कर्जाको ब्याजदर सिङ्गल डिजिटमा आउन सक्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउन सक्ने बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सबको अवसरमा बोल्दै यस्तो बताएका हुन् । ‘बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा छ । त्यसलाई हामी प्रयोग गर्नसक्छौं । बैंकहरुको कर्जा माग वृद्धि हुने अपेक्षा छ । त्यहीअनुसार पोलिसी रेटहरु पनि घटाएका छौं । अधिकांश कर्जाहरु बैंकले १०.२५ भित्र दिनु पर्छ । विस्तारै वाणिज्य बैंकहरुको कर्जा सिङगल डिजिटमा जाने अवस्था आएको छ ।’ उनले भने । गभर्नर अधिकारीले अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको बताए । बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको बताउँदै उनले राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको अवस्था रहेको बताए । अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको बताउँदै उनले तत्कालका लागि नेपाली बैंकहरु साना-साना संकटमा अफ्ठ्यारो पर्ने अवस्थामा नभएको जानकारी गराए । नेपाली बैकिङ क्षेत्र सक्षम र बलियो रहेको उनको भनाई छ । उनले बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रुपमा विकास गर्दै गएको बताए । अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरुले सहयोगले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको उनले बताए । त्यस्ते, उनले बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा रहेको जनाए । अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको बताउँदै उनले बाह्य क्षेत्रको सुधार, बैंकिङ क्षेत्रभित्र पनि रिकभरी बाहेक अन्य कुराहरुमा ठूला समस्या नभएको उल्लेख गरे ।
छोरालाई बचाउन आमाले काटेर दिइन् कलेजो
भक्तपुर । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन् भन्ने पुस्तौंदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गरेकी छिन् । कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिएकी हुन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । उनको नेतृत्वमा चिकित्सकसहितको ५० जनाको टोलीले निरन्तर १४ घण्टाको शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरेको हो । कलेजो झिकेको छ दिनमा आमा र नौ दिनपछि छोरालाई ‘डिस्चार्ज’ गरिएको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । हाल बालक र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा श्रेष्ठको भनाइ छ । ‘यति सानो बालकको शरीरमा कलेजो प्रत्यारोपण भएको केन्द्रमा यो नै पहिलो पटक हो । चिकित्सा विज्ञानमा कलेजको प्रत्यारोपण सबैभन्दा जटिल प्रत्यारोपणका रुपमा मानिन्छ’, उनले भने । बालकमा कलेजो प्रत्यारोपणका लागि केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक जनशक्ति, पाटन अस्पतालका बालरोग विशेषज्ञ डा पूजा अमात्यलगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल र डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको सहायता लिइएको उनले बताए । दाताको काटिएको कलेजो तीन महिनामै ९० प्रतिशतसम्म वृद्धि हुने र दातामा कुनै समस्या नआउने डा श्रेष्ठको भनाइ छ । रिसब बुबा रूपक र आमा सीता भट्टका एक्ला छोरा हुन् । रिसवलाई सुरुमा बान्ता हुने, वाकवाकी लाग्ने, खाना अपच हुने जस्ता समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । त्यहाँ जाँच गर्दा उनको कलेजोमा क्यान्सर पहिचान भएपछि कीमोथेरापी दिइएको थियो । आमा सीताका अनुसार क्यान्सर रोगको पहिचान भएपछि बालकलाई उपचारका लागि भारतका दिल्लीमा लगिएको थियो । तर भारतमा उपचार गर्दा धेरै खर्च भएपछि आफन्त र एक चिकित्सकमार्फत भक्तपुरको प्रत्यारोपण केन्द्रमा ल्याएर बालकमा कलेजो प्रत्यारोपण गरिएको हो । सीताले भनिन्, ‘क्यान्सर रोग पहिचान भएपछि उपचार गरी पूर्ण निको हुन्छ भन्ने लागेको थिएन, तर यो अस्पतालमा आएपछि मैले कलेजो काटेर दिएँ र छोराले नयाँ जीवन पाउन सक्यो ।’ केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालले एउटा कलेजो प्रत्यारोपणका लागि रु १५ देखि २० लाखसम्मसम्म खर्च हुने बताए । तर तीन वर्षे बालकको हकमा भने १५ लाख रुपैयाँ मात्रै अस्पतालले लिएको उनको भनाइ छ । केन्द्रले पहिलो पटक सन् २०१६ डिसेम्बरमा कलेजो प्रत्यारोपण गरेको थियो । केन्द्रले सुरुको केही वर्ष वार्षिक एकरदुई वटामा मात्रै कलेजो प्रत्यारोपण गर्दै आएकोमा यसवर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए । केन्द्र स्थापनाको ११ वर्षमा कूल एक हजार एक सय ८८ जनामा मिर्गौला र १८ जनामा कलेजो प्रत्यारोपण भइसकेको उनी बताउँछन् । केन्द्रले आव २०६९/७० मा १३ जनाको मिर्गौला प्रत्यारोपण, आव २०७०/७१ मा २७ जना, आव २०७१र७२ सालमा ४१ जना, आव २०७/७३ सालमा एक सय एक जनाको मिर्गौला प्रत्यारोपण भएको थियो । साथै आव २०७३/७४ मा एक सय ३२ जना, आव २०७४/७५ मा एक सय ५३ जना, आव २०७५/७६ मा एक सय ७९ जना, आव २०७६/७७ मा ४९ जना, आव २०७७/७८ मा ४५ जना, आव २०७८/७९ मा एक सय ६० जना, आव २०७९/८० मा एक सय ८६ जना र आव २०८०र८१ मा एक सय एक जनामा मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ बाट कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सोही वर्ष दुई जनामा कलेजो प्रत्यारोपण गरेको थियो भने आव २०७४/७५ देखि आव २०७७/७८ मा चार वर्षमा एकरएक जनाले मात्रै कलेजो प्रत्यारोपण गरेका थिए । डा श्रेष्ठका अनुसार आव २०७८/७९ मा तीन जनाको, आव २०७९/८० मा दुई जनाको र चालु आवमा सात जनामा कलेजो प्रत्यारोपण भइसकेको छ । रासस
सरकारले हाइड्रोजनलाई वैकल्पिक उर्जाको रुपमा विकास गर्ने (हाइड्रोजन नीति पूर्णपाठ)
काठमाडौं । सरकारले हाइड्रोजन उर्जालाई वैकल्पिक उर्जाको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । हाइड्रोजन नीति, २०८० पारित गर्दै सरकारले उर्जा क्षेत्रमा हाइड्रोजन नीति, २०८० लाई वैकल्पिक उर्जाको रुपमा प्रयोग गरी दिगो आर्थिक वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्ने सोच प्रस्तुत गरेको छ । सरकारले पारित गरेको नीतिअनुसार जलविद्युतलगायत नवीकरयणीय उर्जा स्रोतमार्फत हाइड्रोजवन उत्पादन र उपयोगलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई सबल, सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्य सरकारले लिएको छ । पेट्रोलियम पदार्थमाथिको परानिर्भरतालाई घटाउने र ग्रीन हाइड्रोजनको उपयोग गरी रासायनिक मल उत्पादनलगायत अन्य औद्योगिकीकरणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको नीतिमा उल्लेख गरिएको छ । नीतिमार्फत सरकारले हाइड्रोजन उर्जा विकासको लागि आवश्यक कानून निर्माण गर्ने, हाइड्रोजन र यसको सहउत्पादन गर्ने उद्योगहरुको स्थापना र लगानी प्रवद्र्धनलाई प्रोत्साहन गर्ने लगायतका रणनीतिहरु अगाडि सारेको छ । पछिल्लो समयमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन इन्धनको विषयमा अनुसन्धान गर्दै आएको छ । साथै विश्वविद्यालयले परीक्षणकै लागि दक्षिण कोरियाबाट हाइड्रोजन कार समेत खरिद गरेर ल्याएको छ । [pdf id=459989]
यी हुन नयाँ स्टक एक्सचेन्जका लागि दौडधूप गर्ने व्यवसायी, कसले पाउला लाइसेन्स ?
काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि देशका ठूला व्यावसायिक घरानाहरू लामो समयदेखि लविङमा छन् । गत वर्ष सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन माग गरेपछि ठूला व्यावसायिक घराना नै लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पुगेका थिए । लाइसेन्सका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा तीन स्टक एक्सचेन्ज कम्पनी पुगेका थिए । तर, प्रक्रिया बिचमै रोकिएको थियो । त्यतिबेला हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेञ्जले लाइसेन्सका लागि आवेदन दिएका थिए । यी तीन वटै कम्पनीमा देशका ठूला उद्योगी व्यवसायी आवद्ध छन् । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्राप्त गर्नका लागि आफ्नो शक्ति प्रदर्शन देखाउन सक्ने उद्योगी व्यवसायीहरू यी कम्पनीमा छन् । यो बिचमा पनि उनीहरूले ठूलो दौडधूप गरेका छन् । हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा इन्फिनिटी होल्डिङसका दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ । यस्तै, नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनएको लगानी छ । यस्तै, यो स्टकमा केडिया ग्रुपका अध्यक्ष मनोज केडिया, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ लगायतको लगानी रहेको पनि बुझिएको छ । यस्तै, अन्नपूर्ण स्टक एक्सचेञ्जमा प्रमुख लगानीकर्ता रामेश्वर थापा रहेको बुझिएको छ । उनी अन्नपूर्ण मिडिया हाउसका सञ्चालक हुन् । साथै, यस कम्पनीमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोद्ध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेती लगायतको यस कम्पनीमा लगानी छ । अब पुनः तीन समूहबीच नयाँ स्टक एक्सचेन्जका लागि प्रतिस्पर्धा हुनेछ । जुन समूहले सत्ताको मन खुसी बनाउन सक्छ त्यसले नै लाइसेन्स पाउने पक्का छ । यदि सरकारले लाइसेन्सका आवेदन पुनः माग गरेमा अब ती कम्पनीले फेरि आवेदन दिनु पर्नेछ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ । यो विषय अध्ययनका लागि राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीको संयोजकत्वमा समिति गठन भएको छ । अब यो समितिले नयाँ स्टक एक्सचेन्ज आवश्यक भएको वा नभएको विषयमा अध्ययन गर्नेछ । तर, धेरैले सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन चाहेको र यो समिति एउटा प्रक्रिया मात्रै भएको बुझेका छन् ।
सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प
ढोरपाटन । पुस पहिलो हप्तासम्म पर्यटकले भरीभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचारप्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ । पर्यटक आउन छाडेपछि होटल व्यवसाय पनि ठप्प भएको छ । चिसो नसकिएसम्म पर्यटक भित्र्याउन नसकिने ढोरपाटन नगरपालिका–९ पाखाथरका होटल व्यवसायी गङ्गाबहादुर भण्डारीले बताए । चिसोका कारण अधिकांश स्थानीय बोबाङ, अधिकारीचौरलगायत तल्लो क्षेत्रमा झरेको उनको भनाइ छ । अहिले फाटफुट पर्यटक आए पनि बास नबस्ने भण्डारीले बताए । कतिपय होटल व्यवसायी पनि चिसोका कारण बेँसी झरेको उनी बताउँछन् । विगतको तुलनामा यस वर्ष उल्लेख्य पर्यटक ढोरपाटन आएको भन्दै यो बेमौसम भएको हुँदा पर्यटकको सङ्ख्या न्यून रहेको उनको भनाइ छ । यो याममा हिँउ परेको भए धेरै पर्यटक भित्र्याउन सकिने भण्डारीको भनाइ छ । लामो समयदेखि वर्षा नभएको हुँदा चिसो अत्यधिक रहेको उनी बताउँछन् । ‘चिसो निकै छ, पाहुना आउँदैनन्, होटल व्यवसायी यत्तिकै बसेका छन्, पुस पहिलो हप्तादेखि आउन छोडेका हुन्, केही उत्तरगङ्गा बराह मन्दिरसम्म आएर दर्शन गर्ने गरेका छन्, तर बास बस्ने गरेर आएका छैनन्, हिँउ परेपछि धेरै आउने थिए, अहिले हिँउ पनि परेन, अब फागुन लागेपछि आउँछन्, त्यस बेलासम्म चिसो घट्छ’, भण्डारीले भने, ‘यहाँ वरपर बस्नेहरु पनि चिसो बढेको हुँदा तल बेँसीतिर गएका छन्, गर्मी मौसम सुरु भयो भने बल्ल आउँछन् ।’ दुई वर्ष अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकले व्यवस्थित बास बस्ने ठाउँ पाउँदैन्थे । अहिले ढोरपाटन उपत्यकामै ३३ होटल र घरबास सञ्चालनमा आएको हुँदा धेरै सहज भएको छ । बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडकका कारण यात्रा भने त्यत्ति सहज छैन । पुस पहिलो सातासम्म दैनिक करिब तीन सय पर्यटक दैनिक आउने गरेको अर्का होटल व्यवसायी श्यामलाल घिमिरेले बताए । चिसोका कारण धारोमै पानी जम्ने गरेको र पाहुना पनि नआउँदा खाली रहेको उनको भनाइ छ । पाहुना नआएपछि आफू पनि बेँसी झर्ने र बेला–बेला ढोरपाटन उक्लिने गरेको घिमिरे बताउँछन् । उनले भने, ‘शनिबार र शुक्रबारका दिन अलिअलि आउँछन्, तर धेरैजसो फर्किहाल्ने हुँदा होटलमा पाहुना हुँदैनन्, केही बसे पनि होटल धेरै छन्, सबैतिर जाँदा एउटा पाहुन पनि पुग्दैनन्, चिसो बढी छ, बिहान उठ्दा धारामा पानी जमेको हुन्छ, चिसोले गर्दा धेरै मान्छे आएका छैनन्, अहिले होटल बन्द गरे जस्तै भएको छ, मेरो पनि घर बेँसीमै भएको हुँदा चिसो छल्नलाई बेँसीतिर झर्ने गरेको छु, पाहुना आएर फोन गरे भने माथि (ढोरपाटन) उक्लिने गरेको छु ।’ रासस
पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णयहरु
फाइल तस्बिर काठमाडौं । पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठक विभिन्न क्षेत्रसँग सम्बन्धित १९ वटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को पुस ९ गते बसेको बैठकले गरेका निर्णयहरु : [pdf id=459960]
सरकारी भएका कारण राष्ट्रिय वाणिज्य बैंक वान नम्बर हुन सकिरहेको छैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विगतमा राष्ट्रिय वाणिज्य बैंक नम्बर वान बैंक भएको र नम्बर वान बनाउन कर्मचारीले काम गर्नुपर्ने बताएका छन् । बुधबार बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री महतले कर्मचारीहरुले गुनासो मात्रै गर्ने तर आफूहरुले के गर्छौं भनेर पनि सोच्नुपर्ने बताए । ‘म जुनसुकै कार्यक्रममा जाँदा कर्मचारीहरुले आफ्ना गुनासो मात्रै गर्छन्, तर हामीले के गर्छौ भनेर सोच्नुपर्छ’, उनले भने, ‘राष्ट्रिय वाणिज्य बैंक नम्बर वान थियो, यसलाई नम्बर वान बैंक कायमै राख्न कर्मचारीले पनि काम गर्नुपर्छ, यस बैंकको हैसियत यति मात्रै होइन, नम्बर वान बैंक हुनुपर्ने बैंक हो । तर, सरकारी बैंक भएका कारणले नम्बर वान हुन सकिरहेको छैन ।’ उनले संस्थाको समृद्धि भयो भने कर्मचारीको पनि समृद्धि हुने भन्दै आफ्नो व्यक्तिगत सम्पत्ति भन्दा बढी माया गरेर काम गर्नुपर्ने बताए । उनले नेपाल बैंकमा हचुवाको भरमा सुविधा बढाइको र राष्ट्रिय वाणिज्य बैंकमा त्यसो गर्न नहुने बताए । उनले अवस्था सुधार भएपछि तलबभत्ता वृद्धि हुने भन्दै कर्मचारीलाई अहिले अपेक्षा नगर्न अनुरोध गरे । ‘सरकारी संस्थामा सरकारले कडाइ गरेको छ, सवारी साधन, भत्ता नदिने देखि तलबभत्तामा कुनै वृद्धि गरेनौं ’, उनले भने, ‘त्यसैले बैंकका कर्मचारीले पनि अहिले त्यो अपेक्षा नगर्नुहोस्, अवस्था सुधार भएपछि तलब भत्तावृद्धि हुन्छ ।’
काठमाडौंको बालाजु पार्कमा जडान ग्राउण्डवाटर रिचार्ज प्रणाली हस्तान्तरण
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौं महानगरपालिकाकी उपमेयर सुश्री सुनिता डंगोललाई हस्तान्तरण गरिएको छ । उक्त हस्तान्तरण कार्य कोका-कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटरएड नेपालले संयुक्त रुपमा गरेको हो । सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु भएको उक्त परियोजना माघ ५ गते सम्पन्न भएको हो । यस रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू रहेका छन् । उक्त परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो । यस प्रणालीले वार्षिक ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ भने यी रिचार्ज संरचनाहरू ‘ग्राउन्डवाटर रिचार्ज इन बालाजु पार्क एरिया इन द काठमाडौँ मेट्रोपोलिटान सिटीः एड्रेसिङ इन्क्रिज्ड अर्बन वाटर डिमाण्ड’ नामक परियोजनाका मुख्य आउटपुटहरु हुन् । यस परियोजनाको मुख्य उद्देश्य बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुङ्गेधारा, प्रसिद्ध बाईस धारा र सामुदायिक इनारको स्रोतलाई पुनर्जीवित गर्नु मात्र नभई पानीको चरम अभाव सामना गर्न आवश्यक पर्ने यस्ता पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउने समेत अपेक्षा गरिएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो धारणा व्यक्त गर्दै भन्नु भयो, ‘काठमाडौँ जस्ता सहरका लागि कृत्रिम ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएकाले आगामी दिनमा पनि यस्तै किसिमका रचनात्मक रिचार्ज पहलहरु कायम राख्ने प्रतिबद्धता व्यक्त गरिन् । काठमाडौं जस्तो सहरमा ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएको तर भवन र सडक निर्माणका कारण प्राकृतिक रिचार्ज जोनहरूमा पनि अहिले पानीको मात्रा घट्दै गएको उनले बताइन् । काठमाडौं उपत्यकाका बासिन्दाका लागि पहिले देखि नै खानेपानीको प्रमुख स्रोत भनेको ग्राउण्डवाटर हो । ढुङ्गेधारा, इनार र कुवाहरू मुख्य पानीका श्रोतहरू हुन्, जुन उपत्यकामा जताततै देख्न सकिन्छ । तर पछिल्लो दुई दशकदेखि चलेको ग्राउण्डवाटरको अत्यधिक उत्खनन, अव्यवस्थित भवन र सडक निर्माणले उपत्यकाको ग्राउण्डवाटरको मुहानलाई प्रभावित गरेको छ । वर्षाको प्याटर्नमा भएको परिवर्तन तथा छोटो अवधिमा नै हुने व्यापक वर्षाले ग्राउण्डवाटर रिचार्ज हुने प्राकृतिक प्रक्रियामा पनि केही प्रभाव पारेको छ ।