्था मिलाएको छ । 

यसैक्रममा भदौ १८ देखि २७ गतेसम्ममा करिब ३ लाख ९९ हजार ५२९ सिलिन्डर वितरण गरिसकिएको छ भने पछिल्लो १० दिनमा दैनिक औसत ४० हजार सिलिन्डर उपत्यकामा बिक्री भइरहेको छ ।

मुख्य सडक सुचारु भएपछि आपूर्ति झनै सहज हुने निगमले जनाएको छ । आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको छ भने बिक्री वितरणलाई पारदर्शी बनाउन अनलाइन ट्रयाकिङ प्रणाली विकासको पहल भइरहेको छ । 

बजारमा ग्यास लुकाउने तथा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध अनुगमन तीव्र पारिएको छ, जसअन्तर्गत लुकाइएका १२ सय सिलिन्डर कब्जा गरी उपभोक्तालाई वितरण गरिएको र दोषी विक्रेतालाई जरिवाना गराइएको छ । 

गत वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ग्यासको आयात र बिक्रीमा करिब १२ लाख सिलिन्डरले वृद्धि भएको पनि निगमले स्पष्ट पारेको छ ।

Share News