५ वर्षमा शतप्रतिशत साक्षरता, स्वास्थ्य क्षेत्रका के-के विषय समेटिँदैछन् ?
काठमाडौं । अहिले मस्यौदा निर्माणको क्रममा रहेको १६औँ पञ्चवर्षिय आवधिक योजनाले आगामी पाँच वर्षभित्रमा ५ वर्ष उमेर समूह वा सोभन्दामाथिको साक्षरतादर शतप्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ । १६औँ आवधिक योजनाको मस्यौदामाथि सोमबार र मङ्गलबार भएको छलफलमा आयोगले शिक्षा क्षेत्रको यस्तो अवधारणा अघि सारेको हो । आयोगका अनुसार ५ वर्ष र सोभन्दा माथिको साक्षरता दर अहिले ७६.२ प्रतिशतमात्रै छ । १६औँ योजना सकिने मिति अर्थात् आर्थिक वर्ष २०८५÷८६ सम्ममा यसलाई शतप्रतिशत पुर्याउने लक्ष्य तय गर्न लागिएको छ । यसैगरी, १६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ । अहिले सहरी क्षेत्रका विद्यालयमा शिक्षण सिकाइमा इन्टरनेटको पहुँच पुगे पनि अधिकांश विद्यालयमा शिक्षण सिकाइका लागि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । यस्तो दर हाल ३५.९ प्रतिशत रहेकोमा ५ वर्षमा शतप्रतिशत पुर्याउने लक्ष्य आयोगले निर्धारण गर्न लागेको हो । यद्यपि, मस्यौदामा समेटिएका यी लक्ष्यमाथि अन्तिम टुङ्गो नलागेको आयोगका सदस्य डा.रमेशचन्द्र पौडेलले बताए । पौडेलकाअनुसार मस्यौदा माथिको छलफल अन्तिम चरणमा पुगेको छ । मस्यौदा माथि विभिन्न क्षेत्रबाट आएका सुझावहरु समेत समेटेर आयोगले आवधिक योजनालाई अन्तिम रुप दिइनेछ । शिक्षा क्षेत्रको कुल बजेट १७ प्रतिशत शिक्षा क्षेत्रमा हाल सरकारले कुल बजेटको १०.९५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी पाँच वर्षमा आयोगले शिक्षा क्षेत्रको बजेटलाई बढाएर १७ प्रतिशत बनाउने लक्ष्य लिएको छ । १६औँ योजनाको मस्यौदामा उल्लेख भए अनुसार हाल प्रारम्भिक बालविकास र शिक्षाको अनुभव सहित कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या ७६.९ प्रतिशत छ । पाँच वर्षमा यसलाई बढाएर शतप्रतिशत पुर्याउने लक्ष्य तोक्न लागिएको छ । यसैगरी आधारभुत तह कक्षा १–८ मा पूरा गर्ने दर ७७.१ प्रतिशत रहेकोमा यसलाई ९१ प्रतिशत पुर्याउने र माध्यमिक तहको कक्षा १२ सम्म पुग्ने दर ३५.६ प्रतिशत रहेकोमा ५० प्रतिशत पुर्याउने लक्ष्य तोक्न लागिएको छ । त्यस्तै, उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर आव २०८५÷८६ सम्म ३० प्रतिशत पुर्याउने १६ औँ योजनाको मस्यौदामा उल्लेख छ । स्वास्थ्य क्षेत्रका के–के विषय समेटिँदैछन् ? आयोगमा स्वास्थ्य हेर्ने सदस्य डा आरपी विच्छाको अध्यक्षतामा सोमबार र मंगलबार छलफल भएको थियो । छलफलमा प्रस्तुत मस्यौदा अनुसार पाँच वर्षे आवधिक योजनामा गम्भीर प्रकृतिका रोगको विश्वसनीय विशिष्ट स्वास्थ्य उपचार स्वदेशमा नै हुनसक्ने गरी स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ । सबै नागरिकमा स्वास्थ्य बीमा र्पुयाउने लक्ष्यसहित आयोगले स्वास्थ्य सेवालाई सर्वव्यापाी, पहुँचयुक्त र समतामुलक बनाउने लक्ष्य राखेको सदस्य डा विच्छाले जानकारी दिए । उनका अनुसार १६औँ योजनामा विद्यमान स्वास्थ्य बीमा कार्यक्रमको समग्र पुनरावलोकन गरी समयानुकूल संशोधन एवम् परिमार्जन गरी सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने लक्ष्य सरकारले लिने भएको छ । विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवालाई समेत स्वास्थ्य बीमामा समेट्ने लक्ष्य योजनामा समेटिएको छ । जिल्ला स्तरका अस्पतालको स्तरोन्नति गरी न्यूनतम विशेषज्ञ सेवा उपलब्ध गराउने र सबै प्रदेशमा प्रेषण अस्पताल निर्माणको लक्ष्य समेत १६औं योजनाले तय गर्ने भएको छ । मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा एक सय ५१ रहेकोमा अबको ५ वर्ष भित्र ८५ पुर्याउने १६औं योजनाको लक्ष्य छ । सडक दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या प्रतिएक लाखलाई ६.२ मा झार्ने लक्ष्य रहेको छ । अहिले यो आँकडा ९.५ जना छ । आगामी पाँच वर्षमा पूर्ण खोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुर्याउने लक्ष्य तय गर्न लागिएको छ । यो तथ्याङ्क अहिले ८० प्रतिशत रहेको छ । अहिले स्वास्थ्य बीमा कार्यक्रममा नविकरण दर ३९ प्रतिशत रहेकोमा पाँच वर्षभित्र यो ९० प्रतिशत लैजाने लक्ष्य छ । ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था भएका घरधुरी ७७ रहेकोमा यसलाई बढाएर ८६ पुर्याउने १६औँ योजनाको लक्ष्य छ । पाँच वर्ष मुनिका बच्चा मध्ये जन्म दर्ता गरिएका बालबालिका शतप्रतिशत र्पुयाउने सरकारको लक्ष्य छ । अहिले यो ६३ प्रतिशत मात्र छ । आयोगले आगामी माघ मसान्तभित्र १६औँ योजनालाई अन्तिम रुप दिने गरी तयारी तीव्र बनाएको छ । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार सातै प्रदेशमा पुगेर प्रदेश सरकार र स्थानीय तहको समेत सुझाव समेटिएको छ । यसबाहेक निजी क्षेत्रसहित सबै क्षेत्रका विषय विज्ञहरु समेतको सुझाव लिएर योजनाको काम भइरहेको छ । रासस
काठमाडौं महानगरले गर्याे ५ कुकुरधनीलाई कारबाही
काठमाडौं । घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी दिए । पहिलो दिनमा ५ कुकुरधनीलाई कारबाही गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए । उनले भने, “यसअघि पनि बेलाबेला काठमाडौँ महानगरपालिकाले यस्तो कार्य नगराउन सचेत गराउँदै आएको हो । सार्वजनिक स्थानमा शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर जफत गर्न लागिएको हो ।” ४ वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो । यसपटक भने काठमाडौँ महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ । सार्वजनिक ठाउँमा ल्याएर कुकुरलाई शौच गराए पनि फोहर उठाउनुपर्ने र झोला साथमै ल्याउनुपर्ने महानगरपालिकाको नियम छ । कुकुरको मलमूत्रसँगको लसपसबाट परजीवी जुका तथा पाचन प्रणालीमा असर गर्ने जियार्डियासिस, साल्मोनेलिस र अमिबियासिसजस्ता रोगको सङ्क्रमण फैलने केन्द्रीय पशु चिकित्सालयका पशु चिकित्सक डा.ग्रीष्म न्यौपानेले बताए । डा. न्यौपानेले कुकुरको दिसामा हुने इकाइनोकोकस ग्रानुलोसस भनिने एक प्रकारको फित्तेजुकाको अण्डा मानिसको खानेकुरामा पुगेमा कलेजो, फोक्सो, मिर्गौला वा मस्तिष्कमा पनि सिस्टको रूपमा विकसित हुने सम्भावना रहने बताए ।
सुर्खेत विमानस्थल विस्तार गरिने, यस्ता छन् ६ निर्णय
काठमाडौं । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुर्खेत विमानस्थल विस्तारबारे मंगलबार सर्वपक्षीय छलफल भएको छ । बैठकले विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका सन्दर्भमा ६ बुँदे निर्णय गरिएको छ । बैठकले हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अत्यावश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ । विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा प्रभावितलाई मुआब्जा उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग पहल गर्ने र यससँग सिमाना जोडिएको अमरज्योति नमूना माध्यमिक विद्यालयलाई उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित पहलकदमी लिन प्रदेश सरकारसँग सम्झौता गर्ने पनि निर्णय गरिएको छ । बैठकले कर्णाली प्रदेशका सबै जिल्लामा सुर्खेत विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न सरकारसँग मागका साथै प्रदेश सरकारको ध्यानाकर्षण गराउने र यात्रु विश्रामदेखि अन्य भौतिक संरचनाको व्यवस्था नभएका विमानस्थलमा तत्काल टर्मिनल भवन, यात्रु बस्ने स्थान, व्यवस्थित शौचालयलगायतका भौतिक संरचना निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गर्ने निर्णय भएको छ । सर्वदलीय एवं सर्वपक्षीय बैठकबाट गरिएका निर्णयलाई वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिकाको बैठकमार्फत कार्यान्वयनका लागि अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णयसमेत गरिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिए । बैठकमा सांसद हृदयराम थानी, प्रदेशसभा सदस्यद्वय यामलाल कँडेल र जानकी सिंह, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनार, उद्योग वाणिज्य सङ्घ, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजलगायत सरोकारवालाको सहभागिता थियो ।
निर्धन उत्थानले सार्वजनिक गर्यो १ हजार ११७ जना ऋणी र जमानीकर्ताको तीन पुस्ते
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १ हजार बढीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले समयमै ऋण नतिर्ने १ हजार ११७ जना ऋणीको नाम र तीनपुस्ते सार्वजनिक गरेको हो । लघुवित्तका अनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा ब्याज लगायत अन्य रकम समेत समयमा तिर्नु पर्ने हो । तर, उक्त रकम नतिरी कर्जा सम्बन्धी सर्त बन्देज उल्लङ्घन गरेकाले पटकपटक ताकेता गर्दा समेत भुक्तानी गर्न चासो नदेखाई बेवास्ता गरेकाले सार्वजनिक सूचना प्रकाशित गरिएको लघुवित्तले जनाएको छ । सूचना प्रकाशित भएको ३५ दिनभित्र साँवा ब्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न लघुवित्तले अनुरोध गरिरहेको छ । यदि नतिरेको खण्डमा प्रचलित ऐन, कानून तथा यस लघुवित्तसँग गरेको लिखत बमोजिम ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने लघुवित्तले जनाएको छ । साथै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी लघुवित्त संस्थाको आफ्नो लेना रकम असुल उपर गरिने सूचनामा उल्लेख छ । [pdf id=457225]
सर्वोत्तम सिमेन्टको आईपीओ बुक विल्डिङ्गमा बिक्री खुला, ५० कित्ता आवेदन दिनै पर्ने
काठमाडौं । सर्वोत्तम सिमेन्टले आज पुस २५ गतेदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ६७ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । यस्तै, उद्योग प्रभावित क्षेत्र नवलपरासीको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३, उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको हो । कम्पनीले उक्त आइपीओ प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले बिक्री गरेको हो । जसमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्ता आवेदन दिन सक्नेछन् । उक्त दुबै समूहका लगानीकर्ताहरूले माघ १० गतेसम्म आवेदन दिन सक्ने व्यवस्था छ । सो अवधिसम्म पनि सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूले आगामी माघ २५ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ ।
निरन्तर ब्याजदर घटाउँदै एनआईसी एशिया, माघमा पनि घटायो
काठमाडौं । पछिल्लो समय एनआईसी एशिया बैंकले निरन्तर ब्याजदर घटाउँदै आएको छ । गत कात्तिकदेखि निरन्तर ब्याज घटाउँदै आएको यस माघ महिनाका लागि पनि घटाएको छ । बैंकले विभिन्न खातामा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.९८९ प्रतिशत तोकेको छ । यसअघि पुसमा ४.४५५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०६५ प्रतिशत र ब्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । सो ब्याजदर पनि २४ देखि १८० महिनासम्म अवधि निक्षेप राख्यो भने मात्रै दिनेछ । तर, ३ देखि ६ महिनाका लागि भने व्यक्तिले ६.२५ प्रतिशत मात्रै ब्याज पाउने छ । साथै, संस्थागतका लागि भने ६ महिनादेखि ९ महिनासम्म राख्यो भने ४.७५० प्रतिशत मात्रै ब्याज पाउने छ । यसअघि पुसमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.६७ प्रतिशत र ब्यक्तिगततर्फ ८.६७ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.७० प्रतिशत रहेको छ ।
आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा बाबुराम शर्मा नियुक्त
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बाबुराम शर्मा नियुक्त भएका छन् । भेन्चर हायर पर्चेजमा बिजनेस हेडको रुपमा साढे ३ वर्ष अगाडि प्रवेश गरेका शर्मालाई मंगलबार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो । डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आइएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए । पछि फाइनान्स बैंकसँग मर्ज भएपछि ४ वर्षआइएमई मोटर्स वीरगन्जको प्रमुख समेत भएर काम गरिसकेका छन् । सरकारी जागिर छोडेर बैंकिङ सेवातिर लागेका उनले बैंकिङ्ग र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलपमेन्ट कलेज (म्यान)बाट ईएमबीए समेत गरेका छन् । आइएमई ग्रुप अन्तर्गतको वित्तीय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा २ अर्बभन्दा बढी लगानी गरेको छ । लगातार ४ वर्षदेखि नाफामा रहेको कम्पनीलाई आगामी दिनमा पब्लिक लिमिटेड कम्पनी बनाउने र छिट्टै आईपीओ समेत निष्काशन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
ओमिक्रोनको नयाँ भेरियन्ट सर्ने दर उच्च, सरसफाइमा ध्यान दिन आग्रह
काठमाडौं । नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन-१ सङ्क्रमण दर बढिरहेको पाइएको छ । इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको बताए । ‘सहरमा बढी भीडभाड हुने हुनाले जेएन-१ को एकापसमा सर्ने दर बढी रहेको छ’, उनले भने, ‘रोगको जटिलता र मर्ने दर भने कम रहेको छ ।’ सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)गर्दा १६ पोजेटिभ नमूना परीक्षण गर्दा सात जनामा ओमिक्रोनको नयाँ भेरियन्ट जेएन-१ पुष्टि भएको थियो । मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले कोभिड-१९ को नयाँ सब भेरियन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सबै हेल्थ डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक ‘स्किनिङ्ग’ र निगरानी गरिरहेको जनाएको छ । रासस