अब रफ्तारमा अघि बढ्न सक्छ विनोद चौधरीमाथिको अनुसन्धान

<p>काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै अब विनोद चौधरीमाथिको अनुसन्धानले पनि व्यापकता पाउने देखिएको छ । तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा किर्ते गरेको आरोपमा विनोद चौधरीसहित उनको परिवारमाथिकाे अनुसन्धानले अब व्यापकता पाउने देखिएको हो । बाँसबारी छाला जुत्ता उद्योग जग्गा हिनामिना गरेको आरोपमा गत माघ १८ गते सीजी होल्डिङ्सका अध्यक्ष [&hellip;]</p>

काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै अब विनोद चौधरीमाथिको अनुसन्धानले पनि व्यापकता पाउने देखिएको छ । तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा किर्ते गरेको आरोपमा विनोद चौधरीसहित उनको परिवारमाथिकाे अनुसन्धानले अब व्यापकता पाउने देखिएको हो ।

बाँसबारी छाला जुत्ता उद्योग जग्गा हिनामिना गरेको आरोपमा गत माघ १८ गते सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए । तर, काठमाडौं जिल्ला अदालतले उनीहरूलाई छोड्न आदेश दिएको थियो । अरुण चौधरी विनोद चौधरीका भाइ हुन् । उद्योगी विनोद नेपाली काँग्रेसका सांसद समेत हुन् ।

स्रोतका अनुसार सीआईबीले विनोद चौधरी र उनको परिवारलाई समेत अनुसन्धानको दायरामा ल्याउन चाहेको थियो । तर, शक्तिशाली चौधरीलाई सजिलै अनुसन्धानको दायरामा ल्याउन सीआईबीलाई मुस्किल पर्यो ।

यो प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौधरीको परिवारमाथि अनुसन्धान गर्नका लागि तत् निकायमा निर्देशन दिए पनि त्यसमा काँग्रेसको साथ नमिलेपछि उनी पछि हटेको स्रोतको दाबी छ ।

नेपाली काँग्रेसका केही पदाधिकारीहरूको माओवादी र गठबन्धप्रतिको अभिव्यक्ति, अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रधानमन्त्रीमाथिको अवज्ञा र सरकारको महत्वपूर्ण कदममा काँग्रेसले गरेको असयोगले रुष्ट बन्दै  अन्ततः प्रचण्ड गठबन्धन नै परिवर्तन गर्ने योजनामा पुगेको बुझिएको छ ।

पक्राउ परिसकेका अरुण चौधरीलाई समेत अदालतले छुटाउन आदेश दिएपछि प्रचण्ड काँग्रेसप्रति थप सशंकित बनेको स्रोतको दाबी छ

काँग्रेससँग गठबन्धन हुँदा बाँसबारी छाला जुत्ता प्रकरणको अनुसन्धानलाई चाहेर पनि अगाडि बढाउन नसकेका प्रधानमन्त्री प्रचण्डले अब एमालेसँगको गठबन्धनमा यो प्रकरणलाई रफ्तारमा अगाडि बढाउने निश्चित भएको स्रोतको दाबी छ ।

सीआईबीले पनि यो प्रकरणमा जोडिएका सबैलाई अनुसन्धानमा ल्याउने बताएको छ । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले यो प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए ।

‘हामी प्रमाण जुटाउने क्रममा छौं, जुटेका प्रमाणलाई थप विश्लेषण गरिरहेका छौं, यो प्रकरणमा संलग्न सबैको बयान लिन्छौं, अब चाँडै हामी बयान लिँदैछौं,’ बोगटीले विकासन्युजसँग भने ।

सीआईबी स्रोतका अनुसार विनोद चौधरी, उनका भाई वसन्त चौधरी, आमा गंगादेवी चौधरी र भिनाजु महेशकुमार अग्रवालको पनि चाँडै बयान लिइँदैछ ।

Share News