विकासन्युज

प्रधानमन्त्री बालेनको नेतृत्वमा राष्ट्रसंघ महासभा जाने टोलीबारे समितिलाई जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने बताएका छन् ।  बिहीवार (आज) सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले नेपालका तर्फबाट प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने जानकारी दिएका हुन् ।  उनले संयुक्त राष्ट्रसंघको महासभा अर्को सातादेखि सुरु हुने र त्यसमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीको नेतृत्वमा हुने बताए ।  महासभामा नेपालको सहभागिताका क्रममा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषयहरू उठाइने अपेक्षा गरिएको छ ।  उनले भने, ‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दैछ ।’ बिहीवारको समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञहरूसँग छलफल गर्नुका साथै संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्रीको सहभागिताका विषयमा समेत छलफल भएको छ ।  बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तलगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए ।  नेपालको अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको हो ।  परराष्ट्रमन्त्री खनालले महासभामा नेपालको सहभागिता नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहने बताएका छन् ।

कालिञ्चोक दर्शनका दुई आधारभूत सेयरधनीले सेयर बेच्ने

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडका दुई आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । कम्पनीका अनुसार रमेश राज शिवाकोटीले १ लाख २२ हजार १० कित्ता र उमेश राज शिवाकोटीले ३ लाख २८ हजार १५६ कित्ता सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन् । उनीहरूले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने आशय व्यक्त गरेका हुन् । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई सेयर बिक्रीसम्बन्धी जानकारी गराएको हो ।

२ लाख बढी भवनको डिजिटल नक्साङ्कन, सबै कित्ताको भूउपयोग वर्गीकरण गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सम्पूर्ण कित्ताको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गर्ने प्रक्रिया अघि बढाइने भएको छ । भूउपयोग परिषद्का अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगर क्षेत्रभित्रका जग्गाको वास्तविक अवस्था, उपयोग र स्वामित्वसम्बन्धी विवरणलाई भौगोलिक सूचना प्रणाली (जीआइएस‌) मा एकीकृत गर्ने निर्णय गरेको हो । जीआइएसमा एकीकृत विवरणलाई भूमि व्यवस्थापन, सहरी योजना, राजस्व, विपद् व्यवस्थापन तथा नागरिक सेवा प्रवाहमा तथ्यमा आधारित निर्णयका लागि प्रयोग गर्ने महानगरपालिकाको योजना छ । भूउपयोग ऐन, २०७६, भूउपयोग नियमावली, २०७९ तथा सम्बन्धित निर्देशिका र मापदण्डअनुसार जग्गाको विवरण तयार गर्ने, उपलब्ध नक्सा तथा तथ्यांक अद्यावधिक गर्ने र महानगर क्षेत्रभित्रका सम्पूर्ण कित्ताको कित्तागत विवरण तयार गर्ने प्रक्रिया अघि बढाइनेछ । भूउपयोग तथा भूमि व्यवस्थापनसम्बन्धी कामलाई एकीकृत बनाउन महानगरपालिकाले हाललाई अस्थायी ‘भू–सूचना तथा भूमि व्यवस्थापन एकाइ’ गठन गर्ने निर्णयसमेत गरेको छ ।  उक्त एकाइले भूउपयोग क्षेत्रको वर्गीकरण तथा अद्यावधिक, कित्तागत विवरण र जियोडाटाबेस निर्माण तथा अद्यावधिक, भूमि तथा जीआइएससम्बन्धी तथ्यांक व्यवस्थापन, नक्साङ्कन र प्राविधिक कामको समन्वय गर्ने महानगरले जनाएको छ । भूउपयोग वर्गीकरणमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला–ताल–सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वलगायत क्षेत्र समेटिनेछन् । आवश्यकताअनुसार अन्य क्षेत्रसमेत तोक्न सकिने कानुनी व्यवस्था छ । बैठकमा नापी अधिकृत अशोक श्रेष्ठले प्रस्तुतिकरण गर्दै महानगरपालिकाले घरधुरी सर्वेक्षणका लागि सम्पूर्ण क्षेत्रमा ड्रोन तथा डीजीपीएस सर्वेक्षण गरी लेयर डिजिटाइजेसन तथा म्यापिङको काम सम्पन्न गरिसकेको जानकारी दिए । महानगरपालिकाभित्र हालसम्म १२ हजार ८११ वटा सडकको नक्साङ्कन गरिएको छ ।  तीमध्ये दुई हजार ८ सयभन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जीआइएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ । त्यस्तै, घर नम्बरिङ तथा घरधुरी सर्वेक्षणका लागि महानगर क्षेत्रभित्रका दुई लाख १० हजार ९७६ भवन डिजिटल रूपमा नक्साङ्कन गरिएको छ । तीमध्ये २५ हजार १९ वटा भवनको प्रमाणीकरणसमेत भइसकेको महानगरपालिकाले जनाएको छ । विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदा स्थल तथा सार्वजनिक संरचनाको समेत डिजिटल जीआइएस अभिलेख निर्माण गरिएको छ । भूमि व्यवस्थापनतर्फ गत वैशाख २ गतेदेखि महानगरपालिकाका १० वडाबाट सुरु गरिएको सेवामा भदौ ३० गतेसम्म ३५० भन्दा बढी निवेदन परेका छन् ।  त्यसमध्ये २८० भन्दा बढी लिखत पारित भएका छन् भने ५० भन्दा बढी नामसारीसम्बन्धी निवेदन फस्र्योट गरी स्वामित्व हस्तान्तरण गरिएको छ । वडा नम्बर १५ बाट मात्रै ६५ वटा कारोबार सम्पन्न भएका छन् । महानगरपालिकाले अब सबै ३२ वडाबाट भूसेवा सञ्चालन गरी केन्द्रबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने लक्ष्य अघि सारेको छ । भूउपयोग वर्गीकरणको अन्तिम प्रक्रियाअन्तर्गत नापी विभागबाट प्राप्त नक्सा तथा तथ्यांकको अध्ययन, जनप्रतिनिधिलाई जानकारी, आधार तथा मापदण्ड तयारी, सरोकारवालासँग छलफल, भूउपयोग उपक्षेत्रमा वर्गीकरण, नक्सा तयार तथा स्वीकृति र अन्तिम कित्तागत विवरण सार्वजनिक गरिनेछ । स्वीकृत नक्सा तथा कित्तागत विवरण महानगरपालिकाको वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गरी सम्बन्धित मालपोत तथा नापी कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइनेछ । बैठकमा नापी विभागको भूउपयोग शाखाका प्रमुख नापी अधिकृत खिम राना र नापी अधिकृत प्रकाश दुलाले भूउपयोग वर्गीकरणको प्रक्रिया तथा कानुनी व्यवस्थाबारे प्रस्तुतिकरण गरेका थिए । महानगरपालिकाले आगामी दिनमा ड्रोन तथा लाइडार प्रविधि, तथ्यांक प्रशोधन र विश्लेषणमार्फत डिजिटल प्रशासन तथा स्थानमा आधारित योजना निर्माणलाई प्राथमिकता दिने जनाएको छ ।  जीआइएसको प्रयोग स्मार्ट टोल, सडक सुरक्षा तथा यातायात व्यवस्थापन, ई–रेजिष्ट्रेसन, सामाजिक नक्सांकन र घरधुरी सर्वेक्षणलगायत नियमित काममा विस्तार गर्ने योजना महानगरपालिकाको छ । यसबाट जग्गा तथा भवनसम्बन्धी विवरणलाई एउटै प्रणालीमा आबद्ध गरी योजना निर्माण र सेवा प्रवाहमा प्रयोग गर्ने लक्ष्य महानगरपालिकाले राखेको छ । भूउपयोग ऐन, २०७६ अनुसार पालिकाका प्रमुखको अध्यक्षतामा भूउपयोग परिषद् रहने व्यवस्था छ । प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने परिषद्मा कार्यपालिकाका सदस्य रहने प्रावधान छ । त्यस्तै, प्रमुखको संयोजकत्वमा भूउपयोग कार्यान्वयन समिति तथा वडाध्यक्ष संयोजक र वडा सचिव सदस्य सचिव रहने भूउपयोग कार्यान्वयन उपसमिति रहने व्यवस्था छ ।  ऐनले सांस्कृतिक तथा पुरातात्विक महत्त्व, औद्योगिक, सार्वजनिक उपयोग, नदी–खोला–ताल–सिमसार, व्यावसायिक र आवासीयलगायत विभिन्न क्षेत्रमा जमिन वर्गीकरण गर्ने व्यवस्था गरेको छ ।

सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोषबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावअनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरसमेतको कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिनेछ । यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । अग्राधिकार शेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिनेछ । बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँ रहेको छ । अग्राधिकार सेयरतर्फ चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

भदौ महिनाको करदाता उपहार कार्यक्रमको नतिजा आज सार्वजनिक हुँदै

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । आन्तरिक राजस्व विभागका अनुसार लाजिम्पाटस्थित विभागको सभाहलबाट विजेताको घोषणा गरिनेछ । विभागले कार्यक्रमको प्रत्यक्ष घोषणा कार्यक्रममा सञ्चारकर्मीलाई उपस्थित हुन अनुरोध गरेको छ । यसअघि भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो । विभागका अनुसार आज भदौ महिनाका ३३ जना विजेताको नाम सार्वजनिक गरिनेछ । तीमध्ये ३१ जनाले जनही १ लाख रुपैयाँ र २ जनाले बम्पर उपहार प्राप्त गर्नेछन् ।

एभरेष्ट बैंकको समायोजित सेयर मूल्य ६९२.८६ रुपैयाँ कायम

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयर प्रयोजनका लागि सेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार कायम भएको अन्तिम कारोबार मूल्य ७२७ रुपैयाँ ५० पैसाका आधारमा ५ प्रतिशत बोनस सेयरपछि बैंकको समायोजित मूल्य ६९२ रुपैयाँ ८६ पैसा कायम गरेको जनाएको छ। समायोजित मूल्य अब बोनस सेयरसम्बन्धी प्रयोजनका लागि लागू हुनेछ ।

नापी कार्यालयका सर्वेक्षक एक लाख घुससहित पक्राउ

काठमाडौं । महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक शिवकुमार साह घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । अख्तियारका अनुसार बर्दिवास नगरपालिका–१ स्थित नापी कार्यालयमा कार्यरत साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी संशोधन गरिदिने काममा सेवाग्राहीलाई दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा टोली खटिएको थियो । टोलीले भदौ ३० गते सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नापी कार्यालय अगाडि रहेको एक खाजाघरबाट साहलाई रकमसहित नियन्त्रणमा लिएको हो । आयोगले भदौ ३१ गते विशेष अदालतबाट घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी साहमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज २ बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा दिउँसो २ बजे बस्दैछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहने दुलालले जानकारी दिए । बैठकमा पार्टीका समसामयिक विषय, संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ । उनका अनुसार बैठकमा आगामी १५औँ महाधिवेशनको तयारीका विषयमा छलफल हुने दुलालले जानकारी दिए ।