एप्पलले भारतका आफ्ना कर्मचारीलाई ७८ हजार घर बनाइदिने
काठमाडौं । आइफोन बनाउने अमेरिकाको अग्रणी टेक कम्पनी एप्पलले भारतमा ७८ हजारभन्दा बढी घर बनाउने तयारी गरिरहेको छ । एप्पलले पछिल्लो साढे दुई वर्षमा भारतमा १ लाख ५० हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । अब एप्पल इकोसिस्टमले चीन र भियतनाममा औद्योगिक आवासको धर्तीमा भारतमा आफ्ना कारखानाका कर्मचारीहरूलाई आवासीय सुविधा उपलब्ध गराउने तयारी गरिरहेको छ । सरकारी अधिकारीहरूका अनुसार एप्पलका अनुबन्ध निर्माता र आपूर्तिकर्ताहरूले आफ्ना कर्मचारीहरूका लागि घरहरू बनाउने योजनामा छन् । यिनमा फक्सकन, टाटा र सालकोम्प पनि समावेश छन् । यी घरहरू सार्वजनिक निजी साझेदारीमा निर्माण भइरहेका छन् । यस योजनाअन्तर्गत ७८ हजारभन्दा बढी युनिट निर्माण गरिने छ । जसमध्ये तमिलनाडुले अधिकतम ५८ हजार घर पाउनेछन् । तमिलनाडुका अधिकांश घरह तमिलनाडुको राज्य उद्योग प्रवर्द्धन निगमले निर्माण गरिरहेको छ । टाटा समूह र एसपीआर इन्डियाले पनि घर निर्माण गरिरहेका छन् । योजनाअन्तर्गत केन्द्र सरकारले १०(१५ प्रतिशत कोष उपलब्ध गराउने छ भने बाँकी रकम राज्य सरकार र कम्पनीहरूले उपलब्ध गराउने छ । निर्माण र निजी क्षेत्रलाई हस्तान्तरण प्रक्रिया ३१ मार्च २०२५ मा समाप्त हुने आर्थिक वर्षमा पूरा हुने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् । एक अधिकारीका अनुसार यस योजनाको उद्देश्य दक्षता सुधार गर्नु र विशेष गरी प्रवासी महिला कामदारहरूलाई सुरक्षा प्रदान गर्नु हो । तीमध्ये धेरैजसो १९ देखि २४ वर्षसम्मका छन् । अधिकारीहरूले विशेषगरी महिलाहरूका लागि एउटै ठाउँमा यस्तो ठूलो आवास योजना भारतमा पहिलो पटक भएको बताए । धेरैजसो मजदुरहरू भाडामा बस्छन् र कारखानासम्म पुग्न बसमा घण्टौं यात्रा गर्नुपर्ने हुन्छ । धेरै कर्मचारी महिला भएकाले यसले सुरक्षामा पनि समस्या सिर्जना गर्छ । कारखाना नजिकै घर अधिकारीहरुका अनुसार इलेक्ट्रोनिक्स उद्योग स्थान संवेदनशील छ र यो एयरपोर्ट नजिक हुनुपर्छ ताकि कार्गो सजिलै बाहिर पठाउन सकियोस् । देशका विभिन्न भागबाट आएका कामदारका लागि सरकारले आरामदायी आवास सुनिश्चित गर्न चाहन्छ । भारतमा एप्पलका लागि आईफोनको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले ३५ हजार घर पाउने छ । कम्पनीको कारखाना श्रीपेरुम्बुदुर, तमिलनाडुमा छ । फक्सकनमा हाल ४१ हजार कामदारहरू छन्, जसमध्ये ७५ प्रतिशत महिला छन् । टाटा इलेक्ट्रोनिक्सले होसुर सुविधामा आफ्ना कर्मचारीहरूका लागि ११ हजार ५ सय इकाइहरू उत्पादन गरिरहेको छ । टाटाले मुख्यतया घरेलु प्रयोग र निर्यातका लागि आइफोन एन्क्लोजर निर्माण गर्छ । एप्पलका लागि पावर एडेप्टर, एन्क्लोजर र चुम्बकीय बनाउने सालकम्पले ३ हजार ९ सय ६९ आवासीय एकाइहरू प्रयोग गर्ने छ । एप्पल, फक्सकन र सालकोम्पले यसबारे कुनै पनि प्रतिक्रिया दिएका छैनन् । भूराजनीतिक तनावबीच अमेरिका र चीनको बजारमा सुस्तता आएको छ । यस कारण एप्पलले भारतमा ध्यान केन्द्रित गरिरहेको छ, जुन विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार हो । विस्ट्रनको योजना एप्पलले २०१७ मा भारतमा आइफोनहरू उत्पादन गर्न थाल्यो र अगस्ट २०२१ मा सुरु भएको उत्पादन लिंक प्रोत्साहन योजनाअन्तर्गत उत्पादन बढायो । कम्पनीले फक्सकन, विस्ट्रोन र पेगाट्रोन मार्फत आफ्नो नयाँ आइफोन मोडेलहरू एसेम्बल गरिरहेको छ र भारतमा नै कम्पोनेन्टहरू निर्माण गरिरहेको छ । एप्पलको पहलमा आवास योजना बनाइएको स्रोतले जनाएको छ । २०२० मा कर्नाटकको नरसापुरामा रहेको विस्ट्रोन सुविधा र डिसेम्बर २०२१ मा तमिलनाडुको फक्सकन कारखानामा कर्मचारीको असन्तुष्टिको कारणले काम प्रभावित भएको थियो । विस्ट्रोनको स्वामित्व अब टाटा समूहमा आएको छ । विस्ट्रोनले आफ्नो कारखाना नजिकै कामदारहरूको लागि घर बनाउन सक्छ । कम्पनीले करिब २७ हजार कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको छ । एजेन्सी
नेशनल मेडिकल कलेजका सञ्चालक र ल्याब प्रमुख पक्राउ
काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका छन् । कलेजले म्याद सकिएका औषधि बिक्री-वितरण गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । उक्त मेडिकल कलेजले म्याद सकिएका औषधि बिक्री-वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा उनीहरु दुई जना पक्राउ परेका हुन् । सञ्चालकलाई पक्राउ गरेसँगै प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’
काठमाडौं । सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । कम्पनीका अनुसार यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा नि: शुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन् । यसै गरी, हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरु, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षै भरी ६ हजार रुपैँया सम्मको क्यास ब्याक फाइदा पनि आइएमई पे प्रयोगकर्ताहरूले पाउने छन् । आइएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको उपलक्ष्य पारेर सुरुवात गर्न लागिएको थप सुविधा सहितको यस प्रिमियम प्याकेजले आइएमई पेका प्रयोगकर्ताहरू लाइ सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताएका छन् । नयाँ–नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधाहरू थप्दै आइएमई पे फिनटेक क्षेत्रमा अब्बल साबित भएको पनि प्रमुख कार्यकारी रेग्मीको भनाइ छ ।
मार्चमा दक्षिण कोरियाको बेरोजगारी दर ९.१ प्रतिशतले घट्यो
कोरिया । मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार र श्रम मन्त्रालयको तथ्याङ्क अनुसार रोजगार खोज्नका लागि मार्चमा नयाँ आवेदकहरूको सङख्या एक लाख ३० हजार ८०० पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले कमी हो । फेब्रुअरीमा दोहोरो अङ्कमा झरेको यो सङ्ख्या लगातार दोस्रो महिना पनि तल झरेको हो । शिक्षा सेवा, उत्पादन, थोक तथा खुद्रा उद्योगमा लाभग्राहीको अवस्थामा कमी आएको छ । तर वित्त, बिमा, सूचना तथा सञ्चार क्षेत्रमा भने गत महिनाको तथ्याङ्कमा वृद्धि भएको छ । बेरोजगारीको अत्यधिक सङ्ख्यालाई लिएर रोजगारी खोज्न मद्दत गर्न सरकारले रोजगारी खोज्न सघाउने प्रस्ताव गरेको छ । यो कार्यक्रम राज्यको रोजगार बिमा कोषद्वारा वित्त पोषित छ । रोजगार प्राप्तकर्ताहरूको सङ्ख्या मार्चमा छ लाख ५४ हजार ६०० थियो । जुन एक वर्ष अघिको समान अवधिको तुलनामा तीन प्रतिशतले कम हो । यसले १४ महिनाको पहिलो गिरावटलाई अङ्कित गरेको छ । कूल रोजगारी प्राप्तिको अवस्था ६.२ प्रतिशतले घटेर ९६९.६ अर्ब वोन (७१६.७ मिलियन अमेरिकी डलर) मा झरेको छ । रासस
निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्छौं : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् । अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उनले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताए । लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागिसमेत भएको मन्त्री पुनको भनाइ थियो । मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक श्रोत परिचालन मात्र पर्याप्त नहुने भएकाले बाह्य लगानी आकर्षित गर्नैपर्नेमा अर्थमन्त्रीले जोड दिए । नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलहरुबीच मतैक्य रहेको पनि मन्त्री पुनले स्पष्ट गरे । ‘सरकारले निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्ने हो’, मन्त्री पुनले भने- ‘सरकार र निजी क्षेत्रबीच आपसी साझेदारी र विश्वासका साथ काम गरौं भन्नेमै सम्माननीय प्रधानमन्त्री र मेरो जोड छ ।’ लगानी वातावरणका लागि नीतिगत निरन्तरता र स्थायित्व हुनुपर्नेमा सरकार स्पष्ट गरेको चर्चा गर्दै उनले पछिल्लो डेढ देशकमा जलविद्युत र सिमेन्ट उद्योगको विकासमा भएको प्रगतिको कारण नीतिगत स्थायित्व भएको उल्लेख गरे । ‘कमरेड प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुनुभएको समयमा लिएको नीतिका कारण आज हाइड्रोपावरमा हामीले धेरै प्रगति गरेका छौं । १० हजार मेगावाट विद्युत भारतमा निकाशीको वातावरण बनेको छ । यस्तै सिमेन्ट उद्योगका लागि सडक र बिजुलीको व्यवस्था सरकारले गरिदिएका कारण सिमेन्ट निर्यातको वातावरण बनेको छ । यो सबै नीतिगत निरन्तरताका कारण भएको हो ।’ फरक प्रसंगमा उनले नेपालले आईटी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको र सरकारले त्यसबारे सोचिरहेको बताए । ‘हाम्रोजस्तो भू-परिवेष्ठित मुलुकका लागि अन्य उत्पादनको बाह्य बजार खोज्नुभन्दा सजिलो आईटी प्रोडक्टको उत्पादनको बजार खोज्न हुन्छ’, पुनले भने, ‘आईटी सेक्टरको प्रवर्द्धनका लागि नीतिगत निरन्तरता हुने गरी काम गर्छौं ।’ अध्यक्ष निर्मलकाजी श्रेष्ठको नेतृत्वमा आएको चेम्बरको प्रतिनिधि मण्डलका सदस्यहरुले अर्थतन्त्र सुधारका लागि विभिन्न सुझाव दिएको थियो ।
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै, स्थानीयलाई उपचारमा ५० प्रतिशत छुट
मोरङ । मोरङको ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सीमावर्ती ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा सीमान्कृत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित कटहरी गाउँपालिका-२ हल्दिबारीमा अस्पताल निर्माण सुरु गरिएको हो । जीवन विकास लघुवित्त संस्थाले दुई अर्ब ५० करोड रुपैयाँको लागतमा सात तले अस्पताल निर्माण सुरु गरेको हो । संस्थाका अनुसार हाल ६४ करोड रुपैयाँ लागतमा अस्पतालको एउटा भवन निर्माण भइरहेको छ भने आगामी वर्ष थप दुईवटा भवन निर्माण हुने अस्पतालका अध्यक्ष एवं मोरङ निर्वाचन क्षेत्र नं ५ का सांसद योगेन्द्र मण्डलले जानकारी दिए। कटहरी बजार चोकबाट दक्षिणतर्फ दुई किलोमिटर दूरीमा निर्माण सुरु भएको अस्पताल सञ्चालनबाट स्थानीयले विभिन्न अवसरका साथै रोजगारी प्राप्त गर्ने उनको भनाइ छ । रकम अभावमा नागरिकले स्वास्थ्य उपचार गर्न नपाई मृत्यु हुन नपरोस् हेतुले सो क्षेत्रमा अस्पताल निर्माण सुरु गरिएको सांसद मण्डलले बताए । उक्त सामुदायिक अस्पताल हाललाई एक सय शय्याको हुनेछ । अध्यक्ष मण्डलले अस्पतालमा सो क्षेत्रका स्थानीयले उपचारमा ५० प्रतिशत छुट पाउने बताए । ‘यस क्षेत्रमा बसोबास गर्ने भूमिहीन सुकुम्बासी, गरिब, किसान, मण्डल, किसान र ऋषिदेवलगायतउपचारका लागि विराटनगर आउनु पर्दा निकै धेरै खर्च हुने गरेको थियो, अस्पताल निर्माणपछि सुलभ शुल्कमा उपचार पाउनेछन्’, उनले भने । आफ्नै घर आँगनमा उपचारका व्यवस्था हुने भएपछि आफूहरु निकै खुसी भएको स्थानीय रवि मण्डलले बताए । अस्पताल २०८१ साल असोज महिनामा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । अस्पतालमा अन्य अस्पतालको तुलनाा सस्तो शुल्कमा उपचार उपलब्ध गराइने अस्पतालले जनाएको छ । सो क्षेत्रमा अस्पताल निर्माणपछि भारतीय नागरिकहरु पनि उपचारका लागि आउनसक्ने अध्यक्ष मण्डलको भनाइ छ । कटहरी गाउँपालिका–२ सुकुम्वासी बस्तीकी ३५ वर्षीया रेवतीदेवी ऋृषिदेवले गाउँमा अस्पताल स्थापनाले सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध हुनका साथै रोजगारीसमेत प्राप्त हुने विश्वास व्यक्त गरे । रासस
नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिँदै
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको छ । बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकहरुले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताहरुले १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुँन आउनेछ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरुसँग उपलब्ध हुने कम्पनीले जनाएको छ । योजनाको बारेमा चर्चा गर्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि यो योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । ग्राहकवर्गको आवश्यकतालाई बुझेर हामीले यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्टजस्ता अफरहरु लिएर आएका छौँ । हामीलाई निरन्तर अपार माया प्रदान गर्नुहुने ग्राहकहरुलाई हामी बजाजको तर्फबाट नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’
सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
नारायणगढ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको जानकारी दिए । उनले भने, ‘अस्पतालको शल्यक्रिया सेवामा स्तरोन्नति गरी थप प्रविधिमैत्री बनाइ सेवा प्रदान गर्ने योजनामा हामी लागेका छौँ ।’ उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अस्पताल निरीक्षणका क्रममा अस्पतालका भावी योजनाबारे जानकारी गराइएको उनले बताए । त्यसैगरी अस्पतालको प्याथोलोजी सेवामा मोलिक्यूलर प्रयोगशाला पूर्णरुपमा सञ्चालन गरिने, रेडियसन सेवामा थप अत्याधुनिक मेसिन जडान गरिने उनले जानकारी दिए । न्यूक्लियर मेडिसिनतर्फ राष्ट्रिय गौरवको रुपमा रहेको साइक्लोट्रोनसहितको पेट सिटी स्क्यान सेवा स्थापना गरी उक्त सेवाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ अस्पताल लागेको उनको भनाइ छ । उनले थपे, ‘हामीले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौँ । रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चिनियाँ सरकारको अनुदानमा काम अघि बढेको छ ।’ अस्पतालबाटै दक्षजनशक्ति उत्पादन गर्नका लागि शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रियामा रहेको पनि उहाँको भनाइ छ । यहाँ उपचारका लागि छिमेकी देशबाटसमेत बिरामी आउने गरेका छन् । रासस