बैंकको जोखिम व्यवस्थापनमा राष्ट्र बैंकको कडा कदम
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि ‘जोखिम व्यवस्थापन मार्गदर्शन, २०२६’ जारी गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै केन्द्रीय बैंकले यसअघि सन् २०१८ मा जारी गरिएको जोखिम व्यवस्थापन मार्गदर्शनलाई खारेज गर्दै नयाँ र परिष्कृत निर्देशिका कार्यान्वयनमा ल्याएको हो । पछिल्लो समय विश्वव्यापी रूपमा देखिएका आर्थिक उतारचढाव, प्रविधिको तीव्र विकास र जलवायु परिवर्तनका कारण वित्तीय क्षेत्रमा थपिएका नयाँ जोखिमहरूको सामना गर्न यो मार्गदर्शन ल्याइएको राष्ट्र बैंकले जनाएको छ । नयाँ मार्गदर्शनले बैंक तथा वित्तीय संस्थाहरूभित्र सुदृढ जोखिम संस्कृति, स्पष्ट जोखिम रणनीति र जोखिम सहनशीलता सीमाको निर्धारणमा विशेष जोड दिएको छ । जोखिम सुशासनलाई प्रभावकारी बनाउन बैंकहरूले अनिवार्य रूपमा ‘तीन तहको प्रणाली’ लागू गर्नुपर्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाअनुसार पहिलो तहमा व्यापार तथा सञ्चालन इकाइहरू रहनेछन् जसले आफैं दैनिक कार्यका क्रममा उत्पन्न हुने जोखिमको पहिचान र व्यवस्थापन गर्नेछन् । दोस्रो तहमा मुख्य जोखिम अधिकृतको नेतृत्वमा रहने स्वतन्त्र जोखिम व्यवस्थापन विभाग तथा अनुपालन इकाइ रहनेछ, जसले जोखिम नीतिको निर्माण र अनुगमन गर्नेछ । तेस्रो तहमा आन्तरिक लेखापरीक्षण रहनेछ, जसले पहिलो र दोस्रो तहको स्वतन्त्र समीक्षा गर्दै सञ्चालक समितिलाई प्रतिवेदन बुझाउनेछ । मार्गदर्शनले वित्तीय संस्थाहरूले सामना गर्ने विभिन्न प्रमुख जोखिमहरूलाई छुट्टाछुट्टै अध्यायमा वर्गीकरण गर्दै कठोर मापदण्डहरू तोकेको छ । कर्जा जोखिम व्यवस्थापनतर्फ कर्जा प्रवाहको उचित संगठनात्मक संरचना, कर्जा रणनीति, सीमा निर्धारण (विशिष्ट उद्योग, क्षेत्र, एकल ग्राहक सीमा आदि), कर्जा अनुगमन, समस्याग्रस्त कर्जाको लागि उपचारात्मक कारबाही, असुली प्रक्रिया तथा वित्तीय प्रतिवेदन मानक ९ मा आधारित सम्भावित नोक्सानी व्यवस्थामा कडाइ गरिएको छ । त्यसैगरी, तरलता तथा कोष जोखिम व्यवस्थापनतर्फ दैनिक तरलता, स्रोत परिचालन तरलता, बजार तरलता र स्रोत परिचालन लागत जोखिमलाई समेट्दै कोष संकलनको विविधीकरण, तरलता अन्तर विश्लेषण, तनाव परीक्षण र आपत्कालीन कोष योजना सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । सञ्चालन जोखिम र सम्पत्ति शुद्धीकरण निवारणतर्फ आन्तरिक तथा बाह्य ठगी, सूचना प्रविधि प्रणालीको असफलता, भौतिक सम्पत्तिमा क्षति र तेस्रो पक्षमाथिको निर्भरताबाट हुने जोखिमलाई समेटिएको छ । यसैअन्तर्गत सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि जोखिममा आधारित दृष्टिकोण, ग्राहक पहिचान, शंकास्पद कारोबार अनुगमन र वित्तीय जानकारी इकाईमा प्रतिवेदन गर्ने व्यवस्थालाई अझ प्रभावकारी बनाउन कृत्रिम बौद्धिक र मेसिन लर्निङको प्रयोगमा जोड दिइएको छ । साथै, मर्जर तथा प्राप्तिमा गएका बैंकहरूका कर्मचारीको वृत्तिविकास, मानव संशाधन व्यवस्थापन र स्वेच्छिक अवकाश योजनालाई पनि समानुपातिक र विभेदरहित बनाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ । बजार र ब्याजदर जोखिमको सन्दर्भमा विदेशी विनिमय जोखिम, वस्तु जोखिम, धितोपत्रको पोजिसन जोखिम र बजार तथा बैंकिङ बुकको एकाग्रता जोखिमलाई नियन्त्रण गर्न खुला स्थान सीमा र जोखिमयुक्त मूल्य निर्धारण जस्ता प्रविधि अपनाउनुपर्नेछ । प्रविधि जोखिम व्यवस्थापनमा साइबर सुरक्षा, डिजिटल बैंकिङ, डिजिटल ठगी रोकथाम नीति, सूचना प्रणाली लेखापरीक्षण का साथै कृत्रिम बौद्धिक र मेसिन लर्निङ जस्ता उदीयमान प्रविधिको जिम्मेवार प्रयोगमा जोड दिइएको छ । आपत्कालीन अवस्थाका लागि सूचना प्रविधि विपद् उद्धार योजना, साइबर घटना उद्धार योजना र व्यावसायिक निरन्तरता योजना तयार गर्नुपर्नेछ । त्यस्तै, पूर्ण रूपमा नयाँ अध्यायका रूपमा समेटिएको जलवायु जोखिम व्यवस्थापनतर्फ जलवायु परिवर्तनले वित्तीय क्षेत्रमा पार्ने भौतिक जोखिम र न्यून–कार्बन अर्थतन्त्रमा रूपान्तरण हुँदा आउने जोखिमलाई समेटिएको छ । बैंकहरूले त्रैमासिक रूपमा बैठक बस्ने जलवायु जोखिम समिति गठन गर्नुपर्ने तथा जलवायुसम्बन्धी तनाव परीक्षण र संवेदनशील क्षेत्रहरूको निगरानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
रसुवा नाका बन्द, तातोपानीबाट चीन जाने पर्यटक बढ्दै
काठमाडौं । रसुवा नाका प्रभावित भएपछि पर्यटक तथा यात्रुले कोदारी (तातोपानी) र हुम्लाको हिल्सा नाका प्रयोग गर्न थालेका छन् । भदौँ १० गते रसुवामा आएको बाढीका कारण रसुवागढी नाकास्थित अध्यागमन कार्यालयमा क्षति पुगेपछि यी नाका हुँदै आवतजावत गर्ने पर्यटकले अन्य नाकाको प्रयोग गर्न थालेका हुन् । सिन्धुपाल्चोकको तातोपानी नाका ३ हजार ९०४ पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन विभागले जनाएको छ । १ हजार ७३३ जना महिला र २ हजार १७१ पुरुष भित्रिएका छन् । ३ सय ९१ जना पर्यटक तातोपानी नाका हुँदै चीनतर्फ प्रस्थान गरेको अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले जानकारी दिए । यसैगरी, हिल्सा नाका हुँदै ३ सय ८७ जना नेपाल प्रवेश गरेका छन्। नेपाल प्रवेश गरेका १६५ जना रसुवागढी नाका हुँदै चीन प्रस्थान गरेका थिए । विभागका अनुसार हिल्सा नाका हुँदै जम्मा १७८ यात्रु चीनतर्फ प्रस्थान गएका छन्। दुवै नाकाबाट आवागमन गर्ने विदेशी यात्रुहरुमा सबैभन्दा बढी भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेका छन्। रसुवागढी नाका अवरुद्ध भएपछि चीनको सीमावर्ती जिल्लाका वैकल्पिक नाकाबाट यात्रुको आवागमन हुन थालेको छ । रसुवागढी नाका अवरुद्ध भएपछि चीनसँगको यात्रु आवागमनका लागि तातोपानी र हिल्सा नाका वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको ढकालले बताए । अध्यागमन विभागले पर्यटक तथा यात्रुका सहजै आवागमन गर्न अध्यागमन विभागले व्यवस्थापन गरिरहेको छ । यात्रुका सहजता लागि प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै आएको विभागले जनाएको छ ।
१५ हजार घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले सामुदायिक वन उपभोक्ता समितिको काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारका अनुसार सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले पौडेललाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा पौडेलले आफ्नो पदीय जिम्मेवारीअनुसार काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागी अनावश्यक दुःख हैरानी दिएको र काममा आलटाल गरेको पुष्टि भएको अख्तियारको दाबी छ । अख्तियारले पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको जनाएको छ । आयोगले १५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा बिगो बराबर जरिवानाको सजाय मागदाबी गरेको छ । मुद्दा विशेष अदालत, काठमाडौंमा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट
काठमाडौं । भायानेट कम्युनिकेसन्स नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को आधिकारिक इन्टरनेट साझेदार बनेको छ । नेपालमा आयोजना हुने ठूला अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स प्रतियोगितामध्ये एक पीएमजीओका लागि आवश्यक इन्टरनेट तथा कनेक्टिभिटी पूर्वाधार भायानेटले उपलब्ध गराउनेछ । ई–स्पोर्ट्स प्रतियोगितामा खेलाडीको सीप र निर्णय क्षमतासँगै इन्टरनेटको स्थिरता, निरन्तरता र न्यून विलम्बता पनि महत्वपूर्ण हुन्छ । खेलका क्रममा केही क्षणको कनेक्टिभिटी अवरोधले समेत खेलको नतिजामा प्रभाव पार्न सक्ने भएकाले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भरपर्दो इन्टरनेट आवश्यक मानिन्छ । भायानेटका अनुसार पीएमजीओजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि इन्टरनेट साझेदारका रूपमा छनोट हुनु कम्पनीको नेटवर्क क्षमता र विश्वसनीयताको प्रमाण हो । भायानेटले यसअघि पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) मा पनि आधिकारिक इन्टरनेट साझेदारका रूपमा सेवा प्रदान गरेको थियो । उक्त प्रतियोगितामा कम्पनीले स्थिर र न्यून विलम्बतायुक्त इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराएको जनाएको छ । भायानेटले पीएमजीओसँगको साझेदारीमार्फत अन्तर्राष्ट्रियस्तरका ई–स्पोर्ट्स प्रतियोगिता सञ्चालनका लागि आवश्यक नेटवर्क पूर्वाधार उपलब्ध गराउनुका साथै गेमिङ तथा ई–स्पोर्ट्स क्षेत्रमा आफ्नो संलग्नतालाई थप विस्तार गर्ने जनाएको छ । नेपालमा ठूला अन्तर्राष्ट्रिय गेमिङ प्रतियोगिता आयोजना हुने क्रम बढ्दै जाँदा यस्ता आयोजनाका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माणमा आफ्नो योगदानलाई निरन्तरता दिने कम्पनीको भनाइ छ ।
ग्रीन डेभलपमेन्ट बैंकको डीसीईओमा विकास ढुंगाना नियुक्त
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विकास ढुंगाना नियुक्त भएका छन् । बैंकको भदौ २९ गते बसेको २५६औँ सञ्चालक समितिको बैठकले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरा महानगरपालिका–५, कास्की निवासी ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार ढुंगानालाई नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । ग्रीन डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त पाँच जिल्लामा कार्यक्षेत्र भएको विकास बैंक हो । बैंकको केन्द्रीय कार्यालय पोखराको नयाँबजारमा रहेको छ ।
गरुड क्यासिनोबाट क्वाइनसहित ११ नेपाली पक्राउ
काठमाडौं । गरुड क्यासिनोमा छिरेका ११ जना नेपाली पक्राउ परेका छन् । क्यासिनोभित्र नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेलेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका–६ घर भई काठमाडौं कागेश्वरी मनहरा–४ थली बस्ने ३४ वर्षीय बिकी लामा, सोलुखुम्बु माकालुङ गाउँपालिका–३ घर भई काठमाडौं–६ बौद्ध बस्ने ३९ वर्षीय नुवाङ शेर्पा, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–६ घर भई गोकर्णेश्वर–९ बस्ने ३९ वर्षीय पाशाङ शेर्पा र सिन्धुली गोलन्जर गाउँपालिका–५ घर भई कागेश्वरी मनहरा–७ बस्ने ३२ वर्षीया ज्योती मगर रहेका छन्। त्यस्तै, दोलखा वैतेश्वर गाउँपालिका–८ घर भई काठमाडौं बानेश्वर बस्ने ३५ वर्षीय नारायण खत्री, काठमाडौं गोकर्णेश्वर–२ का ४४ वर्षीय दिल लामा, काभ्रे रोशी गाउँपालिका–१ घर भई काठमाडौं ठमेल बस्ने ४४ वर्षीय अशोक लामा, नुवाकोट दुप्चेश्वर गाउँपालिका–३ घर भई गोकर्णेश्वर–५ बस्ने ३२ वर्षीय संजय तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई ललितपुर महालक्ष्मी–३ बस्ने ४० वर्षीय आषिश खड्का, ललितपुर महानगरपालिका–६ का ४९ वर्षीय सविनमान श्रेष्ठ र धनकुटा जोरपाटी गाउँपालिका–४ घर भई काठमाडौं पेप्सीकोला बस्ने ३० वर्षीय सुदिप अधिकारी पक्राउ परेका छन्। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१ तौलुङस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानीलकण्ठको संयुक्त टोलीले मंगलबार राति छापा मारेको हो। काठमाडौं जिल्ला प्रहरीका अनुसार सोमबार राति करिब २ बजे क्यासिनोमा चेकजाँच गर्दा नेपाली नागरिकलाई प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरी हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट ९ थान मोबाइल, ५० हजार रुपैयाँ अंकित क्वाइन ८ थान, १० हजार रुपैयाँ अंकित क्वाइन १९ थान, १ हजार रुपैयाँ अंकित क्वाइन ८८ थान र १ सय रुपैयाँ अंकित क्वाइन ५ थान बरामद गरेको छ। त्यसैगरी, प्रहरीले नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपैयाँ समेत बरामद गरेको जनाएको छ। उनीहरूलाई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रवक्ता दानबहादुर थापाले बताए ।
इरान युद्धमा अमेरिकाको ३३ अर्ब डलर खर्च, सयौं भवन ध्वस्त
काठमाडौं । इरानी हमलाका कारण मध्यपूर्वस्थित अमेरिकी सैन्य अखडामा रहेका ‘सयौं भवन तथा संरचना’ क्षतिग्रस्त वा ध्वस्त भएको तथा ‘दर्जनौं’ अमेरिकी विमानमा क्षति पुगेको अमेरिकी सरकारको प्रतिवेदनले जनाएको छ । यो विवरण जुनको अन्त्यसम्मको मात्र हो । अमेरिकी रक्षा मन्त्रालयका अनुसार जुन २९ सम्म इरानसँगको युद्धमा अनुमानित ३३.४ अर्ब डलर खर्च भएको छ। रक्षा मन्त्रालयले सोमबार अमेरिकी संसद् (कंग्रेस) मा सार्वजनिक गरेको ‘लीड इन्स्पेक्टर जनरल रिपोर्ट’ले जुनको अन्त्यसम्मको युद्धको अवस्थालाई समेटेको छ । प्रतिवेदनअनुसार इरानी हमलाबाट इराक, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) गरी चार देशमा रहेका अमेरिकी कूटनीतिक नियोगका संरचनामा मात्रै १८४ मिलियन डलर बराबरको भौतिक क्षति पुगेको छ । युद्धका क्रममा अमेरिकी गोला-बारुद तथा हतियारको ठूलो मात्रामा प्रयोग हुँदा रणनीतिक भण्डारमा कमी आएको र हतियार पुनःआपूर्तिका लागि अमेरिकी रक्षा उद्योगको उत्पादन क्षमतामा रहेका अवरोध तथा सीमितता उजागर भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन सार्वजनिक हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा अमेरिकाले आफ्नो इतिहासकै सबैभन्दा धेरै ‘उत्कृष्ट र विशिष्ट हतियार’ उत्पादन गरिरहेको दाबी गरेका थिए । प्रतिवेदनले पाँचौं पुस्ताको एफ–३५ ए लडाकु विमान शत्रुको आक्रमणबाट क्षतिग्रस्त भएको पनि देखाएको छ । एफ–३५ एले युद्धमा क्षति बेहोरेको यो पहिलो घटना भएको जनाइएको छ । जुनको अन्त्यसम्म चारवटा एफ–१५ ई लडाकु विमान र एउटा ए–१० स्थल आक्रमण विमान ध्वस्त भएका थिए । अमेरिकी वायुसेनाका अनुसार एउटा एफ–३५ ए विमानको लागत ९२ मिलियन डलर पर्छ । त्यस्तै, एफ–१५ ईको सन् १९९८ को लागत ३१.१ मिलियन डलर थियो । त्यसैगरी, सातवटा केसी–१३५ इन्धन भर्ने विमान क्षतिग्रस्त वा ध्वस्त भएका छन् । युद्धका क्रममा सातवटा हेलिकप्टर र ३० भन्दा बढी ड्रोन पनि गुमाइएको प्रतिवेदनमा उल्लेख छ ।
सर्वोत्तम पेन्ट्सले १० प्रतिशत बोनस सेयर दिने
काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २८ गते बसेको ८५औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पारित गर्दै चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हालको चुक्ता पुँजी ३४ करोड रुपैयाँ रहेको छ । सोही पुँजीको १० प्रतिशतले हुन आउने ३ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश सम्बन्धित निकायबाट स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।