काठमाडौं । कुनै समय व्यवसाय विस्तारमा आक्रामक बनेका बैंक तथा वित्तीय संस्थाहरू अहिले ब्यालेन्ससिट व्यवस्थापनमा लागेका छन् । प्रत्येक महिना ऋण असुली नभएर खराब कर्जा बढ्दै गएपछि बैंकरहरू ब्यालेन्ससिट म्यानेज्मेन्टमा लागेका हुन् । अहिले बैंकरहरू खराब कर्जाको अनुपात बढेर वित्तीय विवरण नै बिग्रिने चिन्तामा छन् ।
अर्थतन्त्र चलायमान हुन नसकेपछि रिकभरी नहुँदा बैंकको तेस्रो त्रैमास पनि उत्साहजनक नआउने बैंकरहरू बताउँछन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा जुटेका बैंकरहरू बिजनेस विस्तार रोकेर रिकभरीमा जोड दिइरहेको बताउँछन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर निरन्तर घटिरहेको भए पनि कर्जा प्रवाह भने शून्यजस्तै भएकाले तेस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसकेको बैंकरहरूको गुनासो छ ।
लगानीयोग्य रकमको प्रयाप्तता भए पनि अघिल्ला वर्षको तुलनामा धेरै राम्रो प्रगति विवरण नआउने उनीहरूको भनाइ छ । अघिल्ला वर्षहरूमा आक्रामक रूपमा लगानी बिस्तार गरेकाले केही बैंकहरूको खराब कर्जाको अनुपात पनि बढ्ने सम्भावना अझै देखिन्छ ।
पुस सम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूको खराब कर्जा औसत साढे ३ प्रतिशत छ । अधिकांश बैंकको खराब कर्जा ४ प्रतिशत बढी छ । कतिपय बैंकरहरू अझैं बैंकको खराब कर्जा बढ्ने बताइरहेका छन् ।
एक बैंकरले अहिले अधिकांश बैंकहरूको खराब कर्जाको अनुपात बढेकोले अहिले बिजनेस विस्तारभन्दा पनि ब्यालेन्ससिट म्यानेज्मेन्टमा लागेको बताए । ‘अहिले बैंकको कर्जाको माग न्यून छ, बैंकले नयाँ बिजनेसभन्दा पनि पुरानो ऋणलाई असुल गर्नतर्फ जोड दिइरहेका छन्,’ उनले भने ।
‘तेस्रो त्रैमास पनि दोस्रो त्रैमासजस्तै हुन्छ, अहिले पनि रिकभरी हुन सकिरहेको छैन, खराब कर्जा झन बढ्दो अवस्थामा छ,’ एक अर्का बैंकरले भने ।
अहिले बैंकहरू आम्दान बढाएर खर्च घटाउनु पर्ने चापमा छन् भने ऋण असुल गर्दै पुँजी कोष सहज बनाउन तर्फ जोड दिइरहेका छन् । नियामक नेपाल राष्ट्र बैंकको नीतिगत कडाइको पनि बैंकहरूले यति बेला नै सामना गरिरहेका छन् ।