विकासन्युज

एनपीएललाई लक्षित गर्दै सिद्धार्थ बैंकद्वारा आकर्षक योजनाहरु सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक सिद्धार्थ बैंकले प्रतियोगितालाई लक्षित गर्दै ग्राहकका लागि सिद्धार्थ एनपीएल क्रेडिट कार्ड र सिद्धार्थ एनपीएल बचत खाता’ गरी दुई नयाँ विशेष योजनाहरू सार्वजनिक गरेको छ । असोज १ गतेदेखि मंसिर २९ गतेसम्म आवेदन दिने ग्राहकले सर्तहरू पूरा गरी आजीवन निःशुल्क सिद्धार्थ एनपीएल क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ।  यस योजनाअन्तर्गत पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइनेछ भने दोस्रो वर्षदेखि अघिल्लो वर्ष कम्तीमा तीनवटा कारोबार गरेमा वार्षिक शुल्क फिर्ता गरिनेछ ।  त्यसैगरी, सिद्धार्थ एनपीएल बचत खाता खोल्ने ग्राहकले विशेष एनपीएल-थिममा आधारित डेबिट कार्ड, ५०० सिद्धार्थ रिभार्ड पोइन्ट र वार्षिक ५०० रुपैयाँमा डेबिट कार्ड तथा मोबाइल बैंकिङको बन्डल प्याकेज प्राप्त गर्नेछन् ।  असोज १ देखि कार्तिक ३० सम्मको अभियान अवधिभर उच्च रिभार्ड पोइन्ट कमाउने र प्रयोग गर्ने ग्राहकहरूले गिफ्ट ह्याम्पर, एनपीएल म्याचको टिकट र सेमिफाइनल खेलमा प्लेयर अफ द म्याच पुरस्कार हस्तान्तरण गर्ने अवसर पाउने बैंकले जनाएको छ ।  

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट ड्र सम्पन्न, खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुन गइरहेको दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३ को टाइसिट ड्र सम्पन्न भएको छ । कम्पनीले प्रतियोगितामा सहभागी विभिन्न बीमा कम्पनी तथा संस्थाहरूलाई समेटेर कमलादी स्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा टाइसिट ड्रमार्फत प्रारम्भिक चरणका खेलहरू तय गरेको हो । असोज ३ गते सामाखुसी फुटसलमा आयोजना हुने प्रतियोगितामा सहभागी टोलीहरूबीच प्रतिस्पर्धात्मक फुटसल खेल सञ्चालन हुनेछ । टाइसिट ड्रबाट प्रतियोगिताको प्रारम्भिक नकआउट चरणमा निम्न टोलीहरूबीच प्रतिस्पर्धा हुने तय भएको छ: टाइसिट ड्रमार्फत तय भएको खेल तालिकाले सहभागी टोलीहरूलाई प्रतियोगिताका लागि थप तयारी गर्ने अवसर प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।  प्रतियोगिताले नेपाली बीमा क्षेत्रका विभिन्न कम्पनीबीच आपसी सम्बन्ध, सहकार्य र स्वस्थ प्रतिस्पर्धालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।  यस वर्षको दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप का लागि एरिना प्रो लाई आधिकारिक मोबाइल एप पार्टनरका रूपमा सहकार्यमा ल्याइएको छ । प्रतियोगितासँग सम्बन्धितखेलको स्कोर, खेलको अवस्था, खेल तालिका तथा अन्य महत्वपूर्ण जानकारीहरू एरिना प्रो मोबाइल एपमार्फत प्राप्त गर्न सकिनेछ । खेलप्रेमी तथा सहभागीहरूले एरिना प्रो एप डाउनलोड गरी प्रतियोगिताका खेलहरू सम्बन्धी अपडेटहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । एरिना प्रोसँगको सहकार्यले प्रतियोगिताको खेलसम्बन्धी सूचना तथा स्कोरलाई डिजिटल माध्यमबाट दर्शक र खेलप्रेमीमाझ सहज रूपमा पुर्‍याउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

कर्मा रेसिडेन्सिजका ग्राहकलाई मुक्तिनाथ विकास बैंकले सहज आवास कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । यस समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्ड बमोजिम आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थपेर अधिकतम ३० वर्षको अवधिका लागि आवास कर्जा प्राप्त गर्न सक्नेछन् ।  यस सहकार्यबाट कर्मा रेसिडेन्सिजका परियोजनामा घर तथा अपार्टमेन्ट खरिदकर्तालाई वित्तीय स्रोत जुटाउन थप सहज हुने अपेक्षा गरिएको छ ।  कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्यांकन, सम्पत्तिको कानूनी तथा प्राविधिक परीक्षण र बैंकको नीति अनुसार उपलब्ध गराइने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् । 

बाढी प्रभावितका लागि रावा बैंकका पूर्वकर्मचारीद्वारा १५ लाख बढी सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १५ लाख ७४ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन् । रावा बैंक पूर्वकर्मचारी संघको पहलमा संकलित उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी संघका पदाधिकारीहरूले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।  संघमा राष्ट्रिय वाणिज्य बैंकबाट निवृत्त भएका ३ हजारभन्दा बढी पूर्वकर्मचारी आबद्ध छन् । चेक हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले विपद्को समयमा पूर्वकर्मचारीहरूले देखाएको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे ।  उनले नागरिक तहबाट प्राप्त सहयोगले विपत्तिसँग जुध्न सरकारलाई थप हौसला मिलेको बताए । मन्त्री श्रेष्ठले संघका हजारौं सदस्यको योगदानबाट संकलित रकमले बाढीबाट प्रभावित परिवारलाई राहत पुर्‍याउन सहयोग पुग्ने उल्लेख गरे ।  उनले विपद्का बेला आर्थिक सहयोगसँगै सामाजिक एकता र मनोबल बढाउन यस्ता पहलको महत्वपूर्ण भूमिका रहने बताए । पूर्वकर्मचारी संघले सामाजिक उत्तरदायित्व निर्वाहसँगै सामाजिक मनोविज्ञान सुधार र वित्तीय सुशासन प्रवद्र्धनमा समेत योगदान पुर्‍याउँदै आएको मन्त्री श्रेष्ठको भनाइ थियो । 

हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक, मूल्य कति ?

काठमाडौं । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट तथा नयाँ रंग सार्वजनिक गरेको छ ।  कम्पनीले हन्टर ३५० मा टार्माक ब्ल्याक नयाँ भेरियन्ट ल्याउनुका साथै टप भेरियन्टमा मुम्बई यल्लो र मुनसट ह्वाइट रंग थपेको हो । नयाँ भेरियन्टमा एलोय ह्विल, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस र सिंगल च्यानल एबीएस लगायतका सुविधा छन् । हन्टर ३५० को सहज राइडिङ, चुस्त ह्यान्डलिङ र ‘प्योर मोटरसाइकलिङ’को विशेषतालाई नयाँ भेरियन्टमा पनि निरन्तरता दिइएको कम्पनीले जनाएको छ । नेपालमा गत वर्ष सार्वजनिक भएको हन्टर ३५० कम्प्याक्ट डिजाइन, नियो–रेट्रो लुक र सहज राइडिङ अनुभवका कारण नयाँ पुस्ताका राइडरमाझ लोकप्रिय हुँदै आएको कम्पनीको दाबी छ । दैनिक प्रयोगलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको नयाँ टार्माक ब्ल्याक भेरियन्टमा हन्टर ३५० को मौलिक रोडस्टर डिजाइनलाई कायम राखिएको छ । यसमा एलोय ह्विल, राउन्ड ह्यालोजन हेडलाइट, डिजि–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, रोटरी स्विचगियर, स्टिच्ड सिट र स्पोर्टी ग्राब रेल उपलब्ध छन् । त्यस्तै, सिंगल च्यानल एबीएससँगै स्लिप एन्ड असिस्ट क्लच पनि दिइएको छ । यसले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको भनाइ छ ।  हन्टर ३५० को टप भेरियन्टमा मुम्बई यल्लो र मुनसट ह्वाइट गरी दुई नयाँ रंग थपिएका छन् । मुम्बई यल्लो मुम्बईको कला, चलचित्र र जीवन्त शहरी वातावरणबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । चम्किलो पहेँलो फिनिसले मोटरसाइकललाई आकर्षक र युवा लुक दिने कम्पनीको दाबी छ । त्यस्तै, मुनसट ह्वाइटमा ‘ओरायन’ अर्थात् शिकारी नक्षत्रबाट प्रेरित ग्राफिक्स तथा आकाशीय तत्व प्रयोग गरिएको छ । रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यदविन्दर सिंह गुलरियाले हन्टर ३५० नेपालमा नयाँ पुस्ताका राइडरको रोजाइ बन्दै गएको बताए । डिजाइन, चुस्त ह्यान्डलिङ र दैनिक प्रयोगमा सहजताका कारण यसको लोकप्रियता बढेको उनको भनाइ छ । नयाँ भेरियन्ट र रंगले थप राइडरलाई हन्टर ३५० रोज्ने अवसर प्रदान गर्ने उनले बताए । नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले पनि हन्टर ३५० ले नेपाली राइडरमाझ राम्रो सम्बन्ध बनाउन सफल भएको बताए ।  नयाँ भेरियन्ट र रंगले ग्राहकका लागि थप विकल्प सिर्जना गर्ने र यसले हन्टर ३५० को बजार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ टार्माक ब्ल्याक भेरियन्टको एक्स–शोरुम मूल्य ४ लाख ८७ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, मुम्बई यल्लो र मुनसट ह्वाइट रंगमा उपलब्ध टप भेरियन्टको मूल्य ५ लाख ११ हजार रुपैयाँ रहेको छ । नयाँ भेरियन्ट तथा रंगका हन्टर ३५० को बुकिङ तथा बिक्री १६ सेप्टेम्बर २०२६ देखि नेपालभर रहेका रोयल इन्फिल्डका अधिकृत डिलरमार्फत सुरु हुने कम्पनीले जनाएको छ ।

नुवाकोटका होल्डिङ सेन्टर र खानेपानीका मुहानमा गुणस्तर परीक्षण सुरु

काठमाडौं । बाढी तथा विपद्का कारण खानेपानीमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै नुवाकोटका विभिन्न क्षेत्रमा खानेपानीको गुणस्तर परीक्षण तथा अनुगमन भइरहेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको जानकारीअनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुर, युनिसेफ नेपाल, जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोट तथा वास क्लस्टर नुवाकोटको संयुक्त टोलीले जिल्लाका विभिन्न होल्डिङ सेन्टर तथा मुहानदेखि धारासम्मको खानेपानीको गुणस्तर परीक्षण गरिरहेको छ। बाढी तथा विपद्का कारण खानेपानीका स्रोतमा दूषित पदार्थ मिसिन सक्ने सम्भावनालाई ध्यानमा राखी सुरक्षित तथा स्वच्छ खानेपानीको सुनिश्चितताका लागि परीक्षण तथा अनुगमन कार्यलाई निरन्तरता दिइएको मन्त्री लम्सालले बताए ।  विपद्का समयमा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्दै सर्वसाधारणलाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले मुहानदेखि धारासम्म पानीको गुणस्तर परीक्षण तथा आवश्यक अनुगमन भइरहेको उनले जनाए । 

बिहीबार भारत भ्रमणमा जाँदै अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन्।  उनी बिहीवार (भोलि) ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन् ।  बुधवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो ।  भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुने अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ । विपद्पछिको पुनःनिर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य  हुने जनाइएको छ ।  बिहीवार साँझ ५ बजे वाग्लेले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । यस्तै, शुक्रवार अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ । सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ ।  शुक्रवार नै अर्थमन्त्री डा. वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने  बृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । त्यस्तै, शनिवार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुने जनाइएको छ । शनिवार दिउँसो नै अर्थमन्त्री वाग्लेले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने  विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने मन्त्रालयले जनाएको छ । उनी शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ ।