पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
गण्डकी । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत-वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘शुक्रबार-शनिबार त होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पनि पुग्छ’, उनले भने, ‘नयाँ वर्षका बेला ९० प्रतिशतभन्दा माथि पुग्ने हाम्रो अपेक्षा छ ।’ पर्यटनका लागि ‘अफ सिजन’ मानिने गत पुस-माघमा पोखराका होटलको ‘अकुपेन्सी’ दस प्रतिशतभन्दा कममा सीमित थियो । नयाँ वर्षलाई लक्षित गरेर लेकसाइडमा ‘१९औँ फेवा नव वर्ष महोत्सव’ आयोजना गरिएकाले पर्यटकको आवागमन थप बढ्ने अध्यक्ष सुवेदीको अपेक्षा छ ।महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ । ‘अहिले दैनिक औसतमा २० हजार आन्तरिक तथा बाह्य पर्यटक पोखरामा छन्’, उनले भने, ‘यहाँ रहेका १२ सयभन्दा बढी होटल भरिभराउ हुन दैनिक ४० हजार पर्यटक पोखरा हुनुपर्छ ।’ यो याममा उल्लेख्य मात्रामा भारतीय पर्यटक घुमफिरका लागि पोखरा आउने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेको अध्यक्ष सुवेदीले बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण सुवेदीले अहिले दैनिक डेढदेखि दुई सयसम्म भारतीय निजी सवारीसाधन पोखरा भित्रिरहेको बताए । ‘हवाईमार्ग र सार्वजनिक सवारीसाधन प्रयोग गरेर आउने पनि उत्तिकै छन्’, उनले भने, ‘पोखरा र आसपासका गन्तव्यस्थल घुम्न र गर्मी छल्न भारतीय पर्यटक आउने गरेका छन् ।’ पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको अध्यक्ष श्रेष्ठले बताए । पोखरा भित्रने विदेशी पर्यटकको यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग नरहेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले व्यवस्थित प्रचारप्रसार र प्रवद्र्धन गर्न सके पोखरामा वार्षिक २० लाख भारतीय पर्यटक भित्राउन सकिने बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रबिन कडरियाले पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको बताए । उनका अनुसार गत अङ्ग्रेजी महिना मार्चमा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । जसमध्ये दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना थिए । अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटकमध्ये ९० प्रतिशत जति भारतीय हुने गरेको प्रमुख डा कडरियाले बताए । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको उनको भनाइ छ । ‘वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको संख्या अझै बढ्छ’, उनले भने, ‘असोज-कात्तिक र चैत-वैशाखको याम पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ, पदयात्रामा आन्तरिक पर्यटकको पनि आकर्षण बढ्दो छ ।’ अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा पर्दै आएको उनको भनाइ छ । ‘एक्याप’का अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । जुन संख्या हालसम्मकै बढी हो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक त्यहाँ पुगेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थल पर्छन् । रासस
गार्हस्थ उत्पादन वृद्धिदर ३.०९ प्रतिशत हुने अनुमान, वैदेशिक लगानी बढाउन आवश्यक
काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)ले चालु आर्थिक वर्ष (आव)मा नेपालको कुल गार्हस्थ उत्पादन वृद्धिदर ३.०९ प्रतिशतमा सीमित रहने अनुमान गरेको छ । आइतबार आयोजित प्रि-बजेट छलफल कार्यक्रमा ‘नेपालको आर्थिक क्रियाकलापको वर्तमान अवस्थाा’ प्रस्तुत गर्दै म्यानले चालु आवमा उपभोक्ताको मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.०९ प्रतिशत रहने अनुमान गरेको हो । चालु आवको अन्त्यसम्म नेपालको अर्थतन्त्रको आकार ५८ खर्ब ३४ अर्ब ५१ करोड पुग्ने म्यानको अध्ययनले देखाएको छ । म्यानले विभिन्न तथ्यांकका स्रोतहरूलाई प्रयोग गर्दै विभिन्न क्षेत्रको अवस्थाको बारेमा तथ्यांक प्रस्तुत गरेको छ । उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक रहने म्यानको अध्ययनअनुसार चालु आवमा उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक रहने देखिएको छ । विगत ८ आर्थिक वर्षदेखिको आंकडामा विश्लेषण गर्दै म्यानले चालु आवको अन्त्यसम्म उत्पादनमूलक र निर्माण क्षेत्रको आर्थिक वृद्धिदर क्रमशः ऋणात्मक रुपमा १.४९ र २.५१ प्रतिशत देखिने भएको हो । म्यानको अध्ययनले चालु आवमा आवास तथा भोजन सेवाको क्षेत्र सबैभन्दा धेरै अर्थात् १९.६० प्रतिशतले वृद्धि हुने देखाएको छ । त्यस्तै, विद्युत, ग्याँस, वाष्प तथा वातानुकुललित आपूर्ति सेवा १६.३१, वित्तीय तथा बीमाका क्रियाकलाप, ७.३३, मानव स्वास्थ्य तथा सामाजिक कार्य ५.८६, यातायात भण्डारण ५.८० र प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप ५.४३ प्रतिशतले वृद्धि हुने भएको अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा वस्तु तथा सेवा उत्पादनमा खुद कर, कुल गार्हस्थ्य उत्पादन( आधार मूल्यमा), गैर कृषि, कृषि, वन तथा मत्स्यपालन, प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलाप, पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, घरजग्गा कारोबार, वित्तीय तथा बीमाका क्रियाकलाप, आवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा झिनो वृद्धि हुने म्यानको अध्ययनले देखाएको छ । दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर चौथो स्थानमा विभिन्न क्षेत्रले सार्वजनिक गरेका तथ्यांकहरुलाई विश्लेषण गर्दा पछिल्लो ७ वर्षको अवधिमा दक्षिण एसियाका मुलुकहरुमा नेपालको औसत आर्थिक वृद्धिदर चौथो स्थानमा देखिएको छ । म्यानले विश्व बैंक र ओइसिडीको तथ्यांकलाई लिएर गरेको विश्लेषणमा आव ०७३/७४ देखि आव ०७९/८० सम्ममा नेपालको आर्थिक वृद्धिदर ४.१४ प्रतिशत रहेको छ । जबकी सोही अवधिमा बंगालादेशको ६.५४, मालदिभ्सको ५.३१, भारतको ५.२५, पाकिस्तानको ३.६०, भुटानको २.९०, श्रीलंकाको ०.५५ र अफगानिस्तानको माइनस २.५९ प्रतिशत औसत आर्थिक वृद्धि भएको आंकडाहरुले देखाएका छन् । आर्थिक वृद्धिका लागि लगानीको वृद्धि गर्नुपर्ने म्यानको सुझाव नेपालको पछिल्लो अवस्थाको आर्थिक अवस्थाको विश्लेषण गर्दै म्यानले नेपालको आर्थिक वृद्धिदर बढाउन तीनै तहका सरकारले पुँजीगत खर्च बढाउनुपर्ने सुझाव दिएको छ । साथै, अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउन सरकार, निजी क्षेत्र र वैदेशिक लगानी बढाउन आवश्यक भएको निष्कर्ष म्यानको छ । विगतको अनुभवबाट सिक्दै आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गर्न आवश्यक भएको र युवाहरुको विदेश पलायनलाई वैज्ञानिक व्यवस्थापन गर्न ढिलो भइसकेको म्यानले प्रतिवेदनमा उल्लेख गरेको छ ।
सरकारलाई इप्पानका ५ सुझाव, बैंकले २०% कर्जा जलविद्युतमा लगानी गर्नैपर्ने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आवश्यक नीतिगत तत्काल सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष कार्कीले सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि एक महिना भित्र वन, जग्गा तथा अन्य ऐन कानूनहरुमा देखिएका नीतिगत समस्या सुधार गर्र्नुपर्ने बताएका हुन् । कार्कीले विदेशबाट धेरै लगानी ल्याउनुपर्ने अवस्था रहेकाले विदेशी बैंकहरुले पनि नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्नसक्ने वातावरण बनाउनुपर्ने जानकारी दिए । उनले विद्युतमा बैंकहरुको पनि लगानी ल्याउनुपर्ने भएकाले सरकारले नेपाली बैंकहरुलाई २० प्रतिशत लगानी जलविद्युतको क्षेत्रमा गर्नुपर्ने व्यवस्था गर्न आवश्यक रहेको बताए । इकुटी फण्डिङ कम्पनीहरुलाई पनि नेपालमा लगानी ल्याउन सहज बनाउनुपर्ने बताए । कार्कीले सरकारले धेरै आयोजनाहरुको लाइसेन्स दिएर पीपीए तत्काल खुला गरे आगामी १० वर्षमा २८ हजार ५ सय मेगावट पुर्याउन सकिने बताए । उनले सरकार ल्याएको विद्युत विधेयक लगानीकर्तामैत्री बनाएर लगानीको वातावरण बनाइ सरकारले विश्वास दिलाउन आवश्यक रहेको बताए । विगतका जस्तो लगानी सम्मेलनहरु हुन नहुने बताए । सरकारले सबैसँग गृहकार्य गरेर स्वदेशी लगानीकर्ता अझै लगानी गर्ने उत्प्रेरित गर्ने खालका ऐनहरु बनाउन आवश्यक रहेको जानकारी दिए । उनले सरकारले सन् २०३५ सालसम्म २८ हजार ५ सय मेगावट विद्युत उत्पादन र १३ हजार मेगावट मुलुकमित्रै खपत गर्ने ४६ खर्ब रुपैयाँ रुपैयाँ आवश्यक रहेको बताए । त्यसको लागि लगानी सम्मेलनमार्फत विदेशी लगानी भित्र्याउनको लागि लगानी सम्मेलन स्वागतयोग्य रहेको बताए । लगानी सम्मेलन भन्दा पहिला लगानी गर्ने वातावरण बनाउनु आवश्यक रहेको बताए । लगानीकर्ताले गरेको अर्बौंको लगानीको सुरक्षाको वातावरण सरकारले बनाउनु पर्ने जानकारी दिए । अक्ष्यक्ष कार्कीले दिएका पाँच सुझाव यस्ता छन् : १. सरकारले २०३५ सालसम्म २८ हजार ५ सय मेगावट विद्युत उत्पादन गर्ने भनेको छ । त्यसमा १३ हजार मेगावट मुलुकमित्रै खपत गर्ने भनिएको छ । त्यसको लागि ४६ खर्ब रुपैयाँ चाहिन्छ भनिएको छ । ४६ खर्ब नेपालभित्र वा बाहिरबाट ल्याउने भन्नेकुरा छ । त्यसैको लागि लगानी सम्मेलन गर्न लागेको छ । प्राथमिकता पनि जलविद्युतमा रहेको छ । नेपालको ग्रिन ऊर्जा भएकाले विश्वको ध्यान पनि नेपालमा छ । भारतले विद्युत किन्छ भनेपछि सकारात्मक सन्देश पनि गएको छ । विदेशी लगानी भित्र्याउनको लागि गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ । लगानी सम्मेलन भन्दा पहिला लगानी गर्ने वातावरण बनाउनुपर्छ भनेर सरकारलाई भनिरहेका छौं । विदेशी लगानी कर्तालाई मात्रै नभएर नेपाली लगानीकर्ता र निजी क्षेत्रलाई लगानीको लागि आग्रह गर्नुपर्छ । अर्बौं लगानी गर्ने लगानीकर्ताले लगानीको सुरक्षा र वातावरण हुनुपर्छ । २. विदेशी वा स्वदेशी लगानीकर्ताले नेपालमा आएर लगानी गर्दै गर्दा जलविद्युतको क्षेत्रमा १४ मन्त्रालय,३० विभाग र २०० बढी टेवलमा जानुपर्ने बाध्यताले एउटा काम गर्ने ५ वर्ष लाग्ने देखिन्छ । यस्तो सधैँ सम्भव छैन । सरकारले लगानी सम्मेलनपूर्व एक महिनाभित्र धेरै नीतिगत सुधार गर्नुपर्छ । लगानी सम्मेलनको दुई दिनअघि भन्नु भन्दा पनि अहिले नै लगानीको वातावरण छ भन्ने बनाउनुपर्छ । ३. विदेशबाट धेरै लगानी ल्याउनुपर्ने हुन्छ । जसमा बैंकहरूले पनि लगानी ल्याउनुपर्ने हुन्छ । सरकारले नेपाली बैंकहरूलाई २० प्रतिशत लगानी जलविद्युतको क्षेत्रमा गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । विदेशी बैंकहरू नेपालको जलविद्युतको क्षेत्रमा लगानी ल्याउनलाई उत्सुक छन् । ती बैंकहरूको लगानी नेपालमा ल्याउनको लागि वातावरण बनाउनुपर्छ । धेरै इकुटी फण्डिङ कम्पनीहरु छन् । तिनीहरूलाई पनि नेपालमा लगानी ल्याउन सहज बनाउनुपर्छ । झन्झटिला प्रक्रिया हटाउनुपर्छ । ४. सरकारले धेरै आयोजनाहरुको लाइसेन्स दिएको छ । पीपीए नभएर बसेका छन् । पीपीए नभए अड्किएर बस्छ । पीपीए तत्काल खोलिदिएर २८ हजार ५०० मेगावट पुर्याउनको लागि १० देखि २० मेगावटसम्मको लाइसेन्स सुरक्षित हुन्छ र अहिलेको विधेयकले पनि असर गर्दैन र लगानीकर्तामैत्री हुन्छ भन्ने वातावरण बनाएर सरकारले विश्वास दिलाउनुपर्छ । ५. लगानी सम्मेलनहरू धेरै पटक भएका छन् । अबको लगानी सम्मेलन विगतका जस्तो हुनुहुँदैन । विदेशी लगानी भित्र्याउने गरी तयारी गर्नुपर्छ । सरकारले सबैसँग गृहकार्य गर्नुपर्छ । स्वदेशी लगानीकर्ता अझै लगानी गर्ने उत्प्रेरित गर्ने खालका ऐनहरू बनाउनुपर्छ ।
सहकारी ठगीको विषयले संसद अवरुद्ध हुन थालेपछि चार नेतासँग सभामुखको छलफल, गृहमन्त्रीसँग जवाफ माग्ने
फाइल फोटो काठमाडौं । सहकारी ठगीको विषयले सडकदेखि सदनसम्म बहस चलेपछि सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । सहकारी ठगीका विषयमा प्रमुख चार दलका शीर्ष नेतालाई बोलाएर सभामुख घिमिरेले छलफल बाेलाएका छन् उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलमा बोलाएका छन् । छलफलमा सभामुखले गृहमन्त्री लामिछानेसँग यस विषयमा जवाफ माग्ने पनि बताइएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएको छ । गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो । कांग्रेसले विगत एक महिनायता निरन्तर लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ । सहकारीका सञ्चालकले बचत ठगेको भन्दै देशभरका बचतकर्ता आन्दोलनमा थिए । तर, सरकार र बचतकर्ताबीच समझदारी भइसकेको छ ।
सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य बढेर प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, सोमबार चाँदीको मूल्य पनि हालसम्मकै बढी मूल्यमा कारोबार भइरहेको छ । । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हेराल्ड कलेजद्वारा विद्यार्थीलाई १ करोड बराबरको छात्रवृत्ति प्रदान
काठमाडौं । हेराल्ड कलेजले ८९ विद्यार्थीलाई १.५ करोड रुपैयाँ बराबरीको छात्रवृत्ति प्रदान गरेको छ । कलेजका अनुसार एएए छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । उपस्थिति र हाजिरी, प्राज्ञिकता र आचरण लाई एकै सुत्रमा बाँध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्ति मार्फत हाम्रा विद्यार्थीहरुलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजले जनाएको छ । छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । कलेजका अनुसार करिब १.५ करोड पुरस्कार राशिको यस छात्रवृत्तिका प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थी छनोट गरेका थिए । यिनै विद्यार्थीको सम्मानमा आयोजित उक्त समारोहमा उनीहरूलाई आफ्ना हर्षित परिवारजन तथा सम्पूर्ण कलेज परिवारका माझ इनोभेट हेराल्ड कलेजका सीईओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको छ । यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रुपले विभिन्न गतिविधिहरुमा संलग्न गराउदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको कलेजले जनाएको छ ।
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
लिस्बन । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् । दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिए । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् । धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताए । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ । दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिए । उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ । धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए । रासस
आईएमई लाईफको चिफ मार्केटिङ अफिसरमा चौलागाई
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो । चौलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव छ । उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रूपमा आबद्ध थिए । चौलागाईले भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र नेपाल कमर्श क्याम्पसबाट एमबिएस तहको शैक्षिक उपाधि हासिल गरेका छन् ।