काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणमा सरकारसँग जवाफ मागेका छन् । पक्राउ परेका पत्रकार छुटिसके पनि उनीहरूलाई किन पक्राउ गरियो, कसको निर्देशनमा पक्राउ गरिएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनको माग छ ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले पत्रकार पक्राउको विषयलाई सामान्य घटनाका रूपमा लिन नहुने बताएका छन् ।
उनले पत्रकार पक्राउ परेपछि छुटिसकेको भन्दैमा विषय सकिएको नहुने उल्लेख गरेका छन् । ‘यस्तो किन गरियो, निर्देशन कसको थियो र जिम्मेवारी कसले लिने ?’ भन्दै उनले यसबारे जवाफ आवश्यक रहेको बताएका छन् ।
केही महिनाअघि सञ्चारगृहअगाडि मोटर राखेर आतंक सिर्जना गर्ने व्यक्तिहरूको पहिचान गरी सरकारले सार्वजनिक गर्न नचाहेको आरोप पनि उनले लगाएका छन् । अहिले भने सञ्चारगृहमै प्रवेश गरेर पत्रकार पक्राउ गर्दा प्रधानमन्त्री कार्यालयले गिरफ्तारीमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्यालय संलग्न थियो वा थिएन भन्नेभन्दा पनि प्रेसमाथि यस्ता गतिविधि हुँदा सरकारले जिम्मेवारी लिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने मुख्य प्रश्न रहेको शर्माले बताएका छन् ।
सत्तारूढ दलले पत्रकारको गिरफ्तारी गैरकानुनी भएको बताएको विषयलाई सकारात्मक रूपमा लिँदै उनले त्यसपछि सरकारको जिम्मेवारी के हुने भन्ने प्रश्नसमेत उठाएका छन् ।
उनले सत्तारूढ पार्टीको चुनावी घोषणापत्रमा उल्लेख गरिएको प्रेस स्वतन्त्रताको प्रतिबद्धता सरकारले समर्थन मात्रै गर्ने हो कि त्यसको रक्षा पनि गर्ने हो भन्दै प्रश्न गरेका छन् । गैरकानुनी गिरफ्तारी भएको बताउँदैमा सरकार बनाउने दलको दायित्व पूरा नहुने उनको भनाइ छ ।
शर्माले आफूहरू स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको स्पष्ट पारेका छन् । गलत तथा भ्रमपूर्ण समाचारको खण्डन, नियन्त्रण र आवश्यक कारबाहीका लागि निश्चित विधि र प्रक्रिया रहेको उल्लेख गर्दै उनले त्यसैको अनुसरण गर्न आग्रह गरेका छन् ।
संविधानप्रदत्त प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने गतिविधि रोक्नुपर्नेमा जोड दिँदै शर्माले पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।