विकासन्युज

अवैधरुपमा बसिरहेका १० जना बङ्लादेशीलाई अध्यागमनमा बुझाइयो

काठमाडौं । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्लादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बङ्लादेशी नागरिक पक्राउ परेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडौंको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानुनी तवरले बसिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउपर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन् । एसपी रेग्मीले पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताए । यसअघि पनि यसैगरी शङ्कास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँच जना बङ्लादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो । पछिल्लो समयमा बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरुपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ । रासस

बन्दीपुरमा ५६ करोड लागतमा बन्यो पाँच तारे होटल, क्वीन टावर अन्तिम चरणमा  

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो । ५६ करोड रुपैयाँको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । आगामी वैशाख १ गते नयाँ वर्षको अवसरमा पाँचतारे होटल सञ्चालनमा ल्याइने तयारी भइरहेको उनले बताए । क्वीन टावर अन्तिम चरणमा बन्दीपुर–४ स्थित केबलकारको माथिल्लो स्टेशनमा निर्माणधीन सत्र तलाको ‘क्वीन टावर’ को काम अन्तिम चरणमा पुगेको छ । पाँचतारे होटलसँगै केबलकार पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माणलाई तिव्रता दिइएको कम्पनीका अध्यक्ष शर्माले बताए । अन्तराष्ट्रियस्तरको ‘क्यूए सर्टिफिकेट’ लिने कार्य बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको कम्पनीले जनाएको छ । ‘केबलकारमा अहिले कम्पनीमा कार्यरत कर्मचारी ल्याउने लैजाने कार्य भइरहेको छ’, उनले भने, ‘सर्वसाधारण बोक्ने योजना तत्काललाई बनाइएको छैन ।’ एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले आनन्दका साथ यात्रा गर्न सक्नेछन् । केबलकारको अहिले पटक–पटक परीक्षणको गर्ने कार्य भइरहेको अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ वटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रुको क्षमता हुनेछ । ‘एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको छ’, उनले भने । केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए । उनले भने, ‘न्यूनतम रु ५० देखि रु २५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।’ पृथ्वीराजमार्गमा रहेको तल्लो स्टेशनबाट माथि स्टेशनको बन्दीपुर बजारस्थित कलेजमा पढ्न जाने र आउने विद्यार्थीलाई पचास रुपैयाँ, पत्रकारलाई तीन सय पचास रुपैयाँ, अन्य यात्रुका लागि पाँच सय रुपैयाँ, रेष्ट्रो क्याबिनको २५ हजार रुपैयाँ र ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ । केबलकार र पाँचतारे होटल गरी कूल तीन अर्ब रुपैयाँ अन्ठाउन्न करोडको लागतमा निर्माण सम्पन्न गर्न लागिएको कम्पनीका इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए। उनका अनुसार बन्दीपुर आउने पर्यटकले केबलकारबाटै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । रासस

फत्तेवाल आँखा अस्पतालमा उपचारका लागि भारतीय बिरामी

जानकी । भारत श्रावस्ती चिरैयारानीसिरका ६२ वर्षिय अमेरिकाप्रसाद यादव आँखाको उपचारका लागि नेपालगञ्ज–६ फुलटेक्रा स्थित फत्तेवाल आँखा अस्पताल आएका छन् । उनले गत शुक्रबार देब्रे आँखाको शल्यक्रिया गराए । उनले यसअघि पनि दाहिने आँखाको शल्यक्रिया यही अस्पतालमै गराइसकेका छन् । यादव श्रावस्तीमा आँखा अस्पताल नभएर यहाँ आएको भने होइन । ‘जिल्लामा दुई वटा आँखा अस्पताल छन् । तर यहाँ जस्तो गुणस्तरीय सेवा जस्तो छैन’, उनले भने, ‘म मात्रै होइन परिवारका अन्य सदस्य र साथीहरु पनि आँखाको यहीँ उपचारका लागि आउने गरेका छन् ।’ नेपाल नेत्र ज्योति सङ्घ, बाँके शाखाले सञ्चालन गरेको उक्त अस्पतालका अनुसार यादव मात्रै होइन, उपचारका लागि यहाँ आउने भारतीयहरुको सङ्ख्या उल्लेख्य छ । अस्पतालका प्रबन्ध निर्देशक डा कौशलकुमार बर्माका अनुसारमा अस्पतालमा नेपालीसँगै भारतीयहरुको पनि विश्वास बढ्दो छ । ‘स्थापनाकालदेखि नै अस्पतालमा उपचारका लागि आउने भारतीयको सङ्ख्या उल्लेख्य छ’, उनले भने, ‘नेपाली र भारतीय बिरामीहरुको सङ्ख्या बराबरी जस्तै छ ।’ छिमेकी देश भारतबाट मात्रै होइन टाढाका बिकट पहाडी जिल्लाबाट पनि बिरामीहरु अस्पतालमा आउने गरेका छन् । जुम्लाका ६४ वर्षे मुनबहादुर बुढा क्षेत्री आँखाको शल्यक्रियाका लागि गत शुक्रबार अस्पतालमा आएका छन्। पतारासी गाउँपालिका–५ माथिल्लो लोर्पाका क्षेत्रीले आँखाको उपचारका लागि अस्पताल भरपर्दो लागेकाले यहाँसम्म आएको सुनाए । ‘उहिल्यै २०५० सालतिर देब्रे आँखाको मोतियाबिन्दुको शल्यक्रिया यही अस्पतालमा गरेको थिएँ’, उनले भने, ‘आजसम्म यो आँखामा कुनै समस्या आएको छैन । त्यही विश्वासले अहिले अर्को आँखाको उपचारका लागि यहाँ आएको हुँ ।’ क्षेत्रीको जस्तै अस्पतालप्रतिको विश्वास बाँके बैजनाथ–५ बनकट्टिका देउमा बुढामगरको पनि छ । आँखाको शल्यक्रिया गर्न यहाँ आएका उनले भने, ‘आँखाको शल्यक्रियाका लागि धेरैले अन्यत्रै जान सुझाव दिएका थिए । तर मलाई यहीँ अस्पतालमा विश्वास लागेर आएकी हुँ ।’ लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै भारतका बहराइच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबङ्की, लखनउ, अयोध्या, फैजाबाद तथा सुल्तानपुरलगायतबाट पनि बिरामीहरुले अस्पतालमा सेवा लिनका लागि आउन गरेका छन् । विसं २०४३ सालमा स्थापना भएको उक्त आँखा अस्पताल स्थापना भएको वर्षदेखि हालसम्म २७ लाख ४६ हजार पाँच सय १४ जनाको आँखाको परीक्षण तथा उपचार गरिसकेको डा बर्माको भनाइ छ । उनका अनुसार दुई लाख ७९ हजार छ सय ९६ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ । हाल अस्पतालमा दैनिक सरदर चार सयको हाराहारीमा आँखाका बिरामीहरु उपचारका लागि आउने गर्दछन् । ‘यहाँ वार्षिक एक लाख ४० हजार बिरामीको आँखा परीक्षण गरिनुका साथै आँखाको उपचार समेत भइरहेको छ’, डा बर्माले भने, ‘अस्पतालले वार्षिक १० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गर्दै आएको छ ।’ सुरुवातमा १० शय्या क्षमताको अस्पतालले हाल दुई सय ५० शय्यामार्फत सेवा दिइरहेको छ । अस्पताल अन्तर्गत विभिन्न जिल्लामा पाँच वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । सो अस्पतालले निःशुल्क आँखा शिविर पनि सञ्चालन गर्दै आएको छ । रासस

शैक्षिकसत्र सुरु नहुँदै विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक

काठमाडौं । कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता व्यहोरेका विद्यार्थीले यसपटक समयमै पुस्तक पाउने भएका हुन् । विगतका वर्षमा शैक्षिकसत्र सकिने बेलासम्म पाठ्यपुस्तक नपाएपछि विद्यार्थीहरूले किताब नहेरी परीक्षा दिनुपर्ने बाध्यता थियो । तर यसपटक भने उनीहरूले समयमै किताब पाउने निश्चित भएको छ । स्रोत, साधन र जनशक्ति अभावको समस्यालाई सरकारले समाधान गरेपछि यसपटक विद्यालयहरूमा समयअगावै पुस्तक पुग्ने जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश कार्यालयले जनाएको छ । नजिकिँदै गरेको २०८१ सालको शैक्षिक सत्रलाई मध्यनजर गर्दै केन्द्रले यस वर्ष चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री–वितरण थालेको हो । हालसम्म कोशी प्रदेशको १४ मध्ये १२ वटा जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, कोशी प्रदेशकमा प्रमुख भूपराज थापाले बताए । कोशी प्रदेशका पहाडी जिल्लाहरु खोटाङ र सोलुखुम्बुमा जनकपुर र काठमाडौंबाट जाने भएकाले बाँकी अन्य पहाडी जिल्लाहरुमा पाठ्यपुस्क पठाइसकिएको बताए । पहाडी जिल्लामा पठाइसकेकाले अब तराईका जिल्लामा पनि पठाउने काम भइरहेको बताए । वैशाख १ गतेभित्र विद्यार्थीहरुले सहज रुपमा पाठ्यपुस्तक प्राप्त गर्ने बताए । उनले अहिलेसम्म ४१ प्रतिशत पाठ्यपुस्तक बिक्री वितरण भइसकोको जानकारी दिए । विशेषगरी कोशी प्रदेशको पहाडी जिल्लाहरूमा यसअघि शैक्षिक सत्र शुरु भएको महिना दिनपछि मात्र पाठ्यपुस्तक पुग्थ्यो । छपाइ कम हुँदा र समयमै छपाइ नहुँदा जनक शिक्षासँग पनि मागअनुसारको पर्याप्त पुस्तक आइपुग्दैन थियो । तर यसपालि नयाँ शैक्षिक सत्र आउनुभन्दा तीन साताअघि नै कोशी प्रदेशको पूर्वी तराई र विकट पहाडी जिल्लाहरूमा पाठ्यपुस्तक पुगिसकेको छ । हालसम्म कुल १६ लाख किताबमध्ये सात लाख ५० हजार पुस्तक बिक्री वितरण भइसकेको छ । चैत मसान्तसम्ममा प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा मागबमोजिमको पाठ्यपुस्तक पुगिसक्ने केन्द्रको दाबी छ । विगतका वर्षहरूको तुलनामा यसपालि पाठ्पुस्तक पाउन निकै सहज भएको पुस्तक व्यावसायीहरू बताउँछन् । धनकुटाका पुस्तक व्यवसायी खेमराज पौडेलले २०७० सालदेखि ०८० सम्ममा सबैभन्दा सहज र समयमै पाठ्यपुस्क पाएको पहिलो पटक अनुभव गरेको बताए । त्यस्तै अर्का पुस्तक व्यवसायी शोभित तिम्सिनाले विगत भन्दा धेरै नै सहज रुपमा पाठ्यपुस्तक आएको बताए । दुर्गम भएको कारणले गर्दा यातायातको सामग्रीमा जनक शिक्षा सामग्रीले वितरणमा व्यवसायीहरुलाई दिने सहुलियतमा ब्यालेन्स नमिलेको बताए । त्यस्तै अर्का पुस्तक व्यवासायी शान्तिराम पौडेलले अहिलेसम्म माग गरेअनुसारको पुस्तक पाएको जानकारी दिए । कोशी प्रदेशमा कुल एक सय २२ वटा पुस्तक व्यावसायीहरू जनक शिक्षा सामग्री केन्द्रमा सूचिकृत छन् । ती व्यावसायीसँग किताव किनेर विद्यालयहरूले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गर्छ । कोशी प्रदेशमा जम्मा ६ हजार ७७३ वटा सामुदायिक विद्यालय छन् । जसमा करिव पाँच लाख विद्यार्थी अध्ययनरत छन् । पछिल्लो समय सरकारी विद्यालयको बढ्दो आकर्षणले गर्दा यो शैक्षिक सत्रमा विद्यार्थीको संख्या झन् बढ्ने अनुमान गर्न सकिन्छ ।

एनआइसी एशियाको ऋणी सदस्यलाई ब्याज छुट योजना सार्वजनिक

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यहरुलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरुरकर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु-याउने हेतुले यस्तो योजना ल्याएको हो । संस्थाले प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले भुक्तान गर्ने मितिसम्मको पाकेको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा भुक्तान गर्ने मितिसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट प्रदान गर्ने ‘ब्याज छुट योजना’ ल्याएको हो । यस संस्थाबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका तथा अन्य कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । यस आर्थिक जटिलताको घडिमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्ने आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस संस्थाले आफ्ना ऋणी सदस्यहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । संस्थाले ल्याएको यस ब्याज छुट योजनाबाट विविध कारणले आर्थिक समस्यामा पर्नु भएका ऋणी सदस्यहरुको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने संस्थाले विश्वास लिएको छ । यस एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विगत ६ वर्ष भन्दा बढि अवधि देखी क्रमिक रुपमा ७४ जिल्लाको ५६० भन्दा बढी स्थानिय तहमा कार्यक्षेत्र रही २८७ शाखा सञ्जाल विस्तार गरी लघुवित्त कार्यक्रम संचालन गदै आईरहेको छ । वित्तीय समावेशीकरणका लागि जाजरकोट, रोल्पा, रुकुम, मुगु, कालिकोट, बाजुरा, बझाङ, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिती नभएको स्थानमा शाखा विस्तार गरी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।    

कामना सेवा विकास बैंकको केएसबीबीएल फाइनान्सियल फुटस्टेप्स भिडियो सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज केएसबीबीएल फाइनान्सियल फुटस्टेप्सको टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ । १३ वटा श्रृङ्खला भएको सो भिडियो विभिन्न आर्थिक चुनौतीहरु र माईलस्टोनहरु पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जिवनलाई पछ्याउँछ । प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको छ । भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले जनाएको छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आईतबार बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैंकले जनाएको छ । बैंकले बचत, ऋण तथा बैंकिङ कारोबार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

नेप्सलाई २८ रुपैयाँमा किन्दै एनसीएचएल

काठमाडौं । नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)लाई नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले २८ रुपैयाँमा खरिद गर्ने भएको छ । नेप्सलाई २८ रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमान सिंह प्रधानले विकासन्युजसँग बताए । उनका अनुसार सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त मूल्याङ्कन प्रतिवेदन (डीडीए रिपोर्ट) का आधारमा संयुक्त मर्जर प्राप्ति समितिले नेप्सलाई २८ रुपैयाँमा एनसीएचएलमा गाभ्न लागिएको हो । नेप्सको सेयर मूल्य प्रतिकित्ता २८ रुपैयाँ बराबर एनसीएचएलको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ कायम हुने सीईओ प्रधानले बताए । नेप्सलाई गाभ्ने भएकाले प्राप्तिपश्चात् एनसीएचएलको हालको सञ्चालक समिति र व्यवस्थापन टिम नै यथावत रहने उनको भनाइ छ । साथै, एकीकृत कारोबारपश्चात् पनि कम्पनीको नाम नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) नै रहने छ । ‘दुवै कम्पनीबीच अन्तिम सम्झौता भएर बैशाख १३ गते विशेष साधारण सभा आह्वान गरिएको हो । दुवै कम्पनीबीच स्वाप रेसियो १००ः२८ अनुपातमा गाभ्ने हो । एनसीएचएलले नेप्सलाई गाभ्ने भएकाले हाल कायम सञ्चालक समिति र व्यवस्थापन समूह नै यथावत नै रहन्छ,’ उनले भने । दुवै कम्पनीको सञ्चालक समितिमा बैंकका प्रतिनिधि नै छन् । विशेष साधारण सभाले गाभ्ने प्रस्ताव पारित गरेपश्चात् एकीकृत कारोबारको मिति तय हुने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेपछि छिट्टै एकीकृत कारोबार गर्ने तयारी रहेको उनले बताए । डिजिटल कम्पनीहरूमा पहिलो मर्जर तथा एक्विजिशन हो । प्रविधिमा आधारित कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दै जाँदा र ठूलो लगानीको माग भइरहँदा दुई कम्पनी मर्ज हुन लागेका हुन् । दुवै कम्पनीका केही साझा लगानीकर्ता छन् ।

पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो

गण्डकी । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत-वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘शुक्रबार-शनिबार त होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पनि पुग्छ’, उनले भने, ‘नयाँ वर्षका बेला ९० प्रतिशतभन्दा माथि पुग्ने हाम्रो अपेक्षा छ ।’ पर्यटनका लागि ‘अफ सिजन’ मानिने गत पुस-माघमा पोखराका होटलको ‘अकुपेन्सी’ दस प्रतिशतभन्दा कममा सीमित थियो । नयाँ वर्षलाई लक्षित गरेर लेकसाइडमा ‘१९औँ फेवा नव वर्ष महोत्सव’ आयोजना गरिएकाले पर्यटकको आवागमन थप बढ्ने अध्यक्ष सुवेदीको अपेक्षा छ ।महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ । ‘अहिले दैनिक औसतमा २० हजार आन्तरिक तथा बाह्य पर्यटक पोखरामा छन्’, उनले भने, ‘यहाँ रहेका १२ सयभन्दा बढी होटल भरिभराउ हुन दैनिक ४० हजार पर्यटक पोखरा हुनुपर्छ ।’ यो याममा उल्लेख्य मात्रामा भारतीय पर्यटक घुमफिरका लागि पोखरा आउने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेको अध्यक्ष सुवेदीले बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण सुवेदीले अहिले दैनिक डेढदेखि दुई सयसम्म भारतीय निजी सवारीसाधन पोखरा भित्रिरहेको बताए । ‘हवाईमार्ग र सार्वजनिक सवारीसाधन प्रयोग गरेर आउने पनि उत्तिकै छन्’, उनले भने, ‘पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् ।’ पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको अध्यक्ष श्रेष्ठले बताए । पोखरा भित्रने विदेशी पर्यटकको यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग नरहेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले व्यवस्थित प्रचारप्रसार र प्रवद्र्धन गर्न सके पोखरामा वार्षिक २० लाख भारतीय पर्यटक भित्राउन सकिने बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रबिन कडरियाले पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको बताए । उनका अनुसार गत अङ्ग्रेजी महिना मार्चमा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । जसमध्ये दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना थिए । अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटकमध्ये ९० प्रतिशत जति भारतीय हुने गरेको प्रमुख डा कडरियाले बताए । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको उनको भनाइ छ । ‘वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको संख्या अझै बढ्छ’, उनले भने, ‘असोज-कात्तिक र चैत-वैशाखको याम पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ, पदयात्रामा आन्तरिक पर्यटकको पनि आकर्षण बढ्दो छ ।’ अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा पर्दै आएको उनको भनाइ छ । ‘एक्याप’का अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । जुन संख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक त्यहाँ पुगेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थल पर्छन् । रासस