विकासन्युज

निफ्राको लक इन पिरियड फागुन २३ गते, एकैपटक १२.९६ करोड कित्ता कारोबारमा आउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरको लक इन पिरियड फागुन २३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको बैंकले जनाएको छ । संस्थापक समूहको १२ करोड ९६ लाख कित्ता सेयरको लक इन अवधि सकिन लागेको बैंकको भनाइ छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भई सोही मूल्यमा कारोबार सुरु हुनेछ । लकइन समाप्त हुने सम्बन्धमा हालै धितोपत्र बोर्डले १ महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि कम्पनीहरुले यसलाई लागू गर्न थालेका हुन् ।

एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको सेयर दर्ता नगर्नु/नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई मंगलबार निरन्तरता दिएको छ । न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मङ्सिर २१ गते न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका सेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । आदेशमा भनिएको छ, “स्वामित्व परिर्वतनसम्बन्धी विषय विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट गत मङ्सिर २१ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ ।” मलेसियाको कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतिशलाल आचार्यको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो । उक्त विषय सार्वजनिक भएपछि गोकुलबहादुर रोकायाले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गर्नुभएको थियो ।

‘हात नहाल्नुस्, म बैंक लुट्न आएको होइन’

ब्लग । सुरुमा सँगैको तस्बिरको व्याख्या गरौं । माघ ७ गते आइतबार साँझपख खिचिएको फोटो हो यो । जहाँ एभरेष्ट र कुमारी बैंकका शाखा जोडिएका छन् । जहाँ दुवै बैंकका ‘नाइट भिजन’ साइन बोर्ड देख्न सकिन्छ । सँगै दुवै बैंकको एटीएम बोर्ड पनि देख्न सकिन्छ । एभरेष्ट बैंकको एटीएम खुला छ । कुमारी बैंकको एटीएममा सटर लागेको छ । सटरमा ताला पनि लगाइएको छ । तस्बिरमा तीन जना महिला फुटपाथमा हिँड्दै गरेको देखिन्छ । अनुमान गर्न सकिन्छ कि उनीहरू काम सकेर घर फर्कदैछन् । तर, यस सन्दर्भमा ती यात्रीहरू प्रधान पात्र होइनन् । साँझ बागबजारमै रहेको युनिटी क्याफेमा कफी पिएको थिएँ । पर्समा पैसा सकिएछ, त्यहाँ क्यूआरबाट भुक्तानी गरेँ । सबैतिर मोबाइलबाट भुक्तानी सम्भव हुँदैन । थोरै भएपनि पर्समा नगद बोक्नै पर्ने बाध्यता छ, राजधानीकै जीवनशैलीमा पनि । साविकको एनसीसी बैंक मुख्य कार्यालय (हाल कुमारी बैंकको बागबजार शाखा) मा खाता खोलेर कारोबार गर्न थालेको एक दशकभन्दा बढी समय भयो । यो बैंकमा लामो समय कारोबार गर्नुमा दुइटा कारण छन् । पहिलो, आफ्नो कार्यालय बागबजारमा खुल्दा एनसीसी बैंक मात्र थियो बागबजारमा । दोस्रो, पछि बागबजारमा अरू बैंकका शाखाहरू खुले पनि एनसीसी बैंकको मुख्य कार्यालय भएकोले सुविधा अलि सहज हुन्छ भन्ने लाग्यो । यसैमा निरन्तर कारोबार गरियो । एनसीसी र कुमारी मर्जपूर्व कुमारी बैंकको पुतलीसडक शाखामा पनि खाता खोलेको थिएँ । मर्जपछि पुतलीसडकको शाखामा खाता बन्द गरेँ । बागबजारमा कारोबार निरन्तर चल्यो । नियमित कारोबार गर्नेलाई बैंकका पुराना कर्मचारीले पनि चिन्ने । केही पर्यो भने पनि लौन भन्न पाइने । कुमारी बैंकको बागबजार शाखामा दुइटा एटीएम छन् । एउटा मुल सडकमा, अर्को काउन्टरमा । कहिलेकाहीँ एउटा एटीएमले काम नगर्दा अर्को एटीएमबाट कारोबार गर्न पाउने सुविधा यहाँ छ । कार्यालय समय अघिपछि वा शनिबार पनि यस बैंकको काउन्टरमा रहेको एटीएम प्रयोग गर्न पाइन्थ्यो, पछाडिपट्टिको सानो गेट प्रयोग गरेर । गत आइतबार साँझ मुल सडकको एटीएममा सटर लागिसकेको रहेछ । भित्रको एटीएम प्रयोग गर्न पछाडिपट्टिको सानो गेटबाट भित्र छिर्दै थिएँ । सुरक्षा गार्डले स्टाफ हो भनेर सोधे । मैले ‘होइन’ भनेँ । ‘बैंक बन्द भयो, अब भित्र जान पाइँदैन,’ गार्डले भने । मैले एटीएम प्रयोग गर्ने बताएँ । गार्डले पाइन्न नै भने । मैले विगतमा पाइन्थ्यो, म नियमित आइरहने ग्राहक हुँ भनेर भित्र छिर्न दिन आग्रह गरेँ । दुई जना सुरक्षा गार्ड थिए । दुबैले पाइन्न नै भने । बैंकको काउन्टर बन्द भएसँगै एटीएम सेवा पनि बन्द गर्न र ग्राहकलाई भित्र छिर्न नदिने बैंकले निर्देशन दिएको उनीहरूले बताए । साँझ भइसक्यो, मलाई जरुरी परेर हो । थोरै पैसा निकाल्नुछ भनेर अलि बढी जोड दिएँ । गार्डले भित्र छिर्न दिएनन् । तालिम प्राप्त नभएका सुरक्षा गार्डले घर फर्कन भन्दै धकेल्ने खाेजे । ‘हात नहाल्नुहोस्, म बैंक लुट्न आएको होइन । मेरो खाताबाट पैसा निकाल्न आएको हुँ । गेट बन्द थियो भने म फर्कन्थें । खुला भएकोले एटीएम सेवा लिन चाहेको हुँ,’ मैले आफ्ना कुरा भनेँ । यत्तिकैमा बैंक ड्रेसमा रहेका एक स्टाफ गेटमा आए । उनले पनि गार्डले भनेझैं काउन्टर बन्द भएपछि एटीएम सेवा बन्द हुने तर्क गरे । समस्या भएको भए सँगै भएको एभरेष्ट बैंकको एटीएम प्रयोग गर्न सुझाव दिए । लगत्तै, गार्डले गेटमा ताला लगाउन लागे । मैले फोटो खिच्न अनुमति मागेँ । उनीहरूले ‘हुन्छ’ पनि भने । गेट लगाउँदै गरेको तस्बिरहरू खिचेँ । एटीएम सेवाबारे ममा भएको चेतना र बैंकका सुरक्षाकर्मीहरुको क्रियाकलापबीच व्यापक बेमेल थियो । यो तस्बिरको विशेष महत्व हुने नै भयो । गेट लगाउँदै गर्दा सुरक्षाकर्मीले माथिको आदेश आएमा खोल्ने पनि बताउँदै थिए । कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणा, प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल लगायत उच्च तहका धेरै व्यक्तिसँग मेरो चिनजान मात्र होइन, मित्रवत सम्बन्ध नै छ । ‘सामान्य एटीएम सेवा लिनको लागि के सोर्सफोर्स लगाउनु ? भैगो’ खिन्न र भारी मन बोकेर म फर्कें । बाहिरिँदै गर्दा बैंकको त्यो ठूलो भवनमा एक नजर पर्यो । बैंक भित्र झलमल्ल बत्ति बलिरहेका थिए । भित्र कर्मचारीहरू काम गरिरहेको सहजै अनुमान गर्न सकिन्थ्यो । सोही शाखामा काम गर्ने सरिता केसीको याद आयो । भित्रै छन् कि भनेर फोन लगाएँ । उनी अफिसबाट निस्किसकेकी रहिछन् । उनले पनि अरू बैंकको एटीएम प्रयोग गर्न सुझाव दिइन् । सँगै रहेको एभरेष्ट बैंकको एटीएमबाट पैसा निकालेर म फर्कें । सडक पार गर्दै गर्दा खाता नै नभएको एभरेष्ट बैंकको एटीएम सेवाप्रति मनमा सद्भाव पलायो । तर, कुमारी बैंकप्रति असन्तोष मडारियो । सडक पार गरेपछि सँगै रहेका दुइटै बैंकको साझा फोटो खिचेँ । सोही दिन बिहान बैंकहरूले प्रकाशित गरेका वित्तीय विवरणहरू हेरेको थिएँ । २०७९ पुस मसान्तको तुलनामा २०८० पुस मसान्तमा एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशतले वृद्धि भएको विवरण प्रकाशित गरेको थियो भने कुमारी बैंकले नाफा १४.३१ प्रतिशतले घटेको विवरण सार्वजनिक गरेको थियो । राम्रो सेवा दिने बैंकको वित्तीय विवरण राम्रो हुने हो । नराम्रो सेवा दिने बैंकको वित्तीय विवरण खराब हुने हो । सिद्धान्त, व्यवहार र परिणामबीच गज्जबको तालमेल यही पाइन्छ । किताबका ठूला ठेली पढ्नै पर्दैन, ठूला अनुसन्धान पनि गर्नै पर्दैन । यो फोटो अर्थपूर्ण लाग्यो । बैंकका सीईओ रामचन्द्र खनाललाई ह्वाट्सएपमा पठाइदिएँ । तस्बिरसँगै एउटा शब्द पनि टाइप गरिनँ । ‘जुङ्गा चल्यो कि कुरा बुझ्यो’, सायद खनालले कुरा बुझे हाेलान् । जवाफमा उनले भने, ‘हस्’ (Huss) । एउटा अनुभूति लेख्न मन लाग्यो । दुई दिनपछि समय जुर्‍याे । एटीएम सेवा कति बजेदेखि कति बजेसम्म दिने भन्ने बारे बैंकको नीति के रहेछ ? मंगलबार साँझ बैंकका सूचना अधिकारी तथा प्रमुख सञ्चालन अधिकृत मुकुन्द सुवेदीलाई सोधेँ । उनले भने– ‘राजधानीसहित देशभरका सहरी क्षेत्रमा २४सै घण्टा एटीएम सेवा खुला हुन्छ, सुरक्षाको दृष्टिकोणले उच्च जोखिम भएका पहाडी इलाकामा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मात्र एटीएम खुला राख्ने बैंकको नीति छ ।’ बागबजार शाखामा काउन्टर बन्द भएसँगै एटीएम सेवा बन्द गर्ने भन्ने बैंकको नीति नभएको उनले जानकारी गराए । तर, भनाइ र व्यवहारमा मेल खाएन । सुधार गरे बैंकलाई नै लाभ हुनेछ ।

बूढीगण्डकी बहुआयमिक आयोजना हो, काम छिटो अगाडि बढाऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन जोड दिएका छन् । आयोजनालाई अगाडि बढाउनेसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार आयोजित छलफलमा प्रधानमन्त्रीले आयोजना निर्माणलाई तीव्रता दिएर जानुपर्ने बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘बूढीगण्डकी जलाशययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि हो । हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौं । तसर्थ, यस्ता आयोजनालाई विलम्ब नगरी अगाडि बढाउनुपर्दछ ।’ जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकेको परिस्थितिमा आयोजनाको निर्माणबारे कुनै प्रकारको अन्यौलमा नरहन प्रधानमन्त्रीले मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र बूढीगण्डकी जलविद्युतलाई निर्देशितसमेत गरे । प्रधानमन्त्रीले अगाडि भने, “रु ४३ अर्ब मुआब्जा वितरण भइसक्यो । थप अधिग्रहणका निम्ति जग्गा रोक्का गरिएको छ । फिल्ड अफिस स्थापना गरेर उद्घाटनसमेत भइसक्यो । अब पनि आयोजना अगाडि बढ्छ कि बढ्दैन भनेर सोच्नु हुँदैन । आयोजना अगाडि बढाउनैपर्छ । तपाईंहरू छिटो अगाडि बढ्नुस ।” यो बहुप्रतिफलमुखी आयोजना भएकाले गति दिनुपर्ने उनको भनाइ छ । “यसले राष्ट्रिय अर्थतन्त्रमा नै गुणात्मक योगदान गर्दछ”, प्रधानमन्त्रीले भने, “यसबाट जलविद्युत् उत्पादन त हुन्छ नै । त्यसमाथि जलाशययुक्त आयोजना भएकाले वर्षातको समयमा देखिने ऊर्जाको दबाब सन्तुलित गर्न यसको महत्वपूर्ण भूमिका रहन्छ । यसबाट पर्यटक आगमन, माछापालन, भौतिक निर्माण, निर्माण सामग्रीको खपत, रोजगारी सिर्जनालगायत अर्थतन्त्रका धेरै क्षेत्रमा योगदान पुग्दछ भन्ने कुरा गम्भीर रूपमा बुझौं ।” आयोजनाको स्रोतका निम्ति मन्त्रिपरिषद् बैठकले पूर्वाधार करको रू पाँच उपलब्ध गराउने निर्णय गरिसकेको छ । उनले अन्तरनिकाय समन्वय गरी सरकारी कोषमा रहेको रकम पनि परिचालन गर्न समेत निर्देशन दिए । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले बूढीगण्डकी आयोजना ऊर्जा सम्झौताको कार्यान्वयनका लागि समेत महत्वपूर्ण रहेकाले लगानीका स्रोतको खोजी र परिचालनमा जोड दिनुपर्ने भनाइ राखे । बैठकमा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले बूढीगण्डकी आयोजना अगाडि बढाउन पेट्रोलियम पदार्थमा लगाइएको रू १० पूर्वाधार करमध्ये रू पाँच बूढीगण्डकीका लागि विनियोजन गर्ने निर्णय भइसकेको जानकारी गराउँदै कोष सञ्चालन गरिरहेका सरकारी संरचनाको पुँजी आयोजनामा परिचालन गर्न आवश्यक समन्वय र पहल हुनुपर्ने बताए । त्यस्तै बूढीगण्डकी जलविद्युतका आयोजना प्रमुख जगत श्रेष्ठले आयोजनाको स्थिति, प्रगतिको अवस्था र आगामी योजनाबारे आफ्नो प्रस्तुति राखेका थिए । बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, ऊर्जामन्त्री बस्नेत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, मुख्यसचिव अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, ऊर्जा सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका अधिकारी र बूढीगण्डकी जलविद्युत् लिमिटेडका अधिकारी उपस्थित थिए ।

पुनर्बीमा दलाल कम्पनी र निर्माबीच रणनीतिक समझदारी, बीमा उद्योगको प्रवर्द्धन गर्ने

काठमाडौं । पुनर्बीमा दलाल कम्पनी फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड (एफआरबीएल) र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसन (निर्मा) बीच रणनीतिक समझदारी भएको छ । दुई संस्थाबीच बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनीतिक समझदारी भएको हो । उक्त समझदारी माघ ९ गते फेडेरलको कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । सो सम्झौतापत्रमा फेडेरलको तर्फबाट प्रबन्ध निर्देशक सुवर्ण पौडेल तथा निर्माको तर्फबाट अध्यक्ष डा. रविन्द्र घिमिरेले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् । फेडेरल पब्लिक लिमिटेडको रुपमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र प्राप्त पुनर्बीमा दलाल कम्पनी हो । यसले स्थापनाको छाटो समयमै बेलायतबाट प्रतिष्ठीत गुणस्तर चिन्ह पाएको आईएसओ ९००१ः२०१५ र इन्डियन चेम्बर अफ कमर्शबाट ब्रोकर अफर दी इयर २०२३ (नेपाल) को उपाधी हासिल गरेको छ । त्यस्तै, बीमा, जोखिम व्यवस्थापन र सामाजिक सुरक्षाको क्षेत्रमा कार्यरत पेशाकर्मी, प्राज्ञ, विज्ञ र अनुसन्धानकर्ताहरुको साझा मञ्चको आवश्यकतालाई अनुभूति गर्दै स्थापना गरिएको निर्माको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि तालिम, शिक्षा, अनुसन्धान र प्रकाशन मार्फत बीमा उद्योगको प्रवर्द्धन गर्नु रहेको छ ।

सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंकले सरकारी विद्यालयहरुको पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो । बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न सहयोग गर्ने भएको छ । बैंकले यी दुबै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरी, बैंकले बाग्मती प्रदेशको काठमाडौं महानगर पालिका वडा नं. ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ । विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त दुई सरकारी विद्यालयहरुको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गर्ने निर्णय गरेको हो । २८९ जना विद्यार्थी एंव १८ जना शिक्षक÷कर्मचारी कार्यरत त्रिभुवन जन माध्यमिक विद्यालयले ३५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाईप जडान गरि खानेपानीको व्यवस्था गर्दै आएको छ । र, खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाईप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या भोगिरहेको छ । त्यस्तै, १८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था नाजुक रहेको हुँदा विद्यार्थी एंव शिक्षकहरुले समस्या भोगिरहेका बैंकले जानकारी गराएको छ ।

ग्यालेक्सी एस२४ सिरिजका लागि एनसेल र सामसङबीच साझेदारी, अग्रिम बुकिङ गर्न सकिने

काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विषेश सुविधा उपलब्ध गराउन साझेदारी भएको छ । यस साझेदारी अन्तर्गत एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो ईच्छाअनुसार एनसेलको स्पेशल लक्स नम्बर लिन पाउने छन् । सामसङ नेपालले शुक्रबारबाट नै ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ। अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउने छन् । यस साझेदारीका बारेमा बताउँदै एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने, ‘ग्यालेक्सी एस२४ सिरिज सबै भन्दा विशेष छ किनकि हामीले अग्रिम बुकिङमा एनसेलका प्रिमियम नम्बरहरू प्रदान गर्दैछौं । नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत नयाँ संभावनाहरु पहिल्याउन प्रतिवद्ध विश्वको अग्रणी टेक कम्पनीसँग साझेदारी गर्न पाएकोमा हामी उत्साहित छौं ।’ सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन् । यो सिरिजमा रहेको ग्यालेक्सी एआईले एआई लाईभ ट्रान्सलेट, अझ प्रभावकारी सर्च रिजल्टका लागि सर्कल, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता दैनिक जनजीवन सहज बनाउन सहयोग गर्ने विभिन्न अन-डिभाइस सुविधाहरु प्रदान गर्दछ । यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ र यो डिभाईस टाइटेनियमबाट बनेकोले एकदमै बलियो रहेको छ । सामसुङको ग्यालेक्सी एस२४ सिरिजमा प्रयोगकर्ताको अनुभवलाई पुनः परिभाषित गर्ने अत्याधुनिक एआईका सुविधाहरू रहेका छन् । यो सिरिजमा रहेको ग्यालेक्सी एआईले च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट जस्ता विभिन्न अन-डिभाइस अनुभवहरू प्रदान गर्दछ । यो सिरिजले उच्च गोपनीयता र सुरक्षा सुनिश्चित गर्दछ । एस२४ सिरिजमा ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ बेस रहेका छन् । ग्राहकले सामसङ नेपालको आधिकारिक वेबसाइटमार्फत वा आफ्नो नजिकैको सामसङ फोन स्टोरहरूमा गएर अग्रिम बुकिङ गर्न सक्छन् । माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याबलेट लगायतका आकर्षक उपहार समेत पाउने सामसङ नेपालले जनाएको छ ।

भेष्पा अप्रिलिया किन्नेले ६० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने

काठमाडौं । भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । जसको लागि भेष्पा अप्रिलियाले हुलास फिनसर्भ हायर पर्चेजसँग साझेदारी गरेको हो । नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्पका अनुसार ग्राहकले स्कुटरको मूल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि ६ देखि २४ महिनासम्म रहनेछ । यो सुविधा देश भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ । डेल्टा अटोकर्पका सीईओ तथा निर्देशक विजय महत्तो भन्छन्, ‘डेल्टा अटोकर्पले भेष्पा अप्रिलिया स्कुटर खरिदकर्ताहरुलाई नयाँ फाइनान्स सुबिधा प्रदान गर्न हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसंग साझेदारी गरेको छ, यस सहकार्यले हाम्रा ग्राहकहरुलाई समग्रमा सजिलो फाइनान्स सुविधा सुनिश्चित गर्दछ ।’ हुलास फिनसर्भ हायर पर्चेजका महाप्रबन्धक समिर ठाकुरले सरल फाइनान्स सुविधाले ग्राहकका लागि फाइनान्समा स्कुटर खरिद गर्न मद्दत पुर्याउने बताए ।