विकासन्युज

भदौ महिनाको करदाता उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । आन्तरिक राजस्व विभागका अनुसार लाजिम्पाटस्थित विभागको सभाहलबाट विजेताको घोषणा गरिनेछ । विभागले कार्यक्रमको प्रत्यक्ष घोषणा कार्यक्रममा सञ्चारकर्मीलाई उपस्थित हुन अनुरोध गरेको छ । यसअघि भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो । विभागका अनुसार आज भदौ महिनाका ३३ जना विजेताको नाम सार्वजनिक गरिनेछ । तीमध्ये ३१ जनाले जनही १ लाख रुपैयाँ र २ जनाले बम्पर उपहार प्राप्त गर्नेछन् ।

एभरेष्ट बैंकको समायोजित सेयर मूल्य ६९२.८६ रुपैयाँ कायम

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर प्रयोजनका लागि सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार कायम भएको अन्तिम कारोबार मूल्य ७२७ रुपैयाँ ५० पैसाका आधारमा ५ प्रतिशत बोनस सेयरपछि बैंकको समायोजित मूल्य ६९२ रुपैयाँ ८६ पैसा कायम गरेको जनाएको छ। समायोजित मूल्य अब बोनस सेयरसम्बन्धी प्रयोजनका लागि लागू हुनेछ ।

नापी कार्यालयका सर्वेक्षक एक लाख घुससहित पक्राउ

काठमाडौं । महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक शिवकुमार साह घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । अख्तियारका अनुसार बर्दिवास नगरपालिका–१ स्थित नापी कार्यालयमा कार्यरत साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी संशोधन गरिदिने काममा सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा टोली खटिएको थियो । टोलीले भदौ ३० गते सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नापी कार्यालय अगाडि रहेको एक खाजाघरबाट साहलाई रकमसहित नियन्त्रणमा लिएको हो । आयोगले भदौ ३१ गते विशेष अदालतबाट घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी साहमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज २ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा दिउँसो २ बजे बस्दैछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहने दुलालले जानकारी दिए । बैठकमा पार्टीका समसामयिक विषय, संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ । उनका अनुसार बैठकमा आगामी १५औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने दुलालले जानकारी दिए । 

‘सीएसआर’मार्फत सडकका खाल्डाखुल्डी तथा क्षतिको पहिचान गर्न राइडर परिचालन गर्न सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सडकका खाल्डाखुल्डी तथा क्षतिको पहिचान गर्न राइडर तथा स्वयंसेवक परिचालन गर्न सडक डिभिजन काठमाडौंलाई सुझाव दिए । सडक डिभिजन काठमाडौंद्वारा ‘सडक सुझाव’ मोबाइल एप शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिए । उनले सडक सुझाव एपलाई समस्या बटुल्ने माध्यमका रूपमा मात्र सीमित नराखी सक्रिय रूपमा सडकको अवस्था पहिचान गर्ने प्रणालीका रूपमा विकास गर्नुपर्ने बताए । कर्मचारीमार्फत नियमित सडक निरीक्षण गर्दा लागत बढ्नसक्ने भन्दै नड्राइभ, पठाओलगायतका राइड सेयरिङ कम्पनीका चालकलाई सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सडक निरीक्षणमा परिचालन गर्न सकिने प्रस्ताव गरे । सांसद बमले चावहिलदेखि रिङरोडका निश्चित खण्डमा राइडर परिचालन गरी साप्ताहिक रूपमा सडकको अवस्थाबारे तथ्यांक संकलन गरी मर्मत कार्य गर्न सकिने बताए । उनले भने, ‘एपमा रिक्वेस्ट र कम्प्लेन मात्रै कुरेर बस्नु हुँदैन । प्रोएक्टिभ बेसिसमा जानुपर्छ । राइडरहरूलाई निश्चित सडक खण्डको जिम्मेवारी दिएर नियमित रूपमा सडकको अवस्था, खाल्डाखुल्डी र क्षतिको फोटो तथा विवरण पठाउने व्यवस्था गर्न सकिन्छ ।’ रास्वपा सांसद गणेश पराजुलीले एपमार्फत २४ सै घण्टा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम सुरु हुनु सकारात्मक सुरुवात भएको बताए । उनले एपमार्फत सडक सुधारको कार्यलाई थप प्रभावकारी बनाउन सांसद, सरकार र नागरिकको साझेदारी आवश्यक रहेको पनि बताए । काठमाडौं उपत्यकाका निर्माणाधीन तथा बिग्रिएका सडकलाई शीघ्र पूर्णता दिनुपर्नेमा जोड दिए । उनले स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने सडक मर्मतमा संघीय सरकारले प्रत्यक्ष हस्तक्षेप गर्नुभन्दा स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताए । उनले भने, ‘बनाइसकेका सडकका खाल्डाखुल्डी पुर्ने र गुणस्तर कायम गर्ने कामलाई पनि तीव्रता दिनुपर्छ । यी काम एकैपटक अघि बढे मात्रै नागरिकले सरकारको कामको परिणाम महसुस गर्न सक्छन् ।’ उनले सबै तहका सरकारबीच आपसी समन्वय र सहकार्य गरी विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

सहकारीको ब्याजमा कैंची, १६ प्रतिशतबाट १३ प्रतिशतमा झारियो

काठमाडौं । सहकारी संस्थाले ऋणमा लिन पाउने ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गरिएको छ । यसअघि सहकारी संस्थाका लागि सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत तोकिएको थियो । सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम गठित समितिले सन्दर्भ ब्याजदरको अधिकतम सीमा १३ प्रतिशत कायम गर्न सिफारिस गरेपछि सहकारी रजिष्ट्रारको कार्यालयले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर तोकेको हो ।  सहकारी रजिष्ट्रारको कार्यालयले तोकिएको अधिकतम सीमाभित्र रही सहकारी संस्थाले बचत र ऋणको ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्ने जनाएको छ । सहकारी ऐन, २०७४ अनुसार तोकिएको सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरका रूपमा रहने कार्यालयले जनाएको छ । तोकिएको ब्याजदर कार्यान्वयन नगरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत कार्यालयले दिएको छ ।

बोनस वितरणपछि बाँकी रकम कल्याणकारी कोषमा जम्मा गर्न निर्देशन

काठमाडौं । राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयले बोनस वितरणपछि बाँकी रहने रकम समयमै कोषमा जम्मा गर्न उद्योग तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएकाे छ ।  युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयले बोनस ऐन, २०३० बमोजिम बोनस वितरण गरेपछि निजी उद्योग तथा प्रतिष्ठानले बाँकी रहने ३० प्रतिशत रकम राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने जनाएको हो । त्यस्तै, बोनस वितरणपछि सरकारी प्रतिष्ठानले बाँकी रहने ८० प्रतिशत रकमसमेत राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सम्बन्धित उद्योग तथा प्रतिष्ठानले उक्त रकम समयमै नेपाल राष्ट्र बैंकमा रहेको कोषको खातामा जम्मा गर्नुपर्नेछ।  रकम जम्मा गरेपछि त्यसको जानकारी राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयमा गराउनसमेत सम्बन्धित उद्योग तथा प्रतिष्ठानलाई अनुरोध गरिएको छ ।

६२.५० प्रतिशत लाभांश बाँड्ने इक्रा नेपालको घोषणा

काठमाडौं । रेटिङ कम्पनी इक्रा नेपालले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ६२.५० प्रतिशतका दरले ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २२ गते काठमाडौंमा १४औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा दिउँसो २ बजे सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने कार्यसूची रहेको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।