विकासन्युज

सीजी मोटर्सले सञ्चालनमा ल्यायो ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्प

काठमाडौं । सीजी मोटर्सले विद्युतिय सवारी साधन नेटा भिको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । हाललाई काठमाडौं उपत्यका लक्षित गरि आयोजना गरिएको उक्त एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाख रुपैयाँ रहने छ । स्वीच टु द प्योर ईभी नारा दिइएको उक्त एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भिको प्रवर्द्धन गर्नु मात्र नभइ पुराना एवं प्रदुषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको छ । नेटा भि गाडिमा ८ वर्ष वा १ लाख ५० हजार किमीको वारेन्टि छ । जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भिको प्रयोग गर्न सक्नेछन् । नेटा भी हाल नयाँ ५० किवाको एलएफपी ब्याट्रिसहित शोरुमहरुमा उपलब्ध छ । उक्त मेगा एक्सचेन्ज क्याम्प छोटो समयकालागि मात्रै रहेको पनि कम्पनीले बताएको छ ।

नारायणगढ-मुग्लिन सडक थप तीन साता बन्द हुँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताए । उनका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ । सो ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रुपमा भत्काउन आग्रह गरेअनुरुप काम भइरहेको उनले जानकारी दिए । उनले भने, ‘अत्यावश्यक सवारी साधन छाड्नुपर्ने हुँदा दिनमा चार घण्टा भनिए पनि दुई/तीन घण्टा राम्रो गरी काम भएको छ ।’ यथाशीघ्र छिटो काम सक्न भनिएको उनले बताए। नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ । त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ । गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उनले जानकारी दिए । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो । आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताए । गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उनले जानकारी दिनुभयो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । रासस

नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द हुने

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को कारोबार प्रणाली तीन बन्द हुने भएको छ । नेप्सेले एक सूचना जारी गर्दै आगामी बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जानकारी गराएको हो । नेप्सेले विद्युत मर्मत तथा सम्भारको लागि आगामी बिहीबार अर्थात पुस २६ गते साँझ ५ बजेदेखि शनिबार अर्थात पुस २८ गते राती ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो ।

पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गरेका छन् । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो भारत भ्रमण र केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउनका साथै १० हजार मेगावाट विद्युत भारतले किन्ने सम्झौता लागू भएको बताए । उनले पञ्चेश्वर अन्तिम चरणमा पुगेको र यो परियोजना दुवै देशको राष्ट्रहीतमा रहेको बताए । ‘मेरो भारत भ्रमण र अहिले भारतीय विदेशमन्त्रीको भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउने आधार त तय गरेको नै छ । एउटा त १० हजार मेगावाटको यही लागू भयो । अर्को पञ्चेश्वर अन्तिम चरणमा पुगेको छ । डिपिआर फाइनल गर्नेकुरा । हामी सबैलाई थाहा छ । त्यो दुवै देशको राष्ट्रहीतमा छ । त्यसलाई अन्तिममा मेरो भारत भ्रमणका क्रममा जो वातावरण बन्यो, त्यो कारणले पञ्चेश्वर अघि बढ्दैछ । मलाई विश्वास छ, आउने केही दिनभित्र पञ्चेश्वरको ब्रेक थ्रु हुन्छ । त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ’, उनले भने । प्रधानमन्त्री दाहालले पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पार्ने दाबी गरे ।

भारतीय दुतवासले सिधै २० करोड खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग भएको भारतीय दुतवासले सिधै २० करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भारतसँग हाल भएको सम्झौतामा भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न कुनैपनि त्यस्तो प्रावधान नराखिएको बताए । उनले भने, ‘भारतसँग हाल भएको सम्झौतामा कुनैपनि त्यस्तो प्रावधान राखिएको छैन । जसले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न सुविधा दिन्छ । यसका साथै आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र आद्यावधिक समीक्षा समेत नेपाल सरकारकै संयन्‍त्रबाट हुन्छ । यो परिस्थितिमा यो सम्झौता बाहेक धेरै हामीले तनाव लिनुपर्ने कारण छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्छ ।’ उनले सम्झौतामा नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय गर्नसक्ने बताए ।

यति कार्पेटले एक वर्षमै ५२ प्रतिशतले बढायो व्यापार, गर्यो ४६ करोड बढी आम्दानी

काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेट प्राइभेट लिमिटेडले एक वर्षमा ५२.३० प्रतिशतले आफ्नो व्यापार बढाएको छ । गत आर्थिक वर्ष २०२२ को तुलनामा आर्थिक वर्ष २०२३ मा कम्पनीको आम्दानी ५२ प्रतिशत अर्थात १५ करोड ९० लाख रुपैयाँले बढेको हो । कम्पनीको अपरिस्कृत विवरण अनुसार २०२३ मा कार्पेटले ४६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी कम्पनीले २०२२मा ३० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०२१ मा यस्तो आम्दानी १९ करोड २० लाख रुपैयाँ थियो । यति फ्याब्रिक प्रा. लिको नामबाट कार्पेट उत्पादन गर्दै आएको कम्पनी सन् २०१८ को फेब्रअरीमा यति कार्पेट प्रा.लि.मा परिणत भएको हो । यति कार्पेट नेपालमा स्थापित दुई व्यापारिक घरना केडिया अर्गनाइजेशन र रिलायन्स समूहबीचको संयुक्त उद्यम हो । जसमा दुबैको ५०/५० प्रतिशत सेयर स्वामित्व रहेको छ । आर्थिक वर्ष २०२० सालदेखि सञ्चालनमा आएको कम्पनीले फाइबर र धागोजस्ता कच्चा पदार्थ आयात गरेर गलैंचा बनाउँदै आएको छ । सन् २०२३ देखि कम्पनीको प्रमुख सेयरधनीहरुमा अनिलकुमार केडिया, आयुष केडिया, नरेन्द्रकुमार अग्रवाल र लोकेश तोदी रहेका छन् । जसमध्ये अनिलको २५ प्रतिशत, आयुषको १५ प्रतिशत, अग्रवालको १३ प्रतिशत र तोदीको १३ प्रतिशत सेयर लगानी छ । मधेश प्रदेशको वीरगञ्जमा स्थापित यो कारखानाले हालै ५७ करोड ४९ लाख रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । इक्रा नेपालले दीर्घकालिन अवधिको लागि अर्थात ४४ करोड ९९ लाख रुपैयाँको कर्जाको लागि इक्राएनपी एलबी प्लस रेटिङ्ग दिएको छ भने बाँकी १२ करोड ५० लाख कर्जा (अल्पकालिन अवधि) को लागि इक्राएनपी एफोरको रेटिङ्ग दिएको छ । यसअघि कम्पनीले ५९ करोड ९६ लाख रुपैयाँ कर्जाको लागि रेटिङ्ग गराएको थियो । इक्रा नेपालले भने ५७ करोड ४९ लाख रुपैयाँ बराबरको कर्जाको लागि पुनः पुष्टि गरिदिएको हो ।

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ । बैंकले रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५,००० रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, त्यसैगरी ५०,०० रुपैयाँसम्म पैसा पठाउँदा २०० रुपैयाँ र ५०,०० रुपैयाँभन्दा बढि पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना जनवरी ३१, २०२४ सम्म लागू रहनेछ । ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पूनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

महोत्तरीमा चिसो बढेपछि विद्यालय बन्द

जलेश्वर । महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् । जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले चिसोबाट जनजीवन प्रभावित हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरेको बताए । उनका अनुसार बर्खे बिदाबाट कट्टा हुनेगरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द भएका हुन् । रासस