काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ ।
लगातारको झरीले सडक आवागमन, हवाई उडान तथा नागरिकका दैनिक कामकाजमा बाधा पुर्याएको छ भने प्रमुख नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा वृद्धि भएको छ ।
काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि निरन्तर वर्षा भइरहँदा प्रमुख नदीहरू वाग्मती, विष्णुमती, धोबीखोला र मनोहरालगायतको जलसतह बढेको छ । नदी तटीय क्षेत्र तथा होचा बस्तीहरूमा पानी पस्ने जोखिम बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।
उपत्यकाका मुख्य सडकहरूमा पानी जम्दा यातायात व्यवस्था प्रभावित बनेको छ । उपत्यकाबाहिर पनि अविरल वर्षाका कारण पहाडी भेगमा पहिरो र तराईका क्षेत्रमा डुबानको खतरा बढेको छ ।
राष्ट्रिय राजमार्गका विभिन्न खण्डमा पहिरो खस्ने सम्भावना रहेकाले लामो दूरीका यात्रुहरूलाई मौसमको पूर्वजानकारी लिएर मात्र यात्रा तय गर्न ट्राफिक प्रहरीले सूचित गरेको छ ।
यस्तै, खराब मौसमका कारण विभिन्न आन्तरिक उडानसमेत प्रभावित भएका छन् । नागरिकहरूलाई नदी किनार तथा पहिरोग्रस्त क्षेत्र आसपास नजान र सतर्कता अपनाउन अपिल गरिएको छ ।