‘क्वालिटी’ र ‘क्वान्टिटी’ मा रुमलिएको नेपाली पर्यटन
काठमाडौं । सरकारले १० वर्षमा ३५ लाख पर्यटक भित्र्याउने महत्वांकाक्षी लक्ष्य राखेर सन् २०२३-२०३३ लाई ‘भ्रमण दशक’ घोषणा गरेको धेरै भएको छैन । लक्ष्यअनुसार नै भ्रमण दशक सुरुवात वर्ष २०२३ मा १० लाख पर्यटक भित्रिँदा सरकारको लक्ष्यको एक छेउ पूरा हुन पुगेको छ । अब गहन प्रश्न गर्ने बेला आएको छ- नेपालले संख्या (क्वान्टिटी) बढाउनमात्र ध्यान दिने हो कि बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक (क्वालिटी टुरिस्ट) मा पनि ध्यान दिने हो ? सरकारकै तथ्यांकले देखाउँछ- नेपाल घुम्न आउने प्रत्येक पर्यटकले दैनिक औसत ४० अमेरिकी डलर खर्च गर्छन् । यो पर्यटन बोर्डले सार्वजनिक गरेको सन् २०२२ को तथ्यांक हो । विदेशी पर्यटकले नेपालमा दैनिक खर्च गर्ने दर कसरी बढाउन सकिन्छ ? संख्यामा केन्द्रित हुँदा मुलुकको आम्दानी प्रभावित हुन सक्छ कि ? संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता हेमराज तामाङ क्वालिटी र क्वान्टिटी दुवैमा ध्यान दिनुपर्ने बताउँछन् । ‘यो क्वालिटी पर्यटक केलाई भन्ने त्यसलाई पनि परिभाषित गर्नुपर्ने होला, क्वालिटी टुरिस्ट भनेको महँगो होटलमा बसेर खर्च गर्ने मात्रैलाई मान्ने कि गाउँ-गाउँ घुमेर त्यहाँका मान्छेलाई रोजगारी दिएर होमस्टेमा बस्नेलाई भन्ने ? यो आफैंमा पनि प्रश्न छ,’ प्रवक्ता तामाङ भन्छन्, ‘समग्रमा भन्नुपर्दा हाम्रो मुलुकको आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्ने विषयलाई हामीले क्वालिटी मान्नुपर्छ ।’ नेपालको पर्यटन क्षेत्रको विकास गर्न लक्ष्यअनुसार संख्या र आर्थिक हिसाबले फाइदा पुग्ने गरी गुणस्तरीय पर्यटक ल्याउने रणनीति मन्त्रालयले बनाएको प्रवक्ता तामाङको भनाइ छ । ‘सरकारले भ्रमण दशकका माध्यमबाट सकेसम्म नेपाललाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न प्रचारप्रसार गर्ने हो,’ उनी भन्छन्, ‘भर्खरै मन्त्रालयले पर्यटक प्रवर्द्धकसम्बन्धी कार्यविधि तयार पारेर प्रवर्द्धकहरूको नियुक्ति पनि गर्दैछ । विभिन्न ढंगले पर्यटन प्रवर्द्धन गर्ने कार्यमा मन्त्रालय लागिरहेको छ ।’ सरकारको पर्यटन प्रवर्द्धन नीति सफल पार्न निजी क्षेत्रले पनि सहयोग र सहकार्य गर्ने, व्यावसायिक निष्ठाका आधारमा काम गर्ने, पर्यटकलाई दिनुपर्ने हस्पिटालिटी (आतिथ्य सत्कार) कमजोर नबनाउने र ‘अतिथि देवो भव:’ सिद्धान्त शिरोपर गरी हातेमालो गर्दै पर्यटन दशकमा राखिएको लक्ष्यका उपलब्धि हासिल गर्ने गरी प्रयास गर्नुपर्ने उनी बताउँछन् । निजी क्षेत्र के भन्छ ? पर्यटन व्यवसायी बसन्तराज मिश्र १० डलरमा बेच्ने कोठामा १० डलर नै तिरेर मान्छे बस्यो र ५ सय डलर पर्ने कोठामा त्यति नै पैसा तिरेर बस्यो भने त्यो पनि क्वालिटी टुरिस्ट भएको बताउँछन् । ‘हाम्रो देशमा हरेक किसिमका होटल छन्, सरकारले प्रतिपर्यटक कति पैसा आम्दानी गर्ने योजना बनाएको छ त ? औसत आम्दानी कति छ ? सरकारले प्रतिपर्यटक कति पैसा लिने ?,’ मिश्र भन्छन्, ‘अब भुटानले प्रतिपर्यटक दैनिक २ सय २५ डलर चाहिन्छ भन्छ । त्यति नतिरी उसले भिसा नै दिँदैन, अब हामीले सोच्न ढिला गर्नै भएन ।’ क्वालिटी टुरिस्टलाई पहिला राम्रोसँग परिभाषित गर्नुपर्ने उनी बताउँछन् । ‘क्वालिटी टुरिस्ट भनेको के हो ?, दिनमा ५० डलर खर्च गर्ने कि ७० डलर खर्च गर्ने कि १ सय डलर खर्च गर्ने?,’ मिश्र प्रश्न गर्दै भन्छन्, ‘कति खर्च गर्ने टुरिस्टलाई हामीले क्वालिटीमा गन्ने हो, त्यो सरकारले निर्धारण गर्नुपर्छ ।’ उनका अनुसार नेपाल आएको पर्यटकले ‘इन्क्लाइमेन्ट क्रिएट’ गर्न सकोस्, जसबाट हामीले बनाएको पूर्वाधारको खर्च उठाउन सकियोस् । हामो कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पनि त्यसले योगदान गर्न सकोस् । ‘यो सबै गर्न क्वालिटी टुरिस्ट नै चाहिन्छ, हामीलाई यहाँ आएर राम्रो पैसा खर्च गरेर हाम्रा स्थानीय उत्पादन पनि किन्न सकोस्,’ उनी भन्छन्, ‘स्थानीय बजारलाई सपोर्ट गर्न सकोस्, यसका लागि संख्या र स्तरीय पर्यटक उत्तिकै महत्वपूर्ण छ ।’ नेपालको पर्यटन मिश्रित बजार (मिक्स मार्केट) हेरेर विकास भएको मिश्रको भनाइ छ । ‘हामीसँग ननस्टार र स्टार होटल पनि छन्, अहिले होमस्टे पनि छ, त्यसैकारण हामी मिक्स मार्केटमा जानुपर्छ । तर, जुनसुकै मार्केट भए पनि क्वालिटी टुरिस्ट त चाहिन्छ ।’ क्वालिटी टुरिस्ट भित्र्याउन व्यापक मार्केटिङ गर्नुपर्ने मिश्र बताउँछन् । ‘हामीले आफ्ना उत्पादनलाई पनि गुणस्तरीय बनाउनुपर्यो, क्वालिटी सर्भिस दिन सक्नुपर्यो,’ उनी भन्छन्, ‘हाम्रा पूर्वाधार स्तरीय हुनुपर्छ, हामीले गर्ने भनेको बजार व्यवस्थापन नै हो, हामीले उच्च, मध्यम र सामान्य पर्यटक पनि खोज्नुपर्छ र मिक्स मार्केटमा जानुपर्छ ।’ सरकारले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रका काममा मध्यस्थताको भूमिका निर्वाह गरेको उनको भनाइ छ । यही कारण नै नेपालको पर्यटन क्षेत्र फस्टाएको उनी बताउँछन् । उनका अनुसार अहिले निजी क्षेत्रलाई पर्यटन जिम्मा दिनुपर्छ भनेर पर्यटन बोर्ड खडा भएको हो । ‘निजी क्षेत्र आफैंमा मिलेर एकरूपता ल्याउन सकेनन्,’ मिश्र भन्छन्, ‘हामीलाई चाहिने महत्वपूर्ण कुरामा यो-यो चाहिन्छ भनेर बलियोरूपमा लविङ पनि गर्न सकेनौं, यही कारण पर्यटनमा अलिकति हामीलाई अप्ठ्यारो परेको हो ।’ टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) का पूर्वअध्यक्ष हरेराम बराल सरकारको ध्यान पर्यटक संख्या बढोस् भन्नेमा मात्रै रहेको बताउँछन् । ‘पर्यटक बढाएर रेभिन्यू पनि त बढाउनुपर्यो नि,’ बराल भन्छन्, ‘हामीले क्वालिटी टुरिस्ट ल्याउनुपर्ने हो, टुरिस्टको संख्यामात्रै बढाउँदा हामीलाई के फाइदा हुन्छ ?’ गुणस्तरीय पर्यटन प्रवर्द्धनका लागि सबैभन्दा पहिले पर्याप्त सुविधा दिनुपर्ने बराल बताउँछन् । ‘कम्तीमा पनि दुई लेनको बाटो हुनुपर्छ, त्यहाँ विद्युतको पहुँच हुनुपर्छ, बाटो र बिजुली भएपछि मान्छेले आफ्नो लोकल प्रोडक्सन तयार गर्छन्,’ बराल भन्छन्, ‘बिजुलीले गर्दा सिँचाइलाई काम हुन्छ । सिँचाइबाट हामीले कृषिमा काम गर्न सक्छौं । यस्ता विषयमा मात्रै ध्यान दिने हो भने ३५ लाखमात्रै होइन, १ करोड पर्यटक भित्र्याउन सक्ने हामीसँग क्षमता छ ।’ कछुवा गतिमा विकास गरेर पर्यटनबाट समृद्धि हासिल गर्न नसकिने बरालको भनाइ छ । ‘पर्यटक घुम्न, रमाउन जान चाहने ठाउँमा हाम्रो बाटो राम्रो छैन । पर्यटनमा धेरै लगानी निजी क्षेत्रले गरेको छ,’ उनी थप्छन्, ‘सरकारले सुविधा दिनुपर्ने ठाउँमा अवरोध खडा गरिदिन्छ । अब ३५ लाख पर्यटकको लक्ष्य राखेर भीडमात्रै निम्त्याउनुको कुन तुक छैन । गुणस्तरीय पर्यटकका लागि सुविधा पनि गुणस्तरीय हुनुपर्यो ।’ नेपालमा ट्रेकिङ (पदयात्रा) का लागि आउने पर्यटकले दैनिक ५० देखि ६० डलरमात्रै खर्च गर्ने बराल बताउँछन् । ‘भुटानकै कुरा गर्ने हो भने त्यहाँ जाने पर्यटकले दैनिक १ सय ५० डलर खर्च गर्नैपर्छ,’ उनी भन्छन्, ‘अब हामीकहाँ जम्मा ६० डलरमात्रै खर्च गर्छन् । यसैबाट बुझ्न सकिन्छ, हामीसँग क्वालिटी पर्यटक छैनन् ।’ पछिल्ला केही वर्षदेखि पर्यटन क्षेत्रमा क्वालिटी टुरिस्टबारे बहस चलिरहेको छ । यसबारे बरालको सुझाव यस्तो छ– ‘धनाढ्य व्यक्ति जो घुम्नका लागि चार्टर फ्लाइट गरेर नेपाल आउँछन्, तिनीहरूलाई एयरपोर्टमा ल्यान्ड पर्मिट दिनुपर्यो । उनीहरूले खोजेका सुविधा उपलब्ध गराइदिनुपर्यो । हामीले सबै सुविधा उपलब्ध गराएपछि ऊ आफ्नो देश फर्केर गएर आफूजस्ता १० धनी नेपाल ल्याउँछ । त्यसलाई नै त क्वालिटी टुरिस्ट मानिन्छ ।’ ‘क्वालिटी र क्वान्टिटी दुवै प्राथमिकता हो’ नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पर्यटनबाटै समृद्धि हासिल गर्न पर्यटक संख्या र गुणस्तर दुवैमा ध्यान दिनुपर्ने बताउँछन् । ‘नेपालको सन्दर्भमा हामी सधैं संख्याको पछि कुदिरहेका छौं, हाम्रो चार-पाँच ठाउँभन्दा बाहेक अन्त पर्यटक गएकै छैनन्,’ उनी भन्छन्, ‘हाम्रो सन् १९९८ को फोकस पनि संख्या नै थियो, त्यतिबेला अढाइ/तीन लाख पर्यटक थिए, फेरि ५ लाख चाहियो भनियो, त्यो लक्ष्य पूरा भएपछि १० लाख भनियो र अहिले आएर ३५ लाख पर्यटक भित्र्याउनुपर्छ भनेका छौं, हामी संख्याकै पछि कुदिरहँदा पनि गुणस्तरीय पर्यटक चाहिँदैन भनेका भने होइनौं, अझ धेरै चाहियो भनेका हौं ।’ लामिछानेका अनुसार ठाउँ-ठाउँमा गुणस्तरीय होटल खुल्ने क्रम जारी छ । सबै पर्यटक गुणस्तरीय मात्रै आए भने के गर्ने ? यो पनि अहम् प्रश्न हो । ‘नेपालमा पाँचतारे होटल जम्मा १८ वटा मात्रै छन् । त्यसपछि तीनतारे, दुईतारे, एकतारे, गेस्टहाउस र होमस्टेमा गएर बस्ने को ?,’ उनी तर्क गर्छन्, ‘यसैकारण पर्यटक हामीलाई सबै किसिमका चाहिए । तर, अहिले देशले नम्बरमै फोकस गरिरहेको हुनाले संख्या बढ्दै जाँदा बिस्तारै भाउ बढाउँदै लगिएला र गुणस्तर छाँटिएला भन्ने हो ।’ निर्देशक लामिछानेका अनुसार देशमा क्वालिटी टुरिस्टकाे संख्या बढाउन गरिने प्रचारप्रसार र प्रवर्द्धनमा लक्जरी मार्केट सेग्मेन्ट हुन्छ । अमेरिका, बेलायत भनेका धनीमानी बस्ने ठाउँ हो । पहिलेदेखि नै धेरै धनी मान्छे त्यही देशमा छन् । चीनको पनि बेइजिङलगायत ठूला सहरमा धनीको बस्ती छ । ‘त्यतातिर भएका लक्जरी ट्राभल मार्केट हन्टिङ गर्दै त्यसमा हाम्रो सशक्त उपस्थिति रहन्छ । अहिले भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश बनेको छ,’ उनी भन्छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदी फेरि प्रधानमन्त्रीमा दोहोरिए तेस्रो मुलुक बनाउँछु भनेर कुदिरहेका छन् । भारतीय बजार ट्याप गर्नतिर पनि हामी लाग्नुपर्छ ।’ उनका अनुसार अहिले नेपालमा पनि पाँचतारे होटल बनेका छन् । तीनका पनि लक्जरी ब्रान्च छन् । यी सबैलाई लिएर गए नेपालले लक्जरी मार्केटमा हिट गर्न सक्छ । कति आए पर्यटक ? नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा १० लाख १४ हजार ८ सय ७६ पर्यटक नेपाल आएका छन् । यो संख्यामा भारतीय र अमेरिकी पर्यटकको हिस्सा उल्लेख्य छ । २०२२ को दाँजोमा यो संख्या ४ लाखभन्दा बढी हो । सन् २०२२ मा ६ लाख १४ हजार १ सय ४८ पर्यटक आएका थिए । बोर्डका अनुसार २०२३ मा ३ लाख १९ हजार ९ सय ३६ भारतीय पर्यटक आएका छन् । २०१९ मा २ लाख ५४ हजार १ सय ५० आएका थिए । नेपालले हवाईमार्गबाट आउने भारतीयलाई मात्र पर्यटक मान्दै आएको छ । त्यस्तै गत वर्ष अमेरिकाबाट १ लाख ३ सय ५७ पर्यटक नेपाल आए । २०१९ मा ९३ हजार २ सय ४१ आएका थिए । उत्तरी छिमेकी चीनबाट ६० हजार ८ सय ७८ पर्यटक आए । २०१९ मा १ लाख ६९ हजार ५ सय ४३ आएका थिए ।
गरिबले कार चढेर होइन, धनीले सार्वजनिक यातायात चढेर देश बन्छ
नेपालमा पोड वे कहिले बन्छ भन्ने चासो सबैमा छ । हामी पनि नेपालमा पोड वेको सुविधा दिनका लागि दौडधूप गरिरहेका छौं । नेपाल सरकारबाट पोडवेले कानुनी मान्यता पाइसकेको छ । हामी कार्यविधिको प्रतिक्षामा छौं । उक्त कार्यविधि सम्भवतः छिट्टै बन्छ भन्ने अपेक्षा हाम्रो छ । मास ट्रान्सपोर्टेशनको जगतमा नयाँ आयाम बोकेको पोड वे नेपालमा विभिन्न ठाउँमा बनाउनको लागि आवश्यक गृहकार्य भइरहेको छ । सरकारी नीति नियम नै परिवर्तन र परिमार्जन साथै यसको अध्ययन अनुसन्धान गरी कार्यविधि बनाउनु पर्ने भएकाले केही समय लागेको हो । प्रदेश र स्थानीय तहहरूसँग समन्वय गरी यसको विकास गर्ने योजना अनुरूप अगाडि बढिरहेका छौं । सार्वजनिक यातायातको मान्यता पाएर पोड वेको नाम राजपत्रमा उल्लेख भइसकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आवश्यक काम भइरहेका छ । यसलाई सार्वजनिक यातायातका रूपमा विकास गर्दा स्पष्ट कार्यविधि चाहिन्छ । हालसम्म कार्यविधि नबनेको हुनाले त्यसैको प्रतीक्षामा छौं । यो नयाँ प्रविधि भएकाले नेपालमा यसको अध्ययन गर्ने दक्ष जनशक्ति नभएकाले पनि सरकारी निकायबाट कार्यविधि बनाउन ढिला सुस्ती भएको महसुस हामीलाई भएको छ । कार्यविधि बन्नको लागि अझै कति समय लाग्ने हो त्यो थाहा भएन । उहाँहरूले तपाईंहरुको काम छिट्टै हुन्छ भनेर प्रतिबद्धता जनाउनु भएको छ । १० वर्षभित्र हजार किलोमिटर पोड वे बनाउँछौं, हजारौंलाई रोजगारी दिन्छौं : निल भट्टराई समग्र परिदृश्य हेर्दा काम भने अगाडि बढिरहेको छ । हामीसँग वैकल्पिक सार्वजनिक यातायातको समस्या समाधानका लागि समय छैन । सडकमा दिनहुँ सवारी साधनको चाप बढ्दै गइरहेको छ । चाप बढ्दै गएपछि सडकमा जामको समस्या पनि उत्तिकै छ । डलरको मूल्य बढ्दै गएको भएकाले यस्तो किसिमको आयोजनालाई ढिला गर्नु भनेको आयोजनाको लागत बढाउँदै जानु पनि हो । प्रक्रियागत हिसाबले अगाडि बढ्नु पर्ने भएकाले हामीले मात्रै हतार गरेर मात्रै पनि नहुँदो रहेछ । सरकार र हाम्रो गति भने नमिलेकै हो । यस्तो किसिमको आयोजना बनाउन स्पष्ट नीति र कार्यविधि नबनाएसम्म काम हुन असम्भव छ । किनभने यो भौतिक पूर्वाधार बनाउने विषय भयो । गरिबले कार चढेर देश धनी हुने होइन, जब धनीले पनि सार्वजनिक यातायात चढ्छन् त्यसपछि बल्ल देश बन्छ । सार्वजनिक यातायातका विषयमा हामीले बेलैमा सोचेर यसको तयारी गरेनौं भने आगामी दिन कहाली लाग्दो र भयावह स्थिति छ । किनभने सडक दुर्घटना दिनहुँ बढ्दै गइरहेको छ । हामी हरेक दिन जोखिमको यात्रा गरिरहेका छौं । यस विषयमा हामीले अहिले नै सोचेनौं भने भोलिका दिनमा ठूला समस्याहरू निम्तिन सक्छ । दीगो, स्थिर, भरपर्दो र पहुँचयोग्य सार्वजनिक यातायात बिना दिगो विकासको परिकल्पना नगर्दा हुन्छ । पोड वेप्रति धेरै जना सकारात्मक हुनुहुन्छ । यसका विषयमा सम्बन्धित सरकारी निकायहरूमा पुगेर यसको फाइदाको विषयमा जानकारी गराइरहेका छौं । सरकारले नै यस्तो प्रविधिमा जोड दिनु पर्ने हो । तर, यहाँ हामीले प्राथमिकता दिएर काम गरिहरेका छौं । राजनीतिक दलले पनि पब्लिक यातायातको विषयमा जोड दिनु पर्ने हो । तर, त्यो अवस्थाको सिर्जना हुन सकेको छैन । सर्वसाधारणको तहबाट पनि यो यातायात नेपालमा आवश्यक छ भनेर दबाब सिर्जना हुन आवश्यक छ । वार्षिक १६ प्रतिशत यातायातको संख्या वृद्धि भइरहेको छ । सवारीको संख्या बढ्दै जाँदा सडकहरू भने साँघुरो हुँदै गइरहेका छन् । विभिन्न निकायहरूले पनि वैकल्पिक उपाय खोज्नुपर्छ भनेर प्रतिवेदनहरू सार्वजनिक गरिरहेका छन् । पोड वे हाल बेलारुस र दुवईमा सञ्चालनमा छ । यस्तो किसिमको यातायातले विकास र समृद्धि हासिल गर्ने सम्भव छ भन्ने भावनाको विकास हुन जरुरी छ । हामीलाई काम गर्ने वातावरण भयो भने पोड वेलाई क्रमिक रूपमा विकास गर्दै लैजाने अवसर छ । यसको आवश्यकताको आधारमा विकास गर्दै जाने हो । नेपालका बौद्धिक वर्गले पनि यस विषयमा सोच्नुपर्छ । वैकल्पिक यातायात र विकासको मोडलतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । हामी सुरुमा पाइलट प्रोजेक्टको रूपमा यसको विकास गर्नेछौं । त्यसपछि क्रमिक रूपमा काम अगाडि बढाउँदै जान्छौं । कुनै एक ठाउँमा बनाउन पायौं भने यसका बारेमा सबैलाई बुझ्न र बुझाउने अवसर पनि पाइन्थ्यो । हामी जहिले पनि समस्याको बारेमा मात्र कथन गर्ने गर्छौं । त्यसको समाधान यो हो भनेर एकदमै कमले भनेको पाइन्छ । हामी नेपालमा देखिएको सार्वजनिक यातायातको समस्या साधनासहित उपस्थिति भएका छौं । नेपालमा पोड वे : भाडा र सामान ढुवानी सस्तो, बिजुली खपत भएर पेट्रोल/डिजलको पनि विस्थापन हामीलाई सार्वजनिक यातायातको आवश्यकता छ । अहिलेसम्म विभिन्न सार्वजनिक यातायातका विषयमा कुरा चलाए पनि त्यसलाई अगाडि बढाउन सकेका छैनौं । मोनो, मेट्रोजस्ता यातायातको विषयहरू छायामा परिसकेका छन् । नेपालमा रेल सञ्चालनमा छ । तर, घाटामा छ । हामीले बनाउने पूर्वाधार पनि भोलिका दिनमा नाफामा नै हुन सक्छ, सकिँदैन । तर, एक पकट परीक्ष भने गर्नुपर्छ । यस्तो किसिमको योजनामा सबैले साथ सहयोग दिँदा समग्र अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्छ । यो विद्युतीय यातायात भएकाले वर्षेनी इन्धनबाट विदेसिने ठूलो मुद्रा रोक्नको लागि पनि मद्दत गर्छ । पोड वेलाई सञ्चालनमा ल्याउन सके समयको बचत र सुरक्षित हुन्छ । हामीले यातायात व्यवसायीहरूलाई समेटेर अगाडि बढ्छौं । यातायात क्षेत्रमा उहाँहरूको जति योगदान अरूको छैन । यो प्रविधिले यातायातको समस्या समाधान गर्नको लागि ठूलो भूमिका खेल्न सक्छ । हाम्रो ध्यान नचाहिने विषयमा छ । देशको आवश्यकता तथा आर्थिक सुनिश्चितको विषयमा हाम्रो छलफल तथा बहस छैन । पोड वे बनाउँदा पहिलो प्राथमिकता कर्णाली प्रदेशमा पर्छ । लुम्बिनीमा बनाउनको लागि आवश्यक कार्यहरू भइरहेको छ । यसमा विभिन्न निकायको पनि चासो छ । हामीले देशभर पोडवे निर्माण गर्ने योजना बनाइरहेका छौं । तर, हामीलाई सरकारको अनुमति चाहिन्छ । यो यातायातको निर्माण गर्दा १० प्रतिशत भए पनि सरकारको सहभागिता जरुरी छ । सरकारले सहभागिता जनाएपछि विदेशी लगानी आउँदैन भन्ने सवाल हुँदैन । रेमिट्यान्सबाट वार्षिक खर्बौं रकम भित्रिरहेको छ । त्यो रकम हामीले दैनिक उपभोग्य वस्तु र विलासिताको वस्तुमा खर्च गर्ने गरेका छौं । त्यो रकमको केही प्रतिशत मात्र विकासका काममा परिचालन गर्ने वातावरण मिलाउन सकियो भने धेरै फाइदा हुन्छ । (भट्टराई पोड वेका उपाध्यक्ष हुन् ।)
प्रभु बैंकले लाभांश नदिने
काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, बैंकले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि बैंकको साधारण सभाले पारित गर्ने छ ।
चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक, निकुञ्जका कर्मचारीलाई फुर्सद
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । उनले भने, ‘पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन ।’ सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कअनुसार यस वर्षको गत पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुसमा एक हजार नौ सय २० जना सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका थिए । यस वर्ष एक हजार तीन सय २९ जनाले मात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेका निकुञ्जको कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मनोजकुमार मण्डलले जानकारी दिए । उनका अनुसार गत वर्ष पुसमा चार सय ५५ जना नेपाली र एक हजार चार सय ६५ विदेशी नागरिक भ्रमणका लागि खुम्बु पुगेका थिए । यस वर्षको सोही अवधिमा एक सय २० नेपाली र एक हजार दुई सय नौ विदेशी खुम्बु पुगेका कार्यालयको तथ्याङ्क छ । विदेशी तथा स्वदेशी पर्यटकको अत्यधिक चाप हुने सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बुक्षेत्र चिसो बढेसँगै एक्लिएको छ । यस क्षेत्रमा यतिखेर चिसो अत्यधिक रहेकाले पर्यटक आवागमन न्यून भएसँगै सुनसान बनेको निकुञ्जले जनाएको छ । यहाँ वर्षको छ महिना पर्यटकीय याम हुने र छ महिना बेमौसम हुने गर्दछ । गत फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय याम मानिन्छ भने त्यसबाहेकका समयलाई बेमौसम मानिन्छ । याममा दैनिक नौ सयदेखि एक हजारसम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले पाँच–सातजना पर्यटकमात्रै भ्रमणका लागि आउने गरेको निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुका सूचना अधिकारी मण्डलले जानकारी दिए । विदेशी तथा स्वदेशी पर्यटकको आर्कषण अधिक हुँदा भ्याइनभ्याई हुने यहाँका पर्यटन व्यवसायीसमेत यतिखेर फुर्सदिला बनेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए । यसका कारण पर्यटकीयस्थलका होटल पसलमा ताला लागेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यन्त्र जाँदा खुम्बु सुनसान बनेको उनको भनाइ छ । उच्च हिमाली क्षेत्र खुम्बुका नागरिकको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटन व्यवसाय हो । यहाँ अन्य अन्नबाली उब्जाउ नहुने भएकाले सिजनमा पर्यटन व्यवसाय गर्ने र अफसिजनमा घुमफिर तथा रमाइलो गर्ने यहाँका नागरिकको बाध्यता हो । इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजनकुमारी बर्देवाका अनुसार सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङलगायतका क्षेत्र पनि चिसो सुरु भएसँगै प्रायः सुनसान छन् । यो समयमा आफ्नो कार्यालयमा सेवाग्र्राही नगन्य मात्रामा आउने गरेको उनको भनाइ छ । यहाँ प्रायःजसो चिसो भइरहन्छ । अरु समयमा भन्दा पुस, माघमा झन् धेरै चिसो हुनेहुँदा यहाँका मानिस जाडो छल्न बेँसी झर्ने गर्दछन् । मानिस चिसो छल्न मङ्सिर पहिलो साताबाटै काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेको खुम्जुङ माध्यमिक विद्यालयका शिक्षक तिलक विश्वकर्माले बताए । खुम्बुमा मङ्सिरदेखि सुरु भएको अत्यधिक चिसो करिब फागुनसम्म जारी रहने भएकाले चिसो छल्नका लागि उनीहरू बाहिर जाने गरेका हुन् । गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायतका बासिन्दाले पर्यटन सिजन सकिनासाथ कात्तिक अन्तिम सातातिरबाटै खुम्बु छाडिसकेका छन् भने त्यसभन्दा तलका बस्ती खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीय मङ्सिरको पहिलो सातातिर बाहिर जाने गरेको लुक्लाका अमृत मगरले बताए । यहाँका बासिन्दा जाडो छल्न धेरैजसो राजधानी काठमाडौँ जाने गरेका छन् । स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् भने माथिल्लो क्षेत्रका धेरैजसो होटल व्यवसायीले घरमा ताल्चा नै लगाएर अन्यत्र जाने गरेका छन् । तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधैँ काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको स्थानीय उमा बराइलीले बताए । भौगोलिक विकटता एवं उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्यामा पिरोलिएर बाँच्नुपरेको छ । झनै जाडो महिनामा त यस भेगमा बस्न निकै कठिन रहेको स्थानीयवासी बताउँछन् । यहाँ मुस्किलले वर्षमा छ महिनामात्र यस भेगमा मानिस बसोबास गर्ने गर्छन् । यतिखेर नाम्चे क्षेत्रमै तापक्रम घटेर माइनस १२ डिग्रीसम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मण्डलले बताए । निकुञ्जका कर्मचारीलाई फुर्सद ! सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका कर्मचारीलाई यतिखेर फुर्सद मिलेको छ । पर्यकीय याममा एकैपटक धेरै पर्यटक निकुञ्ज क्षेत्र प्रवेश गर्दा ‘इन्ट्री’ गराउन भ्याइनभ्याई हुने कर्मचारीलाई यतिखेर भने फुर्सद मिलेको निकुञ्जका सूचना अधिकारी मण्डलले बताए । उनका अनुसार मुख्य याममा दैनिक नौ सयजनासम्म स्वदेशी तथा विदेशी भ्रमणकर्ता निकुञ्ज प्रवेश गर्दा बिहान उज्यालो भएदेखि राति अबेरसम्म इन्ट्री गराउनमा व्यस्त हुने जाँचचौकीका कर्मचारीलाई अहिले फुर्सद मिलेको छ । अहिले दैनिक मुस्किलले पाँच–सात जनासम्म पर्यटक आउने गरेको उनको भनाइ छ । याममा धेरै पर्यटक आउने भएकाले जाँचचौकीका कर्मचारीको खानेबस्ने ठेगान नै नहुने गर्छ भने अहिले कार्यालयको नियमित कामसँगै चिसोमा घाम तापेर समय बिताउने गरेको उनले बताए । सगरमाथा राष्ट्रिय निकुञ्जमा मुख्य कार्यालय नाम्चेबाहेक १० चौकी छन् । जसमा दुईवटा रेञ्जपोष्ट रहेको कार्यालयले जनाएको छ । विसं २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा रहेका छन् । निकुञ्जभित्रको गोक्यो र सम्वद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदासूचीमा समावेश गरिएको हो । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण र अवलोकन, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ । चिसोका कारण धेरैजसो खुम्बुबासीले सगरमाथा क्षेत्र छाडिसक्दा यहाँ कार्यरत कर्मचारी भने कार्यक्षेत्रमै रहेका छन् । स्थानीयवासी तथा पर्यटन व्यवसायी चिसो छल्न अन्यत्र जाने गरे पनि कर्मचारी भने त्यहीँ बस्न बाध्य छन् । नाम्चे क्षेत्रमा अहिले निकुञ्जका कर्मचारी, प्रहरीलगायतका व्यक्ति छन् । उनीहरू पनि धेरै समय आगो तापेरै बिताउने गरेको इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख शाखा अधिकृत बर्देवाको भनाइ छ । चिसोले पाइपमै पानी जम्दा तातो पानी तताएर पाइपमा खन्याएपछि मात्रै धारामा पानी आउने गरेको कर्मचारी बताउँछन् । चिसोले तेलसमेत जम्दा दैनिकी कठिन हुने गरेको निकुञ्जका सूचना अधिकारी मण्डलले बताए । बिहानको समयमा अधिक चिसो हुने भएकाले घाम नलागेसम्म ओछ्यानबाट ननिस्कने गरेको उनको भनाइ छ । रासस
चीनमा ७.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा मङ्गलबार बिहान २ बजेर ९ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । २२ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्र ४१.२६ डिग्री उत्तर अक्षांश र ७८.६३ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । मुख्य भूकम्पपछि ५.३ म्याग्निच्युडको शक्तिशाली परकम्पहरू आएका थिए । भूकम्पको केन्द्रबिन्दुमा कैयौं आवासीय घर र गाईवस्तुका गोठहरू भत्किएका छन् । केही मानिसहरु सामान्य घाइते भएका छन् । भूकम्प गएको केही समयपछि उक्त क्षेत्रका केही भागमा विद्युत आपूर्तिमा अस्थायी अवरुद्ध भएको थियो ।
खोटाङमा सवारीसाधनको भाडा घट्यो, कहाँको भाडा कति ?
खोटाङ । जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो । जिल्लामा सञ्चालित बस, सुमो (जीप), अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै छलफल गरेर सवारीसाधनको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिए । ‘जिल्लामा सञ्चालित सबै सवारीले आफूखुसी भाडा लिने गरेका थिए । यसलाई व्यवस्थित गर्न पहिलो चरणमा बसको एकतर्फी भाडा तीन सय १० रूपैयाँ सम्म घटाइएको छ’, उनले भने, ‘भाडादरलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ । बस, सुमो, अटो र भ्यान सञ्चालक समितिबाट एक–एकजना, उद्योग वाणिज्य सङ्घ, ट्राफिक प्रहरी, पत्रकार महासङ्घ, नागरिक समाज, १० वटै स्थानीय तहका एक–एकजना प्रतिनिधि राखेर समिति निर्माणगरी वैज्ञानिक तवरबाट भाडा तोकिने र त्यसैलाई स्थायीरूपमा निरन्तरता दिने निर्णय गरिएको छ ।’ बसमा दिक्तेल–खुर्कोट नौ सय ५० रूपैयाँ, दिक्तेल–काठमाडौँ एक हजार तीन सय रूपैयाँ, दिक्तेल–रसुवा–गाईघाट–धरान खडकखण्डमा दिक्तेल–गाईघाटको एक हजार रूपैयाँ, दिक्तेल–इटहरीको एक हजार तीन सय रूपैयाँ, दिक्तेल–धरान एक हजार तीन सय ५० रूपैयाँ र दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा सडकखण्डमा दिक्तेल–कटारी एक हजार रूपैयाँ, दिक्तेल–मिर्चैया एक हजार एक सय रूपैयाँ, दिक्तेल–लहान एक हजार दुई सय रूपैयाँ, दिक्तेल–इटहरी एक हजार चार सय ५० रूपैयाँ, दिक्तेल–धरान एक हजार पाँच सय रूपैयाँ, दिक्तेल–विराटनगर रु एक हजार पाँच सय ५० र दिक्तेल–काँकडभिट्टा रु एक हजार सात सय ५० नयाँ भाडार कायम गरिएको छ । दिक्तेल–भोजपुरअन्तर्गत दिक्तेल–चखेवा पाँच सय ५० रूपैयाँ, दिक्तेल–भोजपुर आठ सय रूपैयाँ, दिक्तेल–मानेभन्ज्याङ पाँच सय ३० रूपैयाँ, दिक्तेल–रोक्सिम भन्ज्याङ छ सय रूपैयाँ, दिक्तेल–खोटाङबजार सात सय रूपैयाँ भाडादर तोकिएको छ । यात्रुको सहजताका लागि जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सबै स्थानको भाडा घटाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । ‘व्यवसायसँगै यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले सबै सवारीको भाडादर घटाइएको छ । नयाँ भाडादरअनुसार भाडा लिन र दिन व्यवसायी तथा यात्रुलाई आग्रह गरेका छौँ’, उनले भने, ‘यातायात व्यवसायीले तोकिएको भाडादर लागू नगरेको खण्डमा हामीलाई खबर गर्नुहोस्, तुरुन्त कारबाही गर्छौँ ।’ लामो दूरीमा चल्ने सुमोले सबै ठाउँको रु एक सय भाडा घटाउने र भ्यानले दिक्तेलबाट मुडेसम्मको रु एक सय, हुर्लुङ रु एक सय ५०, नुनथला रु दुई सय, महुरे रु दुई सय ५०, अर्खौले रु तीन सय र हलेसी रु तीन सय ५० भाडा लिनुपर्ने जनाइएको छ । भ्यानले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा रु तीन हजार पाँच सयमात्रै लिन पाउनेछन् । अटोले सेवा दिइरहेको ठाउँमा रु ५० घटाउने र दिक्तेलको रत्नपार्कबाट जिल्ला अस्पतालसम्म बिरामी लानुपरेमा बिरामी र सहयोगीको रु दुई सय ५० र बिरामीसहित तीनजना भएमा रु तीन सय ५० लिने निर्णय भएको छ । जिल्लामा सञ्चालन हुने अटोले सबैभन्दा बढी मनपरी भाडा लिने गरेको यात्रुको गुनासो छ । यसैबीच दिक्तेलको आचार्य गाउँमा रहेको बसर्पाकमा दैनिक पाँचवटा बस लैजाने र त्यहाँ ‘इन्ट्री’ गरेरमात्रै माथि आउन पाइने, यात्रु लिन सोल्मा बसपार्कमा बस अनिवार्य जानुपर्ने र आन्तरिकरूपमा चल्ने यातायातका साधन सोल्मा बसपार्क लैजाने निर्णय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । सडकको दायाँबायाँ यत्रतत्र गाडी पार्किङ गर्न नपाइने, यदि पार्किङ गरेको खण्डमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा बस, जीप, अटो र भ्यानगरी करिब तीन सय ५० हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् । रासस
भायानेटले सार्वजनिक गर्यो ‘बाइ वान गिफ्ट वान फ्री’ योजना
काठमाडौं । भायानेटले ‘बाइ वान गिफ्ट वान फ्री’ योजना सार्वजनिक गरेको छ । भायानेट कम्युनिकेसन लिमिटेड नेपालमा फाइबर इन्टरनेट,आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्थाले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यस प्रकारको पहिलो ‘बाइ वान गिफ्ट वान फ्री’ (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सो भन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ । एक पटक योग्य भएपछि, ग्राहकले एसएमएस मार्फत उपहार भौचर कोड प्राप्त गर्नेछन् जुन उनीहरुले आफ्नो प्रियजनलाई प्रदान गर्न सक्नेछन् । गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको २७०० रूपैयाँ भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् । उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध छ र यसमा जडान शुल्क भने लागू हुनेछ। उपहार भौचर दाबी गरिसकेपछि, आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् । कम्पनीका अनुसार यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुट सहितको मूल्य सार्वजनिक गरेको छ । जसको मुल्य मात्र २७०० रुपैयाँ भ्याट पर्नेछ । भायानेट परिवारमा सामेल हुने र आफ्ना प्रियजनलाई उच्च गतिको इन्टरनेट उपहार दिने यो आकर्षक योजनाको लाभ लिन नछुटाउन कम्पनीले अनुरोध समेत गरेको छ ।