विकासन्युज

आन्तरिक पर्यटक आकर्षित गर्दै चिन्डेडाँडा

धरान । धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा ‘रमितेडाँडा’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । धरान बजारको रमणीय दृश्यका साथै इटहरी, चारकोसे झाडीलगायत तराईका गाउँको दृश्यावलोकन गर्न सकिने भएकाले चिन्डेडाँडामा दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । चिन्डेडाँडा घुम्न जानेहरु कोही ‘हाइकिङ’ गर्दै त कोही गाडी या मोटरसाइकलमा पुग्ने गर्छन् । त्यहाँ पुग्दा डाँडामा बसेर गीतसङ्गीतका साथ रमाइलो गर्नेहरु धेरै भेटिन्छन् । हाल अमेरिका बस्दै आएका धरान–१६ का राजेन्द्र ताम्राकार घर आएको मौकामा नजिकै घुम्ने ठाउँको खोजीमा थिए । साथीहरूको सल्लाहमा उनी चिन्डेडाँडा पुगे । पहिला नाङ्गो डाँडाका रुपमा देखेको चिन्डेडाँडा अहिले घुम्ने नयाँ गन्तव्यका रुपमा विकास भएको देख्दा उनी चकित परे । ‘पहिला यहाँ आउन पाएको थिएन, यो ठाउँ यति रमाइलो होला भन्ने सोचेकै थिएन’, चिन्डेडाँडामा घुम्दै भेटिएका उनले भने, ‘यहाँबाट धरान बजारको दृश्य राम्रोसँग हेर्न सकिने रहेछ ।’ धरानकै मिङ्मा शेर्पा पनि साथीभाइसँग रमाइलो गर्न चिन्डेडाँडा पुगेका थिए । रमाइलो र घमाइलो चिन्डेडाँडामा बसेर दृश्यावलोकन गर्नुको आनन्द वर्णन गरेर साध्य नहुने उनको अनुभव छ । धरानबाट हिँड्दै पनि पुग्न सकिने यो ठाउँ धरान, इटहरीलगायत पूर्व क्षेत्रका आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘बाटो अलि राम्रो बनाउने हो भने यहाँ अझ धेरै पर्यटक आउने निश्चित छ ।’ चिन्डेडाँडा आसपासको क्षेत्रमा तामाङ समुदायको पुरानो बस्ती छ । अलि तल गुरुङ, राई, क्षेत्री, ब्राह्मणको बस्ती पनि छ । गुरुङ छाप, कार्की छापजस्ता नामले चिनिने ठाउँहरु यहाँ छन् । त्यहाँको अग्लो र खुल्ला डाँडा चाहिँ धरान बजारबाट देखिन्छ । धरानबाट उत्तरतर्फ हेर्दा नाङ्गो डाँडा देखिने भएकाले धरानबासीले चिन्डेडाँडाभन्दा भन्दै यसको नामै चिन्डेडाँडा रहनगएको स्थानीय बताउँछन् । स्थानीय भने यो डाँडालाई रमितेडाँडा भनेर चिन्छन् । पहिलादेखि नै यहाँबाट धरान र तराईका फाँटको रमणीय दृश्य देखिने भएकाले बाटो हिँड्ने मान्छेहरु अडिएर रमिता हेर्थे । रमिता हेर्ने डाँडा भएकाले रमितेडाँडा भन्ने गरिएको स्थानीयको कथन छ । धरानबासीले चिन्डेडाँडा भन्दाभन्दै बाहिरका मान्छेले चिन्डेडाँडा भनेर चिन्न थालेपछि अहिले सबैले चिन्डेडाँडा भन्ने गरेका छन् । पहिला उजाड र सुनसान गाउँका रुपमा रहेको यो ठाउँमा पर्यटकको चहलपहल हुन थालेको एक दशक भयो । पहिले चिन्डेडाँडाबाट प्याराग्लाइडिङको उडान पनि हुने गरेको थियो । प्याराग्लाइडिङले पनि यो ठाउँमा पर्यटकलाई आकर्षित गरेको भए पनि पछिल्लो समय त्यस ठाउँबाट प्याराग्लाइडिङ उडान बन्द भएको छ । बरु अहिले प्याराग्लाइडिङ उडाउने ठाउँमा होटल खुलेका छन् । अहिले दिनमा दुई सयजनाको हाराहारीमा मान्छे घुम्न आउने गरेको स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङको भनाइ छ । उनका अनुसार यो ठाउँमा घुम्न आउनेले जैविक खानेकुराको स्वाद लिन पाउँछन् । लोकल कुखुराको मासु, तोङ्बा, सुकुटी, गुन्द्रुकको अचार र भट्टु धानको भात यहाँको मौलिक परिकार हो । त्यसबाहेक बजारमा पाइने अन्य चाउमिन, मःम, चटपटेजस्ता खानेकुरा पनि पाइने उनी बताउँछन् । उनी भन्छन्, ‘यहाँ तोङ्बा र सुकुटी धेरै बिक्छ, एकपटक आएका मान्छे फेरि फर्केर आइरहन्छन् ।’ यो डाँडामा अहिले बास बस्नका लागि होटल र खानाका लागि खाजाघर खुलेका छन् । धेरैजसो दुई चार÷घन्टा बसेर फर्किने गरी आन्तरिक पर्यटक चिन्डेडाँडा आउने गरेका र केही भने बास बस्दै आउने गरेको स्थानीय होटल व्यवसायी वसन्ती तामाङको भनाइ छ । उनका अनुसार धरान, इटहरीका मात्र नभई झापा, चितवन, काठमाडौंदेखिका मान्छे पनि धरान घुम्न आएको मौकामा यहाँ आउने गरेका छन् । ‘टाढादेखि आएका मान्छे पनि रमाइलो मानेर फर्किनुहुन्छ, हामी त्यसमै खुसी छौँ’, उनी भन्छन् । चिन्डेडाँडा भन्दा अलि माथि केही वर्षअघि कोशी प्रदेश सरकारको सहयोगमा दृश्यावलोकन स्तम्भ पनि निर्माण भएको छ । अलि तल पर्यटन व्यवसायी वासु बराल र एलिना मगरले सेछ एड्भेन्चर पार्क र रिसोर्ट सञ्चालन गरेका छन् । केही परको तामाङ बस्तीमा घरबास पनि सञ्चालित छ । पर्यटन व्यवसायी मगर चिन्डेडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षक रमाइला स्थल रहेकाले पछिल्लो समय पर्यटनको विकास भइरहेको बताउँछन् । धरानबाट चिन्डेडाँडा पुग्न कच्ची बाटो छ । हिँडेर जाँदा करिब एक घन्टा लाग्छ भने मोटरसाइकल वा गाडीमा जाँदा १५ देखि २० मिनेटमा पुगिन्छ । सर्दु खोलामा पुल निर्माण भएपछि चिन्डेडाँडा पुग्न सहज भएको छ । अझै कच्ची बाटो भएकाले कतिपयले अप्ठ्यारो मान्ने गरेका कारण राम्रो बाटो बनाउन ध्यान दिनुपर्ने अवस्था रहेको व्यवसायी मगर बताउँछन् । धरानका नगरप्रमुख हर्क साम्पाङको नेतृत्वमा हाल चिन्डेडाँडा क्षेत्रमा किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ । सुम्निमा पारुहाङको प्रतिमा स्थापनापछि यो क्षेत्रको पर्यटन विकास तीव्र गतिमा अघि बढ्ने नगरप्रमुख साम्पाङको विश्वास छ ।  रासस

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४० अङ्कले घटेर दुई हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको हो । यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो । आज तीन सय १० कम्पनीको एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता सेयर एक लाख १७ हजार पाँच सय ७७ पटक खरिदबिक्री हुँदा चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रुपैयाँ बराबरको कारोबार भएको छ । विकास बैंक समूहको उपसूचक शून्य दशमलव ०७, वित्त समूह शून्य दशमलव २८, होटल तथा पर्यटन समूह चार दशमलव ७४, लगानी समूह शून्य दशमलव ३६, निर्जीवन बीमा समूह शून्य दशमलव ७३ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूह शून्य दशमलव ४२, जलविद्युत् शून्य दशमलव ५८, जीवन बीमा समूह शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २३, लघुवित्त समूह शून्य दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव २१ र व्यापार समूह शून्य दशमलव ८६ प्रतिशतले घटेको छ । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा छ दशमलव २० प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लिमिटेडको रु ५५ करोड नौ लाख ८० हजार सात सय ८५ बराबरको आठ लाख ४१ हजार २२ कित्ता सेयर किनबेच भएको छ । रासस

…त्यसपछि रन्थनिए गभर्नर अधिकारी

काठमाडौं । ‘हिजो केही घण्टा म धेरै दुःखी भएँ, मेरो जीवनमा खल्लो लागेको दिन हिजो केही घण्टा थियो, एक्कासी बैंकको वार्षिकोत्सव नहुने कुरा सुनेँ, त्यसले मलाई धेरै दुःखी बनायो,’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार कृषि विकास बैंकको वार्षिकोत्सव कार्यक्रममा भावुक हुँदैन भने । उनले त्यो भावुकता व्यक्त गरेपछि धेरैले त्यो विषयमा चासो राखे । विषय बुझेकाहरू मौन रहे । नबुझेकाहरू कानेखुसी गर्न थाले । गभर्नर अधिकारी धारा प्रवाहरूपमा भावकुता प्रकट गर्दै थिए । उनले थपे, ‘के कारणले एक्कासी बैंकको वार्षिकोत्सब रोकिने भएछ भनेर सोचेँ, वार्षिकोत्सव नै रोक्नु पर्ने के कारण आइलागेछ भनेर सोचमग्न भएँ, त्यतिबेलै फेरि वार्षिकोत्सव हुन्छ भनेर खबर आयो ।’ गभर्नरको उक्त भावुकताप्रति कार्यक्रममा उपस्थितहरूको मात्रै चासो बढेन सञ्चार माध्यममा पनि त्यो विषयले प्राथमिकता पायो । आइतबार भएकाे कार्यक्रममा उनले बैंकभित्रको किचलोको विषयमा धारणा राखे । उनले बैंकभित्र राजनीति नगर्न पनि आग्रह गरे । कार्यक्रम सुरु हुनु अघिल्लो दिनसम्म बैंकका कर्मचारी संगठनहरूले वार्षिकोत्सव कार्यक्रम नै रोक्ने धम्की दिएपछि गभर्नरसमक्ष पनि कार्यक्रम नहुने सन्देश गएको थियो । बैंकमा रहेका ट्रेड युनियनहरूले कार्यक्रम भएपनि स्थगित गर्ने योजना बनाएपछि उनीसमक्ष पनि सो कुरा पुगेको थियो । त्यही विषयलाई कोट्याउँदै  गभर्नर अधिकारीले कार्यक्रममै बैंकभित्रको खिचातानीको विषयमा चिन्ता प्रकट गरेका थिए । कृषि विकास बैंक कर्मचारी युनियन नेपालका अध्यक्ष जानुका पौडेल दबाब श्रृजना गर्न कार्यक्रम रोक्ने चेतावनी दिएको स्पष्ट पार्छिन् । ‘दबाबको लागि वार्षिकोत्सव रोक्ने चेतावनी दिएका थियौं । तर पछि नरोक्ने भन्ने सल्लाह भयो, बैंक सञ्चालक समितिले बोलाएर मागहरू सम्बोधन बताएपछि कार्यक्रम रोक्ने निर्णयबाट पछि हट्यौं,’ उनले भनिन् । आफूहरूले विगत लामो समयदेखि कर्मचारीको हित र समग्र बैंकको विकासका लागि निरन्तर कामसँगै आवाज पनि उठाइरहेको उनको भनाइ छ । गत असारमा ट्रेड युनियनले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । तर, कर्मचारी संगठनहरूले राखेका मागहरू पुरा नभएपछि बैंकको वार्षिकोत्सव रोक्ने धम्की दिइएको थियो । बैंकमा क्रियाशील संगठनहरूले संयुक्त रूपमा गत असार आर्थिक र गैर आर्थिक माग राखेका थिए । उनका अनुसार विनियमावली संशोधन गर्ने, श्रेणीगत (तह) बढुवा हुनु पर्ने माग राखेका छन् । श्रेणीगतबाट तहगत बनाउँदा कर्मचारीको बढुवा नै रोकिएको उनले बताइन् । ‘पुरानो प्राबधानबाट नयाँ प्राबधानमा जाँदा कर्मचारीको बढुवा रोकिएको छ, त्यसले कर्मचारीलाई निरूत्साहित बनाएको छ,’ उनले भनिन् । नेपाल वित्तीय कर्मचारी संघ कृषि विकास बैंकका अध्यक्ष राम रावल कर्मचारीहरूका माग पुरा नभए युनियनहरू बैंक डेमा उपस्थित नहुने जानकारी गराएको बताउँछन् । ‘माग सम्बोधन भएनन् भने बैंक डे पनि नमाउन सक्छौं भनेका थियौं, त्यही कुराले गभर्नरज्यूलाई चिन्ता लागेको हुनसक्छ, युनियन सहभागी नहुनु भनेको आम कर्मचारी सहभागी नहुनु हो, व्यवस्थापकले पनि युनियन सहभागी भएन भने बैंक डे नै मनाउँदैनौं भनेको थियो,’ उनले भने, ‘पछि कुरा मिलेपछि वार्षिकोत्सव मनायौं, व्यवस्थापन र युनियनकाबीचमा भएका सहमति सञ्चालक समितिले कार्यान्वयन गर्ने आंशिक सहमति भयो ।’ विभिन्न चरणका कार्यक्रमहरू स्थगित गरेर पहिलो त्रैमासमा बढेको खराब कर्जा दोस्रो त्रैमासमा नियन्त्रणमा ल्याएको बताउँदै उनले भने, ‘एनपीएल बढ्यो, लगानी बढ्न सकेन, दोस्रो त्रैमास पनि बिग्रियो भने सेवा सुविधा पनि बिग्रिन्छन् भनेर युनियनहरू पुरै समय बैंकको दोस्रो क्वार्टर सुधारमा लाग्यौं, रातदिन नभनी काम गर्याैं, दोस्रो त्रैमासमा नाफा बढाउन र खराब कर्जा घटाउन सफल भयौं ।’ उनका अनुसार गत असार २८ गते विज्ञप्ति निकालेर ध्यानाकर्षण गराइएको थियो । भदौ २२ गते युनियन र व्यवस्थापनबीच सहमति भएपनि कार्यान्वयन भएका थिएनन् । कृषि विकास बैंक कर्मचारी संगठन नेपालका अध्यक्ष इन्द्रमणी घिमिरे चार वटा युनियनहरूसँग गत असारमा भएका सहमति कार्यान्वयनमा आनाकानी भएको बताउँछन् । तर, बैंक सञ्चालक समितिले कार्यान्वयन गर्ने सहमति भएपछि वार्षिकोत्सव मनाइएको उनको भनाइ छ । ‘मागहरू समयमा पुरा गर्न जोडदार आवाज उठाइरहेका छौं, कर्मचारीलाई मोटिभेशन नहुँदा समस्या छ,’ उनले भने, ‘क वर्गका वाणिज्य बैंकमा कार्यरत सबै कर्मचारीको सेवा समान हुनु पर्छ, सरकारी बैंकमा कार्यरत कर्मचारी अन्य बैंकमा पलायन हुने स्थिती छ,’ उनले भने, ‘अहिले पनि कृषि विकास बैंकको सुविधाभन्दा अन्य बैंकको सेवा सुविधा धेरै छ, अब ‘क’ वर्गका सबै वाणिज्य बैंकको सेवा सुविधा समान किसिमको हुनु पर्छ ।’

कर्णालीमा ६ महिनामा ७१ करोड बढीको कृषि वस्तु आयात

भेरीगङ्गा  । कर्णालीमा ठूलो परिणाममा कृषि वस्तु आयात हुने गरेको पाइएको छ । कर्णाली प्रदेशबाट करिब ११ करोड रुपैयाँको कृषि वस्तु निर्यात हुँदा ७१ करोड रुपैयाँभन्दा धेरैको आयात हुने गरेको पाइएको हो । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म १० करोड ८१ लाख ५७ हजार रुपैयाँको कृषि वस्तु निर्यात हुँदा ७१ करोड ७५ लाख ३० हजार रुपैयाँको कृषि वस्तु आयात भएको हो । कर्णालीमा सबैभन्दा धेरै तरकारी आयात भएको छ । चालु वर्षको छ महिनामा मात्रै कर्णालीमा २१ करोड ४९ लाख ५६ हजार रुपैयाँको तरकारी आयात हुँदा ९४ लाख ५० हजार रुपैयाँको मात्रै तरकारी निर्यात भएको छ । दैलेख, जाजरकोट, मुगु, सल्यान, कालीकोट र सुर्खेतबाट तरकारी प्रदेशबाहिर नीकासी हुने गरेको छभने दाङ, धादिङ र भारतबाट आयात हुने गरेको छ । प्रदेशमा तीन करोड १३ लाख १० हजार रुपैयाँको खाद्यान्न वस्तु आयात हुँदा कर्णालीबाट ४४ लाख १६ हजार रुपैयाँको निर्यात हुने गरेको छ । आलु नौ करोड ९९ लाख दुई हजार रुपैयाँको आयात भएको छ । कर्णालीबाट २८ लाख २४ हजार रुपैयाँको आलु निर्यात भएको छ । फलफूल ३५ करोड ५८ लाख ९४ हजार रुपैयाँको फलफूल आयात हुँदा नौ करोड ७४ लाख छ हजार रुपैयाँको निर्यात भएको छ । त्यसैगरी, मसला बाली दुई करोड १३ लाख २९ हजार रुपैयाँ, च्याउ २० लाख २९ हजार रुपैयाँ र अन्य १० लाख १९ हजार रुपैयाँको आयात भएको छ । कर्णालीबाट मसलाबाली छ लाख ८२ हजार रुपैयाँ, च्याउ पाँच हजार रुपैयाँ र अन्य ३३ हजार रुपैयाँको निर्यात भएको कृषि निर्देशनालय निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए । निमित्त निर्देशक रोकायका अनुसार कर्णालीमा चालु आवको छ महिनामा दश हजार मेट्रिकटनभन्दा धेरै कृषि वस्तु आयात भएको छ । त्यसमा खाद्यान्नबाली ५५ दशमलव दुई मेट्रिकटन चालु आवको छ महिनामा निर्यात भएको छ । त्यसैगरी, तरकारी तीन सय १५ दशमलव तीन मेट्रिकटन र आलु एक सय ४१ मेट्रिकटन निर्यात भएको उनको भनाइ छ । कर्णालीबाट सबैभन्दा धेरै फलफूल निर्यात भएको छ । फलफूल करिब एक हजार तीन सय ९६ दशमलव एक मेट्रिकटन निर्यात भएको जनाइएको छ । त्यसैगरी, मसलाबाली १० दशमलव पाँच मेट्रिकटन, च्याउ शून्य दशमलव तीन मेट्रिकटन र अन्य शून्य दशमलव छ मेट्रिकटन निर्यात भएको निर्देशक रोकायले बताए । उनका अनुसार कर्णालीमा अधिकांश कृषि वस्तु भारतबाट आयात हुने गरेका छन् । त्यसपछि दाङ, धादिङ, बाँके र चितवनबाट समेत आयात हुने गरेको छ । कर्णालीका पाँच जिल्लामा उत्पादन भएको वस्तुको निर्यात धेरै हुने गरेको छ । सरकारले भने उत्पादनमुखी कार्यक्रम ल्याएर प्रदेशलाई आत्मनिर्भर बनाउने दाबी गर्दै आएको छ । प्रदेशमा कृषि क्षेत्रमा वार्षिक अर्बौं बजेट विनियोजन हुने गरे पनि परिणामुखी भने हुन नसकेको कृषि विज्ञले बताएका छन् । रासस

नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीको विरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौं महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले न्युरोड क्षेत्रका व्यवसायी समस्यामा परेको बताए । ‘व्यापार व्यवसाय मन्दी भएको अवस्थामा पार्किङ निषेध गरेर झन् समस्या थप्ने काम हुँदैछ,’ उनले भने । काठमाडौं महानगरपालिकाले भने आज बिहानदेखि न्युरोड आसपासमा पार्किङ गरिएका सवारीसाधन हटाएको छ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्युरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए । ‘न्युरोड जानुपर्ने सवारी धनीलाई काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएका छौँ’, उनले भने । पुरानो बसपार्क क्षेत्रमा तीन सयवटा चारपाङ्ग्रे र सात सय दुईपाङ्ग्रे सवारी साधन अट्ने महानगरले जनाएको छ । पार्किङ निषेध गरिएको ठाउँमा महानगरपालिकाले आज बिहानदेखि विशेष सरसफाइसमेत गरेको छ । रासस

अत्यधिक तनावले गर्दा युवावस्थामै हुन्छ मधुमेह

मधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ । रगतमा हुने ‘इन्सुलिन’ नामक हर्मोनले रगतमा भएको चिनी अर्थात् ग्लुकोजलाई शरीरका कोषमा प्रतिक्रिया गराएर त्यहाँबाट शक्ति उत्पादन गर्न मद्दत गर्दछ । फलस्वरुप रगतमा चिनीको मात्रा निश्चित स्तरभन्दा माथि जान सक्दैन । शरीरभित्र इन्सुलिन बनाउने काम प्यानक्रियाज ग्रन्थीको हो । प्याक्रियाजले आवश्यक मात्रामा इन्सुलिन बनाउन सकेन भने वा भएको इन्सुलिनसँग कोषले प्रतिक्रिया जनाउन सकेन भने रगतमा चिनीको मात्रा बढ्न जान्छ ।  लामो समयसम्म रगतमा चिनीको मात्रा बढिरह्यो भने मुटु, मिर्गौला, आँखा, खुट्टालगायत विभिन्न अङ्गमा हानि पुग्दछ । केही वर्षयता विश्वव्यापी रुपमा मधुमेहका रोगी सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । सन् १९८० पछिको तथ्याङ्कलाई हेर्ने हो भने १८ वर्षमाथिका चार प्रतिशतमा मधुमेह देखिएको थियो । यो समस्या अहिले साढे आठ प्रतिशतभन्दा बढी मानिसमा देखिएको छ । सन् २०१५ मा १६ लाख मानिसको यो रोगले मृत्यु भएको मानिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा झन्डै ४२ करोड मानिसलाई मधुमेह रोग रहेको अनुमान गरेको छ । । विश्वमा करिब २२ करोड मानिस मधुमेह रोगबाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो सङ्ख्या दोब्बर हुने डब्लुएचओले जनाएको छ । विश्वमा रोगबाट मर्नेहरुमध्ये पाँच प्रतिशत मधुमेहका रोगी छन् । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउँदो १० वर्षमा मधुमेहबाट ज्यान गुमाउनेको सङ्ख्या ५० प्रतिशतले बढ्नेछ । सन् २०३० सम्ममा १७ वर्षमुनिका मानिसको मृत्यु दरमा मधुमेहको हिस्सा ५० प्रतिशत पुग्ने अनुमान गरिएको छ । नेपालमा पनि प्रत्येक घरमा मधुमेहका रोगी बढिरहेका छन् । कति रोगी छन् भन्ने तथ्याङ्क नभए पनि झन्डै आठ प्रतिशत मानिसलाई मधुमेह हुनसक्ने अनुमान गरिएको छ  डब्लुएचओले नेपालमा पनि ४० वर्षसम्म उमेर समूहका करिब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समूहभन्दा माथिका करिब १९ प्रतिशतलाई मधुमेह लागेको तथ्याङ्क स्वास्थ्य विभागले दिएको छ । ग्रामीण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको छ । पहिले–पहिले मधुमेह ४० वर्ष कटेपछि हुन्थ्यो भन्ने भनाइ थियो । बढ्दो आधुनिकीकरण, खानेकुरामा विषादीको अत्यधिक प्रयोग, अनियन्त्रित जीवनशैलीका कारणले पनि होला मधुमेहको समस्या विकराल बन्दैछ । बूढेसकालमा लाग्ने रोग भनिने यो रोग अहिले ३०–३५ वर्षभित्रै मधुमेह देखिन थालेको छ । अस्वस्थकर जीवनशैली, पत्रुखाना, अत्यधिक तनाव आदिले गर्दा अहिले त युवावस्थामै मधुमेह हुन्छ । मधुमेहका धेरै हुन्छन् । मधुमेहलाई मुख्य दुई प्रकारमा हेर्न सकिन्छ । पहिलो प्रकारमा शरीरमा इन्सुलिन भन्ने तत्व हुन्छ, जसले जीवकोषमा चिनीलाई नियन्त्रण गर्दछ । दोस्रो प्रकारको मधुमेह प्रायः ४०–५० वर्ष उमेर कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनको कारणले धेरैमा हुन्छ । यसमा शरीरमा रहेको इन्सुलिनले राम्रोसँग काम गर्दैन । विदेशमा ४० को उमेर भएपछि देखिने यो समस्या नेपालमा अहिले सानै उमेरमा देखिन थालेको छ । यो प्रकारको मधुमेह धेरै कम व्यक्तिलाई हुन्छ यो प्रकारको मधुमेह धेरैलाई हुन्छ । खानपान, जीवनशैली र भौगोलिकतासँगै वंशाणुगत मधुमेह रोग लाग्छ । वातावरणीय कारण खानपान, तनाव मात्र होइन, प्रदूषण, खाद्यान्न उत्पादनमा रासायनिक मलको प्रयोग पनि मधुमेहसँग जोडिएको पाइएको छ । मोटोपन भएका मानिसमात्र होइन, स्वस्थकर खाना नभएर, कुपोषण भएकालाई पनि मधुमेह हुनसक्छ । आमालाई कुपोषण हुँदा पनि उनीबाट जन्मिएको बच्चालाई पछि मधुमेह हुनसक्छ । गर्भावस्थामा पनि विविध कारणले मधुमेह हुन्छ । कतिपय मानिसमा वंशाणुगत कारण पनि मधुमेह हुने गर्दछ । मधुमेह भएको बिरामीमा पटकपटक पिसाब लाग्ने, दुब्लाउँदै जाने, थकान महसुस गर्ने, सङ्क्रमणहरु निको नहुने, पानी प्यास लाग्ने हुन्छ । झन्डै ५० प्रतिशत व्यक्तिमा त यसको लक्षण नै देखिँदैन । लक्षण देखिएन भन्दैमा मधुमेह भएको छैन भनेर ढुक्क हुन सकिँदैन । त्यस्ता व्यक्तिहरुमा पनि केही लक्षणहरु जस्तै : बढी प्यास लाग्नु, दुब्लाउँदै जानु, घाउ संक्रमण आदि छिटो निको नहुनु, थकान महसुस हुनु, पिसाब बढी लाग्नु, भोग लाग्नु, मुख सुख्खा हुनेजस्ता लक्षणहरु देखिन्छ । जोखिम मधुमेह हुँदैमा डराइहाल्नु पर्दैन । सावधानी अपनाउने हो भने यसबाट आउन सक्ने विभिन्न जटिलबाट हामी जोगिन सक्छौँ । यो दीर्घकालीन रोग भएकाले एकपटक लागिसकेपछि यसलाई राम्रोसँग नियन्त्रणमा राखेर व्यवस्थापन गर्नुको विकल्प नै छैन । जीवनशैलीमा सुधार ल्याएर, व्यायाम गरेर, स्वस्थ भोजन गरेर पेटको गोलाइ बढ्न दिइएन भने मधुमेहको समस्याबाट टाढा रहन सकिन्छ । धेरै मानिसहरु मधुमेह भएको पत्ता लाग्नासाथ डाक्टरको सल्लाह लिनुभन्दा आत्तिने वा अनेक घरेलु औषधितिर लाग्ने गरेको देखिन्छ । यसले रोग निको हुनुभन्दा झन् जटिल बनाउने हुन्छ । बिरामीलाई पहिलो प्रकारको मधुमेह भएको छ भने इन्सुलिनको सुई दिनुपर्ने हुन्छ भने दोस्रो प्रकारको मधुमेहमा चिकित्सकले बिरामीलाई खानपानमा अपनाउनुपर्ने सावधानीका बारेमा बताउँछन् र सँगसँगै रगतमा भएको चिनीको मात्रा नियन्त्रण गर्नका लागि खाने गोली पनि दिन सक्छन् । सावधानीका उपाय मधुमेहको लक्षण देखिएमा वा नदेखिएमा पनि जाँच गरेर पे्रसर, सुगर र कोल्डस्टोर सुरक्षित घेराभित्र राख्नुपर्छ । यो भनेको नराम्रो र महँगो पर्ने रोगबाट जोगिने उपाय हो । गुलिया खानेकुरा शरीरका लागि हानीकारक हुन्छन् । बढी चिनी हाम्रो शरीरले पचाउन सकेन भने त्यो फ्याटमा परिवर्तन हुन्छ । पछि गएर त्यसले चिनीरोग मात्रै होइन, मुटुरोगको जोखिमलाई पनि बढाउँछ । गुलिया मिठाई मात्रै नभएर कोक, फ्यान्टा, जुसले पनि मधुमेह हुन सक्छ । बजारिया पेयपदार्थमा पनि फ्रुक्टोसिरफ भन्ने हालेको हुन्छ, यसलाई मेडिकल साइन्सले विषै मान्छ । विश्वका एक लाख व्यक्तिमा अनुसन्धान गर्दा विभिन्न प्रकारका पत्रु खाना, रेसा नभएका खाना, बिस्कुट आदिको प्रयोग गर्ने मानिसमा दोस्रो प्रकारको मधुमेह बढी भएको देखिएको थियो । मधुमेह मात्रै होइन, जुनसुकै रोगबाट बच्न मदिरा र सुर्तीजन्य पदार्थसेवन गर्नु हुँदैन । स्वस्थ जीवनका लागि व्यायाम अनिवार्य छ । हाम्रा शरीरका सबै अङ्गलाई राम्ररी चलाउनुपर्छ । दिनमा एक घन्टा वा कम्तीमा आधा घन्टा हिँड्नैपर्छ । मधुमेहबाट बच्ने अर्को सावधानीको उपाय भनेको तनावलाई कम गर्ने हो । तनावबाट पूर्ण रुपमा मुक्त हुन सकिँदैन तर, कम गर्न सकिन्छ । खुसी रहन, हाँस्न प्रयत्न गर्नुपर्दछ । दुखी रह्यो भने सुगर व्यवस्थापन गर्न गाह्रो हुन्छ । तनावमा भएका बेला सुगरको मात्रा ह्वात्तै बढ्छ । तनावमा कर्टिसोल नामक हर्मोन निस्कन्छ र यसले सुगर निकाल्छ । त्यसैले सकेसम्म हामीले तनावलाई घटाउनुपर्छ । अचेल मधुमेह नाप्ने यन्त्र ग्लुकोमिटर पनि सस्तैमा पाइन्छ । बेला–बेला सुगर चेकजाँच गरिरहनुपर्छ । त्यस्तै, कोलेस्टोर, उच्च रक्तचापको परीक्षण गरिरहनुपर्छ । त्यस्तै, नियमित औषधि सेवन गर्नुपर्छ । पछि गएर अन्धोपन नहोस्, मुटुरोग, यौन दुर्वलता आदि नहोस् भनेर औषधि दिइएको हुन्छ । औषधिले खासगरी सुगर घटाउन र कोलेस्टोर, उच्च रक्तचाप सन्तुलित राख्न मद्दत गर्दछ । सुगर घटाउने, पे्रसर घटाउने र मुटुरोगबाट जोगाउने अत्यावश्यक औषधि भनेर सरकारले निःशुल्क वितरण गर्ने लिस्टमा राखेको छ । औषधिमा पहुँच भएपछि यो हानिकारक होइन भनेर आम सर्वसाधारणले बुझिदिनुपर्छ । मधुमेहलाई सुरुदेखि नै लापरबाही गरियो र उपचार गराइएन भने मुटु, मिर्गौला, आँखा, नसाजस्ता महत्वपूर्ण अङ्गमा असर गर्नाका साथै मानिसलाई मृत्युको मुखमा पुर्याउँछ । के खाने के नखाने ? मधुमेहका बिरामीले खानपिनमा निकै ध्यान दिनुपर्छ । खानपानको व्यवस्थापन अर्थात् सन्तुलित भोजन गर्न सक्यौँ भने मधुमेहबाट जोगिन सक्छौँ । जस्तो, ब्राउन राइस, मकै, गहुँ, जौ, कोदो खान सकिन्छ तर सागसब्जी बढी र अन्न कम अर्थात् दुई मुठीमा अटाए जति खाने । माछामासु हत्केलामा अटाए जति दुई–तीन पिस खान सकिन्छ । तर कुखुरालगायत दुईखुट्टे पन्छीको सेतो मासु खानुपर्छ । यस्तो मासु पनि बोसोरहित हुनुपर्छ । रातो मासु अर्थात् चारखुट्टेको मासु खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । मधुमेहका बिरामीले एकैचोटि धेरै नखाने थोरथोरै तर समय–समयमा खाने गर्नुपर्छ । तेलको मात्रा निकै कम गर्नुपर्छ । दाल, तरकारीमा बूढी औँलाको टुप्पामा अट्ने जति मात्र तेल प्रयोग गर्ने गरेमा त्यसले हानि गर्दैन । दूध–दही, फलफूलको पनि मात्रा मिलाएर खाइरहनुपर्छ । यो नै सन्तुलित भोजन हो, यसले अन्य रोगबाट पनि बच्न मद्दत गर्छ । सकभर तारेको खानेकुरा नखानु नै राम्रो हुन्छ । त्यस्तै, मिठाईलगायत गुलियो खानेकुरा, कोक–फेन्टालगायत पेय पदार्थ पनि खानु हुँदैन । यति कुरामा ध्यान दिन सकेमा मधुमेहको समस्या कम भएर जानेछ । यी कुरामा आम सर्वसाधारणले ध्यान दिन आवश्यक छ । सानो लापरबाहीले जीवनभर औषधि खानुपर्ने वा सुई लगाउनुपर्ने समस्याबाट मुक्त हुन सकिन्छ । रासस (मधुमेह तथा हर्मोन रोग विशेषज्ञ एवं मेट्रो काठमाडौँ हस्पिटलका प्रबन्ध निर्देशक डा. भट्टराईसँग कृष्ण अधिकारीले गरिएको कुराकानीमा आधारित)

तनहुँमा ३० करोडको सुन्तला उत्पादन, ढुवानीमा समस्या झेल्दै किसान

दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर ७५ लाख रुपैयाँ आम्दानी गरे । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उनले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । गाउँको भिरालो जग्गालाई सदुपयोग गरी सुन्तला खेती गरेका अधिकारीको सुन्तला बगैँचामा एक हजार तीन सयभन्दा बढी बोट छन् । सबैभन्दा धेरै यही वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ छ । उनले भने, ‘अन्य वर्ष रु ६०/७० लाखको उत्पादन भएको छ । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो ।’ सुन्तला खेतीका लागि वार्षिक १५ लाख रुपैयाँ खर्च हुने गरेको अधिकारीको भनाइ छ । उनले भने, ‘यो वर्ष खर्च पहिलाभन्दा थोरै बढ्छ । यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ ।’ फलेका सुन्तला सबै टिपिसकेपछि सुन्तला बोटको गोडमेल गरिने अधिकारीले बताए । उनले भने, ‘सबै सुन्तला टिपिसकेपछि सुन्तलाको बोटमा गोडमेल गर्ने, मल हाल्ने, पिना हाल्ने काम हुन्छ ।’ सुन्तला बिक्रीबाट भएको आम्दानीले छोरा इन्जिनियर र छोरी डाक्टर भइसकेको अधिकारीले सुनाए । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्न सके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन राम्रो हुने उनको भनाइ छ । सुन्तला बगानसम्म सडक सञ्जाल जोडिएकाले सुन्तला बिक्रीका लागि सहज भएको अधिकारी बताउँछन् । उनले भने, ‘सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउनुहुन्छ । बजारको कुनै समस्या छैन । विक्री हुँदैन की भन्ने चिन्ता छैन ।’ सुन्तला खरिद गर्ने ठेकेदार तुलबहादुर थापाले यहाँ उत्पादित सुन्तला काठमाडौं लगेर बिक्री गर्ने गरेको बताए । ‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।’ देवघाट गाउँपालिका–३ का भीमबहादुर थापाले यो वर्ष ५५ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् । विगतमा अधियाँ गरेर खानपर्ने बाध्यता रहेको उनको परिवारलाई अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ । उनले भने, ‘विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका किसानले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङग्रिङमा एउटै घरबाट २० लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ ।’ यी त केही उदाहरणमात्र हुन् । तनहुँमा यो वर्ष किसानले सुन्तला बिक्री गरेर ३० करोड रुपैयाँ भित्र्याएका छन् । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको जानकारी दिए। यो वर्ष तीन हजार सात सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ । कार्यालयका अनुसार गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार छ सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भन्नुभयो, ‘किसानलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।’ उनका अनुसार देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद–८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तला खेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौंका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । ज्ञान केन्द्रले चालु आर्थिक वर्ष २०८०/८१ मा सुन्तला खेतीमा सहयोग गर्न एक करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ । जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । उमाचोकका अधिकारीले व्यापारीलाई ठेक्कामा दिँदा सहज हुने अनुभव सुनाए । उनले भने, ‘सुन्तला बगैँचा नै ठेक्कामा दिँदा बिक्रीका लागि सहज हुन्छ । यसले गर्दा बजार खोज्दै हिँड्नपर्ने समस्या हुँदैन ।’ ढुवानीमा समस्या झेल्दै किसान तनहुँको देवघाट गाउँपालिका–३ स्थित लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँमा उत्पादित सुन्तला बजारसम्म ढुवानीका लागि भने प्रत्येक वर्ष समस्या हुँदै आएको छ । ती ठाउँबाट वार्षिक करोडौँ मूल्यका सुन्तला उत्पादन भए पनि बजारसम्म लैजान समस्या हुँदै आएको हो । नदीपारि रहेको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म सुन्तला ढुवानीका लागि समस्या हुँदै आएको सुन्तला किसान भीमबहादुर थापाको गुनासो छ । उनका अनुसार लुङ्ग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारागणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् । छापस्वाँरा र दगराका किसानले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौं सुन्तला ढुवानी गर्ने गरेको उनले बताए । सुन्तला उत्पादनमा देवघाट जिल्लाकै पकेट क्षेत्रका रुपमा विकास भइरहेको छ । किसान थापाका अनुसार यस वर्ष लुङ्ग्रिङ गाउँबाट तीन करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । नाल्दी र गाईघाटमा पुल भएको भए ढुवानीका लागि सहज हुने उनको भनाइ छ । उनले भने, ‘पुल नहुँदा ढुवानीका लागि खर्च हुँदै आएको छ । यसले किसानलाई समस्या भएको छ ।’ पुल नहुँदा दगराका किसानले रोपवेमार्फत सुन्तला राजमार्गसम्म झार्ने गरेको सुन्तला उत्पादक किसान हरिकुमार श्रेष्ठको भनाइ छ । उनले भने, ‘पुल भएको भए समस्या हुन्थेन, पुल नहुँदा वर्षौंदेखि यहाँ उत्पादित कृषिजन्य सामग्री रोपवेमा राखेर राजमार्गसम्म ल्याउनुपर्छ ।’ यहाँका स्थानीयवासीले गाउँमा उत्पादित सुन्तला, अदुवा, केरा तथा अन्य फलफूल रोपवेबाट राजमार्गसम्म झार्ने गरेको श्रेष्ठले बताए । दगरा र छापस्वाँराका करिब ६० घरको ढुवानीको साधन नै रोपवे भएको छ । रोपवे हुँदा ढुवानीमा भने सहज भएको कृषकको भनाइ छ । श्रेष्ठका अनुसार सेती नदीमा पुल निर्माण गर्न सके गाउँसम्मै सवारी साधन पुग्ने र त्यसले सहज हुन्थ्यो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिकाको भौगोलिक बनावटका कारण किसानलाई सास्ती भएको बताए । उनले भने, ‘नदीमा पुल नहुँदा ढुवानीमा समस्या भइरहेको छ । नाल्दीघाट, घुमाउने र गाईघाटमा पुल बन्न सकेमात्रै किसानलाई सजिलो हुन्छ ।’ नाल्दीबाट लुङ्ग्रिङसम्म जाने ग्रामीण सडकलाई गाउँपालिकाले सुन्तलामार्ग नामकरण गरी बजेट विनियोजन गरेको छ । यस ठाउँमा पुल निर्माणका लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको उनको भनाइ छ । गाउँपालिकाले सुन्तला उत्पादक किसानलाई लक्षित गरी सुन्तला नर्सरी स्थापना गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त नर्सरीमा बिरुवा उत्पादन गरेर इच्छुक किसानलाई निःशुल्क वितरण गरिने बताइएको छ । देवघाट गाउँपालिका-१, २, ३ र ४ का विभिन्न भागमा सुन्तला उत्पादन हुन्छ । प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोग तथा एनजीओ नेटवर्क तनहुँको प्राविधिक र समाजिक सयोगमा आर्थिक वर्ष २०६६/६७ मा जिल्लाभर चारवटा सुधारिएको तुइन र चारवटा ग्राभिटी रोपवे निर्माण गरिएको थियो । त्यसमध्येको एक दगरा र छापस्वाँरा जोड्ने रोपवे हो । रासस

नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने

काठमाडौं । नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच खानी तथा भूगर्भ विभाग, सिमेन्ट उत्पादक संघ, नेपालस्थित स्विस दुतावास र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेण्ट संस्था (भारत) ले अध्ययन सम्झौतामा संयुक्त हस्ताक्षर गरेका हुन् । यस अध्ययनलाई नेपालस्थित स्विस दुतावासको आर्थिक प्राविधिक सहयोग गर्नेछ भने टेक्नोलोजी एण्ड एक्शन फर रुरल एड्भान्समेण्ट संस्था (भारत) ले भूगर्भ विभाग र सिमेन्ट उत्पादक संघको सहयोगमा अध्ययन गर्नेछ । यस अध्ययन परियोजनाले नेपालको सिमेन्ट उद्योगलाई डिकार्बोनाइज कसरि गर्न सकिन्छ ? भन्नेबारे प्राविधिक परीक्षण गर्नेछ । कार्यक्रममा नेपाल खानी ताथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अध्ययनले नेपालमा नयाँ प्रकारको सिमेन्ट प्रोडक्शनलाई अगाडी बढाउने नतिजा दिने बताए । उनले नेपालमा भएको रातो वा कमेरो माटो प्रयोग गरेर क्लिंकरलाई ५० प्रतिशत क्लिंकर अरु ३० प्रतिशत क्ले राखेर र यसलाई क्याल्साइन बनाएर नयाँ मिश्रण बनाइने उल्लेख गरे । फेरि यसमा जिप्सम मिसाएर र अरु १५ प्रतिशत लोग्रेट ल्यामुसनलाई मिसाएपछि नयाँ प्रकारको सिमेन्ट बन्ने बताए । यसलाई नै एलसी थ्री सिमेन्ट भनिने उल्लेख गरे । यो अध्ययनले नेपालको माटो र क्लिन्करको अध्ययन गरेर सिमेन्ट बनाउन सकिनेबारे निष्कर्ष दिने बताए । एक वर्षसम्म स्थलगत अध्ययन गरेर प्राप्त नतिजालाई औद्योगिक उत्पादनको परीक्षण गरेर मात्र व्यवसायिक उत्पादन गर्न सकिने वा नसकिनेबारे प्रतिवेदन आउने महानिर्देशक घिमिरेले बताए । नेपालमा एलसी थ्री सिमेन्ट उत्पादन गर्नसके सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइलाको खपत कम हुने बताए । यसले वातावारणमा जाने कार्बन कम हुने महानिर्देशक घिमिरेको भनाइ छ । एलसी थ्री सिमेन्टमा ५० प्रतिशत क्लिंकर, १५ प्रतिशत गैर–सिमेन्ट ग्रेडको चुनढुङ्गा, ३० प्रतिशत क्याल्साइन गरिएको माटो (गैर सिरेमिक ग्रेड) र ५ प्रतिशत जिप्सम हुन्छ । यो सिमेन्ट उत्पादनमा ४० प्रतिशत भन्दा बढी कार्बन उत्सर्जन घटाउन सक्छ । यो प्रविधि भारत र अन्य २९ देशमा अपनाइसकिएको छ ।