व्यवसाय सम्हाल्न नयाँ पुस्ता तयार, तर छैन पूर्ण योजना

काठमाडौं । एसियाका अधिकांश पारिवारिक व्यवसायमा उत्तराधिकारी (सक्सेसन) योजना पूर्ण रूपमा तयार नभएको पाइएको छ । नयाँ पुस्ता पारिवारिक व्यवसायको जिम्मेवारी लिन इच्छुक देखिए पनि त्यसका लागि आवश्यक तयारी र अनुभवको अभाव रहेको एक अध्ययनले देखाएको छ ।

सन लाइफ एसियाले गरेको अनुसन्धानअनुसार पारिवारिक व्यवसायसँग सम्बन्धित उत्तरदातामध्ये ७८ प्रतिशतले नयाँ पुस्ता व्यवसायको जिम्मेवारी लिन इच्छुक रहेको बताएका छन् । तर, जम्मा २६ प्रतिशतसँग मात्रै पूर्ण रूपमा सक्सेसन योजना रहेको पाइएको छ ।  यसले पारिवारिक व्यवसाय हस्तान्तरण गर्न नयाँ पुस्ताको इच्छाशक्ति र त्यसका लागि आवश्यक तयारीबीच ठूलो अन्तर रहेको देखाएको छ ।

अध्ययनले पारिवारिक सम्पत्ति बाँडफाँटमा पनि चुनौती रहेको देखाएको छ । दुई तिहाइ उत्तरदाताले सम्पत्ति न्यायोचित रूपमा बाँड्नु भनेको सधैँ बराबर हिस्सामा बाँड्नु नहुने धारणा राखेका छन् । परिवारका सदस्यको योगदान, जिम्मेवारी र आर्थिक आवश्यकताका आधारमा सम्पत्ति बाँडफाँट गर्नुपर्ने उनीहरूको बुझाइ छ ।
सम्पत्ति बाँडफाँट गर्दा परिवार वा व्यवसायमा गरेको योगदान र हेरचाहसम्बन्धी जिम्मेवारीलाई १८ प्रतिशतले महत्त्वपूर्ण आधार मानेका छन् । त्यस्तै, आर्थिक आवश्यकतालाई १६ प्रतिशत र परिवारको समग्र परिस्थितिलाई १४ प्रतिशतले आधार बनाएको अध्ययनमा उल्लेख छ ।

सन लाइफ एसियाका प्रमुख ग्राहक तथा वितरण अधिकृत डेभिड ब्रुमले परिवारले सम्पत्ति हस्तान्तरणसम्बन्धी अपेक्षाबारे समयमै छलफल गर्नुपर्ने र सम्पत्ति बाँडफाँटका स्पष्ट सिद्धान्त तय गर्नुपर्ने बताएका छन् ।

नयाँ पुस्तामा अनुभव र तयारीको कमी

पारिवारिक व्यवसायको जिम्मेवारी लिन पूर्ण रूपमा इच्छुक नभएका नयाँ पुस्ताका सदस्यबारे गरिएको अध्ययनले उनीहरूमा अनुभव र तयारीको कमी मुख्य चुनौतीका रूपमा देखाएको छ ।

व्यवसायको जिम्मेवारी लिन नयाँ पुस्ता पूर्ण रूपमा इच्छुक नहुनुको कारण अनुभव र तयारीको कमी रहेको बताउनेको अनुपात सन् २०२५ मा २८ प्रतिशत थियो । सन् २०२६ मा यस्तो अनुपात बढेर ३९ प्रतिशत पुगेको छ ।
त्यस्तै, व्यवसायप्रति रुचि नभएको बताउनेको अनुपात भने ४३ प्रतिशतबाट घटेर ३४ प्रतिशतमा झरेको छ । व्यवसाय बिक्री गरेर बाहिरिन वा नगद रकम लिन चाहनेको अनुपात पनि २२ प्रतिशतबाट घटेर १२ प्रतिशतमा आएको छ ।

डिजिटल नवप्रवर्तनको कमी पनि उत्तराधिकारी हस्तान्तरणमा चुनौतीका रूपमा देखिएको छ । नयाँ पुस्ता व्यवसाय सम्हाल्न पूर्ण रूपमा इच्छुक नहुनुको कारण डिजिटल नवप्रवर्तनको कमी रहेको बताउनेको अनुपात सन् २०२५ मा १० प्रतिशत रहेकामा सन् २०२६ मा बढेर २३ प्रतिशत पुगेको छ ।

ब्रुमका अनुसार भविष्यमा व्यवसायको नेतृत्व गर्ने पुस्तालाई आवश्यक अनुभव र वित्तीय ज्ञान प्रदान गर्नु महत्त्वपूर्ण छ । उनीहरूलाई सही निर्णय लिन सक्ने बनाउनुका साथै व्यवसायलाई पनि नयाँ पुस्ताको नेतृत्वका लागि तयार पार्न आवश्यक रहेको उनको भनाइ छ ।

व्यावसायिक परामर्श लिने परिवार बढ्दै
अध्ययनअनुसार पारिवारिक सम्पत्ति तथा विरासत योजनाका लागि व्यावसायिक परामर्श लिने परिवारको संख्या बढेको छ । सन् २०२६ मा ५६ प्रतिशत पारिवारिक व्यवसायले यस्तो योजनाका लागि व्यावसायिक परामर्श लिएको बताएका छन् । सन् २०२५ मा यस्तो अनुपात करिब ५० प्रतिशत थियो ।

त्यस्तै, आधा उत्तरदाताले सम्पत्ति हस्तान्तरण प्रक्रियामा वित्तीय परामर्शदाताले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । पारिवारिक वित्तीय निर्णयमा नयाँ पुस्ताको सहभागिता पनि बढ्न थालेको छ । ३७ प्रतिशत परिवारले नयाँ पुस्ताका सदस्यलाई वित्तीय तथा लगानीसम्बन्धी निर्णयमा सहभागी गराएको वा गराउने योजना बनाएको बताएका छन् । त्यस्तै, ३२ प्रतिशतले नयाँ पुस्तालाई वित्तीय परामर्शदातासँग प्रत्यक्ष छलफल गर्न प्रोत्साहित गरेको वा गर्ने योजना बनाएको उल्लेख गरेका छन् ।
हङकङ र सिंगापुरमा उत्तराधिकारी योजना फरक

हङकङ र सिंगापुरका पारिवारिक व्यवसायमा उत्तराधिकारी तयार पार्ने चुनौती समान देखिए पनि योजना निर्माण र कार्यान्वयनमा भने भिन्नता पाइएको छ । नयाँ पुस्ता व्यवसायको जिम्मेवारी लिन पूर्ण रूपमा इच्छुक नहुनुको कारण अनुभव र तयारीको कमी रहेको बताउनेको अनुपात दुवै बजारमा ३८ प्रतिशत छ ।

तर, उत्तराधिकारी योजना पूर्ण रूपमा तयार पार्नेमा हङकङका व्यवसाय अगाडि देखिएका छन् । हङकङका ३३ प्रतिशत पारिवारिक व्यवसायसँग पूर्ण रूपमा विकसित उत्तराधिकारी योजना छ । सिंगापुरमा यस्तो अनुपात १८ प्रतिशत मात्रै छ ।

त्यस्तै, हङकङका ७३ प्रतिशत पारिवारिक व्यवसायले सम्पत्ति हस्तान्तरण योजनाका लागि व्यावसायिक परामर्श लिएका छन् । सिंगापुरमा यस्तो अनुपात ५० प्रतिशत छ । आफ्नो सम्पत्ति तथा विरासत योजनाबारे उत्तराधिकारीलाई पूर्ण रूपमा जानकारी गराउनेमा पनि हङकङ अगाडि छ । हङकङमा ४१ प्रतिशतले आफ्ना उत्तराधिकारीलाई योजनाबारे पूर्ण जानकारी गराएका छन् भने सिंगापुरमा यस्तो अनुपात २५ प्रतिशत छ ।

सिंगापुरका परिवारले भने नयाँ पुस्तालाई वित्तीय शिक्षा दिन बढी जोड दिएको पाइएको छ । सिंगापुरका ४१ प्रतिशतले नयाँ पुस्तालाई वित्तीय आधारभूत ज्ञान सिकाइरहेको वा सिकाउने योजना बनाएको बताएका छन् । हङकङमा यस्तो अनुपात २८ प्रतिशत छ ।

वित्तीय परामर्शदाताले सम्पत्ति हस्तान्तरण योजनामा भूमिका खेल्नुपर्ने धारणा राख्नेको अनुपात पनि सिंगापुरमा बढी छ । सिंगापुरका ८९ प्रतिशतले यस्तो धारणा राखेका छन् भने हङकङमा ७३ प्रतिशतले मात्रै वित्तीय परामर्शदाताको भूमिका आवश्यक ठानेका छन् ।

सिंगापुरमा कानुनी तथा करसम्बन्धी जटिलतालाई पनि सम्पत्ति हस्तान्तरण योजनाको अवरोधका रूपमा लिइएको छ । त्यहाँका ४३ प्रतिशत उत्तरदाताले कानुनी तथा करसम्बन्धी जटिलतालाई चुनौती मानेका छन् । हङकङमा यस्तो अनुपात २५ प्रतिशत छ ।

त्यस्तै, सिंगापुरका थप ३७ प्रतिशत उत्तरदाताले भविष्यमा सम्पत्ति हस्तान्तरणसम्बन्धी विषयमा व्यावसायिक मार्गदर्शन लिन चाहेको बताएका छन् । अध्ययनले पारिवारिक व्यवसायलाई दिगो रूपमा अघि बढाउन उत्तराधिकारीको समयमै तयारी, सम्पत्ति बाँडफाँटको स्पष्ट आधार र व्यावसायिक परामर्श आवश्यक रहेको देखाएको छ ।

नयाँ पुस्ता व्यवसायको जिम्मेवारी लिन इच्छुक हुँदैमा सफल हस्तान्तरण सुनिश्चित नहुने भएकाले उनीहरूलाई आवश्यक सीप, अनुभव र वित्तीय ज्ञान प्रदान गर्नुपर्ने अध्ययनको निष्कर्ष छ । (एजेन्सी) 
 

Share News