विकासन्युज

नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिँदै

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको छ । बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकहरुले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताहरुले १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुँन आउनेछ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरुसँग उपलब्ध हुने कम्पनीले जनाएको छ । योजनाको बारेमा चर्चा गर्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि यो योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । ग्राहकवर्गको आवश्यकतालाई बुझेर हामीले यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्टजस्ता अफरहरु लिएर आएका छौँ । हामीलाई निरन्तर अपार माया प्रदान गर्नुहुने ग्राहकहरुलाई हामी बजाजको तर्फबाट नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’  

सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल

नारायणगढ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको जानकारी दिए । उनले भने, ‘अस्पतालको शल्यक्रिया सेवामा स्तरोन्नति गरी थप प्रविधिमैत्री बनाइ सेवा प्रदान गर्ने योजनामा हामी लागेका छौँ ।’ उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अस्पताल निरीक्षणका क्रममा अस्पतालका भावी योजनाबारे जानकारी गराइएको उनले बताए । त्यसैगरी अस्पतालको प्याथोलोजी सेवामा मोलिक्यूलर प्रयोगशाला पूर्णरुपमा सञ्चालन गरिने, रेडियसन सेवामा थप अत्याधुनिक मेसिन जडान गरिने उनले जानकारी दिए । न्यूक्लियर मेडिसिनतर्फ राष्ट्रिय गौरवको रुपमा रहेको साइक्लोट्रोनसहितको पेट सिटी स्क्यान सेवा स्थापना गरी उक्त सेवाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ अस्पताल लागेको उनको भनाइ छ । उनले थपे, ‘हामीले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौँ । रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चिनियाँ सरकारको अनुदानमा काम अघि बढेको छ ।’ अस्पतालबाटै दक्षजनशक्ति उत्पादन गर्नका लागि शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रियामा रहेको पनि उहाँको भनाइ छ । यहाँ उपचारका लागि छिमेकी देशबाटसमेत बिरामी आउने गरेका छन् । रासस

पूर्वमन्त्री खान सवार जीप कृष्णभिरमा दुर्घटना

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान सवार जीप दुर्घटना भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको उनी सवार बिएसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो । उक्त गाडीमा खानसहित चार जना सवार रहेको बताइएको छ । दुर्घटनामा पूर्वमन्त्री खानसहित चारै जना सामान्य घाइते भएको बताइएको छ । उनीहरुलाई मलेखुकै स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको छ ।

नेपाल नेत्रज्योति संघको अध्यक्षमा पुनः डा.पन्त

काठमाडौं । नेपाल नेत्रज्योति संघको अध्यक्षमा प्रा.डा चेतराज पन्त निर्वाचित भएका छन् । भरतपुरको चितवनमा सम्पन्न २८ औँ केन्द्रीय सभा तथा अधिवेशनले प्रा.डा. पन्तलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । नेपाल नेत्रज्योति संघ चितवन शाखाको आतिथ्यतामा चैत्र २३ र २४ गते चलेको अधिवेशनले प्रा.डा. पन्तको नेतृत्वमा आगामी ४ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । संघको विधान बमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये १ जना अध्यक्ष, १२ जना खुला सदस्य र २ जना महिला सदस्य गरी १५ सदस्य अधिवेशन मार्फत निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा कृष्ण कुमार गिरी, चिज कुमार मास्के, दिव्य प्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा. नन्द श्रेष्ठ, नर वहादुर रोकाया, पद्म नारायण चौधरी, बिष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरत बहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्र्मा, मन्जु कण्डेल र प्रा.डा. सविना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमध्ये बाट नै पदाधिकारीहरुको कार्यविभाजन गर्ने व्यवस्था बमोजिम अधिवेशन लगत्तै बसेको केन्द्रिय समिति बैठकले संघको बरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरतबहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै संघका सातवटै प्रदेशका प्रदेश सभापतिहरु केन्द्रिय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्था बमोजिम कोशी प्रदेश सभापति श्याम सुन्दर उदास, मधेश प्रदेश सभापति रबिन्द्रलाल चौधरी, वाग्मती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्रा.डा.दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा, कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल र सुदुरपश्चिम प्रदेश सभापति चक्र बहादुर सिंह केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा चयन हुनु भएको छ भने बाँकी सदस्यहरु केन्द्रीय समितीले मनोनित गर्नेछ । संघ अन्तरगत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखाहरु संचालनमा छन् । स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । त्यस्तै, सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन पारित गर्नुको साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्तिको प्रस्ताव समेत पारित गरिएको छ ।

गुगलले आजको सूर्य ग्रहणलाई विशेष ‘एनिमेसन’ सहित देखाउने

नयाँदिल्ली । आज सोमबार सूर्य ग्रहण । चन्द्रमा सूर्य र पृथ्वीको बीचबाट जाँदा सूर्यको प्रकाश पूर्ण रूपमा अवरुद्ध हुने हुँदा सूर्य ग्रहण लाग्नेछ । यस दृश्यलाई गुगलले विशेष एनिमेसन मार्फत देखाउने छ । प्रयोगकर्ताहरूले गुगलमा ‘सूर्य ग्रहण’ टाइप गरी सूर्य ग्रहणलाई ग्राफिक दृष्यमा देख्न सकिनेछ । सूर्य चार मिनेटको लागि ढाकिने र यसको बाहिरी तहमा उज्यालो रहने सूर्यग्रहण नेपाल, भारत लगायतका एशियाली मुलुकहरूबाट देख्न सकिने छैन तर कोलम्बिया, स्पेन, भेनेजुएला, आयरल्याण्ड, पोर्टल, आइसल्याण्ड, बेलायत र केही क्यारेबियाली देशहरूबाट खण्डग्रास ९आंशिक० ग्रहण देखिनेछ । अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सूर्यग्रहणसम्बन्धी आफ्नो प्रत्यक्ष प्रशारण गर्ने र ५ बजे सुरु हुने उक्त प्रशारण करिब तीन घण्टा जारी रहने बताएको छ । रासस

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट

कुश्मा । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा ‘फायर डान्स’ गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बञ्जी गर्दै आएको थियो । नयाँ वर्षको अवसरमा कम्पनीले चैत ३० र वैशाख १ क्लिफको रिसोर्टमा रुम बुकिङ गर्दा १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण गरिएको छ । रिसोर्ट सहितको एड्भेन्चर हव द क्लिफमा बञ्जी र स्विङसँगै विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ लगायत गतिविधि सञ्चालनमा छन् ।

डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणले धुम्म बन्यो काठमाडौं (फोटो फिचर)

काठमाडौं । डढेलोबाट निस्किएको धुवा र शहरको प्रदुषणका कारण आइतबार काठमाडौं उपत्यका धुम्म बनेको थियो भने आज सोमबार पनि अवस्था उस्तै रहेकाे छ । आइतबार प्रदूषित तुवाँलोले आकाश नै पहेँलिएको थियो । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार आइतबार काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरमा मापन गरिएको थियो ।

पैसा, सुन र घरजग्गाले भरिए बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको काम पैसाकाे कारोबार गर्ने हो । बचतकर्ताबाट निक्षेप लिने र सोही निक्षेपलाई ऋणीमा लगानी गरेर बैंकले आफ्नो बिजनेस गर्छन् । निक्षेपकर्तालाई दिएको ब्याजमा थोरै मार्जिन थपेर ऋणीलाई ऋण दिँदा प्राप्त भएको पैसालाई बैंकले आम्दानीका रूपमा गणना गर्छन् । बैंकले ऋणीबाट ऋण असुल गर्न सकेन भने धितोको रूपमा राखेको घरजग्गा, अन्य सम्पत्ति लिलाम वा बिक्री गरेर आफ्नो लगानी असुल गर्छन् । र, बाँकी रहेको पैसा ऋणीलाई नै फिर्ता गर्छन् । बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सुनको कारोबार गर्न पाउने व्यवस्था पनि गरेको छ । सोही व्यवस्थाअनुसार बैंकहरूले सुन आयात गरेर व्यवसायीलाई बिक्री पनि गर्ने गरिरहेका छन् । तर, अहिले यो सबै कारोबार ठप्प नै छ भन्दा फरक नपर्ला । कुनै बेला तरलताको अभाव रहेको भन्दै ब्याज बढाउन प्रतिस्पर्धा गर्ने बैंकहरू अहिले तरलता बढी भएर ऋण लिनका लागि उद्योगी व्यवसायीलाई आग्रह गरिरहेका छन् । ब्याजदर घटाउँदा पनि ऋणीहरूबाट ऋणको माग नभएपछि अहिले बैंकर ठूलो तनाबमा छन् । यही तनाब नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले गत बिहीबार प्रस्तुत गरे । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले कर्जाको माग छैन, माग बढाउन निरन्तर ब्याजदर घटाइरहेका छौं, हाउजिङ र इलेक्ट्रिकल भेइकल लगायत क्षेत्रमा कर्जाको ब्याजदर एकल अंकमा झारिसक्यौं । तर, ऋणीबाट ऋणको माग हुन सकेको छैन ।’ उनले विगतमा ब्याज बढी भयो भनेर गुनासो आउने भएपनि अहिले ब्याज घट्दा पनि कर्जाको माग नहुनु बिडम्वना रहेको धारणा राखे । उनले कर्जाको ब्याज घटाए पनि माग नै नभएको गुनासो गरे । कर्जाको माग नबढ्नु बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रका लागि चिन्ताको विषय भएको उनको तर्क छ । अहिले बैंकिङ क्षेत्रमा ५ खर्ब बढी लगानीयोग्य रकम छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ८०.८८ प्रतिशत छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरूको सीडी रेसियो ९० प्रतिशत तल हुनुपर्छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह हुन नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंक तथा वित्तीय क्षेत्रमा कुल ६१ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप छ भने ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न पाउने प्रावधानअनुसार बैंकहरूसँग ५ खर्ब बढी कर्जा दिन सक्ने क्षमता छ । अहिले बैंकहरू राष्ट्र बैंकमा पैसा राख्न बाध्य छन् भने अन्तर बैंक कारोबार पनि न्यून ब्याजदरमा गरिरहेका छन् । ग्राहकबाट गुणस्तरीय कर्जाको माग हुन नसकेको बैंकरहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म बैंकहरूको कर्जा प्रवाह ४.२ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब २८ अर्ब १८ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए । पैसाले भरिएका बैंकहरूसँग घरजग्गाको पनि अहिले भण्डारण छ । अहिले बैंकहरूले ऋण नतिर्ने ग्राहकबाट सकारेको घरजग्गा बिक्री गर्न सकेका छैनन् । एक बैंकरकाअनुसार सस्तोमा घरजग्गा बिक्री गर्छु भन्दा पनि ग्राहक पाउन सकिएको छैन । ऋण असुल नहुँदा बैंकको खराब कर्जा अनुपात बढेको बढ्यै छ । त्यसलाई कम गर्नका लागि पनि बैंकहरूले ऋणीले राखेको धितो लिलाम गर्ने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले लगानी गरेको ऋणलाई जोखिममुक्त पार्नका लागि धितोकारूपमा घरजग्गा राख्ने गरेका छन् । कुनै बेला घरजग्गा धितो राख्दा पनि बैंकलाई ऋण डुबे पनि फरक पर्थेन । किनकी घरजग्गाको मूल्य बढिरहेको थियो भने खरिद गर्ने ग्राहक पनि सजिलै पाउन सकिन्थ्यो । मन परेको घरजग्गा बैंक आफैंले सकार्थे । यसरी बैंक आफैंले स्वीकार गरेको सम्पत्तिलाई गैर-बैंकिङ सम्पत्ति भन्निछ । अहिले बैंकहरूलाई सोही गैर-बैंकिङ सम्पत्तिले पिरोलिरहेको छ । ‘पहिले बैंकले प्रकाशित गर्ने लिलामीका सूचनाहरू व्यवसायी या खरिदकर्ताले नियालिरहन्थे, सूचना आउने बित्तिकै बैंकमा आइहाल्थे । तर, अहिले केही सस्तोमा बिक्री गर्छौं भन्दा पनि ग्राहक पाइँदैनन्, बैंकका लागि गैर-बैंकिङ सम्पत्ति चिन्ताको विषय छ,’ एक बैंकका सीईओले भने । कुन बैंकको गैर-बैंकिङ सम्पत्ति कति ? हाल वाणिज्य बैंकसँग १९ अर्ब ९१ करोड ५० लाख रुपैयाँबराबरको गैर–बैंकिङ सम्पत्ति छ । सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति एनआइसी एसिया बैंकको छ । चालु आर्थिक वर्षको पुससम्म यस्तो सम्पत्ति ३ अर्ब ४० करोड नाघेको छ । चालु आर्थिक वर्षको पुससम्म ग्लोबलको २ अर्ब १८ करोड २० लाख, प्राइम कमर्सियल बैंकको २ अर्ब ७ करोड ९० लाख, नेपाल इन्भेष्टमेन्ट मेगाको १ अर्ब ९७ करोड ८० लाख, कुमारीको १ अर्ब ७६ करोड ४० लाख, नबिलको १ अर्ब ४९ करोड ६० लाख, माछापुच्छ्रेको १ अर्ब ४५ करोड १० लाख, लक्ष्मी सनराइजको १ अर्ब ४१ करोड १० लाख र हिमालयनको ८२ करोड ८० लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ । यस्तै, एनएमबि बैंकको ७९ करोड २० लाख, सिद्धार्थको ६४ करोड ४० लाख, प्रभुको ५४ करोड ६० लाख, सिटिजन्सको ३० करोड १० लाख, सानिमाको २५ करोड ८० लाख, कृषि विकासको २५ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकको १८ करोड ७० लाख, नेपाल बैंकको १८ करोड ५० लाख, एभरेष्टको १५ करोड ५० लाख र नेपाल एसबिआई बैंकको ७ करोड ७० लाखको गैर बैंकिङ सम्पत्ति रहेको छ । सुन पनि थुप्रियो बैंकमा पैसा र घरजग्गा मात्रै होइन सुन पनि थुप्रिएको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ । सोमबार सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सोमबार तोलामा ६ सय रुपैयाँले सुनकाे मूल्य बढेको छ । सोमबार छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बढे पनि सुनको माग भने बजारमा एकदमै कम रहेको बुझिएको छ । सोही कारण पनि बैंकले आयात गरेको सुन बैंकमै थुप्रिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिले सुनको माग न्यून रहेको बताएको छ । नेपाल राष्ट्र बैंकले सुनको दैनिक कोटा २० किलो तोकेको भएपनि बजारमा दैनिक पाँच केजी सुन पनि बिक्री हुन सकेको छैन । अहिले कोटाअनुसार सुन खरिदबिक्री नभएको महासंघका अध्यक्ष माणिकरत्न श्रेष्ठले बताए । अहिले बैंकमा एक सय केजी बढी सुन मौज्दात रहेको बुझिएको छ । फागुन मसान्तसम्म करिब २ सय केजी सुन मौज्दात रहेकोमा चैत अन्त्यसम्म भने एक सय केजीको हाराहारीमा सुन छ । रुस र युक्रेनबीच जारी द्वन्द्व र डलरको भाउ उकालो लागेपछि सुनको भाउले कीर्तिमानी बनाएको छ । अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर सुनेकाे मूल्य निर्धारण गरिन्छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको १८ लाख ५ सय किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ ।