विकासन्युज

कालीप्रसाद पराजुली सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सचिव पदमा पराजुलीलाई बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको जानकारी दिए । रिक्त सचिव पदमा बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्ले पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

ठमेलबाट ४७ जना पक्राउ , सबैलाई मुद्दा चलाइयो

काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा सार्वजनिक मर्यादा तथा शान्ति भंग गर्ने, लागूऔषध तथा यौनजन्य गतिविधि गर्नेलाई दुई दिनमा प्रहरीले ४७ जनालाई मुद्दा चलाएको छ ।  काठमाडौं प्रहरी परिसरका अनुसार रात्रीकालीन व्यवसायमा बिचौलियाको रूपमा काम गर्ने आरोपमा १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। मंगलबार २२ महिला, १३ पुरुष  र बुधबार ६ पुरुष ६ महिला  गरि जम्मा ४७ जना उपर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्म उनीहरूले सार्वजनिक स्थल तथा सडकमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक र सर्वसाधारणलाई दुःख हैरानी दिने, अभद्र व्यवहार गर्ने, लागूऔषध तथा यौनजन्य गतिविधि गर्ने गरेका थिए ।  डान्स, दोहोरी, बार र क्लबजस्ता रात्रीकालीन व्यवसायमा बिचौलियाको भूमिका निर्वाह गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा १४ जनालाई नियन्त्रणमा लिइएको थियो। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएकामध्ये प्रारम्भिक छानबिन तथा अनुसन्धानका क्रममा ६ पुरुष र ६ महिला गरी १२ जनाको उल्लिखित गतिविधिमा संलग्नता देखिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई पाँच दिनको म्याद थप गरिएको छ।

सरकारले सेयर कारोबारमा पूँजीगत लाभकर घटायो

काठमाडौं । सेयर बजारमा लगानी गर्नेहरूलाई राहत पुग्ने गरी सरकारले धितोपत्र कारोबारबाट हुने नाफामा लाग्ने पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अल्पकालीन र दीर्घकालीन दुवै प्रकारका सेयर कारोबारमा लाग्ने करको दर घटाएको हो । निर्णयअनुसार प्राकृतिक व्यक्तिले ३६५ दिन वा सोभन्दा कम समय स्वामित्वमा राखेर बिक्री गरेको धितोपत्रबाट भएको नाफामा ५ प्रतिशत र ३६५ दिनभन्दा बढी समय होल्ड गरी बिक्री गरेको धितोपत्रबाट भएको नाफामा ३.५ प्रतिशत अग्रिम पूँजीगत लाभकर तिर्नुपर्नेछ । मन्त्रिपरिषद्को निर्णयमा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभ तथा विनियम बजारको कारोबार गर्ने निकायमार्फत प्राकृतिक व्यक्तिले गरेको धितोपत्र कारोबारमा नयाँ करदर लागू हुने उल्लेख छ । यसअघि प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी अवधि धितोपत्र होल्ड गरेर बिक्री गर्दा नाफामा १० प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गरेर बिक्री गर्दा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । नयाँ करदर नेपाल राजपत्रमा सूचना प्रकाशित भएको दिनदेखि कार्यान्वयनमा आउनेछ । यससँगै दीर्घकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर १० प्रतिशतबाट ३.५ प्रतिशतमा झर्नेछ भने अल्पकालीन कारोबारमा कर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा सीमित हुनेछ । निर्णयले सेयर बजारका लगानीकर्ताको कारोबार लागत घटाउने अपेक्षा गरिएको छ ।

चिलिमे सुरुङमा थप एक शव फेला, मृतकको संख्या पाँच पुग्यो

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा बुधबार थप एकजनाको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र खोजी जारी राख्ने क्रममा उक्त शव फेला पारेको हो ।  यससँगै चिलिमेको सुरुङभित्रबाट निकालिएका मृतकको संख्या पाँच पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण चिलिमेसहितका विभिन्न जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेको थियो ।  बाढीका वेला काममै खटिएका आयोजनाका कामदार तथा कर्मचारीहरू बेपत्ता भएका थिए । सुरुङभित्र मानिसहरू थुनिएको वा बाढीले बगाएर पुर्याएको आशंकामा सेना र सशस्त्र प्रहरीका ११ जना सम्मिलित विशेषज्ञ उद्धार टोली लगातार खोजी कार्यमा खटिरहेको  छ ।  बाढीले पुर्याएको क्षतिका कारण आयोजनाको विद्युत् उत्पादन ठप्प हुनुका साथै उद्धार कार्यमा पनि ठूलो चुनौती थपिएको छ ।  सुरुङभित्र अझै अन्य मानिसहरू हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले सुरक्षा सतर्कता अपनाएर खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

काठमाडौं । बुधबार (आज) बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले विभिन्न ६ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । यी हुन् निर्णयहरू : १. सरकारी निर्णय प्रक्रिया, सरलीकरण, तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने ।  २. नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३ सय ६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने ।  ३. नेपाल न्याय सेवा, न्याय समूह राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने । ४. साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा, क्षतिपूर्ती रकमसम्बन्धी कानुन कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिइ बीमा, क्षतिपूर्तीको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने । ५. चक्रीय राहत कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने । ६. नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।

युनाइटेड मोदी हाइड्रोले ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निकाल्ने

काठमाडौं । विद्युत् नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई १:०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति दिएको छ । आयोगको भदौ २५ गते बसेको ३१९औँ बैठकको निर्णयअनुसार कम्पनीलाई हाल कायम चुक्ता पुँजीको आधारमा ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिइएको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । सो पुँजीको १:०.६५ अनुपातमा हकप्रद सेयर जारी गर्दा ७९ करोड ९८ लाख २५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले आयोगसमक्ष पेस गरेको थियो । तर, आयोगले कम्पनीले मेवा खोला जलविद्युत् आयोजना निर्माणका लागि लिएको ऋणलाई आधार मानेर ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको हो । कम्पनीले यसअघि मेवा खोला जलविद्युत् आयोजना निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ ऋण लिएको जनाएको छ । थप १२ करोड ५० लाख रुपैयाँ कर्जा समेत गरी कुल ८० करोड रुपैयाँ ऋण लिएकोमा हकप्रद सेयरबाट प्राप्त रकम बैंक कर्जा भुक्तानीमा प्रयोग गर्ने कम्पनीको योजना छ । युनाइटेड मोदी हाइड्रोपावरले पर्वत जिल्लामा १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको दशौँ वार्षिक साधारणसभाले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई संशोधन गर्दै एघारौँ वार्षिक साधारणसभाले १:०.६५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । आयोगले विद्युत्सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ९ बमोजिम उक्त पूर्वस्वीकृति दिएको जनाएको छ ।

अडानीलाई पछि पार्दै एसियाका सबैभन्दा धनी बने झाङ यिमिङ, को हुन् उनी ?

काठमाडौं । घरेलु सेयर बजारमा मंगलबार (हिजो) आएको भारी गिरावटसँगै अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा ठूलो कमी आएको छ ।  उनको नेटवर्थ एकैदिन ४.४४ अर्ब अमेरिकी डलरले घटेपछि उनले एसियाका सबैभन्दा धनी व्यक्तिको स्थान गुमाएका छन् । ब्लुमबर्गका अनुसार चीनको प्रविधि कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ अडानीलाई पछि पार्दै एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् ।  दुवैको नेटवर्थ १०५ अर्ब डलर रहे पनि दशमलवपछिको गणनामा यिमिङ अगाडि छन् । अडानी एसियामा दोस्रो र विश्वका धनी व्यक्तिको सूचीमा २०औं स्थानमा झरेका छन् ।  यद्यपि, यस वर्ष उनको नेटवर्थमा २०.४ अर्ब डलर वृद्धि भएको छ ।  यिमिङको नेटवर्थ भने यस वर्ष ४०.३ अर्ब डलरले बढेको छ । कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै उनको नेटवर्थमा उल्लेख्य वृद्धि भएको हो । यो महिनामात्रै उनको सम्पत्ति १२ अर्ब डलरभन्दा बढी बढेको छ । को हुन् यिमिङ ? झाङ यिमिङ टिकटकका मालिक हुन् । । टिकटक विश्वभर लोकप्रिय भएपछि उनी विश्वका धनाढ्य व्यक्तिको सूचीमा तीव्र रूपमा माथि उक्लिएका हुन् ।  उनले सन् २०१२ मा बाइटडान्स स्थापना गरेका  थिए । उनी सन् २०२१ मा बाइटडान्सको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष पदबाट अलग भएका थिए ।  पछिल्लो समय उनको नेटवर्थ तीव्र रूपमा बढ्दै गएपछि उनी एसियाका सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानमा समेत पुगेका हुन् । शीर्ष पाँचमा को–को छन् ? विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा एलन मस्क पहिलो स्थानमा कायम छन् । उनको नेटवर्थ ८९२ अर्ब डलर रहेको छ । मंगलबार मात्रै उनको नेटवर्थमा २४.८ अर्ब डलरको गिरावट आएको छ । यद्यपि, यस वर्ष उनको नेटवर्थ २७३ अर्ब डलरले बढेको छ । सूचीमा ल्यारी पेज २९५ अर्ब डलरसहित दोस्रो, सर्गेई ब्रिन २७४ अर्ब डलरसहित तेस्रो, जेफ बेजोस २७४ अर्ब डलरसहित चौथो र माइकल डेल २५३ अर्ब डलरसहित पाँचौँ स्थानमा छन् । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ८१.३ अर्ब डलरको नेटवर्थसहित विश्वका धनी व्यक्तिको सूचीमा २३औँ स्थानमा छन् ।  मंगलबार उनको सम्पत्तिमा १.७८ अर्ब डलरको कमी आएको छ । यस वर्ष भने उनले कुल २६.४ अर्ब डलर सम्पत्ति गुमाइसकेका छन् ।

विमानस्थलमा यात्रुको लगेजमा प्रहरीले निगरानी बढाउँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरूको लगेज हराएमा विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीसँग सम्पर्क गर्न अनुरोध गरेको छ । विमानस्थल सुरक्षा कार्यालयले  यात्रुको लगेज सुरक्षा सतर्कता, निगरानी र सम्बन्धित निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाएको छ। यात्रुका सामान चोरी हुने, हराउने तथा क्षति हुने घटना न्यूनीकरणका लागि प्रहरीले विमानस्थलमा निरन्तर निगरानी गरिरहेको जनाएको छ।  प्रहरीको सक्रियता, निगरानी तथा सम्बन्धित निकायसँगको समन्वयका कारण पछिल्लो समय यात्रुका लगेज तथा व्यक्तिगत सामान चोरी तथा हराउने घटनामा उल्लेख्य कमी आएको प्रहरीको भनाइ छ। विमानस्थलबाट यात्रा गर्दा यात्रुले ह्याण्ड क्यारी अर्थात् आफूसँगै लैजाने झोलामा के–कस्ता सामान राख्न पाइन्छ र के–कस्ता सामान लैजान पाइँदैन भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने प्रहरीले जनाएको छ। ह्याण्ड क्यारीमा के–के लैजान पाइँदैन ? ह्याण्ड क्यारीमा १०० ग्रामभन्दा बढी झोल पदार्थ, घोच्ने तथा धारिलो वस्तु, ग्यास लाइटर, सलाईलगायत बल्ने वस्तु राख्न पाइँदैन। त्यस्तै, फूलका बिरुवा, हरियो तरकारी, खुर्सानी, नरिवलको दानालगायत हवाई सुरक्षामा असर पार्न सक्ने वस्तुहरू पनि लैजान निषेध गरिएको छ। कानूनले वर्जित गरेका हातहतियार, खरखजाना, लागूऔषधलगायत अवैध वस्तु फेला परेमा भने सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई तत्काल कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । लैजान नमिल्ने सामान फेला परे के गर्ने ? हवाई उडानका लागि निषेध गरिएका तर कानूनले वर्जित नगरेका अचार, घ्यू लगायतका सामग्री प्रहरीले जाँचका क्रममा फेला पारेमा यात्रुको सुविधाका लागि सामान आफन्त वा चिनजानका व्यक्तिलाई जिम्मा लगाउने व्यवस्था गरिएको छ। त्यसका लागि यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल प्रहरी सहायता कक्षमा आफन्त वा सम्बन्धित व्यक्तिलाई पठाउन सक्नेछन्। यसरी जिम्मा लगाइएका सामान लिन आउने व्यक्तिले ४८ घण्टाभित्र सम्पर्क गर्नुपर्ने प्रहरीले जनाएको छ। सामान बुझाउन सहज होस् भन्नका लागि यात्रुले सामान लिन आउने व्यक्तिको नाम, सम्पर्क नम्बर तथा आफूलाई सम्पर्क गर्न सकिने ह्वाटसएप लगायतका सम्पर्क नम्बर उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। विदेश जाँदा लगेजको तौल बढी भए के गर्ने ? विदेश यात्रा गर्दा लगेजको तौल तोकिएको सीमाभन्दा बढी भएमा यात्रुले अनावश्यक वा कम उपयोगी सामान तत्काल लगेजबाट निकाल्न सक्नेछन्। निकालिएका सामान आफूलाई विमानस्थलसम्म छोड्न आएका आफन्त वा साथीभाइलाई प्रहरीमार्फत जिम्मा लगाउने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। यसका लागि यात्रुले विमानस्थल परिसरमा रहेका जुनसुकै प्रहरी कर्मचारीसँग आवश्यक सहयोग लिन सक्नेछन्। प्रहरीले विमानस्थलमा यात्रा गर्ने यात्रुलाई आफ्नो लगेज तथा व्यक्तिगत सामानप्रति सचेत रहन, निषेधित वस्तु नलैजान र कुनै समस्या परे तत्काल नजिकै रहेको प्रहरी सहायता कक्षमा सम्पर्क गर्न आग्रह गरेको छ।