२०६ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.६७ अंकले घटेर २६६७ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३७ कम्पनीको ७५ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै कर्पोरेट डेभलपमेन्ट बैंकको १५ करोड, रिडि पावरको १० करोड र आँखु खोलाको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
जनकपुरमा पनि कर्फ्यू आदेश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ । प्रदर्शन चर्किएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । बिहीबार (आज) अपरान्ह साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार उपमहानगरपालिकाका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । प्रशासनले कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेक कुनै पनि व्यक्ति, सवारीसाधन वा समूहलाई तोकिएको क्षेत्रमा आवतजावत नगर्न निर्देशन दिएको छ । सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, संयमता अपनाउन तथा प्रशासनलाई सहयोग गर्न आग्रहसमेत गरिएको छ । यसअगाडि सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यू लगाइसकिएको छ । सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यू
शान्ति–सुरक्षा र सामाजिक सद्भावमा सुरक्षा परिषद्को विशेष जोड
काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार (आज) राष्ट्रिय सुरक्षा परिषद्को ४३औं बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा शान्ति–सुरक्षा कायम राख्न सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । परिषद्का अनुसार बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा साउन १० गते सुनसरीमा भएको घटनाबारे विस्तृत समीक्षा गरिएको थियो । राजनीतिक दल, स्थानीय सरोकारवाला तथा सुरक्षा निकायको संयुक्त प्रयासबाट उक्त क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको विषयमा परिषद्लाई ब्रिफिङ गरिएको थियो । बैठकपछि जारी विज्ञप्तिमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित पक्षसँग प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावना सुदृढ बनाउने गरी कार्यसम्पादन गरिने उल्लेख गरिएको छ । त्यसैगरी, विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीचको समन्वय अझ सुदृढ बनाउने निर्णय पनि बैठकले गरेको परिषद्ले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्यसचिव गोविन्द कार्की, प्रधानसेनापति अशोक सिग्देल र रक्षा सचिव केदारनाथ शर्मा सहभागी थिए ।
सार्वजनिक बिदामा पनि राहदानी सेवा, विभागले खुलायो आवेदन फाराम
काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आगामी सोमबारसम्म राहदानी आवेदन फाराम खुला राख्ने भएको छ । विभागले सार्वजनिक बिदा परेका शनिबार र आइतबारसमेत सेवा सञ्चालन गर्दै साउन १८ गतेसम्म आवेदन फाराम खुला रहने जनाएको छ । बिहीबार सूचना जारी गर्दै विभागले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न बिदाका दिन पनि आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको जनाएको हो । विभागका अनुसार वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिन पाउने म्याद थप गरेपछि राहदानी बनाउन चाहनेको संख्या बढेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै थप आवेदन फाराम खुला गरिएको विभागले जनाएको छ । विभागले आवेदन दिएका सेवाग्राहीलाई आफूले फाराममा उल्लेख गरेको मिति र समयमा अनिवार्य रूपमा उपस्थित भई राहदानी सेवा लिन पनि अनुरोध गरेको छ ।
नेपाली ई–कमर्स बजारमा सिल्क ग्रुपको ‘चाइना बजार’, आईपीओ ल्याउने योजना
काठमाडौं । सिल्क ग्रुपले व्यवसाय विविधीकरण रणनीतिअन्तर्गत ‘चाइना बजार’ नामक नयाँ ई–कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले एक विशेष कार्यक्रम आयोजना गरी ‘चाइना बजार’ ई–कमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको जानकारी दिएको हो । ‘चाइना बजार’ले प्रारम्भिक चरणमा व्यवसायदेखि ग्राहक (बीटुसी) मोडलमार्फत सेवा सुरु गरेको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । उनले ‘चाइना बजार’सँगै कम्पनीले पहिलो अफलाइन रिटेल स्टोर पनि सञ्चालनमा ल्याएको बताए । उनका अनुसार ग्वार्खोस्थित टुलिप होटल परिसरभित्र सञ्चालनमा आएको उक्त स्टोरमा ग्राहकले सामान प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन् । कम्पनीले एक वर्षभित्र वीरगञ्ज र भैरहवामा थप दुई वटा ‘एक्सपेरियन्स स्टोर’ विस्तार गर्ने योजना बनाएको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले आगामी दिनमा व्यवसायदेखि व्यवसाय (बीटुबी) सेवा पनि देशभर विस्तार गर्ने बताए । ‘चाइना बजार’मार्फत साना तथा मझौला व्यापारीहरूले समेत प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ । कम्पनीले ई–कमर्स प्लेटफर्मलाई देशव्यापी व्यापारिक सञ्जालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । ‘चाइना बजार’ले नेपाली उपभोक्ताको दैनिक किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउने उनको भनाइ छ । सिल्क ग्रुपले आईपीओ जारी गर्ने तयारी गरेको जानकारी दिँदै अध्यक्ष शेर्पाले छिट्टै सर्वसाधारणका लागि आईपीओ जारी गर्ने घोषणा गरे । उनले भने, ‘सिल्क ग्रुपले व्यवसाय विविधीकरण गर्दै ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’ सञ्चालनमा ल्याएको छ । सुरुमा ‘चाइना बजार’ले बीटुसी अर्थात् व्यवसायबाट ग्राहकलाई सेवा दिन्छ । ई–कमर्स प्लेटफर्म ‘चाइना बजार’सँगै हामीले ‘चाइना बजार’को एक्सपेरियन्स स्टोर पनि सञ्चालनमा ल्याएका छौँ । यो एक्सपेरियन्स स्टोर अर्थात् अफलाइन रिटेल स्टोर हो । यसले ग्राहकलाई सामान प्रत्यक्ष हेर्ने र अनुभव गर्ने अवसर दिन्छ । हामी यसलाई बिस्तारै देशभरका प्रमुख सहरमा विस्तार गर्दै जानेछौँ ।’ ‘चाइना बजार’मार्फत नेपाली उपभोक्ताले गुणस्तरीय सामान सरल, उचित र पारदर्शी मूल्यमा खरिद गर्न पाउनेछन् । उद्योगदेखि उपभोक्ताको दैलोसम्म पुग्दा बीचमा लाग्ने अतिरिक्त शुल्कको भार अब ग्राहकले बेहोर्नु नपर्ने कम्पनीले जनाएको छ । ‘चाइना बजार’ले चीनका उत्पादनकर्ताबाट प्रत्यक्ष सामान खरिद गर्ने, आफ्नै गोदाममा भण्डारण गर्ने र ग्राहकसम्म डेलिभरी गर्ने व्यवस्था गरेको जनाएको छ । यसबाट डेलिभरी समय कम हुने, लागत घट्ने र मूल्यमा पारदर्शिता कायम रहने कम्पनीको दाबी छ । ‘इन्जोय योर सपिङ’ भन्ने नारासहित सुरु गरिएको ‘चाइना बजार’मा प्रारम्भिक चरणमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइलका सामग्री तथा स्वास्थ्य र सौन्दर्यसम्बन्धी सामग्री उपलब्ध हुनेछन् । कम्पनीका अनुसार ग्राहकले ईसेवा र खल्ती मार्फत भुक्तानी गर्न सक्नेछन् ।
सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यू
काठमाडौं । सिरहामा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाले जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा कर्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको आदेशबाट दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गोलबजार नगरपालिकाको (पूर्वतर्फ कसाह खोला, पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ सैनिक चोक र दक्षिणतर्फ राजेन्द्र प्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्र) मा पूर्ण रूपमा आवतजावत तथा भेला हुन रोक लगाइएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका- ३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेशका विभिन्न जिल्लामा प्रदर्शन हुन थालेको हो ।
ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौं विस्थापित
काठमाडौं । ग्रिसको क्रेट टापुमा रहेको पर्यटक रिसोर्टमा आगलागीको खतरा बढ्दै जाँदा हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको स्थानीय अधिकारीले बताएका छन् । प्रभावित क्षेत्रका लगभग आठ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको रेथिम्नो क्षेत्रका उपगभर्नर मारिया लियोनीले सरकारी टिभी ईआरटीलाई जानकारी दिए। बुधबार देखि सुरु भएको आगोले हाल सम्म दुई जना अग्नि नियन्त्रकको ज्यान लिएको उल्लेख गरिएको छ भने आगलागी साँझमा दिशा परिवर्तन गर्नुअघि प्रभावित गाउँको एक किलोमिटर भित्र पुगे पछि उक्त स्थनमा खतरा बढेकाले उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्त्रण गर्ने निर्णय गरिएको जनाइएको छ । आगलागीले घर, कृषि सुविधा र जनावरहरू समेत जलेको अनुमान गरिएको छ यद्यपी आगलागी जारी रहेकाले मृतकको सङ्ख्या अझै यकिन नभएको लियोनीले बताए । दुई जना अग्निशामक क्रया भ्रीसी गाउँ नजिकैको पाहाडी सडकमा फसेको अवस्था रहदा र हावाको दिशा परिवर्तन हुँदै जाँदा आगोले जलेर उनीहरुको मृत्यु भएको जनाइएको छ । पेलोपोनिस प्रायद्वीपको गिथियो नजिकै छुट्टै आगो निभाउने प्रयासको क्रममा अर्को एक जना अग्नि नियन्त्रकको मृत्यु भएको जनाइएको थियो । अग्निशामक विभागले दक्षिण–पश्चिमी क्रेटको रेथिम्नो क्षेत्रमा २०० भन्दा बढी अग्निशामक र ५३ वटा फायर इन्जिनहरु सञ्चालन गरेको जनाइएको छ । तटरक्षकका प्रवक्तालाई उदृत गर्दै एएफपीले एगिया ग्यालिनीमा चार वटा गस्ती डुङ्गाहरू अतिरिक्त निकासीमा मद्दत गर्न तयार रहेको जनाएको छ । तर अवस्था अत्यन्त कठिन भएको जनाइएको छ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आगलागी नियन्त्रण प्रयासमा ज्यान गुमाउने अग्निशामकको कार्यको प्रशंसा गर्दै उनीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । लामो खडेरी, उच्च तापक्रम र तीव्र हावाका कारण ग्रिसले हरेक वर्ष जसो गर्मीमा विनाशकारी जङ्गली आगोको सामना गर्ने गरेको जनाइएको छ । नागरिक सुरक्षा मन्त्रालयले क्रेट, ग्रेटर एथेन्स क्षेत्र, पूर्वी पेलोपोनिस र अधिकांश एजियन टापुहरू सहित बिहीबारका लागि धेरै क्षेत्रहरूलाई अधिकतम आगोको सतर्कता कायम राखेको जनाइएको छ ।
संविधान संशोधनको तयारीबारे दाहालको प्रश्न - सरकारसँग मागे स्पष्टता
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले अघि बढाउन खोजेको संविधान संशोधनको तयारीबारे प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै दाहालले संविधान संशोधनजस्तो गम्भीर विषयमा सरकारको धारणा, उद्देश्य र प्रक्रिया स्पष्ट हुनुपर्ने बताएका हुन् । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले आफ्नो काम सम्पन्न गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । दाहालले संविधान संशोधन मुलुकको राजनीतिक स्थायित्व, जनताको अधिकार र लोकतान्त्रिक प्रणालीसँग जोडिएको विषय भएकाले पर्याप्त छलफल र सहमतिबिना अघि बढाउन नहुने धारणा राखे । उनले संविधान संशोधनका नाममा कुनै निश्चित राजनीतिक स्वार्थ पूरा गर्ने प्रयास भए त्यसले थप विवाद सिर्जना गर्न सक्ने चेतावनीसमेत दिए ।