विकासन्युज

देउवा समूहले सानेपाको निर्णय नमान्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशन संस्थापन पक्षले तय गरेको प्रक्रियाबाट अघि नबढ्ने भएको छ । यससँगै कांग्रेसको महाधिवेशन प्रक्रिया फेरि दुई समूहबीचको विवादमा फस्ने संकेत देखिएको छ । पूर्वसभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवासमा सोमबार (आज) बसेको संस्थापन इतर समूहको बैठकले सानेपाबाट तय गरिएको महाधिवेशन कार्यतालिकालाई स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको नेता केदार कार्कीले जानकारी दिए । बैठकमा संस्थापन पक्षको पछिल्लो निर्णयमाथि छलफल गर्दै आफ्नो पक्षले यसअघि अघि सारेको महाधिवेशन कार्यतालिकालाई निरन्तरता दिने निर्णय भएको उनले बताए । कार्कीका अनुसार संस्थापन इतर समूहको दाबी कुनै व्यक्ति वा समूहलाई नेतृत्वमा स्थापित गर्नेभन्दा पनि पार्टीको संगठनात्मक संरचना र वैधानिक प्रक्रियालाई निरन्तरता दिने तयारी भएको हो । त्यसका लागि उमाकान्त चौधरीले यसअघि प्रस्ताव गरेको १५औं महाधिवेशनको कार्यतालिकालाई आधार बनाएर प्रक्रिया अघि बढाउने निर्णय भएको कार्कीले बताए । यसअघि कांग्रेसको संस्थापन पक्षले भने १४औं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई १५औं महाधिवेशनमा पनि निरन्तरता दिने निर्णय गरेको थियो ।  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई उनीहरूकै हैसियतमा १५औं महाधिवेशनमा सहभागी गराउने तथा आयोजकका रूपमा जिम्मेवारी दिने निर्णय गरेको थियो । संस्थापन इतर समूहले यही निर्णयलाई आधार बनाएर सानेपाबाट अघि बढाइएको प्रक्रियामा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो । बैठकले संस्थापन पक्षको निर्णयबारे औपचारिक धारणा सार्वजनिक गर्ने तयारीसमेत गरेको छ ।

पशुपतिमा तीजको रौनक (फोटो–फिचर)

काठमाडौं । आज हरितालिकाका तीज । यसैको अवसरमा सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । व्रतालुहरूको सहजताका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको थियो । लाइनमा बसेको आधा घण्टामा व्रतालुले पशुपतिनाथको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका छन् । तीज पर्वका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयम्‌सेवक खटाइएको कोषले जनाएको छ । विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै व्रत बस्ने धार्मिक परम्परा छ । तस्बिरहरू  :

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  यसैगरी, आज १० ग्राम सुनको भाउ २ लाख ५८ हजार ६० रुपैयाँ कायम गरिएको छ ।  यसअघि आइतबार सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ र १० ग्रामको २ लाख ५९ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।  सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आइतबार प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँ कायम भएको छ ।

साउदीका सैन्य विमानले यमनमा हवाई हमला गरेको हुथीको दाबी

काठमाडौं । हुथी विद्रोही समूहको टेलिभिजन समाचार च्यानल अल-मसीराले साउदी अरबका सैन्य विमानले यमनको ताइज क्षेत्रमा हवाई हमला गरेको दाबी गरेको छ । इरान समर्थित हुथी समूहले पछिल्ला दिनमा सरकारी सेनाविरुद्ध सैन्य रूपमा आफ्नो प्रभाव बढाएको यही ताइज क्षेत्र हो । अल-मसीराका अनुसार साउदी सैन्य विमानले उत्तरी यमनमा हुथीहरूको प्रमुख गढ सादामा पनि विभिन्न स्थानलाई लक्षित गरी हवाई हमला गरेका छन् । यसअघि हुथी सैन्य प्रवक्ताले समूहले दक्षिणी साउदी अरबमा रहेको एउटा सैन्य अड्डालाई क्षेप्यास्त्र र ड्रोनबाट निशाना बनाएको दाबी गरेका थिए । यद्यपि, उक्त दाबीको पनि स्वतन्त्र रूपमा पुष्टि भएको छैन । यसैबीच, साउदी अरबका तेल व्यवसायी तथा सेयरधनीहरूले देशको प्रमुख ईस्ट-वेस्ट तेल पाइपलाइन तत्काल पुनः सञ्चालन नगरिए विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पर्न सक्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार साउदी अरबले केही दिनभित्र उक्त पाइपलाइन सञ्चालनमा ल्याउन नसके विश्वको कुल तेल आपूर्तिमा करिब ४ प्रतिशतसम्म कमी आउन सक्छ । साउदी अरबको ईस्ट-वेस्ट तेल पाइपलाइनमा हालै ड्रोन हमला भएको थियो। ती ड्रोन इराकी क्षेत्रबाट आएको बताइएको छ । इराकले उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएको थियो। त्यसपछि साउदी अरबले पनि इराकको अनुसन्धानलाई समर्थन गर्दै तत्काल जवाफी कारबाही नगर्ने जनाएको छ ।

बाढीले आमाबाबु खोस्न सक्छ, बालापन र भविष्य खोसिन दिँदैनौँ

काठमाडौं । सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल उद्धारदेखि स्याहार, संरक्षण, पुनःस्थापना र पारिवारिक पुनर्मिलनसम्मको जिम्मेवारी राज्यको संरक्षण प्रणालीमार्फत सुनिश्चित गर्ने भएको छ । आज (भदौ २९) राष्ट्रिय बाल दिवसको अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’ कार्यान्वयनमा ल्याएको हो । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री सिता बादीले ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नारालाई व्यवहारमा रूपान्तरण गर्दै प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । 'विपद्ले बालबालिकाबाट घर, परिवार वा अभिभावक खोस्न सक्छ, तर उनीहरूको बालापन र भविष्य खोसिन दिँदैनौँ,' उनले भनिन् । उनका अनुसार विपद्पछि बालबालिकालाई तत्काल राहत र अस्थायी संरक्षण दिएर मात्र राज्यको दायित्व पूरा हुँदैन । उनीहरूको स्वास्थ्य, शिक्षा, मनोसामाजिक अवस्था, सुरक्षा, पारिवारिक पुनर्मिलन र पुनःस्थापनालाई समेत राज्यको संरक्षण प्रणालीसँग जोड्न आवश्यक छ । योजना अन्तर्गत विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका वा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको अवस्था पहिचान गरी उनीहरूको सर्वोत्तम हितका आधारमा आवश्यक संरक्षण तथा स्याहारको व्यवस्था गरिनेछ । योजनाको प्रारम्भिक कार्यान्वयन अन्तर्गत ललितपुरको गोदावरी नगरपालिका १२, ठेचोमा विशेष संरक्षणको आवश्यकता भएका उद्धार गरिएका बालबालिकाका लागि अस्थायी बाल संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। केन्द्रबाट बालबालिकालाई सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवार खोजी तथा पारिवारिक पुनर्मिलन लगायतका सेवा उपलब्ध गराइनेछ । दीर्घकालीन संरक्षण आवश्यक पर्ने बालबालिकाको व्यक्तिगत अवस्था, आवश्यकता र सर्वोत्तम हितको मूल्याङ्कन गरी उपयुक्त दीर्घकालीन स्याहार तथा संरक्षणको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । यसै वर्ष भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीबाट बालबालिकासहित ठूलो जनधनको क्षति भएको थियो। विपद्पछि प्रभावित बालबालिकाको उद्धार तथा संरक्षणलाई प्राथमिकतामा राख्दै मन्त्रालयले प्रभावित क्षेत्रमा संरक्षणसम्बन्धी कामलाई तीव्रता दिएको छ । प्रभावित जिल्लाका स्थानीय तह तथा बालबालिका रहेका विभिन्न स्थानमा अवस्था पहिचान, विस्तृत लेखाजोखा तथा आवश्यक संरक्षण सेवा सुनिश्चित गर्न सहजीकरण टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ । होल्डिङ सेन्टर तथा प्रभावित क्षेत्रमा रहेका बालबालिकाको गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित अनुगमन तथा संरक्षणविपरीतका गतिविधिको नियमनसमेत भइरहेको छ । मन्त्री बादीले बाल संरक्षणलाई केवल उद्धार र राहतको विषयका रूपमा नभई बालबालिकाको जीवन, अधिकार र भविष्यसँग जोडिएको राज्यको दीर्घकालीन दायित्वका रूपमा अघि बढाइएको बताइन् । मन्त्रालयले बाल संरक्षणलाई पहिचान, उद्धार, अस्थायी संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन, पुनःस्थापना र दीर्घकालीन स्याहारसम्म जोडिएको एकीकृत प्रणालीका रूपमा विकास गर्ने नीति अघि बढाएको छ । बाल हेल्पलाइन १०९८ तथा बालबालिका खोजतलास सेवा केन्द्र १०४ लगायतका बाल संरक्षण सेवाको पहुँच र प्रभावकारिता विस्तार गर्दै संकटमा परेका बालबालिकासम्म समयमै सेवा पुर्याउने व्यवस्था थप सुदृढ गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले बालविवाह, बालश्रम, हिंसा, दुर्व्यवहार, बेचबिखन तथा ओसारपसार, यौन शोषण, विद्यालय छाड्ने अवस्था र विभेदसँगै साइबर बुलिङ, अनलाइन यौन शोषण, गलत सूचना, डिजिटल लत, अनलाइन ठगी तथा व्यक्तिगत गोपनीयताको दुरुपयोगजस्ता नयाँ जोखिमलाई समेत बाल संरक्षणका गम्भीर चुनौतीका रूपमा लिएको छ । मन्त्री बादीले बाल संरक्षण सरकारको मात्र जिम्मेवारी नभई परिवार, समुदाय, विद्यालय, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम तथा विकास साझेदार सबैको साझा राष्ट्रिय दायित्व भएको बताइन् । विद्यालयलाई हिंसा, अपमान, विभेद, बुलिङ तथा शारीरिक र मानसिक दण्डबाट मुक्त सुरक्षित र बालमैत्री सिकाइस्थल बनाउनुपर्नेमा उनले जोड दिइन् । नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५ तथा बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार प्रत्येक बालबालिकाको सर्वोत्तम हित, संरक्षण, विकास, सहभागिता र न्यायको अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाइने मन्त्रालयले जनाएको छ । राष्ट्रिय बाल दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई बाल अधिकारको संरक्षण, सुरक्षित बालापनको सुनिश्चितता र भावी पुस्ताको भविष्य निर्माण गर्ने राष्ट्रिय प्रतिबद्धताको अवसरका रूपमा लिन मन्त्री बादीले आह्वान गरिन् ।  ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइँदै गरेको राष्ट्रिय बाल दिवसमा कार्यान्वयनमा ल्याइएको स्याहार योजनाले विपद्मा परेका बालबालिकाको तत्कालीन संरक्षणलाई उनीहरूको दीर्घकालीन सुरक्षा, पुनःस्थापना र भविष्यसँग जोड्ने राज्यको प्रतिबद्धतालाई थप संस्थागत गर्ने अपेक्षा गरिएको छ ।

नेपाल अरनिको हाइड्रोले मध्य भोटेकोशीको सेयर बेच्ने, सर्वसाधारणको पैसा फिर्ता गर्ने

काठमाडौं । नेपाल अरनिको हाइड्रोपावर लिमिटेडले मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडमा रहेको आफ्नो सेयर बिक्री गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले मध्य भोटेकोशी जलविद्युत् कम्पनीमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको हो ।  उक्त निर्णय अनुमोदनका लागि कम्पनीले असोज १७ गते काठमाडौंको पेप्सीकोलास्थित स्टार ब्यांक्वेटमा बिहान साढे ८ बजे वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभामा कम्पनीमार्फत लगानी गरेका सर्वसाधारण लगानीकर्तालाई रकम फिर्ता गर्ने वा सेयरमा हक कायम गराउने तथा आवश्यक अन्य व्यवस्था मिलाउने सम्बन्धमा सञ्चालक समितिले गरेका कामकारबाही अनुमोदन गर्ने प्रस्ताव पेस हुनेछ । यसका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभामा पेस गरिनेछ । यस्तै, कम्पनीको रजिस्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने तथा सञ्चालक समितिको संख्या हेरफेर गर्ने प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुनेछ । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आय-व्यय विवरण तथा वासलात पारित गर्नेछ । त्यसैगरी, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने तथा रिक्त सञ्चालक पदमा, स्वतन्त्र सञ्चालकसमेत, नियुक्त गरी सञ्चालक समिति पुनर्गठन तथा निर्वाचन गर्ने प्रस्तावसमेत साधारणसभामा पेस हुने कम्पनीले जनाएको छ ।

सिटिजन्स क्यापिटलले १३ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १३ प्रतिशतका दरले २ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा लाभांश करसमेत समावेश रहेको कम्पनीले जनाएको छ ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १९ गते काठमाडौंको डिल्लीबजारस्थित रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे २०औँ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । त्यसैगरी, कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिको अनुमोदन गर्ने प्रस्तावसमेत साधारणसभामा पेस हुने कम्पनीले जनाएको छ । 

दिवाकर अर्याल बने उज्यालो नेपाल पार्टीको महासचिव

काठमाडौं । उज्यालो नेपाल पार्टीले राष्ट्रिय युवा संसद् तथा विश्व युवा संसद्का संस्थापक अध्यक्ष दिवाकर अर्याललाई पार्टीको महासचिवमा नियुक्त गरेको छ । पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा आइतबार (भदौ २८ गते) बसेको सचिवालयको पूर्ण बैठकले अर्याललाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त महासचिव अर्यालसहित उनको सम्पूर्ण टोलीलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमसमेत आयोजना गरिएको पार्टीले जनाएको छ । पार्टी अध्यक्ष घिसिङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अर्यालसहित टोलीका सदस्यलाई पार्टी प्रवेश गराउनुका साथै शपथ ग्रहण गराइनेछ । सोही अवसरमा विश्व युवा संसद्सँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ । कार्यक्रममा युवा नेतृत्व, समसामयिक विषय तथा युवाको राजनीतिक सहभागितालगायत विषयमा छलफल हुने बताइएको छ ।