विकासन्युज

१ हजारभन्दा बढी घर भत्काउनु पर्ने भएपछि वैकल्पिक रेलमार्ग खोजिँदै

काठमाडौं । भरतपुर महानगर हुँदै जाने प्रस्तावित रेलमार्गमा एक हजारभन्दा बढी घर पर्ने भएपछि वैकल्पिक रेलमार्गको अध्ययन गरिने भएको छ । भरतपुर महानगरपालिकाले आज बोलाएको छलफल कार्यक्रममा वैकल्पिक मार्गका बारेमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । रेल विभाग, परामर्शदाता कम्पनी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला छलफलमा सहभागी थिए । महानगर प्रमुख रेनु दाहालका अनुसार महानगर, रेल विभाग र कोरियन परामर्शदाताका प्रतिनिधि सहभागी भएर वैकल्पिक रेलमार्गको अध्ययन गर्ने सहमति भएको हो । महानगरपालिकाले भरतपुर वडा नं ११ र १२ को वन क्षेत्रको सीमाबाट वैकल्पिक रेलमार्ग प्रस्ताव गरेको छ । यसैगरी राप्ती नदी किनार हुँदै दोस्रो विकल्प महानगरले प्रस्ताव गरेको छ । यी मार्गको अध्ययन गर्न लागिएको हो । प्रमुख दाहालका अनुसार अहिले प्रस्तावित रेलमार्गमा महानगरपालिकाको वडा नं ८, ७, ४ र १६ का एक हजारभन्दा बढी घरधुरी पर्दछन् । बाक्लो बस्ती हुँदै रेलमार्ग सम्भावना नहुने भएकाले वैकल्पिक मार्गको प्रस्ताव गरेको उनँले जानकारी दिए । रेलमार्ग प्रस्ताव गरिएका क्षेत्रका बासिन्दाले ठूलो नोक्सान हुने भन्दै सङ्घर्ष समिति बनाएर दबाब दिँदै आएका छन् । स्थानीयको मागपछि केही दिनअघि महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सचिव, रेल विभागका महानिर्देशकलगायतको उपस्थितिमा महानगरपालिकाले छलफल गरेको थियो । छलफलमा रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालसहित विभागका परामर्शदाता कम्पनीका इञ्जिनियरहरुको सहभागिता रहेको थियो ।

हिमालयन एभरेष्टको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले माघ १४ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले आज माघ ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गरेका सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्नेछन् । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ३०औँ वार्षिक साधारण सभा माघ २५ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालकको सुविधा तथा भत्ता वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ । रिक्त रहेको विज्ञ स्वतन्त्र सञ्चालकको नियुक्ति र संस्थापक सञ्चालकको नियुक्ति गरी अनुमोदन गर्नेछ ।

आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदै

काठमाडौं । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हँुदैछ । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचकमण्डल रहनेछ । राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी २ हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ । हाल कायम प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ९९८ मतदाता रहेका छन् । आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ ।

सिंगटी हाइड्रोले फागुन २ गतेदेखि शत प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले फागुन २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अर्थात् १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता सेयर अर्थात हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अंकित मूल्य १ सय रुपैयाँका दरले बिक्री गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । त्यसैले पुस १९ गतेसम्म नपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीको हप्रद सेयरमा लगानीकर्ताहरूले फागुन २२ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

बोनसको घण्टीले राष्ट्रिय वाणिज्य बैंकमा तनाव

काठमाडौं । बुधबार बिहानै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको मोबाइलमा घण्टी बज्यो । घण्टी थियो, ‘बोनस पाएको ।’ बैंकले बुधबार दिउँसो २ बजे ५९औं वार्षिकोत्सब कार्यक्रम राखेको थियो । त्यसअगावै कर्मचारीलाई खातामा बोनस पठायो । त्यो घण्टीको खुसी र निराशा भने दिउँसो देखियो । नेपाल कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेले बिहान ७ बजे बैंकका कर्मचारीको मोबाइलमा बजेको घण्टीले थप तनाव सिर्जना गरेको टिप्पणी गरे । उनले आफूहरूले मिहेनतअनुसारको प्रतिफल नपाएको गुनासो गरे । ‘हामीले बिहानै बोनस प्राप्त गर्याैं, बैंक डेमा बोनस पाएको यो दोस्रो पटक हो, बैंकले प्रतिस्पर्धा नबिल बैंक र हिमालयन बैंकसँग गर्नुपर्छ भन्छ । तर, सुविधामा सरकारी पारा गर्छ,’ उनले भने, ‘बोनस ऐन २०३० अन्तर्गत १० प्रतिशत बोनस पाउनु पर्ने हो, सरकारी संस्थामा नेपाल सरकारले तोकेबमोजिम पनि बोनस पाएनौं, यसलाई तत्काल संशोधन गरी निजी संस्था जति नै पाउनु पर्छ ।’ बोनस ऐन बमोजिम एक आर्थिक वर्षमा गरेको नाफाको १० प्रतिशत बराबरको रकम कर्मचारीलाई छुट्याउनु पर्छ । तर, सरकारी संस्थामा कार्यरत कर्मचारीलाई भने उक्त ऐन लागू नभएको उनको भनाइ छ । अध्यक्ष पाण्डेले कर्मचारी सेवा विनियावलीको समस्या रहेका तत्काल समाधान गर्नु पर्ने बताए । २०७२ सालमा संविधान जारी भएपछि समग्र क्षेत्रमा समस्या देखिएको तर, हालसम्म समाधान हुन नसकेको उनको भनाइ छ । साथै, श्रम ऐन २०७४ले कर्मचारीलाई न्यूनतम ८.३३ प्रतिशत उपदान दिनु पर्ने व्यवस्था गरेको भएपनि राष्ट्रिय वाणिज्य बैंकमा त्यो लागू नभएको उनको गुनासो छ । नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्कीले ज्यालादारी, करार र स्थायी कर्मचारीहरूका आ–आफ्ना समस्या रहेको बताउँछन् । उनले बैंकका सीईओ किरण कुमार श्रेष्ठलाई कर्मचारी समस्या समाधान गरेर मात्रै बाहिरिन आग्रह गरे । ‘बैंकमा ज्यालादारी, करार र स्थायी कर्मचारीहरू छन्, ज्यालादारी कर्मचारीको ठूलो समस्या न्यून ज्यालामा काम गर्नुपर्छ, ७ वर्ष ९ महिनामा बैंकका सीईओज्यूले धेरै राम्रो काम गर्नु भयो, अबको ३ महिनामा यी समस्या पनि समाधान गरेर जानु होला,’ उनले भने । ‘हामीले एउटै पदमा १० वर्षसम्म काम गर्नु पर्ने बाध्यता छ, आज बिहान बैंकका सबै कर्मचारीहरूको मोबाइलमा घण्टी बजेपनि त्यो असमान तरिकाले बजेको छ,’ उनले भने, ‘निजी क्षेत्रका र सरकारी संस्थामा कार्यरत सबै कर्मचारीको बोनस समान हुनुपर्छ, अन्य बैंकको तुलनामा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूको बोनस सबैभन्दा कम छ ।’ साथै, अवकाश पाएका कर्मचारीहरूको उपदान स्वीकृत भएपनि उपभोग गर्न नपाएको उनको भनाइ छ । उनका अनुसार नेपाल बैंकको भन्दा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको सेवा सुविधा १५ प्रतिशत कम छ । यदि सेवा सुविधा नबढाउने हो भने नेपाली अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंक टिक्न नसक्ने उनको भनाइ छ । ‘उपदान स्वीकृत भएपनि हालसम्म कर्मचारीको खातामा आएको छैन, वर्षभरि लगाएको बाली जंगली हात्तिले सखाप पारेजस्तै भएर अवकास हुनु परेको छ, वर्षाैं बैंकमा परीश्रम गरेका कर्मचारी निराश भएर रित्तो हात घर फर्किनु परेको छ, उपदानको विषय तत्काल स्वीकृत हुनुपर्छ,’ उनले भने, ‘नेपाली अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकलाई टिकाइराख्न सेवा सुविधा बढाउनु पर्छ, कर्मचारीका समस्या समाधान गर्नुपर्छ, पुरानो राष्ट्रिय वाणिज्य बैंक हुनबाट जोगाउन कर्मचारीको सेवा सुविधामा जोड दिनु पर्छ ।’ नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष ईश्वर बहादुर सिंहका अनुसार आरबिबि नेपाली बैंकिङ क्षेत्रमा बलियो बैंकका रूपमा स्थापित भएको छ । बैंकमा सरकारी पारा अन्त्य भइसकेको उनको भनाइ छ । ‘विगतमा सरकारी पारा भयो भनेर धेरै हेपाई खानु पर्याे, अब एनसिएचएलले डिजिटल ट्रान्जेक्सन सबैभन्दा बढी गर्ने बैंकका रुपमा पुरस्कार दिएको छ, यसबाट पनि प्रमाणित भइसकेको छकि बैंक परम्परागत ढंगबाट चलेको छैन,’ उनले भने । साथै, सुधारको कार्यक्रमबाट स्थापित भएकाले आगामी नेतृत्व पनि अब्बल व्यक्ति आउनु पर्ने उनको धारणा छ । यदि बैंकलाई बुझ्ने व्यक्ति आयो भने बैंकको भविष्य उज्वल हुने उनको भनाइ छ । साथै, बैंकले सरकारलाई ग्राहकको रुपमा लिएको उनको भनाइ छ । ‘सरकार हाम्रो प्रमुख ग्राहक हो, अब सरकारलाई हामीले ग्राहकको रुपमा लिन्छौं, राष्ट्रिय वाणिज्य बैंकलाई नियमन गर्नुहोस्, सुपरीवेक्षण गर्नुहोस् तर, हस्तक्षेप नगर्नुहोस्,’ उनले भने । अर्थमन्त्री डा. प्रकाशशरण महतले परिश्रम गर्नु पर्ने तर फलको आशा नगर्न कर्मचारीहरूलाई आग्रह गरे । सरकार अहिले खर्च कटौतिमा लागेकाले राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूले पनि तत्काल सेवा सुविधा वृद्धिको अपेक्षा गर्न नहुने उनको भनाइ छ । ‘सरकारी संस्थामा सरकारले कडाइ गरेको छ, सवारी साधन, भत्ता नदिनेदेखि तलबभत्तामा कुनै वृद्धि गरेनौं, त्यसैले बैंकका कर्मचारीहरूले पनि अहिले त्यो अपेक्षा नगर्नुहोस्, अवस्था सुधार भएपछि स्वतः तलब भत्तावृद्धि हुन्छ,’ उनले भने । संस्था समस्याका परेका बेला रातदिन नभनी काम गर्न कर्मचारीलाई उनले निर्देशन दिए । संस्था समस्यामा परेका बेला आफ्नो पकेटबाट सहयोग गर्ने गरेको जापानको उदाहरण दिँदै उनले भने, ‘अहिले ५ बजे नै घर जाने स्थिती छैन, समय हेरेर काम गर्ने जमाना गए, अब काम गर्नु पर्छ तर, समय हेर्नु हुँदैन, जतिबेला काम गरेपनि दिनभरिको काम सक्नु पर्छ, जापानमा संस्था डुब्न लाग्यो भने कर्मचारीले खल्तिबाट पैसा हाल्छन्, त्यसैले जापान सम्पन्न भयो, हामीले पनि त्यो परिपाटी अपनाउनु पर्छ ।’

अब सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा पढाइ हुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय श्ययाका अस्पतालमा नर्सिङ र ‘प्यारामेडिक्स’को पढाइ सुरु हुने बताएका छन् । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९०औँ वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले आगामी शैक्षिक सत्रमा सातै प्रदेशका साविकका अञ्चल अस्पतालमा चिकित्सा शिक्षाको अध्यापन सुरु गर्न मन्त्रालयले तीव्र तयारी गरिरहेको जानकारी दिए । उनले टेकु अस्पताललाई मन्त्रालयको नीतिअनुसार नर्सिङ तथा पारामेडिकको शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयार रहन निर्देशन दिए । ‘आउँदो शैक्षिक सत्रदेखि देशका सबै ठूला अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरु हुन्छ । सरकारको निर्णय छिटो कार्यान्वयनमा ल्याउन मन्त्रालयले तयारी गरिरहेको छ’, उनले भने, ‘यस अस्पतालले पनि आवश्यक जनशक्ति उत्पादनको तयारी गर्नुपर्छ ।’ मन्त्रालयले एक सयदेखि तीन सय श्ययासम्मका अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ गर्ने र तीन सय श्ययाभन्दा माथिका अस्पतालमा ‘एमबिबिएस’ को पढाइ गर्ने निर्णय गरेर मन्त्रिपरिषद्मा पठाइ सकेको मन्त्री बस्नेतले जानकारी दिए । सरकार चिकित्सा शिक्षा ऐन परिमार्जनको तयारीमा लागको कार्यक्रममा जानकारी गराइएको थियो । वार्षिकोत्सव समारोहमा अस्पतालमा निर्देशक डा युवानिधि बसौलाले तीन सय श्ययाको विशिष्टकृत सरुवा रोगको नयाँ भवन निर्माण प्रक्रियामा रहेको जानकारी दिए । उनले विशिष्टकृत अस्पतालको न्यूनतम् सेवा मापदण्ड सुरु भइसकेको बताए । नर्सिङ प्रशासक रोशनीलक्ष्मी तुईतुईले अस्पतालले आउँदो शैक्षिक सत्रदेखि नर्सिङको पढाइ गर्ने गरी तयारीबारे जानकारी दिँदै सरकारबाट अनुमति प्राप्त भएमा अध्यापन सुरु गरिने प्रतिबद्धता जनाए । वार्षिकोत्सवका अवसरमा कोभिड-१९ को महामारीमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै अस्पतालले प्रमुख कन्सल्टेन्ट फिजिसियन डा विमल शर्मा चालिसेलाई सम्मान गरेको थियो । अस्पतालमा अहिले एक सय श्यया सञ्चालनमा रहेको छ । त्यसमा २० वटा आकस्मिक श्यया रहेका छन् । अस्पतालबाट दैनिक दुई हजार जना बिरामीले बहिरङ्ग सेवा लिने गरेको निर्देशक डा बसौलाले जानकारी दिए । गत आर्थिक वर्ष २०७९/८० मा यस अस्पतालबाट एक लाख छ सय १९ जनाले बहिरङ्ग उपचार सेवा लिएका छन् । सोही आवमा ११ हजार चार सय ४६ जना बिरामीले आकस्मिक उपचार सेवा लिएका छन् भने एक हजार नौ सय ८७ जना अस्पतालमा भर्ना भएका थिए । रासस

आईपीओ जारी गर्न सुपर खुदी हाइड्रोले नियुक्त गर्यो बिक्री प्रबन्धक

काठमाडौं । सुपर खुदी हाइड्रोपावरले सेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच माघ १० गते सेयर निष्कासन सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सुपर खुदी हाइड्रोको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका हुन् । हाइड्रोले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ दरको ६९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । वि.सं. २०६५ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको सुपर खुदी हाइड्रोपावरको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरको वडा नंं. ३० डिल्लीबजार, चारखालमा रहेको छ । अधिकृत पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिकाको वडा नं. २, खुदीमा रहेको निर्माणाधिन माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी वि.सं.२०७८ साल बैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको हो । भविष्यमा थप हाईड्रोपावर क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको यस कम्पनीमा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

पुवा खोला-वान हाइड्रोको बिक्री प्रबन्धकमा एलएस क्यापिटल, आईपीओ जारी गर्दै

काठमाडौं । पुवा खोला-वान हाइड्रोपावरले आईपीओ निष्काशन गर्नको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एलएस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता सेयर निष्काशन गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्ति सम्बन्धी सम्झौता-पत्रमा पुवा खोला-वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । पुवा खोला-वान हाइड्रोको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना छ ।