विकासन्युज

बालेनले भने : नारायणहिटी दरबार परिसरको पर्खाल छिटो भत्काउनु

काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउनका लागि तोकेता गरेको छ । महानगरले बुधबार एक पत्र जारी गर्दै नेपाल ट्रष्टको कार्यालयलाई पर्खाल भत्काउनका लागि पुनः ताकेता गरेको हो । निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नु पर्ने व्यवस्था रहेकाले महानगरले उक्त संग्राहालय परिसरको पर्खाल भत्काउनका ताकेता गरेको छ । पत्रमा ‘काठमाडौं महानगरपालिका वडा नं १ स्थित श्री नारायणहिटी दरबार संग्रहालयको सीमा पर्खाल, वस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुँदा निर्मित संरचनामा सोही बमोजिम सुधार गर्नु हुन आग्रह गर्दछौँ,’ महानगरपालिको जारी पत्रमा उल्लेख छ । यसअघि महानगरपालिकाले पुस १३ गते पत्रद्वारा पर्खालको पुर्नसंरचना गर्न अनुरोध गरेको थियो । तर, सो कार्य हालसम्म गरेको नदेखिएकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन पुनः ताकेता पत्र लेखिएको महानगरका सहरी व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) ले जानकारी दिइन् । हाल महानगरको नेतृत्व बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् ।

टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रणका पूर्व कार्यकारी निर्देशक विकल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा आयोगले पौडेलद्वयलाई पक्राउ गरेको हो । अख्तियारले असोज १५ गते सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरिसकेको छ भने २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरेको थियो । फेरि उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको र अख्तियारले बयानका लागि बोलाउँदा उपस्थिति नभएपछि पक्राउ गरिएको जनाइएको छ । अख्तियारले दुवै जनालाई बिहीबार विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

‘विगतमा एनपीएल ६० प्रतिशतसम्म हुन्थ्यो, अहिलेकाे ३ प्रतिशत त केही पनि होइन’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूको खराब कर्जा (एनपीएल)को विषयमा धेरै चिन्ता लिन नपर्ने बताएका छन् । बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै उनले पछिल्लो समय बैंकको एनपीएलको विषयमा धेरै चिन्ता चासो बढेको बताउँदै यो सामान्य विषय रहेको धारणा राखेका हुन् । ‘कुनै समय राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ६० प्रतिशतसम्म हुन्थ्यो, अहिले ३ प्रतिशत हुँदा के-के न भएकोजस्तो गर्छन्, त्यसैले खराब कर्जा बढ्दैमा धेरै आत्तिनु पर्ने अवस्था छैन, अन्य बैंकको अवस्था पनि यही हो, खराब कर्जाको विषयमा धेरै चिन्तित बन्नु पर्दैन,’ उनले भने । अर्थतन्त्र सुस्त भएको बेला यो किसिमको एनपीएल हुनु स्वभाविक रहेको धारणा उनकाे छ । यस्तै, उनले बैंकहरूले अब रिकभरीमा भने जोड दिनु पर्ने बताए । उनले बैंकको कर्जाको ब्याजदर पनि घटिरहेको बताउँदै आगामी दिनमा थप घट्ने अपेक्षा रहेको बताए । यस्तै, उनले बैंकहरूले हजारौं उद्यमी जन्माएको बताउँदै त्यसमा हामी सबैले गर्व गर्नु पर्ने बताए । उनले पछिल्लो समय सरकारी लगानीका बैंकले गरेको सुधारको पनि प्रशंसा गरे । ‘विगतमा सरकारी बैंकमा किताबमै हिसाब हुन्थ्यो, राष्ट्र बैंकले सुपरिवेक्षण गरेर सही ठाउँमा ल्याउन सफल भयो, अहिले सरकारी बैंकका सबै सूचक ठिकठाक छन्, यसमा राष्ट्र बैंकको पनि भूमिका छ,’ उनले भने ।

भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ रुपैयाँ बराबर सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्ममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिका तर्फबाट सो बराबरको सहयोग रकम जुटेको हो । भूकम्पपछिको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोगको घोषणा भएको थियो । उक्त सहयोगलाई एकद्वार प्रणालीबाट सङ्कलन तथा वितरणका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमार्फत् सहयोग गर्न सरकारले आग्रह गरेको थियो । राहत वितरण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा सहयोग रकम जम्मा गर्न विभिन्न नौवटा बैंकमा खाता रहेका छन् । भूकम्पपीडितलाई राहत तथा पुनःस्थापनाका लागि केही समयअघि मात्र सरकारले दुई अर्ब रुपैयाँ बराबर निकासा गर्ने निर्णय गरेको थियो । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषलाई दुई अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्पित्ररिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । सहायता कोषमा सबैभन्दा धेरै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ बराबर सहयोग जम्मा भएको छ । त्यस्तै, बुद्धएयर प्रालि, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक लिमिटेड, सूर्य नेपाल प्रालि, नेपाल नागरिक उड्डयन प्राधिकरण, गोर्खा ब्रुअरी प्राइभेट लिमिटेड, युनीलिभर नेपाल लिमिटेड मकवानपुरले समान एक करोड रुपैयाँ बराबर सहयोग गरेका छन् । जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएको थियो । पीडितलाई राहत तथा पुनःस्थापनाको काम अहिले पनि सञ्चालन भइरहेको छ । रासस

नयाँ स्टक एक्सचेञ्ज ल्याउन सरकार पुनः सक्रिय, समिति बनाएर थाल्यो प्रक्रिया

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनका लागि सरकार पुनः सक्रिय बनेको छ । यसअघि प्रक्रिया अगाडि बढाएर बिचमै रोकिएको थियो । अहिले सरकारले पुनः प्रक्रिया अगाडि बढाएको हो । सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्नका लागि समिति नै गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको बताइएको छ । नेपाल धितोपत्र बोर्डले गत वर्ष २ असोज २०७९ मा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएपछि विवाद भएको थियो । तर, पछि सर्वोच्च अदालतले बाटो खुला गरेपछि सरकारले पुनः प्रक्रिया अगाडि बढाएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज स्थापना तथा सञ्चालनका लागि यसअघि आवेदन खुलाएको थियो । तर, सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा परेपछि केही समय रोकिएको थियो । पछि सर्वोच्च अदालतले धितोपत्र बोर्डविरुद्ध परेको रिट खारेज गरेपछि नयाँ लाइसेन्स वितरण गर्ने बाटो खुलेको थियो । तर, सरकारले निर्देशन नै दिएर प्रक्रिया राेक्न भन्याे । २०८० बैशाखमा मन्त्रिपरिषद् बैठकले  तत्काल नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया राेक्न निर्देशन दिएकाे थियाे । सेबोनले पनि नयाँ स्टकको लाइसेन्स वितरणका लागि आवेदनहरू संकलन गरिसकेकाे थियाे । सरकारले पुनः समिति गठन गरेर यो प्रक्रिया अगाडि बढाएको छ । यसअघि क-कसले देखाएका थिए इच्छा ? नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि विभिन्न व्यवसायीले आवेदन दिएका थिए ।  नयाँ स्टकका लागि हिमालयन, नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका थिए । देशका ठूला उद्योगी व्यवसायीहरूबीच नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्राप्त गर्नका लागि ठूलाे संघर्ष गरेका थिए । यसअघि आवेदन दिएका हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा इन्फिनिटी होल्डिङसका दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ । यस्तै, नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनएको लगानी छ । यस्तै, यो स्टकमा केडिया ग्रुपका अध्यक्ष मनोज केडिया, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ लगायतको लगानी रहेको पनि बुझिएको छ । यस्तै, अन्नपूर्ण स्टक एक्सचेञ्जमा प्रमुख लगानीकर्ता रामेश्वर थापा रहेको स्रोतले बताएको छ । उनी अन्नपूर्ण मिडिया हाउसका सञ्चालक हुन् । साथै, यस कम्पनीमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोद्ध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेती लगायतको लगानी रहेको छ ।

६ वटा मात्रै केन्द्रीय विश्वविद्यालय र अरु ‘अन्य’ स्तरमा : उच्च शिक्षा विधेयक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा हाल नेपालमा सञ्चालनमा रहेका मध्ये ६ वटा विश्वविद्यालयलाई मात्रै केन्द्रीय विश्वविद्यालय भएको र अरु विश्वविद्यालयहरु ‘अन्य’ विश्वविद्यालय भएको भनिएको छ । प्रस्तावित विधेयकको दफा २० मा ‘यो ऐन प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका विश्वविद्यालयहरुमध्ये ऐतिहासिक पृष्ठभूमि तथा योगदान, विषयगत विशिष्टता, संस्थागत क्षमता र प्राज्ञिक उत्कृष्टताका आधारमा’ ६ वटा विश्वविद्यालय मात्रै केन्द्रीय विश्वविद्यालय रहेको भनिएको छ । विधेयकअनुसार हाल सञ्चालनमा रहेकामध्ये त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय मात्रै केन्द्रीय विश्वविद्यालय हुनेछन् । अन्य विश्वविद्यालयले केन्द्रीय विश्वविद्यालय हुन चाहेमा पाँच वर्षभित्र आवश्यक मापदण्ड पूरा गर्नुपर्ने विधेयकमा उल्लेख गरिएको छ । अहिले विश्वविद्यालय अनुदान आयोगसँग आबद्ध भएर ११ वटा विश्वविद्यालय सञ्चालन भइरहेका छन् भने नेपाल विश्वविद्यालय ऐन निर्माण प्रकृयामा रहेको छ । विधेयकअनुसार हाल केन्द्रीय रुपमा सञ्चालनमा रहेका अन्य विश्वविद्यालयले केन्द्रीय विश्वविद्यालयको रुपमा आफूलाई रुपान्तरण नगरेमा स्वतः प्रादेशिक विश्वविद्यालय हुनेछन् ।

९२ हजार स्वास्थ्यकर्मीको आवश्यकता छ, ३२ हजार पूर्ति गर्न पहल गर्दैछौँ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन् । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताए । उनले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गरे । मन्त्री बस्नेतले स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभूत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताए । उनले अहिले गाउँहरु बसाईंसराईको कारण रित्तिसकेको बताए । उनले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरु विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरुको उपचार खर्च सरकारले नव्यहोर्ने बताए । उनले भने,‘२०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी सकेको छैन । एक जनाले दुईदेखि चार जनासम्मलाई हेर्नुपरेको छ । कसरी आधारभुत र गुणस्तरीय स्वास्थ्य सेवा पुग्नसक्छ । चाहेर पनि हुनसक्दैन । हामीलाई ९२ हजार कर्मचारी चाहिने रहेछ । तर कम्तीमा पनि ३२ हजार कर्मचारी नभई हुँदैन भनेर म कुराको कराइ छु । यसमा प्रधानमन्त्री र अर्थमन्त्रीज्यु पोजेटिभ हुनुभएको छ ।’ मन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गइरहेको बताए ।

घट्दो बजारमा किन निरन्तर बढिरहेको छ यी दुई कम्पनीको सेयर ?

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार सेयर बजार १०.२५ अंकले घटेर परिसूचक २०८८.०४ बिन्दु कायम भएको हो । १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर खरिदबिक्रीबाट ३ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ ।बजार दोहोरो अंकले घट्दा ८० कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १५३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । बुधबार चन्द्रागिरी हिल्स र मिड सोलु हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । केही दिनयता यी दुई कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । चन्द्रागिरिको सेयरमा मंगलबार पनि सकारात्मक सर्किट लागेको थियो । सोमबार चन्द्रागिरि हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि सकिएको थियो । त्यसपछि कम्पनीको सेयर नियमित बढिरहेको छ । कम्पनीका सबै संस्थापकको सेयर साधारण सेयरमा परिणत भएको हो । मिड सोलुको सेयर पछि पछिल्लो समय निरन्तर बढिरहेको छ ।