विकासन्युज

रिलायबल इन्डष्ट्रिजले एक वर्षमै ४५३ प्रतिशतले बढायो व्यापार, ६० करोड ऋण लिँदै

काठमाडौं । रिलायबल इन्डष्ट्रिज प्रा.लि.ले एक वर्षमै ४५३ प्रतिशतले व्यापार बढाएको छ । कम्पनीले आर्थिक वर्ष २०२२को तुलनामा आर्थिक वर्ष २०२३ मा आफ्नो व्यापार ह्वात्तै बढाएको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले आर्थिक वर्ष २०२३ मा ५३ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी अघिल्लो आवमा ९ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार भएको थियो भने आर्थिक वर्ष २०२१ मा ५ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार भएको देखिन्छ । उक्त तथ्यांक अनुसार कम्पनीले विगत तीन वर्षमा आफ्नो व्यापार निरन्तर बढाउँदै गएको छ । सन् २०१७ मा स्थापना भएको कम्पनीले हाल विभिन्न प्रकारका वायर अर्थात तार जालीहरुको उत्पादन गर्दै आएको छ । जुलाई २०२३ अघि भने कम्पनी हार्डवयर उत्पादनहरुको व्यापारमा संलग्न थियो । पर्सामा उत्पादन केन्द्र रहेको कम्पनीको प्रतिवर्ष २० हजार मिलियन टन तार जाली उत्पादन गर्दै आएको छ । कम्पनीले विभिन्न कामको लागि प्रयोग गरिने बाइन्डिङ र ग्याल्भेनाइज्ड तारहरू पनि उत्पादन गर्दै आएको छ, जुन भिन्नाभिन्नै आकार, आयाम र मोटाईमा पाइन्छ । कम्पनीको नीति निर्माण तथा रणनीतिहरु कम्पनीका अध्यक्ष धिरज अग्रवालले बनाउँदै आएका छन् । जो रिल्स स्टीलको संस्थापक हुन् भने नेपालको सबैभन्दा पुरानो छापाखाना शंकर प्रेसका सञ्चालक हुन् । कम्पनीले ६० करोड रुपैयाँ बराबरको दीर्घकालिन र अल्पकालिन कर्जाको लागि केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । केयर रेटिङ नेपालले दीर्घकालीन कर्जाको लागि केयर एनपी डबल बी माइनस र अल्पकालीनको लागि केयर एनपी एफोरको रेटिङ दिएको छ । कम्पनीले २१ करोड ८२ लाख रुपैयाँ बराबरको दीर्घकालिन कर्जा, ११ करोड ७० लाख रुपैयाँ बराबरको अल्पकालिन कर्जा र २६ करोड ४८ लाख रुपैयाँ बराबरको दीर्घकालिन तथा अल्पकालिन कर्जाको लागि उक्त रेटिङ एजेन्सीमा रेटिङ गराएको हो ।

व्यवसायमा व्यक्तिगत बैंक खाता प्रयोग गरेर कर छली, साथीभाई र आफन्तको नामबाट अर्बौंको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न व्यक्तिले कर छल्नका लागि व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् गर्ने गरेकाे बताएको छ । नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले गरेको एक अध्ययनले व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् भएको प्रतिवेदन सार्वजनिक गरेको हो । सन् २०२० देखि सन् २०२२ सम्म राष्ट्र बैंकले गरेको अध्ययनले  राष्ट्र बैंकसमक्ष प्राप्त भएका कारोबारमध्ये ३७ प्रतिशत व्यवसायले कर छल्ने नियतका साथ व्यक्तिगत बैंक खाता प्रयोग गर्ने पाइएको हो । ६५ वटा मुद्दामा बैंक खातामा शंकास्पद लेनदेन भएको देखिएको बताएको छ यस्तै, पछिल्लो समय शंकास्पद कारोबारको संख्या बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष २ हजार ७८० वटा शंकास्पद कारोबार भेटिएकोमा गत वर्ष ५ हजार ९३५ वटा पुगेको छ । बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ९८ हजार ३९८ वटा कारोबारको संकास्पद कारोबारको जानकारी राष्ट्र बैंकमा आएको प्रतिवेदनमा उल्लेख छ ।  प्राप्त भएका शंकास्पद कारोबारमा ४८ प्रतिशत व्यक्तिगत व्यवसाय, ३३ प्रतिशत कम्पनी, १९ प्रतिशत विभिन्न व्यापार तथा उत्पादनसँग सम्बन्धित पर्यटन व्यवसाय रहेको जनाएकाे हो । यो अवधिमा राष्ट्र बैंकले २०४ वटा घटनाको विश्लेषण गरेको  छ । जसमा १३३ वटा मुद्दालाई थप अध्ययन गर्न आन्तरिक राजश्व विभाग र राजश्व अनुसन्धान विभागमा पठाएको जानकारी दिएको छ । विभागमा पठाएको मुद्दाहरूमा वार्षिक १२ बिलियन संकास्पद कारोबार देखिएको प्रतिवेदनमा उल्लेख छ । व्यवसायीले कर छल्नका लागि कम्पनीको कारोबार पनि व्यक्तिगत बैंक खातामार्फत् गर्ने गरेको भेटिएको हो । व्यापार व्यवसायका लागि व्यक्तिगत खाता प्रयोग गर्ने अभ्यास बढेकोले त्यसलाई रोक्नु पर्ने राय फाइनान्सियल इन्टेलिजेन्स युनिटको छ । कुनै व्यवसायीले त्यस्तो गरेको पाइएमा जरिवाना तथा सजायको व्यवस्था गरिनु पर्ने सो इकाइको सुझाव छ । यस्तै, यस्तो प्रवृति घरजग्गा कारोबारमा पनि देखिएको छ । राष्ट्र बैंकको सो इकाइले घरजग्गा खरिदबिक्रीको लेनदेन बैंकिङ प्रणालीबाट हुनु पर्ने धारणा राखेको छ । व्यवसायीले कर छल्नका लागि आफन्त र साथीभाईको नाममा पनि कारोबार गर्ने गरेको अध्ययनबाट खुलेको हो ।

श्रीलङ्काको केन्द्रीय बैंकले चालु ब्याजदर परिवर्तन नगर्ने

श्रीलङ्का । श्रीलङ्काको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आन्तरिक र अन्तरराष्ट्रिय समष्टिगत आर्थिक विकासक्रमको व्यापक मूल्याङ्कनपछि सोमबार मौद्रिक बोर्डले यस्तो निर्णय गरेको जनाएको छ । बोर्डले निकट अवधिमा मुद्रास्फीतिमा उल्टो दबाब ल्याउने सम्भावित कर र आपूर्ति(साइड कारकहरूमा हालैका घटनाक्रमहरूको प्रभावलाई समेत नोट गरेर सो निर्णय गरेको जनाएको छ । केन्द्रीय बैंकका अनुसार यी घटनाक्रमको प्रभावले मध्यम अवधिको मुद्रास्फीतिको दृष्टिकोणलाई वास्तविक रूपमा परिवर्तन गर्ने छैन । लगातार छवटा त्रैमासिक आर्थिक संकुचन पछि श्रीलङ्काको अर्थतन्त्रले सन् २०२३ को तेस्रो त्रैमासिकमा विस्तार भएको देखाएको छ । श्रीलङ्काले बढ्दो मुद्रास्फीतिको सामना गर्न सन् २०२२ मा आफ्नो ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको तियो । रासस

लोमस फर्मास्युटिकल्सका निर्देशक पाण्डे सम्मानित

काठमाडौं । लोमस फर्मास्युटिकल्सका निर्देशक प्रणव जंग पाण्डे सशस्त्र प्रहरीबाट सम्मानित भएका छन् । २३औं स्थापना दिवसको अवसरमा पाण्डेलाई सम्मान गरिएको हो । सशस्त्र प्रहरीले सम्पादन गर्ने जिम्मेवारीहरू पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरेको भन्दै उनलाई सशस्त्र प्रहरी बलले २३औं स्थापना दिवसको अवसरमा सम्मान गरेको हो । लोमस फार्मास्युटिकल्स निर्देशक पाण्डे शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवामा क्रियाशील छन् ।

वायुसेवा निगम र विमानस्थल सुधारसम्बन्धि प्रतिवेदन बुझाउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारको लागि हालसम्म भएको अध्ययन प्रतिवेदनहरु यथाशिघ्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले निगम तथा विमानस्थलहरुको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धि सम्पूर्ण प्रतिवेदन पेस गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा समितिले सो सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो । समितिको बैठकमा भएको छलफलको आधारमा निगम र विमानस्थलहरुको सुधारसम्बन्धि हालसम्मको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो समितिमा पेस गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति राजकिशोर यादवले बताए । त्यसैगरी समितिले प्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्केर बसेको नागरिक उडड्यनसम्बन्धि विधेयकबारे गम्भीर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई सचेत गराएको छ । ‘नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधार तथा समग्र विषयमा के–कस्ता अध्ययन, अनुसन्धानहरु भएका छन्, तिनको प्रतिवेदनहरु समिति समक्ष यथाशिघ्र पेस गर्न मन्त्रालय र नेपाल नेपाल वायुसेवा निगमलाई निर्देशन दिने, यो भन्दा अगाडिको बैठकमा मन्त्रीले नै नागरिक उडड्यनसम्बन्धि विधेयक क्याविनेटमा पठाइसकिएको जानकारी गराएको स्थिति छ । त्यसैले मन्त्रालयले त्यो विधेयकको स्थितिको बारेमा के हो ? मन्त्रालय कुन दिनमा निर्णय गरेर त्यहाँ पठाएको हो, त्यो डेट सहित यो समितिमा उपलब्ध हुनुपर्‍यो ’, उनले भने । बैठकमा समितिका सदस्यहरुले नेपाल वायुसेवा निगमको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै यसको सुधारका लागि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना गरेका थिए ।

अब विदेश घुम्न जानेले स्वघोषणा फारम भर्नुपर्ने, कुन कुन ?

काठमाडौं । अब भिजिट भिसामा विदेश जान स्वघोषणा फारम भर्नुपर्ने भएको छ । नेपालीले विभिन्न ६ वटा देशमा जानको लागि अध्यागमन विभागमा स्वघोषणा फारम बुझाउनु पर्ने भएको हो । नयाँ व्यवस्था अनुसार नेपालीले संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा घुम्न जान उक्त फारम भर्नुपर्ने भएको हो । जुन आगामी माघ १० गते अर्थात बुधबारदेखि नै लागू हुने छ । उक्त फारमसँगै विदेश जान इच्छुकले विभिन्न कागजातहरु संलग्न गर्नुपर्ने हुन्छ । जसका लागि सम्बन्धित देशमा कम्तीमा ६ महिना म्याद भएको राहदानी अनिवार्य हुनुपर्नेछ । त्यस्तै, गन्तव्य देशको भिसा र दुईतर्फी हवाई टिकट भएको समेत स्वघोषणा गर्नुपर्ने बताइएको छ । साथै, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत उल्लेख गर्नु पर्नेछ । त्यस्तै, कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण नगद वा डेबिट/क्रेडिट कार्ड) र सो नभएमा सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र पनि चाहिने बताइएको छ भने भ्रमण बाहेक अन्य क्रियाकलापमा संलग्न हुने छैन भनि समेत घोषणा गर्नुपर्ने नयाँ व्यवस्था छ । यसअघि गृह मन्त्रालयले सचिवस्तरीय निर्णयबाट २०७८ फागुन २५ मा भिजिट वा पर्यटकीय भिसामा जानका लागि कडा मापदण्ड तय गरेको थियो । उक्त मापदण्ड खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरिएको हो । यस्तो छ नयाँ कार्यविधि [pdf id=459747]

दिल्लीमा बाक्लो कुहिरो र चिसोको कारण उडान र रेल सवा प्रभावित

  दिल्ली । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने-जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिलाइ भएको छ । यसै गरी दिल्ली जाने २८ वटा लामो दूरीका रेलहरू पनि निर्धारित समय भन्दा ढिला शुरु गरिएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार दिल्लीमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यद्यपि, मङ्गलबार बिहान दिल्लीमा रेकर्ड गरिएको न्यूनतम तापक्रम ६।९ डिग्री सेल्सियस थियो । उत्तर रेलवेका अनुसार हावडा -नयाँ दिल्ली राजधानी एक्सप्रेस, राजेन्द्रनगर -नयाँ दिल्ली राजधानी एक्सप्रेस, डिब्रुगढ–नयाँ दिल्ली राजधानी एक्सप्रेस, बेङ्गलोर-निजामुद्दीन राजधानी एक्सप्रेस, आजमगढ-दिल्ली जेएन कैफियत एक्सप्रेस, बनारस-नयाँ दिल्ली एक्सप्रेस र कटिहार- अमृतसर आम्रपाली एक्सप्रेस सहित २८ वटा रेलहरू २ देखि ६ घण्टासम्म ढिलो गरी सञ्चालनमा आएका थिए । आइएमडीले जनवरी २७ र २८ सम्म मध्यम खालको कुहिरो लाग्ने पूर्वानुमान गरेको छ । दिल्लीमा निरन्तर शीतलहर जारी रहँदा मङ्गलबार मानिसहरू आगोको वरिपरि बसिरहेका देखिन्थे । यसैबीच, आइएमडीका अनुसार जनवरी २६ को बिहानसम्म पन्जाब, हरियाणा, चण्डीगढ र उत्तर प्रदेशका केही भागहरूमा बिहानदेखि बाक्लो कुहिरो रहने सम्भावना छ । यसअघि सोमबार, आइएमडीले जम्मु डिभिजन, दिल्ली, पश्चिम उत्तर प्रदेश र झारखण्डमा कुहिरोले प्रभाव पारेको थियो । भारतका विभिन्न स्थानमा बाक्को कुहिरो र हुस्सुले दृष्यता कम अनुभव भएको छ । जम्मु डिभिजनले पाँच सय मिटर दृश्यता रहेको उल्लेख गरेको छ भने पटियालाले ५० मिटर मात्र दृश्यता रेकर्ड गरेको छ । यसैगरी उत्तर प्रदेशको वाराणसी र प्रयागराजले क्रमशः २५ र ५० मिटरको दृश्यता रहेको छ । रासस

आपत्ति जनाउँदै न्युरोडका व्यवसायीले भने- पार्किङ सञ्चालन नगरेसम्म आन्दोलन गर्छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा सवारी पार्किङ गर्न रोक लगाएपछि व्यवसायीहरूले आपत्ति जनाएका छन् । महानगरको पार्किङ रोक्ने निर्णय विरुद्ध आपत्ति जनाउँदै व्यवसायीहरू आन्दोलित भइ सडकमा उत्रिएका हुन् । महानगरले चालेको यो कदम उपयुक्त नभएको भन्दै न्युरोडका व्यवसायीहरू सटर बन्द गरेर सडकमा उत्रिएका हुन् । पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण थलिएर बिस्तारै तंग्रिन लागेको न्युरोडको व्यापार व्यवसायमा नकारात्मक असर गर्ने उनीहरूले बताएका छन् । ताम्राकार व्यापार संघको संस्थापक अध्यक्ष जगत साउदले तत्काल पार्किङ सञ्चालनमा ल्याउनु पर्ने बताए । महानगरले काठमाडौं टावरमा पार्किङ गर्नको लागि ठाउँ तोकिदिएको छ । तर, त्यहाँ पार्किङ गरेर न्युरोडमा पार्किङ गर्न कोही पनि नआउने उनको भनाई छ । ‘न्युरोडमा व्यापार गर्न थालेको १६/१७ वर्ष भयो, पहिलाबाट नै यहाँ पार्किङको समस्या थियो, तर व्यवस्थित तरिकाले नै यहाँ पार्किङ भइरहेको थियो,’ उनले प्रश्न गर्दै भन्छन्, ‘यहाँ पार्किङ भएन भने यहाँको सामान किन्न को आउँने ? त्यसैले यहाँ पार्किङ पुन: सञ्चालन गर्न आवश्यक छ ।’ महानगरले पहिलाको जसरी नै न्युरोडमा पार्किङ सञ्चालन नगरे व्यवसायी दिनहुँ आन्दोलन गरिरहने पनि साउदले बताए । उनले हालको पार्किङ हटाए पनि सवारी पार्किङ गर्नको लागि नजिकै नयाँ विकल्प दिनुपर्ने पनि बताए । न्युरोडमा एक लाइन पार्किङ गर्दा कसैलाई फरक नपर्ने उनको धारणा छ । ‘देशभरको ६० प्रतिशत व्यापार न्युरोडबाट हुन्छ, यहाँ सडकमै पार्किङ हुँदा सवारी चालकलाई कुनै पनि समस्या छैन, पार्किङ खुल्ला नभएसम्म हाम्रो विरोध जारी छ,’ उनले भने । यस्तै, राष्ट्रिय व्यापार संघका कोषाध्यक्ष केदारप्रसाद न्यौपाने पार्किङ न्युरोडमा नभए व्यवसायमा ठूलो गिरावट आउँने बताउँछन् । उनका अनुसार वैकल्पिक उपाय दिएर तत्काल पार्किङको व्यवस्थापन गर्नुपर्छ । ‘बिहान सवारी लिएरै हामी न्युरोड आएका थियौं, यहाँ पार्किङ गर्न नपाएपछि घरमा सवारी राखेर पठाओमा चढेर आए,’ उनले भने ।