काठमाडौं । देश मन्त्रीविहीन बनेको छ । सत्ता गठबन्धन परिर्वन भएसँगै नयाँ मन्त्री नियुक्त नगरेपछि २२ वटा मन्त्रालय मन्त्रीविहीन बनेको हो ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई सपथ खुवाए पनि उनीहरू विभागीय मन्त्री बनेका छन् । उनीहरूलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।
सोमबार साँझ नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।
कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले-माओवादी-राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठनबन्धन बनेपछि पुनगर्ठित मन्त्रिपरिषदमा तीन जनाले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् ।
गठबन्धन परिवर्तनसँगै सबै मन्त्रालय खाली भएका हुन् । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाइँ, कानुन, कृषि, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था सहकारी तथा गरिबी, भौतिक पूर्वाधार, महिला तथा बालबालिका, युवा तथा खेलकुद र रक्षा मन्त्रालय खाली भएर यी मन्त्रालयको जिम्मेवारी प्रचण्डले नै लिएका छन् ।
यस्तै, वन, शिक्षा, स्वास्थ्य, श्रम, पर्यटन, संघीय मामिला, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री प्रचण्डले नै लिएका छन् ।
संघीय सरकार अन्तर्गतका सबै मन्त्रालय मन्त्रीविहीन भएपछि अब कुनै पनि महत्वपूर्ण निर्णय हुने छैनन् । विभिन्न मन्त्रालयमार्फत् अगाडि बढ्नु पर्ने कामहरू ठप्प हुनेछन् । दैनिक करोडौं मात्रामा हुने खर्च राेकिनेछ । जसले अर्थतन्त्रमा पनि एक किसिमको सुस्सता ल्याउन सक्नेछ ।
ती मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले नै लिँदा अब कुनै महत्वपूर्ण निर्ण लिँदा मन्त्रालयले उनी समक्ष फाइल पठाउनु पर्नेछ । तर, काम सुस्त हुने निश्चित छ । मन्त्रालयमा एक जना मन्त्रीको अनुपस्थितिले पनि ठूलो घाटा हुने जानकारहरू बताउँछन् ।